+
+
Shares

सत्य निरूपणमा उजुरीः शेरबहादुर देउवालाई कारवाही गरी पाउँ !

छमकुमारीले भनिन्– नभए खुमबहादुरलार्इ कारवाही होस्

दिल निसानि मगर दिल निसानि मगर
२०७३ वैशाख १७ गते १४:५५

cham kumari (1)“साँझको ९ बजेतिर आमा सञ्चै हुनुहुन्छ ? भन्दै दुर्इजना माओवादी भाइहरू आए । उनीहरु एकदमै भोकाएका जस्ता थकित देखिन्थे ।एकजनाको साथमा बन्दूक पनि थियो । अर्कोले झोला बोकेका थिए । ३ दिन भैसक्यो आमा, हामीले मुखमा अन्नको दाना हालेका छौनौं, केही खानेकुरा छ भने दिनुहोस्, निकै हतार छ, टाढा पुग्नु छ भन्थे उनीहरू । भोक लाग्यो आमा भनेपछि जोसुकै हुन् ती आफ्नै छोराछोरी जस्ता त हुन् नि । मैले उनीहरुलाई आटो र सिप्चना पेटभरि खान दिएँ ।”

“त्यसको ३ दिनपछि फेरि आए । तर, उनीहरूको हाउभाउ र बोलीचाली निकै फरक थियो । सुरूमा मैले ठानेको थिएँ यिनीहरु तिनै अस्ति आएका माओवादी भाइहरूका साथी होलान् । ए बुढीमाउ माओवादी कहाँ लुकाएर राखेकी छेस्, छिटो बाहिर निकाल् भनेपछि म झसङ्ग भएँ । भाँडाकुँडाहरू फ्याँक्न थालेपछि झन् सातोपुत्लो नै उड्यो । फोहोर शब्दहरू बोल्दै घरको भण्डार कुनासम्म पुगेर उनीहरूले खोजतलासी गरे । तर माओवादीलाई भेटाउन सकेनन् ।”

“मेरा श्रीमान गाँउमा शिक्षक हुनुहुन्थ्यो, उहाँ निकै इमान्दार मान्छे । राजनीतिमा कहिल्यै चासो दिनुभएन । स्कूलबाट फर्केर भर्खर आँगनमा पाइला टेक्नुभएको थियो । आयो माओवादी भन्दै उनीहरूले लात्ती-लात्तीले हाने । भूइँमा ढलाए । उहाँले म माओवादी होइन, शिक्षक हुँ, मलाई नपिट भनेर हात जोड्नुभयो । तर, उनीहरुले मेरा श्रीमानको याचना सुनेनन्, सत्यता बुझ्ने धैर्यता पनि देखाएनन् । अन्तत; उनीहरूले आँखामा पट्टी बाँधेर श्रीमानलाई लगे ।”

“त्यो दिन त्यसरी लगेपछि श्रीमान अहिलेसम्म घर फर्केर आउनुभएको छैन । भोलिपल्ट थाहा भयो, उहाँलाई लैजानेहरू सरकारी सैनिक रहेछन् । उनीहरू नेपाल आमाको रक्षक रहेछन् । माओवादीको आरोपमा उहाँलाई समातेर लगेको गाँउका जान्नेसुन्ने व्याक्तिहरुले सुनाए । तर, उहाँ माओवादी होइन, गाँउकै शिक्षक हुनुहुन्छ भनेर सैनिकलाई सुनाइदिने साहस कोहीसँग थिएन । छोराछोरी सानै थिए । मकहाँ जाउँ ? कस्लाई भनूँ ? रातदिन रोएरै दिन काटें ।”

माथिका यी ४ घटना-परिघटना सुनाएपछि छमकूमारी बस्नेत भक्कानो छाडेर रोइन् ।

बाग्लुङको गल्कोट नरेठाँटी वडा नम्बर १ बाग्ललुङ स्थायी घर भएकी छमकुमारी बस्नेत अहिले ४३ बर्षमा टेकिन् । कपाल फूल्न थाल्यो, आँखाले धमिलो देख्न थाले । cham kumari (2)

१९ बर्षको कलिलो उमेर हुदाँ उनले गाँउकै ढकबहादूर बस्नेतसँग विवाह गरेकी हुन् । ०४५ सालको त्यो बैशाख महिनामा आफ्नो बिहेको दिन घन्निएको बाजागाजा छमकुमारीको कानमा अझै गुन्जिन्छ । सँगै बाँच्ने, मर्ने कसम खाएको याद आउँछ । तर, जीवनको यात्रामा ०५८ सालमा आइपुगेपछि उनको खुशी खोसियो ।

अहिले छमकुमारीकी छोरी रिता बस्नेत २६ बर्ष र छोरा गिरिजा बस्नेत २४ बर्षका भैसकेका छन् । तत्कालीन शाही नेपाली सैनिकले उनीहरूका बुवालाई पक्राउ गरेर लैजाँदा गिरिजा ९ र रीता ११ बर्षका थिए । अघोषित एकल महिला भएर, धेरै दु:खकष्ट सहेर छमकुमारीले छोरा-छोरीलाई ठूला त बनाइन् तर बुवा जिउँदै छन् वा मरिसके भनेर चित्तबुझ्दो जवाफ दिन सकेकी छैनन् ।

हुन त श्रीमानको साथ सधैभरिका लागि हराएर जाला भन्ने छमकुमारीले कल्पनासम्म गरेकी थिइनन् । ढकबहादुर बस्नेत बन्दूक नै बोकेर युद्धमा हिँडेका माओवादी पनि थिएनन् । तर, शिक्षक भएका कारण माओवादी कार्यकर्ताहरू भेटघाट, छलफलका लागि उनको घरमा आइरहन्थे ।

माओवादीहरू आफ्नो घरमा आएको बेलामा एक गाँस खान दिने र बस्नका लागि गुन्द्री ओछ्याइदिने बाहेक ढकबहादुरको अरु कुनै संलग्नता थिएन माओवादीमा । उनी कुनै युद्धको मोर्चाबाट हतियारसहित समातिएका पनि थिएनन् । कुनै विशाल समारोहबाट पर्चासहित समातिएका पनि थिएनन् ।

‘मेरा श्रीमानलाई आजको मितिसम्म बेपत्ता बनाउनेहरूको नेतृत्व गर्नुभएका तत्कालीन प्रधामन्त्री शेरबहादुर देउवालाई कडाभन्दा कडा कारवाही गरीपाँउ ‘

“त्यतिखेर जताततै माओवादीको जगजगी थियो । घरमा आउँछौं भन्नेलाई नआउ भन्न सकिँदैनथ्यो । नआउभन्दा बित्तिकै माओवादीहरुले पनि मार्न सक्थे । आखिरीमा माओवादीलाई खान बस्न दिएको निहुँमा मेरो सोझो श्रीमानलाई हत्या गरियो ।” छमकुमारीको गला फेरि अवरूद्ध भयो ।

गहभरि आँशू लिएर उनले थपिन् -“मानवqअधिकारवादीहरुले भन्छन्- ‘तपाईको श्रीमान बेपत्ताको सुचिमा हुनुहुन्छ । हामीले खोजी कार्यका लागि पहल गरिरहेका छौ ।’ तर १५ बर्षसम्म किन बेपत्ता बनाइएको होला मेरा श्रीमानलाई ? जब कि युद्ध हाँकेका प्रचण्ड र बाबुरामहरू प्रधानमन्त्री नै भैसके ।  उहाँ त एउटा सामान्य शिक्षक हुनुहुन्थ्यो नि ।”

cham kumari3द्वन्दकालीन घटनाहरूलाई आधार बनाएर ७५ वटै जिल्लामा रहेका स्थानीय शान्ति समितिहरूले ऊजुरी लिन थालेपछि छमकुमारी बस्नेत आफ्नो श्रीमानलाई बेपत्ता बनाउनेहरुलाई कारवाही हुन्छ कि भन्ने आशामा शान्ति समिति बाग्लुङमा निवेदन बुझाउन आइन् । उनले निवेदनमा लेखिन् -‘मेरा श्रीमानलाई आजको मितिसम्म बेपत्ता बनाउनेहरूको नेतृत्व गर्नुभएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कडाभन्दा कडा कारवाही गरीपाँउ ।’

शेरबहादुर त ठूला नेता हुन् कहाँ कारवाही हुन्छ र ? भन्ने प्रश्नमा छमकुमारी भन्छिन्-“त्यसो भए त्यो खुमबहादुर खड्कालाई कारबाही गरिपाउँ । त्यतिखेर रेडियो नेपालमा खुबै बोलेका थिए खुमबहादुर । म जान्दिँन, को ठूलो, को सानो छ ? मेरा लागि मेरा श्रीमान भगवान हुनुहुन्थ्यो । म त्यही जान्दछु कि मेरो भगवान जस्तो श्रीमानको कि सास देउ कि लास देउ । म मेरो राजालाई एकपटक हेर्न चाहन्छु ।”

छमकुमारी फेरि भक्कानिन थालिन् ।

शेरबहादुर देउवाका कारण देशमा धेरै मानिसहरुले जीवन गुमाउन परेको छमकुमारीको बुझाइ छ । “भोलिका कर्णधारलाई शिक्षा दिने शिक्षकलाई सरकारले माओवादी भनेर मार्न मिल्दैनथ्यो । बेपत्ता त भनिएको मात्र हो, सत्यता मारिएको हो । गाउँको समस्या के छ, त्यो उनीहरुले बुझ्नुपर्थ्यो ।”

उनी भन्छिन्- राहत दिएन भन्दा सरकारले ५ लाख रुपैयाँ दिएको हो । यसका लागि सरकारलाई धन्यवाद । तर, दोषीलाई कारवाही हुनैपर्छ ।”

छमकुमारीसँग आफ्नो श्रीमानको सम्झना मेटाउनका लागि केबल एउटा तस्वीर मात्रै बाँकी छ । दशकौं भैसक्यो, शिरानीमुनि त्यही तस्वीरलाई राखेर नियालिरहेको । तर, तस्वीर कहिल्यै बोलेन, पीडा सुनेन । माओवादीले ढकबहादुरलाई बेपत्ताको सुचिमा राखेको छ ।

प्रचण्ड, बाबुराम प्रधानमन्त्री भएका बेलामा पक्कै खोजतलास हुन्छ भनेर उनले यो बेपत्ताको सुचिलाई सहजै स्वीकार गरिन् ।  माओवादीलाई सहयोग पनि गरिन् । चुनावमा मतदानसमेत गरेर पहिलोपटक माओवादी भइन् ।

बेपत्ता सुचिमा रहेको श्रीमानको तस्वीर हेर्दै छमकुमारी भन्छिन्- “माओवादी सरकारको पालामा उहाँको खोजी हुन्छ वा हत्या गरिएको टुंगो लाग्छ भन्ने ठूलो अपेक्षा थियो, तर कसैले वास्ता गरेनन् । अरु पार्टीका मानिसहरू भन्दा नि निष्ठुरी देखिए माओवादीका नेताहरू । काठमाण्डौमा बस्ने ठूला नेताहरुलाई भेट्दा चिन्ता नगर्नुहोस् हामी न्याय दिलाउँछौ भन्छन्, अर्कोपटक त्यहि नेतालाई भेट्दा तपाई को हो ? घर कहाँ हो ? पो भन्छन् ।”

पङ्गतिकारको दृष्टिकोण

यो मुलुकमा छमकुमारी बस्नेतजस्ता हजारौं आमाहरु अझैसम्म पनि न्यायको खोजीमा त छन् नै तर शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्दकालीन घटनाहरुलाई राज्य र माओवादी पक्षले गम्भीर रूपमा लिँदै “सत्य निरूपण तथा मेलमिलाप आयोग” मार्फत समस्या समाधानको खोजीमा पनि छन् । सरकार र माओवादीवीच दिल्लीमा भएको १२ बुँदे शान्ति सम्झौताको मर्म पनि यही नै थियो ।

दिल निसानि मगर
दिल निसानि मगर

द्वन्द्वकालीन घटनाहरुलाई जति खोट्यायो उति समाजमा कोकोहोलो मच्चिने कुरा स्वाभाविक हुन्छ । किनभने हत्या, हिंसामा दुबै पक्ष संलग्न भएकै हुन् ।

तर, अहिले के भएको छ भने राजनैतिक अभिष्ट र प्रतिशोधपूर्ण भावनाका कारण एकले अर्काको राजनैतिक भविश्य समाप्त पार्न वा समाजमा अझै स्थिरता ल्याउनका लागि द्वन्द्वकालीन घटनालाई उचालिँदैछ । केही वर्ष अगाडिसम्म माओवादीले राम्रै अडान लिएको हो कि द्वन्द्वकालीन घटना भनेको द्वन्द्वकालीन हुन्, र अहिले मुद्दा चलाउनु जाजय छैन भनेर । बालकृष्ण ढुङ्गेलको केसमा पनि यही कुरा लागू हुन्छ । उनको तर्कलाई जायज मान्न सकिन्छ ।

तर एमाले, काङ्ग्रेसद्वारा परिचालित मानअधिकारवादी हुन् वा उनीहरूको डिजाइनमा तयार पारिएका शान्ति समिति नै किन नहुन्, यिनीहरुले चर्का कुरा गर्छन् । सत्यतालाई स्वीकार गर्दा यिनीहरुको रोजिरोटी गुम्छ ।

अहिले कतिपय समाचार पढ्नुहोस्, अभिव्यक्ति सुन्नुहोस् । माओवादीलाई हेगसम्म लैजानका लागि उनीहरू पुरै कसरतमा छन् । तर, के यस्तो रबैयाले नेपाली जनताको हित गर्छ ? यो मुलुकले नयाँ दिशा प्राप्त गर्छ ? के गर्न खोजेको हो ?

शान्ति समितिहरुमा पनि माओवादी विरुद्धका उजुरीहरु धेरै दर्ता भएका छन् । योजनावद्ध ढङ्गले त्यो भएको छ । कारवाहीको कुरा गर्नुपर्दा जति माओवादी कार्यकर्तालाई सजिलो हुन्छ त्यति सेना, प्रहरी वा नेताहरुलाई हुँदैन । त्यसैले तत्कालीन माओवादीमा लागेका कार्यकर्तालाई युद्ध अपराधी बनाउने, दु:ख दिने, जेलनेल हाल्ने योजनाले कसैलाई फाइदा गर्दैन ।

शान्ति समितिको काम शान्ति कायम गर्नका लागि पहल गर्ने हो कि पुराना घटना उजागर गरेर मुलुकलाई थप अस्थिरताको दिशामा धकेलिदिने हो ?

के मान्छे माओवादीले मात्र मारेको थियो ? सरकार पक्षले आफ्ना नेपाली नागरिकहरूलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने ठाँउमा उल्टै जो पायो त्यहीलाई ड्याङ्ग-ड्याङ्ग गोली हानेर मारेको होइन ? छातीमा हात राखेर भन्न सकिन्छ ? कि हिजो राज्य पक्षबाट मारिएकाहरू सबै माओवादी थिए ? पक्कै पनि छातीमा हात राख्न सक्ने छैनन् ।

chham kumariयदि द्वन्द्वकालका घटनालाई ब्यूँझाउने हो भने सबैभन्दा पहिला, छमकुमारीले माग गरेजस्तै यी ठूला दलका सबै शीर्ष नेताहरू जेल कोचिनुपर्छ । अनि बल्ल अरुको क्रमशः पालो आउँछ । पहिले भाले बास्छ, धेरैपछि चल्लाहरू बास्छन् ।

पुष्पकमललार्इ जेल हालेर, शेरबहादुरलाई महाराजा बनाउने अधिकार कसैलाई छैन

माओवादीले मान्छे मारेका थिए, न्याय पाउँ सरकार । फलानालाई कारबाही गरी पाउँ भन्नेहरुले बिर्सन हुँदैन कि राज्य पक्षको पीडा सहेर हजारौं छमकुमारीहरू बाँचिरहेका छन् । उनीहरूले न्याय मागिरहेका छन् ।

हरेक कुरा निरपेक्ष भन्ने हुँदैहुन्न । कारवाही गर्ने नै हो भने दोषी सबै हुन्, सबैलाई कारवाही नगर्ने हो भने दोषी कोही पनि होइनन् ।

नयाँ संविधानलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोलाई समातेको समयमा फेरि संकटकालको झल्को आउनुहुँदैन, न जनअदालतको ।

पुष्पकमललार्इ जेल हालेर, शेरबहादुरलाई महाराजा बनाउने अधिकार कसैलाई छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?