Comments Add Comment

यी हुन् पोखराका डाँडामा खुलेका ६ लक्जरी होटल

उपत्यकामा भन्दा डाँडातिर लगानीकर्ता आकर्षित

४ वैशाख, पोखरा । एउटा त्यस्तो समय थियो, पोखराको पर्यटन भन्ने वित्तिकै लेकसाइड मात्रै बुझिन्थ्यो । पोखरा आउने पर्यटक लेकसाइडमै बस्नुपर्ने बाध्यता थियो । अन्य ठाउँमा स्तरीय होटल खुलेका थिएनन् ।

तर, अहिले लेकसाइडमा मात्र बस्नुपर्ने बाध्यता छैन । पोखरा आसपासका डाँडामा राम्रा स्तरीय होटल सञ्चालनमा आइसकेका छन् । आँखै अगाडि सुन्दर हिमाल, हरियाली डाँडा, पोखरा शहरको दृश्यावलोकन गर्दै बस्न पाइन्छ । जुन पोखरा उपत्यकामा बसेर देख्न पाइँदैन ।

यहाँ हामीले पोखराका डाँडाकाँडामा खुलेका ६ वटा होटलको सामान्य जानकारी दिने प्रयास गरेका छौंः

हिमालय फ्रन्ट रिसोर्ट
वरिष्ठ पर्यटन व्यावसायी कर्ण शाक्यले गत पुसदेखि सराङकोटमा चारतारे स्तरको हिमालय फ्रन्ट रिसोर्ट सञ्चालनमा ल्याएका छन् । पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टका हरेक रुमबाट आँखै अगाडि सुन्दर हिमाल र पोखरा उपत्यका हेर्न सकिन्छ ।
Himalaya-Front-Resort-5

रिसोर्टमा करिव १५ करोड रुपैयाँ लगानी भएको छ । पाँच तलाको भवनमा ४४ रुम रहेका छन् । रिसोर्टमा ५ हजारदेखि १० हजार रुपैयाँसम्मका रुमहरु रहेको रेसिडेन्ट म्यानेजर किरण खड्काले बताए ।

यो रिसोर्ट स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी खोलेको शाक्यले बताए । ‘हाम्रा होटलहरुमा आउने विदेशी पर्यटकमा जापानी र युरोपेली बढी छन्’ उनले भने- ‘पछिल्लो समय नेपाली पनि घुम्न थालेका छन्, नेपाली पनि हाम्रा मुख्य ग्राहक नै हुन् ।’

विन्दावासिनी मन्दिरबाट यो रिसोर्टमा पुग्नका लागि करीव २ किलोमिटरको दुरी पार गर्नुपर्छ । डाँडामा बस्न रुचाउने पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

Himalaya Deurali Resort

हिमालय देउराली रिसोर्ट
यो रिसोर्ट पोखराबाट बाग्लुङ जाने बाटोमा नौ डाँडा भन्ने ठाउँमा रहेको छ । रिसोर्टमा २४ रुम छन् । १२ वटा डिलक्स रुम छन् भने १२ वटा सुपर डिलक्स रुमहरु छन् । रिसोर्ट ३३० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यसमा गुरुङ कला झल्किने खालका ६ वटा कटेज छन् । हरेक कटेजमा चारवटा रुम बनाइएका छन् । यो रिसोर्ट गणेशमान गुरुङले जग्गाबाहेक ५ करोड रुपैयाँ लगानी गरी सञ्चालनमा ल्याएका हुन् । यहाँ पुग्नका लागि पोखराबाट २० किलोमिटरको दुरी पार गर्नुपर्छ ।

रिसोर्टमा विदेशी पर्यटकका लागि डिलक्स रुमहरु ७० देखि ९० डलर र सुपर डिलक्स रुमहरु ८० देखि १०० डलरमा दिइरहेको गुरुङले बताए । नेपालीलाई डिलक्स ३ हजार र सुपर डिलक्स ३५ सय रुपैयाँ दिइरहेको उनको भनाइ छ ।

यो रिसोर्ट माउन्टेन भ्यूका लागि निकै उत्तम मानिन्छ ।  यो रिसोर्टबाट सूर्योदय र सूर्यास्त राम्रोसँग देख्न सकिन्छ । हरेक कोठाको ओछ्यानमै ढल्किएर हिमाल हेर्न सकिन्छ । यहाँबाट सिधा दुरीमा माछापुच्छ्रे हिमाल छ ।

रिसोर्टमा दुईवटा रेष्टुरेन्ट र १५० जना अटाउ सक्ने सेमिनार हल छन् । यहाँ बढी ग्राहक चाइनिज र अन्य मुलुकका आउने गर्छन् । नेपालीहरु ५ प्रतिशतमात्र हुने गरेको गुरुङको भनाई छ ।

Rupakot-Resort-5

रुपाकोट रिसोर्ट

बेगनास र रुपातालको डाँडामा रुपाकोट रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक दृश्यावलोकनका लागि यो रिसोर्ट उत्तम छ । रिसोर्टमा १२ वटा भिल्ला छन् । जहाँ ४२ वटा डिलक्स रुमहरु छन् ।

रिसोर्टमा विदेशी पर्यटकलाई प्रतिकोठा ३ सय डलर तोकिएको छ । नेपालीका लागि कम नै रेट छ । दुई सय रोपनी क्षेत्रफलमा फैलिएको यो होटल २ वर्षअघि सञ्चालनमा आएको हो । रिसोर्टमा अहिलेसम्म ३५ करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक पुष्प अधिकारीले अनलाइनखबरलाई बताए ।

अब छिट्टै स्वीमिङ पुल र स्पा सञ्चालनमा ल्याउन लागेको अधिकारीले बताए । रिसोर्टमा सबै सुविधाहरु पुराएर पाँचतारेका लागि आवेदन दिने तयारीमा उनी छन् ।

रिसोर्टमा हेलिप्याडसमेत बनाइएको छ । गैरआवासीय नेपाली शेष घले उद्घाटन गर्न हेलिकप्टर लिएर रिसोर्ट पुगेका थिए ।
रिसोर्टको मुख्य विषेशता एकै ठाउँबाट बेगनास र रुपा तालका साथै दर्जनांै हिमशृंखला र पोखरा शहरको दृश्यावलोकन हो ।
Raniban Resort (2)

 

रानीवन रिट्रिट रिससोर्ट

यो रिसोर्ट विश्व शान्ति स्तुपाको माथिपट्टी रानीपोवामा रहेको छ । अग्लो डाँडामा रहेको यो रिसोर्टबाट हिमाल, फेवाताल र पोखरा शहर निकै मनमोहक र नजिकै देखिन्छ । यो रिसोर्ट १३ रोपनी क्षेत्रफलको डाँडोमा फैलिएको छ ।

रिसोर्टमा १० वटा रुम छन् । चारवटा डिलक्स रुमहरु छन् । सनराइज भ्यू रुम तीनवटा छन् । तीनवटा माउन्टेन फेसिङ अर्थात माउन्टेन भ्यू रुम छन् । माउन्टेन फेसिङ रुममा निजी गार्डेन समेत छ ।

सबै रुमहरु छुट्टा छुट्टै कटेजमा छन् । रिसोर्टमा १० कटेज छन् । हरेक रुममा सबैखाले सुविधा छन् । यो रिसोर्ट वातानुकुलित रहेको छ । रिसोर्टमा जेनेरेटर प्रयोग हुँदैन । तातोपानी र विद्युतका लागि सोलार राखिएको छ । रिसोर्टमा अर्गानिक प्रोडक्ट प्रयोग गर्ने गरेको महाप्रबन्क गंगा सागरले बताए ।

रिसोर्टमा विदेशी पर्यटकका लागि ९० डलरदेखि १६० डलरसम्मका कोठा छन् । नेपालीहरु भने चार/पाँच हजार रुपैयाँ तिरेर रिसोर्टमा बस्न सक्छन् ।

टि्रप एडभाइजरले सार्वजनिक गरेका पोखराका टप ६७ होटल तथा रिसोर्टमध्ये यो रिसोर्ट चौथो नम्बरमा पर्न सफल भएको छ । यो रिसोर्ट बरिष्ठ पर्यटन व्यवसायी विजय श्रेष्ठले सञ्चालन गरिरहेका छन् ।

begnas-lake-resort-pokhara

बेगनास लेक रिसोर्ट, एन्ड भिल्लाज

बेगनास तालको किनारमा आकर्षक घरहरु भएको एउटा गाउँ देखिन्छ । त्यही घरहरु भएको गाउँ नै बेगनास लेक रिसोर्ट एन्ड भिल्लाज हो । जिमिरे भन्ने ठाउँमा रहेको यो रिसोर्टमा जानका लागि डुंगाबाट आधा घण्टा लाग्छ । डिँडेर पनि पुग्न सकिने रिसोर्टमा धेरैजसो पाहुनाहरु डुंगा चढेरै जाने गर्छन् ।

रिसोर्टमा १६ वटा भिल्लाहरु छन्, जसमा ४० कोठा छन् । भिल्लाहरु कुनैमा ४ रुमहरु, कुनैमा २ रुमहरु छन भने दुईवटा भिल्लाहरुलाई फेमिली स्वीट रुम बनाइएको छ ।

यो रिसोर्टमा सिंगल बेडका लागि विदेशीले १२० डलर र सेवा शुल्क तथा भ्याट बुभाउनुपर्छ । डबल रुमका लागि १३० डलर र सेवा शुल्क तथा भ्याट बुझाउनुपर्छ । नेपाली ग्राहकका लागि ४ हजार रुपैयाँ र सेवा शुल्क तथा भ्याट तोकिएको छ ।

रिसोर्टका सबै रुमहरु डिलक्स हुन । रिसोर्टमा केमिकल फि्र स्वीमङ पुल रहेको महाप्रबन्धक अर्जुन पराजुलीले जानकारी दिए । उनका अनुसार रिसोर्टमा राम्रो गार्डेन बनाइएको छ । जहाँ केरा, अम्बा, सुन्तला, लिची, कागती, ओखर, नासपाती, अमला लगायतका फल र विभिन्न थरी फूलहरु लगाइएको छ ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट तीनतारे स्तरको हो । रिसोर्टको आँगन नै बेगनास ताल भएको पराजुलीले बताए । यो रिसोर्ट प्रेमवीरजङ्ग राणाले ०६७ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।

Pavillion

दि पेभिलियन हिमालयज रिसोर्ट

पोखराको पुम्दीभुम्दीमा ब्रिटिस र नेपाली व्यवसायीले ‘दि पेभिलियन हिमालयज’ रिसोर्ट सञ्चालन गरेका छन् । रिसोर्टमा बि्रटिस डग्लस मेग्लाजनको ७५ प्रतिशत र नेपाली इनसुवा तामाङको २५ प्रतिशत लगानी छ । रिसोर्टमा करीव ३० करोड लगानी छ ।

रिसोर्टमा १५ वटा छुट्टा-छुट्टै लक्जरी भिल्लाहरु छन् । सबै भिल्लाहरुमा बुटिक स्वीट रुम बनाइएका छन् । एयरपोर्टबाट करिव २० मिनेट गाडीबाट हिँडेपछि रिसोर्टमा पुगिन्छ । पेभिलियन हिमालयजमा प्ररम्परागत डिजाइन र आधुनिक विलासिताको संयोजन गरिएको छ ।

करिव ६५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्वीमिङ पुल, स्पा, जीम, ज्याकुजी, साउन लगायतका सुविधा उपलब्ध छन् । साथै, आफ्नै अर्गानिक फार्म पनि बनाइएको छ । यहाँ पेभिलियन हिमालयमा पेभिलियन्स क्लासिक, डिलक्स भिल्ला, पेभिलियन ग्रान्डी र घर फेमिली कटेज गरी चार प्रकारका भिल्लाहरु छन् ।

पेभिलियन्स क्लासिक भिल्ला थकित पाहुनाका लागि उपयुक्त हुने बताइएको छ । यसमा इनस्वीट बाथरुम र बरण्डासमेत छ । डिलक्स भिल्लामा बरण्डा, इनस्वीट बाथरुम, टप्स, सिसाको ढोका, सेप्रेड टब, ज्याकुजी लगायतका सुविधा छन् ।

पेभिलियन ग्रान्डी भिल्ला विशाल, शान्त र आरामदायी छ । यसमा पनि निजी बरण्डा, टब, ज्याकुजी, छुट्टै भोजन कक्ष, इनस्वीट लक्जरी वाथरुम लगायत छन् ।

फेमिली कटेज विशेष गरी परिवारसँग घुम्न आउने पर्यटकका लागि तयार पारिएको हो । जहाँ पर्यटकले एक रातको प्रतिबेड एक सय ८० डलर तिर्नुपर्ने हुन्छ । पुरै रुम एक जनाले लिएमा २ सय ३५ डलर तिर्नुपर्नेछ भने दुईजना बसेमा ३ सय ६० डलर तिर्नुपर्ने हुन्छ ।

Himalaya Deurali Resort 2

डाँडाकाँडामा बढ्दो लहर

पर्यटक पनि शहरमा भन्दा डाँडाकाँडा घुम्न र बस्न मन पराउँछन् । पर्यटकको यही चाहनालाई मध्यनजर गरी होटल व्यावसायीले डाँडामा होटल खोलिरहेका छन् । पछिल्लो समय पोखरा आसपासका डाँडामा होटल स्तरीय होटल खोल्ने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

पोखरामा उपत्यकामा जग्गाको भाउ आकासिनुका साथै चाहेजति जग्गा नपाइने हुँदा होटल व्यावसायी उपत्यका बाहिर आकषिर्त भएका हुन् । अहिले पोखरा उपत्यकामा भन्दा बढी सेवा सुविधा भएका र महंगा होटलहरु डाँडाकाँडामा खुलेका छन् । जुन होटलका प्रमुख ग्राहक विदेशी हुने गरेका छन् ।

खासगरी सराङकोट, बेगनाश रुपाकोट, नौ डाँडा, पुम्दीभुम्दी, विश्व शान्ति स्तुपा आसपासमा होटल खुल्ने क्रम बढिरहेको छ । आधा दर्जन बढी स्तरीय होटल सञ्चालनमा आइसकेका छन् भने उत्तिकै संख्यामा बन्ने क्रममा छन् ।

ठूला व्यावसायीहरु पनि डाँडामै होटल खोल्न आकषिर्त भएको देखिन्छ । विभिन्न ठाउँमा आधा दर्जन बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका कर्ण शाक्यले हालैमात्र सराङकोटमा चारतारे स्तरको रिसोर्ट सञ्चालनमा ल्याए । अर्का पर्यटन व्यवसायी विजय श्रेष्ठले विश्व शान्ति स्तुपामाथि रिसोर्ट चलाइरहेका छन् ।

पोखरा र काठमाडौंमा तारे होटल सञ्चालन गरिरहेको सांग्रिला होटल्स एन्ड रिसोर्टले बेगनाशको पचभैया डाँडामा लक्जरी रिसोर्ट खोल्ने योजना बनाएको छ । लगानीको उपयुक्त वातावरण कुरिरहेको यो समूहले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएसँगै होटल निर्माण सुरु गर्नेछ ।

जापानी लगानीकर्ताले सराङकोटमा पाँचतारे होटल बनाइरहेका छन् । यो होटल यही वर्षभित्र सञ्चालनमा आउने बताइएको छ । उनले पोखराबाट होटलसम्म केवुलकार समेत सञ्चालन गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment