Comments Add Comment

‘कर्मचारीको कार्यसम्पादन अंकमै देखिनुपर्छ’

११ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सार कर्मचारीहरुको काम अंकमा देखिनुपर्ने बताउनु भएको छ । भन्सार प्रमुखहरुका लागि आयोजित तीनदिने कार्यशालाको समापन गर्दै मन्त्री कोइरालाले वस्तुको मूल्याङ्कन नै कार्य सम्पादनको आधार भएको स्पष्ट गर्नुभयो ।

अर्थमन्त्री कोइरालाले छोटो दूरीका भन्सार कार्यालयबीच पनि समन्वय नहुने र मूल्यांकनमा फरक पर्ने अवस्था आउनु दुखद भएको बताउँदै आफूले पारित गरेका सुधार र आचारलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो ।

Bhansar-Bhivag-Programme

सुरक्षा निकाय र भन्सारबीच सतहमा आउने गरेको द्वन्द्वमा कानुनले दिएको अधिकार प्रयोग गर्न नहिच्किचाउन आग्रह गर्दै मन्त्री कोइरालाले भन्नुभयो- ‘कार्यक्षेत्रमा तपाईंहरु खट्नुस्, नीतिगत रुपमा के गर्नुपछ म गरौंला । काम गर्नेहरुका लागि पूर्वाधारको कुनै अभाव हुन दिइने छैन् ।’

भ्रष्टाचार विरुद्ध आफ्नो शून्य सहनशिलता रहेको स्पष्ट गर्दै उहाँले सदाचारलाई आत्मसात् गर्न कर्मचारीहरुलाई अर्‍हाउनु भयो ।

सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदीले आन्तरिक राजश्वको तुलनामा भन्सारको अनुगमन प्रणाली फितलो रहेको बताउँदै यार्डको प्रभावकारी ढंगमा अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले निकासीलाई प्रोत्साहन दिने सरकारी नीति अनुरुप निकासी व्यापारमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले सही व्यापारलाई प्रोत्साहन र गलत व्यापारलाई नियन्त्रण गरेको अवस्थामा अन्य समस्या न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजान आफूले सक्दो मेहनत गर्ने बताउनुभयो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक किशोरजंग कार्कीले जनताको विश्वास जित्ने गरी सदाचारयुक्त भन्सार सेवा प्रदान गर्ने संकल्पकासाथ कार्यशाला समापन गरिएको जानकारी दिनुभयो ।

‘सदाचारयुक्त सेवा, व्यापार सहजीकरणलाई टेवा’ भन्ने मूलमन्त्र सहित पाँच बुँदे ललितपुर घोषणापत्र पारित गर्दै कार्यशाला सकिएको हो । घोषणापत्रमा भन्सारमा विषयगत जनशक्तिको प्रवेश, कर्मचारी सरुवामा ऐन नियमको पालना, क्षमता विकास र कर्मचारीमा सकारात्मक सोच पालना गर्ने उल्लेख छ ।

त्यसैगरी, अन्तर विभागीय समन्वयमा वृद्धि, प्रत्येक दुई महिनामा अर्थ मन्त्रालय अन्तर्गतका निकायहरुसंग संवाद, भन्सार मूल्यांकनलाई बस्तुपरक, आन्तरिक नियन्त्रण प्रणाली चुस्त बनाउने घोषणापत्रमा उल्लेख छ । देशैभरिका भन्सार कार्यालयमा अनलाईन सेवा, अनलाईन अनुगमन र आईपी क्यामेरा कक्ष स्थापना गरी जाँचपासलाई कडाई गर्ने प्रतिवद्धता समेत प्रकट भएको छ ।

कार्यशालामा देशैभरिका भन्सार प्रमुखहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment