Comments Add Comment

कुमारी छु भन्दा सभासदहरुले नै पत्याउँदैनन्

milan-rajbansi

मिलन राजवंशी, सभासद

संविधानसभाबाट बन्ने नयाँ संविधानमा माौलिक हकका बारेमा बहस भइरहेको छ । यसैक्रममा मौलिक हकका नाममा लिभिङ टुगेदरलाई मान्यता दिन नहुने धारणा राखेकी छन् परिवार दलकी सभासद मिलन राजवंशीले ।

झापा मेचीनगरको आदिवासी समुदाय राजवंशी परिवारबाट राजनीतिमा आएकी मिलन राजवंशी अविवाहित सभासद हुन् । उनी आफू अविवाहितमात्र होइन, कुमारी नै रहेको दाबी गर्छिन् । प्रस्तुत छ, संविधानसभाको अनुभव र व्यक्तिगत सवालमा अनलाइनखबरले २९ वर्षीया सभासद मिलन राजवंशीसँग गरेको कुराकानी

पार्टीको नामै परिवार दल छ, जम्मा संविधानसभामा तपाईहरु २ जनाको परिवार उपस्थित छ, आफ्नो भूमिका कता पाउनुहुन्छ ?

संविधानसभामा जुन पार्टीका जति सभासद भए पनि आखिर सभासद सबैको महत्व उत्तिकै हो । जहाँसम्म भूमिकाको कुरा छ, भूमिका खोज्ने भन्दा पनि आफूले बनाउने कुरा हो । मलाई भर्खरकी केटी, सानो पार्टीकी सभासद भनेर शुरुमा धेरैले हेप्न नखोजेका होइनन् । तर आफ्नै भूमिकाका कारण अहिले मलाई सबैले बोल्ड भूमिकामा देख्न थालेका छन् । संविधान निर्माण प्रक्रियामा म अरु सभासदभन्दा आफूलाई अब्बल भूमिकामा छु भन्ने लाग्छ ।

पहिलोपल्ट सभासद बन्दा जुन कल्पना गर्नुभएको थियो, सभासद भएर संविधानसभामा छिरेपछि त्यो भन्दा फरक भयो कि कल्पना गरेजस्तै ?

म ०६४ सालको संविधानसभा निर्वाचनमा पनि परिवारदलबाट समानुपातिक सभासदको उम्मेदवार थिएँ । तर, त्यसपटक पार्टीले एकसिट मात्र पाएकाले सभासद हुन पाइएन । यसपटक सभासद भएपछि स्वभाविक रुपमा मनमा धेरै कल्पनाहरु आएका थिए । यसो गर्छु, उसो गर्छु भन्ने थियो । तर, यहाँ आएपछि राज्यको मेकानिज्म नै यस्तो छ कि हामीले चाहेर पनि केही गर्न नसकिने रहेछ ।

संविधान बनाउने ठूला दलहरुले नै हो, माघभित्र संविधान जारी गर्ने प्रतिबद्धता ठूला दलहरुले पूरा गरेका छन् भन्ने त थाहा छ नि होइन ?

ठूलो र सानो दलको लघुताभाष हामीलाई छैन । म बास्तवमा कुनै दलका शीर्ष नेताभन्दा कम खटेकी छैन । तपाईलाई भनौं, संविधानसभा चुनावअघि मेरो तौल ५८ केजी थियो, अहिले घटेर ४८ केजीमा झरेको छ । आफैं अनुमान लगाउनुस् हामी कति खटेका छौं र यो देशको अवस्थाप्रति कति चिन्तित छौं भनेर । मैले त ठूला दलका ठूला नेताहरुलाई पनि भन्ने गरेकी छु, हामीलाई साना भनेर नहेप्नुस् । तपाईहरुसँग भन्दा बढी ज्ञान, सीप र विद्धता हामीसँग छ भनेर मैले त भनेकी छु ।

साना दलका नेताहरुले त सभासदमा आफ्नै श्रीमती, प्रेमिका र पैसावालाहरुलाई मात्र दिने गरेका थिए, तपाई कुन कोटीमा पर्नुभयो ?

वास्तवमा मलाई धेरैले यो प्रश्न गरेका छन् । केही साना दलले समानुपातिक प्रणालीको नाममा श्रीमती, प्रेमिका र पैसामा सभासद बेचेका कारण सबैलाई एउटै कोटीमा राखेर हेर्न थालियो । तर, हाम्रो पार्टीमा त्यस्तो भएन । हुन त हाम्रो अध्यक्षकी श्रीमती पनि उम्मेदवार हुनुहुन्थ्यो तर जातीय, क्षेत्रीय, लिंगीय सबै समावेशीकरणका लागि परिवार दलले मलाई सभासद बनाएको हो । यसमा कुनै शंका गर्नु पर्दैन ।

परिवार दललाई त क्रिश्चियन धर्म प्रचार गर्ने संस्था भनिँदो रहेछ नि होइन ?

यो आरोप पनि धेरै ठाउँमा मैले सुनेँ । युनिभर्सल पिस फेडरेशन भन्ने संस्था र परिवार दलको सम्बन्धमा जसरी यो कुरा आएको छ, यो शतप्रतिशत गलत छ । यदि त्रिश्चियनको पार्टी हुन्थ्यो भने म कसरी सभासद बन्न सक्थेँ ? म त पुस्तौंदेखि हिन्दू परिवारकी हुँ ।

पार्टीको नाम परिवार दल छ, परिवार दलका अध्यक्ष एकनाथ ढकालका सात-आठवटी छोरीसहितको ठूलो परिवार छ भनिन्छ, अनि तपाईको परिवार चाहिँ कत्रो छ ?

