+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
१११ बलमा १५३ रन आवश्यक
विराटनगर किंग्स 2025
3/3 (1.3)
Shares
सिन्धुपाल्चोकबासीको तीतो अनुभव :

भूइँचालोपछिको मेलम्चीः कुलो भत्कियो, यो वर्ष रोपाइँ छैन !

गाउँवासी भन्छन्- सरकारी नक्शा काम छैन, दुई लाखमा घर बन्दैन

किशोर नेपाल किशोर नेपाल
२०७३ वैशाख १० गते १५:१४

Timbu Sindhupalchok, Earthquake Victims (20)

टिम्बू, सिन्धुपाल्चोक । ‘कति सुन्नु समाचारमा भूइँचालोको केन्द्र्रविन्दू सिन्धुपाल्चोक मात्रै । कहिलेकाहीँ अन्ततिर केन्द्रविन्दू बनाएर आएको भूइँचालोले घच्याक्क पार्दा अलिकति रमाइलो लाग्ने रहेछ’ चैत २७ गते ललितपुरको सैंबु भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर आएको ४.५ रिक्टरको भूइँचालोले दिएको कडा धक्का सम्झिँदै टिम्बूका निमा लामाले ठट्टा गरे ।

निमाका लागि भूइँचालोका कम्प र पराकम्पहरु स्वाभाविक बनेका छन् । उनी भन्छन्, ‘भूइँचालो आउँछ भनेर काम छोड्न भएन । पहिले-पहिले त निकै डर लाग्थ्यो । डर विस्तारै हराउँदै गयो । अहिले त्यस्तो केही लाग्दैन । आउँछ, जान्छ । अब त यो हाम्रो भाग्यमै लेखेको हो कि जस्तो लाग्दछ ।’

निमाको परिवार सानो छ । श्रीमती माया र १२ वर्षको अन्तरमा जन्मिएका दुई छोरा छन् । कान्छो छोरो चुलबुले छ । जेठो लक्का जवान देखिन्छ । पढ्दैछ ।

Timbu (19)

निमाको घर रेट्रो फिटिंगमा छ । वैशाख १२ को भूइँचालो र त्यसपछिका धक्काहरुले उनले भर्खरै बनाएको मजबूत भनिएको आरसीसी ढलान भएको घरलाई धुजाधुजा पार्‍यो । कुनै कोठा साबुत रहेनन् । घर बनाएपछि शुरु गरेको रेष्टुराँ कोठा त झनै ध्वस्त भयो ।

सानो लज चलाएर व्यवसाय गर्ने उनको सपना घरका अवशेषमा नराम्ररी दब्यो । तैपनि, निमा आत्तिएनन् । जग र पिल्लर मजबुद भएकाले घरको मूल संरचना जोगियो । भत्केकै घरमा उनले विस्तारै सानो रेष्टुराँ सञ्चालनमा ल्याए । सडकपारिको खाली जग्गा भाडामा लिएर आफूलाई खोज्दै आउने पाहुनाका लागि दुई कोठाकोे कटेज बनाए । त्यसपछि इञ्जिनियरको सल्लाहअनुसार पहिलो तलाको रेट्रो फिटिंगको काम शुरु गरे ।

Timbu (10)

पहिलो तला रेट्रो फिटिंग भए पनि घर बनाउने काम पूरा भएको छैन । निमा खासै सम्पन्न व्यक्ति होइनन् । त्यसैले पनि पूरै घरको रेट्रो फिटिंग गर्नका लागि अलिकति समय त लाग्ने नै भयो ।

निमाले हिम्मत हारेका छैनन् । तैपनि, किञ्चित निराशाको लयमा उनकी पत्नी माया भन्छिन्, ‘घर पनि के बनाउनुजस्तो लाग्छ कहिलेकाहीं । भूइँचालोको त्रासले आफ्नो जीवन नै छैनजस्तो लाग्छ । यो सिजन सकिइहाल्यो । असारमा घर बनाउने कुरा भएन, खेती लगाउने बेला । पोहोरको अनाज मकै, कोदो कति पुरिए कति । सबै कुहिएर सकिए । यसपाला त त्यसो नहोला ।’

Timbu (2)

कुनैबेलाको रमणीय पर्यटन विन्दू हेलम्बुको प्रवेशद्वार हो टिम्बू । एक जमानामा हेलम्बुको स्याउले राजधानी शहरमा निकै प्रसिद्धि कमाएको थियो । अहिले स्याउका बोट सबै मरेका छन् । यहाँको स्याउ खेती जोगाउन सरकारले पनि खासै सहयोग गरेन ।

स्थानीयवासीले स्याउ खेतीमा उति सारो चाख पनि देखाएनन् । तर, पर्यटकहरुका लागि हेलम्बूको महत्व अहिले पनि घटेको छैन । वौद्ध गुम्बाहरुले ध्यानकेन्द्रका रुपमा योे क्षेत्रको आकर्षण बढाएका छन् । वौद्ध धर्मका गुरु लामाहरुले हेलम्बुलाई शान्त क्षेत्रका रुपमा विकसित गर्दैछन् ।

Timbu (9)

हेलम्बु क्षेत्रमा नै पर्दछ बहुचर्चित मेलम्ची आयोजना । मेलम्ची नदीको पानीलाई यहीँबाट सुरुङ मार्फत काठमाडौं झार्ने ‘राष्ट्रिय गौरवको योजना’ पच्चीसौं वर्षदेखि अनवरतरुपले निर्माणाधीन अवस्थामा रहेर राष्ट्रिय गौरवलाई नै चुनौति दिइरहेकोछ ।

वैशाख १२ र त्यसपछिका भूइँचालोले पूरै सिन्धुपाल्चोक जिल्लालाई ध्वस्त वनाएको छ । भूइँचालोबाट जोगिएका एउटै साबूत गाउँबस्ती छैनन् जिल्लामा ।

सिन्धुपाल्चोक जिल्लाको आर्थिक मेरुदण्डका रुपमा रहेको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पहिरोको प्रकोपमा परेको थियो । भूइँचालोपछि अहिले त्यो क्षेत्रको जनजीवन असाधारण हिसाबले असहज वनेको छ । तत्काल त्यो क्षेत्र सामान्य हुने अवस्थामा छैन । तातोपानी नाका खुलेन भने तातोपानी, बाह्रबीसे र वरपरका बजारको अस्तित्व लोप हुनेछ ।

Timbu (22)

सिन्धुपाल्चोकमा भूइँचालोपछिको विपद व्यवस्थापनमा व्यवस्थाभन्दा बढी हाहाकार देखियो । राहत पाउनुपर्ने पीडित जनताले पाएनन् । धेरै अनकण्टार गाउँका लागि पठाइएका राहतका सामानमा बाठाटाठा, लुटेरा र ठगहरुले कब्जा जमाए । भूइँचालोको लगत्तै सरकारले वितरण गरेको २ हजार रुपैयाँको राहतमा पनि राजनीतिक मनोमानी भयो । दुर्गम भेगका अधिकांश जनताले त्यो रकम पाएनन् । छाप्रा र टहरा बनाउन सरकारले उपलव्ध गराएको पन्ध्र हजार रुपैयाँ सबैले पाए । जाडोबाट बाँच्न न्यानो खरीदका लागि सरकारले वितरण गरेको १० हजार रुपैयाँ अहिले पनि वितरण भइरहेकोछ ।

Timbu (21)

‘सरकारले दिएको त्यही २५ हजार मात्रै हो । घर बनाउन दुई लाख अनुदान दिने कुरा त हामीले रेडियोमा सुनेको मात्रै हो । थप केही कुरा सुन्न पाइएको छैन,’ निमा बताउँछन् ।

दावा ग्याल्जेन लामा गोल्मादेवी माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हुन् । उनी अहिले भूइँचालोले ध्वस्त भएको स्कूलको छात्रावास निर्माणको रेखदेखमा लागेका छन् । छात्रावास निर्माणमा निजी दान प्राप्त भएको छ जिमी लामाबाट । उनले स्कूल निर्माणमा जति नै लागे पनि आफूले खर्च जुटाउने बताएका छन् । लागत अनुमान गरेर निर्माण कार्य नगरिएकाले कति रकम लाग्ने हो, त्यसको कुनै ठेगान छैन ।

दोस्रो चरणमा विद्यालयको कक्षा कोठा निर्माणका लागि क्यारिटोसले ८ करोड रुपैयाँ छुट्याएको छ । कक्षा कोठाहरु सबै भत्किएका छन् । जाइकाले बनाइदिएको ब्लक बलियो छ । त्यसको गाह्रो मात्रै भत्किएको छ । सरकारको पुनर्निर्माण प्राधिकरणले चासोसम्म पनि राखेको छैन ।

Timbu (5)

दावा आफै भूइँचालो पीडित हुन् । उनले आफ्नो ठूलो घरका कोठाहरु भाडामा लगाउने गरेका थिए । घर भत्किएपछि उनी अहिले आफैं कोठा भाडामा लिएर बसेका छन् । सरकारले वितरण गरेको राहतका बारेमा उनको अनुभव तीतो छ । माघको अन्तिमतिर, जाडो कटिसकेपछि सरकारले न्यानो कपडा किन्न १० हजार रुपैयाँ पठाएको हो । त्यसपछि के हुँदैछ, केही पत्तो पाएका छैनन् उनले ।

भूइँचालोले कुलो भत्काएको छ । त्यसैले यो वर्ष रोपाइँ छैन । मकै छर्ने, कोदो रोप्ने, फलफूल खेतीमा लाग्ने चटारो छ ।

यो क्षेत्रमा हेल्भेटासले भूइँचालो पीडितहरुका लागि घर बनाइदिने चासो राखेको थियो । तर, सरकारले घर बनाउन २ लाखभन्दा बढी रकम खर्च गर्न नपाइने बताएपछि हेल्भेटास फेरि फर्केर गाउँमा आएन । दावा भन्छन्, ‘सरकारको नीति नै जनताका पक्षमा नभएपछि दाताहरुको उदासीनता स्वाभाविक नै हो ।’

दिलबहादुर लामा, जसलाई स्थानीय बासिन्दा जाङबुको नामले चिन्छन्, लामो समय भारतीय कम्पनीमा लाइनम्यानको रुपमा काम गरेर घर फर्किएका हुन् । उनले जीवनमा धेरै उतार-चढाव भोगेका छन् । भूइँचालोको पनि अनुभव छ उनलाई । तर, भूइँचालोले अहिले दिएको त्राशदीपूर्ण पीडा यसअघि उनले कहिल्यै भोगेका थिएनन् ।

Timbu (16)

घर भत्किएको छ । बनाउने त कहिले कहिले । उनी भन्छन्, ‘घर बनाउन सरकारले मद्दत गर्ने त भनेको छ, सरकारी इन्जिनियरहरु पनि आएका हुन् । उनीहरुले नक्सा देखाएर यस्तै घर बनाउनु भने । मेरो सानो दिमागले भन्छ, हामी त्यो सरकारी घरको डिजाइनभित्र छिर्नै सक्दैनौं । गाउँको घर आफ्नै किसिमको हुन्छ । यता घर बनाउन थोरैमा एक रोपनी जग्गा चाहिन्छ । अहिलेको डिजाइन साँगुरो छ । जागीर गरी खानेका लागि मात्रै त्यस्तो घर राम्रो होला । तर, कुटो कोदालो गर्ने हामी जस्ता किसानका लागि त्यो नक्साको काम छैन ।’

घङयुल (डाँडा गाउँ) का छिरिङ न्हिढुप लामाको भनाइ पनि उनको जस्तै छ- २ लाखले घर बन्दैन । उनी भन्छन्, ‘हामी दुर्गममा छौं, हामीकहाँ ज्यालाको भाउ चर्को छ । कामदारले दिनको एकहजार रुपैयाँ माग्छन् । मिस्त्रीको कमी छ । ज्याला मात्रै दिएर पुग्दैन । खाजा, खाना, जाँड सबै कुरा खुवाउनुपर्छ । गाउँमा भूइँचालोले सबै घरहरु भत्काएको छ । एउटा होटेल थियो, डोल्मा लज । त्यो भत्किएर पाँचजना पुरिए । दुईजनालाई बचाउन सकियो । तीनजनाको ज्यान गयो । तामाङ गाउँबाट आएका चारजना तामाङ भाइहरु पनि पुरिएर मरे । गाउँको छेउमा गएको पहिरोले डर बढाएको छ ।’

घङयुलका भूइँचालो पीडितलाई सरकारले होइन, विदेशमा रहेका वौद्ध समुदायका सदस्यहरुले राहत दिएका छन् । जर्मनीका एकजना वौद्धमार्गीले ध्वस्त भएका ४० घरधूरीको पुनर्निर्माणका लागि फलामको विम र जस्तापाता उपलब्ध गराएका छन् । छिरिंग लामाका अनुसार यसप्रकारको सहयोग अमेरिकामा सक्रिय रहेका लामा गुरुहरुले धेरै गरेका छन् ।

Timbu (7)

‘भूइँचालोले माग्ने बनायो जनतालाई’, ल्हाक्पा डोल्मा शेर्पा भन्छिन् । उनी स्थानीय स्कूलमा पढाउँथिन् । पढाउने काम छाडेर अहिले खुर्सानीका बेर्ना सार्दैछिन् । बाख्रा पालेकी छिन् । आफै टहरा बनाएर बसेकी छिन् । उनका अनुसार, ‘अचेल यता आधा ढुंगा, आधा जस्ताका घर बन्दैछन् । त्यति भयो भने भूइँचालो आउँदा ढुंगाले थिचिएर मर्न पर्दैन ।’

थिचिएर मर्ने वा घाइते हुने भय मात्रै होइन, जनताका लागि घर बनाउने कुरा त्यति सजिलो छैन । सरकारको भर कोही पनि पर्न चाहँदैन । कहिले दिन्छ कि दिँदैन, त्यसको ठेगान छैन । सरकारले दिने भनेको दुई लाख रुपैयाँले घर बन्दैन । आफैं घर बनाउन चाहनेहरुले पनि त्यस्तो आँट गर्न सकेका छैनन् ।

Timbu (6)

किनभने, भूइँचालो र नाकावन्दीपछि निर्माण सामाग्रीको भाउ अनियन्त्रित हिसावले ह्वाात्तै बढेको छ । सात सय रुपैयाँमा पाइने ५० केजी सिमेन्टको भाउ एक हजार पुगेको छ । ईंटा भक्तपुरबाट ल्याउनुपर्छ । एउटा ईंटाको मूल्य २३ रुपैयाँ पर्दछ । सरकारले बजारमा फैलिएको मनपरीतन्त्रका विरुद्ध कदम उठाउन सकेको छैन ।

अभाव त्यत्तिकै छ । सामान्य जनताका लागि भूइँचालो नआउँदा पनि दुःखै थियो । अहिले भूइँचालोपछि त त्यो दुःख अझै धेरै बढेको छ ।

यो थियो टिम्बुको अबस्था । लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका गाउँहरुमा कुनैबेला एकै डिजाइनका घर थिए । पर्यटकहरु ओइरिन्थे । एउटै रुखमा तीन-चार डोका स्याउ फल्थे । अब त्यो रौनक र त्यो चमक कतै देखिँदैन ।

Timbu (1)

यहाँका तन्नेरीहरु सबै विदेशतिर लागे । फर्केर सिमेन्टको घर बनाउन थाले । वातावरण बिथोलिन थाल्यो । अब त्यो प्राकृतिक समय त फर्किंदैन होला । तैपनि, भूइँचालोपछि केही होला कि भन्ने आशा छ छिरिंग लामालाई । किनभने विनासपछि नै निर्माण हुन्छ भन्ने मान्यता छ संसारको ।

उनी भन्छन्, ‘यो धार्मिक क्षेत्र हो । वौद्ध संस्कृतिको मुख्य क्षेत्र । यहाँ कट्टर वौद्ध धर्मावलम्वी लामाका गुम्बाहरु छन् । गुम्बा निर्माणका लागि सहायता आउन पनि थालेको छ । नयाँ केटाहरु अर्ग्यानिक खेतीमा लागेका छन् । केही हुन्छ कि ? आशा पल्हाएको छ । तर, अहिलेको चञ्चल समयमा त्यो आशा झांगिन्छ कि झांगिन्न ? यसै भन्न सकिँदैन ।’

(झण्डै चार दशकदेखि नेपाली गाउँघरका समाचार लेख्दै आएका बरिष्ठ पत्रकार किशोर नेपालले ग्रामीण पत्रकारितामा विशिष्टता हासिल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा सामान्य जनताका आवाजलाई शक्तिको शीर्षस्थानमा स्थापित गर्ने उनको गाउँ केन्द्रित टेलिभिजन कार्यक्रम ‘मत-अभिमत’ नेपाली समाजमा अत्यधिक लोकप्रिय थियो। भुइँचालो पीडित क्षेत्रबाट  पत्रकार किशोर नेपालको ताजा रिपोर्टको यो तेस्रो श्रृंखला हो ।)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो पनि पढ्नुस्

सिंगटी: भूइँचालोले थिचेको सुन्दर वस्ती

भूईंचालो पीडित वस्तीमा नयाँ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?