१५ पुस, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियनको आयोजनामा बुधबारदेखि ललितपुरको हरिहरभवनमा भूकम्प प्रतिरोधात्मक ग्रामीण आवासको डिजाइन प्रदर्शनी सुरु भएको छ । एसोसिएशनका अध्यक्ष ध्रुवराज थापा र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति जीवराज पोखरेलले प्रदर्शनीको उदघाटन गरे ।
प्रदर्शनीमा गाउँघरमा उपलब्ध स्थानीय स्रोत प्रयोग गरेर निर्माण गर्न सकिने ६२ वटा घरको नमूनाहरु राखिएका छन् । इञ्जिनियरिङका विद्यार्थीसहित व्यवसायिक इन्जिनियर र इन्जिनियिरिङ संस्थाहरु प्रदर्शनीमा सहभागी छन् ।
उत्कृष्ट ठहरिने घरको नमूना बनाउनेलाई १७ लाख रुपैयाँ पुरस्कारसमेत प्रदान गरिने नेपाल इन्जिनिर्यस एशोसियनले जनाएको छ । प्रदर्शनीमा राखिएका केही घरका नमूना र तिनको विस्तृत विवरणबारे हामी चर्चा गर्दछौं ।
यो घर ६ जनासम्म परिवारका लागि डिजाइन भएको हो । यसमा २ वटा बेडरुम छन् । यसमा भन्सासँगै घरभित्र प्रशस्त खाली ठाउँ पनि रहन्छ । प्लाष्टिकको पोलिथिनमा माटो भरेर यो घर निर्माण गरिनेछ । काठको पनि प्रयोग हुन्छ । घरको तल्लो भागमा गाउँघरमा खाद्यान्नहरु राख्न स्टोरका रुपमा प्रयोग गर्न सकिने भाग पनि छ ।
यसमा जस्ताको छानो प्रयोग हुन्छ । तातो-चिसो व्यवस्थापन गर्न जस्ता मुनि इन्सुलेसन पनि प्रयोग गरिन्छ । २ तलाको यो घर गाउँ घरका लागि निकै उपयुक्त हुने डिजाइनकर्ताहरुको भनाइ छ । यो घर बनाउन ६० दिन लाग्ने अनुमान छ । ५ लाख ३२ हजार रुपैयाँमा यो घर निर्माण गर्न सकिन्छ ।
यो नमूना घर माटोमा सिमेन्ट मिसाएर ढुंगाको गाह्रो राखेर बनाइन्छ । यसमा काठको पनि प्रयोग हुन्छ । ३ वटा बेडरुम रहेको यो घरमा एउटा भान्सा पनि रहन्छ । यो ७ जनाको परिवारका लागि उपयोगी घर हो । यो घर बनाउन १४ देखि १५ लाख रुपैयाँसम्म खर्च हुन्छ । ९० दिन घर बनाउन लाग्छ । घर पूर्णरुपमा भूकम्प प्रतिरोधी प्रविधिको छ । घरको छानोमा जस्तापाता नै प्रयोग हुन्छ । भूकम्प प्रतिरोधी बनाउन गाह्रोमा लकिङ सिस्टमका रुपमा प्लाष्टिकका बलिया डोरीलाई इन्टरलक गरिन्छ । जसले भूकम्प आएपनि गाह्रो भत्किन दिँदैन ।
यो नमूना घर धादिङको तिप्लिङलाई आधार मानेर डिजाइन भएको हो । यो घर पूर्ण रुपमा काठको प्रयोग गरेर बनाउन सकिन्छ । यसको विकल्पमा अन्य निर्माण सामाग्री पनि यसमा प्रयोग हुन सक्छ । यो घरको निर्माण लागत १० देखि १२ लाख रुपैयाँ छ । काठमात्र प्रयोग गर्दा यो केही महंगो पर्ने देखिएको हो । भूकम्प प्रतिरोधी घरलाई यो घरमा ४ वटा बेड रुमसहित भान्सा पनि हुन्छ । यो घरको छानामा ढुंगा/स्लेटको प्रयोग गर्न सकिने गरी डिजाइन भएको छ । त्यसको विकल्पमा अन्य सामाग्री पनि छानामा प्रयोग गर्न सकिन्छ । घरको भित्रि भागमा प्रशस्त खुला भाग लिभिङ रुमका रुपमा रहन्छ । भूकम्प प्रतिरोधी बनाउन लकिङ प्रविधि पनि यसमा प्रयोग गरिन्छ ।
यो घरको निर्माणका लागि स्थानीय स्तरमा इन्टरलक ईंटाको निर्माण गर्नुपर्छ । यो स्थानाीय स्तरमा उपलब्ध माटोबाटै बन्छ । माथिल्लो भागमा प्वाल परेको र तल्लो भागमा उठेको ईंटा खाप्दै यसको गाह्रो निर्माण गरिन्छ । यसका ईंटाले नै गाह्रोलाई इन्टरलक गर्छ । यो घरमा ५ वटा बेडरुम हुन्छन् । घरभित्र नै शौचालय राख्न सकिने डिजाइन छ । १० जनासम्मको परिवारका लागि यो घर उपयुक्त हुन्छ । यो घर बनाउन ६ देखि ७ लाख रुपैयाँ पर्याप्त हुन्छ ।
यो घर सिन्धुपाल्चोकका लागि उपयुक्त हुने गरी डिजाइन भएको हो । यो घरमा दुईवटा बेडरुम छन् । यो घरको बीचभागको माथि पानी ट्याङ्की पनि राख्ने सुविधा पनि हुनेछ । घरभित्र शौचालय पनि हुनेछ । २ वटा बेड रुम र भान्सा तथा लिभिङ रुम पनि यसमा छ । यो घर ५ देखि ६ जना सदस्य भएका परिवारका लागि उपयुक्त छ । भूकम्प प्रतिरोधी घरमा जस्तापाताकै छाने रहनेछ । यो घर ६० दिनमा बनाउन सकिन्छ । जस्ताबाट चिसो छिर्न नदिन मान्द्रोको इन्सुलेसन लगाइने छ । यो घरमा भित्रसम्म सहजै घाम छिर्न सक्ने गरी डिजाइन भएको छ । यो घर बनाउन ८ लाख रुपैयाँसम्म लागत लाग्छ । ढुंगा र सिमेन्ट मिसाएको माटोको प्रयोग गरी यो घर निर्माण गर्न सकिन्छ ।
यो घर मकवानपुरको कालिकाटारका लागि उपयुक्त हुन्छ भनेर डिजाइन भएको हो । ढुंगामा र काठको प्रयोग गरेर यो घर निर्माण गर्न सकिन्छ । २ वटा बेडरुम रहेको यो घरमा प्रशस्त खाली ठाउँ लिभिङ रुमका रुपमा छ । यो घरको भित्र शौचालय भने रहने छैन । यो घर बनाउन ६ लाख ४० हजार रुपैयाँ लागत लाग्न सक्छ । छानामा जस्ता नै प्रयोग हुनेछ । साधारण किसिमको यो घरलाई भूकम्प प्रतिरोधी बनाउन इन्टरलक गर्ने प्रविधि प्रयोग हुनेछ ।
प्रतिक्रिया 4