१० कात्तिक, बिरौटा (रामेछाप) । ताँवेडाँडाकी ११ वर्षीया ल्हमू शेर्पाको यो सिजनको कमाइ ५० हजार नाघिसक्यो । उनी तीन कक्षाकी विद्यार्थी हुन् ।
उनी विहानै उठेर हातमा हँसिया र पिठ्यूँमा डोको भिरेर भित्तरी खानी र झिलमिलेको जंगलमा पस्छिन् । भात खाने बेला डोकोभरि घाँस बोकेर फर्किन्छन् । उनले काटेर ल्याएको घाँस विरौटाको सेती भूमे सुगन्धित तथा जडिबुटी तेल प्रशोधन उद्योगले १० रुपैयाँ प्रति किलोको दरले किन्छ ।
वैशाखदेखि हालसम्म उनको यही दैनिकीले ५० हजार कमाउन सक्षम भएकी छन् । परिवारका अन्य सदस्यको समेत हिसाब गर्दा उनको घरमा एक डेढ लाख रुपैयाँ भित्रिन्छ ।
घर-घरमा नोटको बहार
तीन कक्षामा पढ्ने बालिकाको कमाइ ५० हजार ? आश्चर्य मान्नुपर्दैन । ल्हमूमात्र होइन रामेछापको उत्तरी लेक क्षेत्रका बासिन्दाको घरमा अहिले दिनहुँ हजारका नोट भित्रिदै छन् ।

लेकाली जीवनमा नोटको वहार ल्याइदिएको छ मछिनोले । मछिनो अर्थात धसिंगरेको तेल उत्पादन गर्ने प्रविधि गाउँमा भित्रिएसँगै लेकमा वर्षेनी पलाउने मछिनो घाँस नगदमा परिणत भएको हो ।
बेकामे स्याउलाको कायापलट
रामेछापका उत्तरी लेक क्षेत्रका विशाल घाँसे मैदान र झाडीहरुमा पाइने मछिनोको आठ/दश वर्षअघिसम्म कुनै भाउ थिएन । न बस्तुभाउलाई घाँस हुने न त स्याउला नै ।
२०६८ सालमा पहिलो पटक मिडेप नामको एक गैर सरकारी संस्थाले गाउँ गाउँमा पुगेर मछिनोको घाँसबाट निस्कने तेल बहुमूल्य औषधी हुने प्रमाणित गरेपछि लेकाली बासिन्दाको जीवनमा परिवर्तन आउन थाल्यो ।

पुस्तौंदेखि उपयोगविहीन बुट्यानका रुपमा पाखा पखेरा ढाकेको मछिनोको घाँसबाट बहु उपयोगी तेल निस्कन्छ र यसको मूल्य हजारौं रुपैयाँ लिटर पर्छ भन्ने यहाँका बासिन्दाले जब थाहा पाए, तब मछिनोलाई नगद बनाउने अभियान शुरु भयो ।
शुरुमा गैरसरकारी संस्थाको सहयोगमा मछिनोको स्याउला पकाएर तेल निकाल्ने मेसिन जडान गरियो । अहिले यस्ता मेसिन निजी लगानीमा पनि रामेछापका दुरागाउँ, रस्नालु, पि्रति, भुजी लगायतका गाउँमा सन्चालन भएका छन् ।
स्याउला काट्दै नगद साट्दै
स्थानीय बासिन्दाले जंगल र पाखाबारीमा पलाएको मछिनोको घाँस काटेर उत्पादनस्थलमा ल्याउँछन् । त्यहाँ उनीहरुले ल्याएको घाँस जोख्ने तराजु राखिएको छ ।
एक केजी घाँस बराबर कम्तिमा १० रुपैया पाउछन् जनताले । एकजनाले कम्तिमा २० देखि ७० किलोसम्म स्याउला एकपटकमा बोक्न सक्छन् । यो काममा ८/९० वर्षका वालवालिकादेखि ८० वर्षका बुढाबुढी समेत संलग्न छन् ।
कसरी निस्कन्छ धसिंगरेको तेल ?
तीनदेखि साढे तीन लाख रुपैयाँमा तेल उत्पादन गर्ने मेसिन जडान हुन्छ । यसलाई आगोको भट्टीमा राखिएको हुन्छ, जसको माथिबाट मछिनोको स्याउला हालिन्छ ।

भट्टीको तापले स्याउलाबाट पानी र तेल निस्कन्छ जुन घरेलु रक्सी जसरी तेलजति एकातिर पानी अर्कोतिर निस्कन्छ । यसरी एक दिनमा चार लिटरसम्म धसिंगरेको तेल उत्पादन गर्न सकिने विरौटास्थित सेती भूमे सुगन्धित तथा जडिवुटी तेल प्रशोधन उद्योगका सन्चालक तेम्बा शेर्पाले बताए ।
उद्योग सञ्चालक शेर्पाका अनुसार करीव ७ सय किलो स्याउलाबाट एक किलो अर्थात एक लिटर तेल उत्पादन हुन्छ । तर उनको दावी अनुसार कतिपय अवस्थामा त्यो भन्दा कम स्याउलावाट पनि एक लिटर तेल निकाल्न सकिन्छ । तेलको मूल्य क्रेता अनुसार बिक्री गर्दा ङाटा पुर्ति गरिन्छ । मेसिनबाट तेल उत्पादन गर्नका लागि दाउरा र पानी सबैभन्दा धेरै आवश्यक पर्छ ।
करोडौंको तेल बिदेशतिर
मछिनो अर्थात धसिंगरेको घाँस जति काट्यो त्यति पलाउछ । लेक क्षेत्रमा मंसिरदेखि चैतसम्म हिउँ पर्ने र तुषारोका कारण पलाउदैन । वैशाखदेखि मंसिरसम्मको सिजनमा यस क्षेत्रबाट मात्र वर्षेनी डेढ दुई करोडको तेल निर्यात हुने गरेको शेर्पाले बताए ।
धसिंगरेको तेल उत्पादन भएपछि यसका ग्राहक पहिलेनै सम्पर्कमा आइसकेका हुन्छन् । उत्पादकले एक लिटर तेल ६ हजार रुपैयाँसम्ममा विक्री गर्छन् । जब कि बिचौलियाले विदेशीलाई ३५ हजार रुपैयाँ लिटरसम्म विक्री गर्ने गरेको स्थानीय गणेश तामाङले दावी गरे ।
यो तेल फ्रान्स र भारतमा बढी जाने गरेको शेर्पाले बताए । गत साता फ्रान्सेली व्यापारीहरुको टोली हेलिकोप्टर चढेर भुजीडाँडा र बिरौटा पुगी मछिनो पाइने घाँसे मैदानहरुको निरीक्षण गरेका थिए ।
उनीहरुले मछिनोको तेल उत्पादन स्थलको समेत अवलोकन गरेपछि जति उत्पादन भए पनि आफूहरुले किन्ने आश्वासन दिएका छन् । तेल निकासी र मछिनाको घाँस संकलन गर्न समेत जिल्ला वन कार्यालयले धेरै समस्या सिर्जना गरेको गुनासो स्थानीयको छ ।
सरकारी झन्झट
वनबाट घाँस संकलन गर्दा सरकारी झन्झट बढेपछि अहिले स्थानीयहरु आफ्नै पाखा पखेराको स्याला काट्न बढि केन्द्रित छन् । उनीहरुले स्थानीय वनमा स्थानीयको अग्राधिकार हुनुपर्ने माग समेत गरेका छन् ।
पछिल्लो समय मछिनो अर्थात धसिंगरेको माग बढेपछि नर्सरी स्थापनाको प्रयास पनि भइरहेको छ । तर मछिनोको दानाबाट घाँस उत्पादन गर्ने कि डाँठबाट भन्ने अझै पत्ता नलागेकाले यो प्रबिधिको बारेमा अनुसन्धान भइरहेको रस्नालु गाविसका पूर्व अध्यक्ष खड्गवहादुर सुनुवारले बताए ।
जीवनदायी धसिंगरे
मछिनो अर्थात धसिंगरेको तेल ठोक्किएको र मर्किएको ठाउँमा लगाउँदा निको हुन्छ । यो भन्दा बढी उपयोग भने औषधी उत्पादनमा हुने गरेको शेर्पाले बताए ।
मूभ, आइडेक्स लगायतका औषधीमा आउने गन्ध धसिंगरेको तेलको हो । यसका साथै धसिंगरेको प्रयोग बडि स्प्रे र परफ्यूमहरुमा पनि हुने गरेको जटिबुटी प्रशोधन केन्द्रले जनाएको छ ।
फेरियो लेकाली जीवन
धसिंगरेको तेल जति उत्पादन गरे पनि विदेशमा खपत हुने गरेकाले विशेष गरि दोलखा,रामेछाप र ओखलढुंगाका उच्च हिमाली क्षेत्रमा उद्योगका रुपमा उत्पादन भइरहेको छ ।
यसअघि आलु उत्पादन गरेर औल क्षेत्रमा चामल र कोदोसँग साट्दै जीवन गुजारा गर्ने लेकाली बासिन्दा अहिले धसिंगरेतर्फ आकर्षित भएका छन् । उनीहरुले उत्पादन गर्ने आलु पनि अब बेसीमा बोकेर जानुपर्दैन जिरीका व्यापारीहरु ट्याक्टर लिएर बारीमै उठाउन जान्छन् ।
जिरी उद्योग वाणिज्य संघका अध्यक्ष मधुकर कार्कीका अनुसार पछिल्लो समय लेक क्षेत्रका बासिन्दाको आय स्रोत बढेको छ । वर्षमा ६ करोडको आलु जिरीमा विक्री हुन्छ भने धसिंगरेको तेल दोलखा र रामेछापबाट मात्रै वर्षेनी ५ करोड भन्दा बढीको विक्री हुन्छ ।
मनपरी व्यापारः जनतालाई मार
सामुदायिक र राष्ट्रिय वनको मछिनो संकलनमा जनतालाई सहजीकरण गर्ने र निजी वन तथा पाखामा मछिनोको नर्सरी लगाउने प्रबिधि विकास गर्न सरकारले योजना बनाउनुपर्ने रामेछापका पूर्वसांसद देवशंकर पौडेल बताउँछन् ।
अहिले मछिनोको संकलन,उत्पादन र विक्री वितरण समेत कुनै नियमबाट चलेको छैन । बिचौलियाहरुले करोडौं कमाउने तर उत्पादक र किसानले न्यून रकम पाउने अवस्थाको अन्त्य गर्न सरकारले उदार नीति अपनाउनुपर्ने सन्चालक शेर्पाले बताए ।
तेल खाँदा तीन जनाको ज्यान गयो
मछिनो अर्थात धसिंगरेको घाँन्स बाख्रा र गाइ बस्तुले खाँदा केही पनि हुदैन । तर, यसको तेल झुक्किएर खाँदा ज्यान जान्छ ।
पछिल्लो पटक दुरागाउँको मूलखर्कमा एकजनाले रक्सी सोचेर बोतलमा राखिएको धसिंगरेको तेल मुखमा हाल्दा तत्कालै ज्यान गएको वडा नम्बर २ का वडा नागरिक मञ्चका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
त्यस्तै प्रिति गाविसमा धसिंगरेको तेल सेवन गर्दा दुईजनाको ज्यान गइसकेको पूर्वगाविस अध्यक्ष तथा कांग्रेस नेता झपटराज भण्डारीले जानकारी दिए । ठोक्किएको वा मर्किएको ठाउँमा धसिंगरेको तेल लगाउदा समेत धेरै माड्न नहुने उनले बताए ।