लमजुङको एक गाउँलाई मितेर गाउँ बनाएर चलचित्र ‘लालपुर्जा’को निर्माण हुने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरियो । असोज ९ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र कामेश्वर चौरासियालाई मित लगाइएको थियो । एक अर्काले टाउको ठोकेर र माला लगाएर मित भएको घोषणा गरेका थिए ।
माधव वाग्ले र टेकेन खड्काले निर्माण गर्न लागेको यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘छड्के’ निर्देशन गरेका थिए ।
चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, कुमार नगरकोटी, कमलमणी नेपाल, अनिल पाण्डे, हरिहर शर्माको मुख्य भूमिका छ । ‘लालपुर्जा’बाट नै नव-नायिका मिरुना मगर चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । उनले आफ्नो वेष्ट दिने बताइन् ।
कुमार नगरकोटी अतिथी लेखक रहेको चलचित्रमा विक्रम सिंह र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, नरेन्द्र मैनालीको छायांकन रहनेछ । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक निगम श्रेष्ठले मितेरी गाउँका दुई मित र उनीहरुको लालपूर्जाको बिषयमा हुने लडाइ नै चलचित्रको मुख्य कथा भएको बताए ।
निर्माता माधव वाग्लेले आफूले सधै नै राम्रो कथा पाएको खण्डमा चलचित्र निर्माण गर्ने भन्दै ‘लालपुर्जा’ पनि उत्कृष्ट कथा भएकाले लगानी गर्न लागेको बताए ।
चलचित्र नयाँ बर्षको सेरोफेरोमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
प्रतिक्रिया 4