Comments Add Comment

रानीपोखरीको मन्दिर पुनर्निर्माणबाट महानगरले हात झिक्यो, अब पुरातत्वले नै बनाउने

rani pokhari (2)

५ कात्तिक, काठमाडौं । रानीपोखरी पुनर्निर्माणलाई लिएर पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच नयाँ सहमति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपस्थितिमा भएको त्रिपक्षीय बैठकले रानीपोखरीको मुख्य संरचनाको रुपमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माण जिम्मा पुरातत्व विभागलाई नै फर्काउने निर्णय गरेको छ ।

मन्दिर निर्माणका क्रममा सिमेन्ट र रड राखेर पिल्लर उठाएपछि विभागले महानगरलाई रानीपोखरीको काम रोक्न निर्देशन दिएको थियो । अब भने मन्दिरबाहेकका संरचना निर्माणका लागि महानगरपालिकालाई विभागले अनुमति दिएको छ ।

पुरातात्विक महत्वको रानीपोखरीको सम्पूर्ण भागको निर्माण काठमाडौं महानगरपालिकाले लिएर एक ठेकेदार कम्पनीलाई दिएको थियो ।

तर, रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) तथा रड र सिमेन्ट प्रयोग गरिएको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिएका थिए । लगत्तै पुरातत्व विभागले काम रोक्न पत्र काट्यो भने युनेस्कोले पनि चासो देखाएपछि पुनर्निर्माणको काम नै रोकिएको छ । अन्ततः विवादित बनेको पुनर्निर्माणको कामबाट महानगरपालिकाले हात झिकेको छ भने पुरातत्व विभागले नै काम थाल्ने पक्कापक्की भएको छ ।

लगानी महानगरपालिकाको

काम रोकिएपछि पुरातत्व विभागले पिल्लर हटाएर गाह्रो मात्र रहने गरी नयाँ स्टिमेट र डिजाइन महानगरपालिकालाई पठाएको थियो । पुरातत्वले अहिले उठाइएको पिल्लर हटाएर नयाँ संरचना तयार गर्न एक करोडको नयाँ स्टिमेट दिएको छ ।

तर, महानगरपालिकाले यसमा आपत्ति जनाउँदै निर्माणका लागि आफ्नो विज्ञताले नभ्याउने तर्क गरेको थियो । अब मन्दिर निर्माणको काम पुरातत्व विभागले गरेपनि आवश्यक लागत भने महागरपालिका र पुनर्निर्माण प्राधिकरणले बेहोर्ने सहमति भएको छ ।

‘पुरातत्वले भनेको निर्माण पद्धति र स्टिमेटबारे हामी अन्योलमा परेका थियौं,’ काठमाडौं महानगरपालिका प्रमुख रुद्रसिंह तामाङले भने, ‘विवादमा परेर पुरातात्विक महत्वका सम्पदा बनाउन चाहेनौं । मन्दिर निर्माणमा आवश्यक परेको सहयोग भने हामी विभागलाई गर्छौं ।

तिहारभित्र काम नसकिने

ranipokhari-new3

महानगरपालिकाले पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा मूर्ति राखिसक्ने योजना बनाएको थियो । तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने गर्दछ । दाजुभाइ-दिदीबहिनी नहुनेहरु रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ । पुनर्निर्माणको विवादले अब मन्दिर तिहारसम्म बनिसक्ने सम्भावना टरेको छ ।

तिहारअघि नै बनाइसकेर भाइटिकाको लागि खोलिसक्ने गरी यसको पुनर्निर्माण अघि बढेको थियो ।

अन्य संरचनाको जिम्मा महानगरपालिकालाई

रानीपोखरीभित्रको मन्दिर पुनर्निर्माणबाट हात झिकेपनि बाँकी संरचना भने आफैंले बनाउने भएको छ । यसअघि नै तयार भएको योजना अनुसार मन्दिर बाहेकको संरचना महानगरपालिकाले नै बनाउने छ ।

१७ औं शताब्दीमा तत्कालीन राजा प्रताप मल्लले काठमाडौंको मुटुमा बनाएको रानीपोखरी २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । यसको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिका हुँदै एक ठेकेदार कम्पनीको हातमा छ ।

New-Ranipokhari
रानीपोखरीलाई स्तरीकरण गरेर महानगरपालिकाले यस्तै रिफ्रेसमेन्ट पार्क बनाउने योजना बनाएको छ ।

तलाउको पर्खालमा सिमेन्ट प्रयोग गर्न दिएको विभागले मन्दिरमा कंक्रिट प्रयोग गर्न रोकेपछि पुरातत्व र महानगरपालिकाबीच असमझदारी बढेको थियो । महानगरपालिकाले यसअघि पनि मन्दिरमा सिमेन्ट प्रयोग भएको तर्क गर्दै विभागले तयार गरेको स्वीकृति गरेको डिजाइन र मापदण्डभित्र रहेर काम गरिएको बताउँदै आएको थियो ।

तर, विभागले भने डिजाइनमा मन्दिरका कुनै भागमा कंक्रिट प्रयोग गर्ने योजना नभएको बताउँदै आएको छ । अब मिन्दर विभाग आफैंले बनाउने भएपछि यो विवाद साम्य भएको छ ।

रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । हालसम्म एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

१७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोरासहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मूर्ति छन् ।

पोखरीलाई पुरातात्विक महत्वको पर्यटकीय पार्कमा रुपमा विकास गर्न महानगरपालिकाले झिलीमिली बनाउने, वाटर फाउन्टेन चलाउने, बगैंचा बनाउने लगायतका योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment