३० साउन काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२१-२२ सुरु हुनुअघि बार्सिलोनाले तीन खेलाडीलाई ला लिगामा दर्ता गरेको छ ।
नयाँ सिजनअघि क्लबमा अनुबन्ध भएका मेम्पिस डिपाए, एरिक गार्सिया र युथ एकेडेमीका रे मानाजलाई बार्सिलोनाले ला लिगामा दर्ता गरेको हो ।
क्लबका दोस्रो कप्तान जेरार्ड पिकेले आफ्नो तलब घटाउन सहमत भएपछि तीन खेलाडीलाई ला लिगामा दर्ता गरिएको बार्सिलोनाले विज्ञप्ति मार्फत जनाएको छ ।
बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल आइतबार रियल सोसिडाडसँग खेल्दैछ र त्यसको एक दिनअघि तीन खेलाडीलाई ला लिगाका लागि दर्ता गरेको हो । अब यी तीनैजना खेलाडी सोसिडाड विरुद्धको खेलका लागि उपलब्ध हुनेछन् ।
नयाँ सिजनअघि क्लब भित्र्याइएका सर्जियो अगुएरो भने चोटका कारण १० साता मैदान बाहिर हुनेछन् ।
बार्सिलोनाले ला लिगाको आर्थिक नियमका कारण क्लबका लेजेण्ड लिओनल मेस्सीसंग नयाँ सम्झौता गर्न सकेन र मेस्सी फ्री एजेन्टका रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भइसकेका छन् ।
यस्तै बार्सिलोनाले कप्तान सर्जियो बुस्केट र जोर्दी अल्वासँग पनि तलब घटाउनेबारे छलफल गरिरहेको जनाएको छ ।
बार्सिलोनाले खर्च मिलाउनका लागि यस सिजन पहिलो टिमका ५ खेलाडी समेत बिक्री गरेको छ ।