Comments Add Comment

बाढी, पहिरोले एकसय २३ परिवार विस्थापित

Baglung-Badi3२९ साउन, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२ जना आफन्तको शरणमा छन् ।

घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन्दा छन् ।

सबैभन्दा बढी अधिकारीचौर गाविसका ६७ घरमा पूर्ण क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए ।  सो गाविसका ३९७ जना विस्थापित अवस्थामा छन् ।

भुजी खोलामा आएको बाढीले अधिकारीचौरको दोगाडी, छालहाल्ने, ओख्रेनी, सामीद्वारलगायतका बस्तीमा क्षति पुर्याएको थियो । बुङ्गादोभानमा २० घर पूर्ण क्षति हुँदा १३० जना विस्थापित छन् ।

त्यस्तै बुर्तिवाङमा नौ घरका ४७ जना, भिमगिठेमा पाँच घरका २२ जना, दर्लिङमा चार घरका १७ जना, निशीमा तीन घरका १६ जना विस्थापित भएको प्रजिअ पाण्डेयले बताउनुभयो । बाढीले ग्वालीचौरको एक घर बगाउँदा सात जना विस्थापित छन् । जिल्लाको अन्यत्र भागमा पनि पहिरोले घरमा क्षति पुर्याउँदा सर्वसाधारण घरवार विहीन बनेका छन् ।

बागलुङ नगरपालिकाका पाँच घरमा पुगेको क्षतिले २२ जना, मालिकाको एक घरका चार जना, रायडाँडाका दुई घरका पाँच जना, कुश्मीसेराका दुई घरका १० जना र बोहरागाउँका दुई घरका आठ जना विस्थापित भएको जनाइएको छ ।

बाढी प्रभावितको लागि प्रारम्भिक राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताउनुभयो । सम्बन्धित गाविस सचिवले वितरण गर्ने गरी पेश्की रकम दिइएको उनको भनाइ छ ।

“पहिलो चरणको नगदसहित राहत सामग्री वितरण भइसकेको छ” सहायक प्रजिअ गिरीले भने , “प्रतिपरिवारमा रु १० हजारका दरले राहत पुगेको छ, अझै छुटेका परिवार छन्, विस्थापितका सङ्ख्या पनि संशोधन हुने अवस्था छ ।” गृह मन्त्रालयबाट तोकिएर आउने रकमको अतिरिक्त जिल्ला दैवी प्रकोप उद्धार समितिबाट पनि राहत वितरण गरिएको छ ।

घर, जग्गा र सम्पत्ति गुमाएका परिवारलाई तत्काल सहयोग पुगे पनि दीर्घकालीन व्यवस्थापनको लागि चुनौती रहेको छ । अधिकारीचौरका शिक्षक दुर्गा भण्डारीले बाढी प्रभावित कोही आफन्तकोमा त कोही टहरा बनाएर बसेको बताए ।  “सिङ्गो गाउँनै बगर पल्टिएको छ, मानिस शोकमा छन्” भण्डारीले भने “स्थायी बाससहितको पुनःस्थापना गर्न गाह्रो देखिएको छ ।”

घरवार गुमाएका परिवारलाई राज्यले राहत रकम वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । गैरसरकारी स्तरबाट पनि बाढी प्रभावित क्षेत्रमा राहत वितरणको कार्य चलिरहेको छ । जिल्लाका राजनीतिक दलले पनि राहत सङ्कलन गरिरहेका छन् ।

कतिपय संस्थाले अस्थायी आवास निर्माणका लागि पहल अघि बढाएका छन् । बाढीपछि पश्चिम क्षेत्रको जनजीवन कष्टकर बनेको छ । यातायात, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा अवरुद्ध बनेका छन् । बाढीले करोडौँको भौतिक सम्पत्तिमा क्षति पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment