Comments Add Comment

भारतको राज्यसभा नेपालबारे बहस सुरु हुनासाथ स्थगित, अर्को बैठकमा लामो छलफल हुने

Rajya-Sava

१७ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु हुनासाथ स्थगित भएको छ ।

बहसका लागि छुट्याइएको एक घन्टाको समय कम भएको भन्दै सांसदहरुले अवाज उठाएपछि अब अर्को दिन लामो (कम्तिमा साढे ३ घन्टा) छलफल हुनेछ ।

बहसको प्रारम्भमा विदेशमन्त्री सुष्मा स्वराजले नेपालको परिस्थितिबारे लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई वीचैमा रोके । लिखित वक्तव्य आइसकेकाले पढिरहनु नपर्ने उपसभापतिले बताएपछि मन्त्री स्वराजले प्रतिवाद गर्न खोजिन् । तर, उनलाई थप बोल्न दिइएन ।

‘यसोभए यो पढे सरह भयो’ भन्दै मन्त्री स्वराज बसिन् । राज्यसभामा ध्यानाकर्षण पत्र दर्ता गराएका जीडीयूका सांसद पवनकुमार बर्माले समय पाए ।

उनले नेपालमा संविधान जारी गर्नु केही दिन अघि मात्र किन विशेष दूत पठाइयो भन्दै प्रश्न उठाए ।

उनले तीन मिनेटमा आफ्नो कुरा राख्न सकेनन् तर, उपसभापतिले बेल बजाएपछि फेरि लफडा सुरु भयो । प्रत्येक सांसदलाई नेपालबारे ३ मिनेट बोल्न दिइएको थियो ।

बर्मालाई रोकिएपछि विदेशमन्त्री सुष्माले वीचैमा उठेर भनिन्-‘म सांसदहरुको भावनाको कदर गर्छु, यो तीन/तीन मिनेटमा बहस गरेर सकिने विषय होइन । छोटो बाटोबाट छलफल गर्नेभए आजै रातिसम्म बसेर गरौं, म भोलि जवाफ दिन्छु, या अर्को हप्ता दिन्छु, कसरी छलफल गर्ने हो, गरौं ।’

बैठकमा अधिकांश सांसदहरुले नेपालबारे छलफल गम्भीर भएको भन्दै लामो छलफल आवश्यक भएको बताए । परराष्ट्रमन्त्री स्वराजले सोमबारको मिति प्रस्ताव गर्दै साढे ३ घन्टाको साटो ४ घन्टा छलफल गर्न आग्रह गरेकी छन् ।

तर, उपसभापतिले अर्को बैठकको समय तय गर्ने बताए । र, नेपालबारेको छलफल सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment