Comments Add Comment

बजेटको करामतः गाईभैंसीको दाना किलोमै ५ रुपैयाँ महंगियो, अब मूल्य बढ्ने पालो दूधको

cow3
२९ जेठ, काठमाडौं । बजेट अघिसम्म एक बोरा चोकर (गाइवस्तुलाई खुवाउने गहुँको दाना) को मूल्य ९५० थियो । बजेट भाषण लगत्तै त्यो मूल्य आकासिएर ११ सय ६० पुग्यो ।

पूर्वी चितवनको पिप्लेका किसान अर्जुन सुवेदी भन्छन्-‘चोकरमा पनि एकैपटक किलोको साढे ५ रुपैयाँ बराबर मूल्य किन बढ्यो भन्ने थाहा छैन । कर्मचारीको तलब बढेर भन्ने सुनिन्छ । कर्मचचरीको तलव बढ्दा हामीलाई मार छ ।’

उद्योगले बजेट भाषणपछि लागत बढेको भन्दै चोकरको मूल्य बढाउदा कृषक मारमा परेका छन् । चोकरको मात्रै हैन, पछिल्लो समयमा गार्इवस्तुलाई खुवाउने दानाको पनि मूल्य बढेको छ । यसको कारण भने सबैले बजेट भाषणलाई देखाएका छन् । तर, खासमा किन यसरी अनियन्त्रित तवरले मूल्य बढाइयो भन्नेमा कृषकहरु अनविज्ञ देखिएका छन् ।

लागत बढ्दो
मूल्यवृद्धि दर असामान्य रुपमा बढ्दा कृषकहरुको दूध उत्पादन लागत पनि बढेको छ । यसअघि प्रतिलिटर ५० देखि ५५ रुपैयाँ पर्ने रुपैयाँसम्म पर्ने दूधको लागत अहिले ६० भन्दा माथि लागेको छ । कृषकले ३.५ फ्याट र ८ एसएनएफ भएको दूधमा मुस्किलले प्रतिलिटर ३५ रुपैया बुझ्छन् ।

पछिल्लो दिनमा चोकर, ढुटो र दानाको मूल्य पनि असामान्य दरमा बढेपछि किसानहरु कसरी दूधबाट जीवन निर्वाह गर्ने भन्नेमा चिन्तित छन् ।

‘आफूले गरेको दुःखको हिसाव गर्‍यो भने यो काम नै गरिँदैन होला’ कृषक सुवेदी भन्छन्-‘मूल्य बढेपनि किलोको १/२ रुपैयाँसम्म बढ्ला । यो त अचाक्ली नै भयो ।’

दानाको मूल्य र ज्यालादरको वृद्धिका कारण किसानहरु फेरि दूधको मूल्य बढाउनुपर्ने माग गर्न थालेका छन् । केन्द्रीय दूग्ध उत्पादक सहकारी संघले सरकारसँग लागत बढेको भन्दै दूधको मूल्य पनि त्यसैअनुरुप समायोजन गर्न माग गरेको छ ।

लागत घटाउन माग
‘मूल्य बढाउनै पर्छ भन्ने पनि हैन । तर, लागत बढेको बढ्यै छ । यस्तो अवस्थामा पुरानो मूल्यले कृषकलाई लाभ भन्दा बढी नोक्सानी हुने अवस्था आएको छ’ देवकोटाले भने-‘कि दूधको उत्पादन लागत घटाउनुपर्छ । हैन भने मूल्य बढाउनुपर्छ ।’

संघले सरकारसँग दूधको मूल्य बढाउनु भन्दा उत्पादन लागत घटाउने गरी कार्यक्रम तयार गर्न बारम्बार आग्रह गरेको छ । तर, त्यस्ता कार्यक्रम नआएकाले मूल्य बढाउन कै लागि आन्दोलनमा जानुपर्ने अवस्था आउने अध्यक्ष देवकोटाले बताए ।

‘दानाको भन्दा घासको प्रयोग बढाउने गरी प्रोत्साहन कार्यक्रम आउनुपर्छ’ उनले भने-‘हामीले व्यवसायिक पशुपानलमा कृषकलाई आकषिर्त गर्न सकेपनि यो सम्भव छ ।’

अहिले अधिकांश कृषकहरु निर्वाहमुखी दूध उत्पादनमा संलग्न छन् । जति थोरै गाइभैंसी पालिन्छ, लागत उति धेरै बढी हुने गरेको देखिन्छ । व्यवसायिक रुपमा दूध उत्पादन गर्दा लागत न्युन हुन्छ । यसैकारण व्यवसायिक दूध उत्पादनमा प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने संघको माग छ ।

थोरै दूध उत्पादन गर्ने कृषकलाई अहिले तोकिएको प्रतिलिटर ३५ रुपैया मूल्यले फाइदा नदिने भएकाले दैनिक २०/३०  लिटर भन्दा बढी विक्री गर्नेलाई अतिरिक्त प्रोत्साहन मुल्य प्रदान गर्न पनि अध्यक्ष देवकोटाले माग गरे । यसबाट बसै किसानलाई व्यवसायिक बनाउन सकिने संघको धारणा छ ।

‘उन्नत गाईभैंसीका नश्लहरु भित्र्याउन पनि जरुरी छ’ उनले भने-‘उन्नत पशुबाट नै पर्याप्त दुध उत्पादन हुन्छ । यसले लागत घटाउन मद्धत गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment