News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निलम्बन हुनु नेपाली फुटबलको जीर्ण घर भत्किएको बताएका छन्।
- पूर्वअध्यक्ष शेर्पाले इतिहासले कलंक हुने काम नगर्न आग्रह गर्दै क्लब र झापामा साधारण सभाका लागि पुगेका साथीहरुलाई अनुरोध गरेका छन्।
- शेर्पाले खेलकुद ऐनअनुसार जन्मिएको संस्था भएकाले एन्फाले उक्त ऐन मान्नुपर्ने र नेपाली फुटबललाई बचाउन फुटबल कर्मीहरु लाग्नुपर्ने बताए।
१२ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निलम्बन हुनु भनेको नेपाली फुटबलको जीर्ण घर भत्किएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपश्चात एन्फा साधारण सभा एंव अग्रिम निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शेर्पाले इतिहासले कलंक हुने काम नगर्न आग्रह गरे ।
‘नेपाली फुटबलको जीर्ण घर भत्किएको छ । अब सम्हालेर राम्रो घर बनाउनुपर्छ’ उनले भने, ‘त्यसका लागि क्लब र झापामा साधारण सभाका लागि पुग्नुभएका साथीहरुलाई म के अनुरोध गर्न चाहन्छु भनेपछि इतिहासले कलंक हुने काम नगर्नुहोला ।’
नेपाली फुटबल एउटा दुर्घटनामा पुगेको शेर्पाको भनाइ छ । खेलकुद ऐनअनुसार जन्मिएको संस्था भएकाले उक्त ऐन एन्फाले मान्नुपर्नेमा उनले जोड दिए ।
‘नेपालका सरकारी निकायमा दर्ता भएको कारणले गर्दा फिफा र एएफसीले पनि मान्यता दिएको हो’ उनले भने, ‘नेपाली फुटबललाई अहिलेका साथीहरुले जहाँ पुर्याउनुभएको छ, त्यो नेपाली इतिहासको दुर्भाग्य दिनको सुरुवात भएको छ । तर, पनि हामी फुटबल कर्मीहरु नेपाली फुटबललाई बचाउन लाग्नुपर्छ।’
प्रतिक्रिया 4