परिवार दल भन्दैमा धेरै ठूलो परिवार जन्माउने वा श्रीमान-श्रीमती धेरै भित्र्याउने भन्ने अर्थ नलगाउनुहोला । जहाँसम्म मेरो परिवारको कुरा छ, अहिलेसम्म त म अविवाहित छु, बुबाआमासहितको परिवारमा बस्छु । अब विस्तारै आफ्नो परिवार निर्माण गर्नेतिर सोच्दैछु ।

संविधान निर्माण गरेपछि परिवार निर्माण गर्ने बिचार हो कि अघि नै ?

त्यस्तो कुनै बारबन्देज छैन । यो जन्म, मृत्यु र बिहे भन्ने कुरा यतिबेलै गर्छु भनेर हुँदो रहेन छ । संविधान निर्माणसँग बिहेको कुनै सम्बन्ध छैन । तर, उपयुक्त मान्छे नभेटेर विवाह नभएको हो । राइट टाइम, राइट प्लेस र राइट पर्सन भेटिएपछि बिहे गर्छु । मेरा मागी बिहे होस् भन्ने चाहान्छु र त्यो पनि अन्तरजातीय, अन्तर भाषिक र अन्तर धार्मिकखालको भए सुनमा सुगन्ध हुन्थ्यो ।

सभासदसँग बिहे गर्नका लागि त केटाहरुको ताँती नै लाग्छ होला नि ?

हा हा हा…वास्तवमा उल्टो भएको छ मेरो हकमा । सभासद हुनुभन्दा अघि धेरैले प्रपोज गर्थे । कतिपय त हुरुक्कै भएका थिए । मसँग प्रेम र बिहे गर्नका लागि दरखास्त हाल्नेको लाइन नै थियो । तर, सभासद भएपछि किन हो कुन्नि, मान्छेहरु हच्किँदा रहेछन् । बिहे गर्छु, प्रेम गर्छु भन्नेहरु एकाएक साइड लागे । अहिले पनि केही मान्छे त पछि लागेका छन्, तर मैले हरियो बत्ती बालेको छैन ।

बिहे मात्रै नगरेको त हो नि, बिहेजन्य कामलाई राजनीतिले रोक्दैन क्यारे ?

तपाइको प्रश्नको आशय मैले बुझेँ । वास्तवमा म सभासद बन्नुअघि चार वर्ष अमेरिकामा बसेँ । जापान, कोरियालगायत विदेशमा धेरै समय काममा रहेँ । कसैले पनि पत्याउदैन म कुमारी छुभन्दा । यतिका वर्षमा विदेशमा बसेकी, राजनीतिमा लागेर सभासद भइसकेकी युवती कसरी कुमारी हुन्छे भन्छन् । यो मान्छेको सोच्ने दृष्टिकोणको समस्या हो । मैले ढाँट्नुपर्ने वा लुकाउनुपर्ने कुरा छैन । वास्तवमा आजको मितिसम्म म कुमारी छु र मेरो मान्यता भनेको बिहे गरेको पहिलो रात आफ्नो श्रीमान वा श्रीमतीले दिने उपहार नै कुमारित्व हो भन्ने छ ।

विदेशमा बस्दा धेरै साथीले यौन सम्बन्धको प्रस्ताव राख्थे । तर, मैले हाम्रो संस्कार यस्तो होइन भनेर उनीहरुलाई सम्झाउँथे । कतिपयले त मबाट बच्चा जन्माउन पनि खोजेका हुन् ।

तपाईले कुमारी छु भन्दा कसले पत्याउलान् र होइन ?

पत्याउनु नपत्याउनु मान्छेमा भर पर्छ । मलाई थाहा छ, अनलाइनखबरमा यो अन्तरवार्ता प्रकाशित हुँदा पनि धेरैले नपत्याउन सक्छन् । कस्ता कस्ता कमेन्ट आउछन् भन्ने पनि मैले मनमा सोची सकेकी छु । म कुमारी छु भन्दा संविधानसभाका धेरै सभासद साथीहरुले पनि पत्याउदैनन् । तपाई अझै पनि कुमारी नै हो र ? भनेर प्रश्न गर्छन् । तर, मलाई मेरा गुरु मुनले कुमारी रहने तरिका सिकाउनुभयो । म आफूलाई कुमारी राख्नमा मेरा गुरुको दीक्षाले काम गरेको ठान्छु । डा. मुनको दर्शन पढेर कुमारीत्व जोगाउन सिकेकी हुँ ।

संविधानसभामा मौलिक अधिकारको विषयमा छलफल चलेको छ, अहिलेको पुस्ताले यौन स्वतन्त्रतालाई पनि मौलिक हकको रुपमा राख्नुपर्छ भन्छ नि ?

वास्तवमा मैले देखिरहेकी छु, नयाँ पुस्ता निकै उदार भएको छ । विहेपूर्वको सेक्सलाई सामान्य मात्र होइन, कतिपयले त मौलिक हक भन्न थालेका छन् । ठिकै छ व्यक्तिगत कुरा हो, यसमा म केही भन्दिँन । तर, जोसँग पनि जहाँ पनि जतिबेला पनि गरिने सम्बन्धले अराजकता निम्त्याउँछ । अहिले त बिहे नगरीसँगै बस्ने लिभिङ टुगेदर संस्कृति नेपालमा पनि देखिन थालेको छ । म यस्तो प्रवृतिको सख्त बिरोधी हो । लिभिङ टुगेदरलाई नेपालमा संस्थागत हुन दिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment