Comments Add Comment

खाद्यान्नमा मिसावटः सिंहदरबारकै क्यान्टिनमा समस्या

गुण नियन्त्रण विभाग भन्छ- वीरगञ्जबाट गुणस्तरहीन खाद्यान्न भित्रिँदैछ

१२ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा खाद्य पदार्थमा हुने मिसावट र कालोबजारीले हद नाघेको छ । कालोबजारी गर्नेहरुका लागि देशमा सरकार भएको र नभएकोमा केही फरक छैन । आखिर नेपाली बजार किन यति विकृत भयो ? यसबारे हामीले नेपाल सरकारको नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई सोध्यौं ।

sanjeeb-karna-2

महानिर्देशक कर्णले खाद्यान्नमा मिसावट हुने गरेको स्वीकार मात्रै गरेनन्, सिंहदरबारकै क्यान्टिनमा समस्या देखिएको भन्दै उनले मन्त्रीको फोन आएको स्मरण सुनाए । साथै वीरगञ्ज भन्सारका कर्मचारीसँग मिलेमतो गरेर व्यापारीहरुले गुणस्तरहीन खाद्य सामाग्री नेपाल भित्र्याउने गरेको कर्णले जानकारी दिए ।

खाद्यवस्तुको  गुणस्तर कसरी थाहा पाउने ? तपाईसँग उपभोक्तालाई दिने केही टिप्सहरु छन् ?

खाद्यवस्तु खरिद गर्न पसलमा गएपछि लेबल हेर्नुपर्छ । कसले उत्पादन गरेको हो ? त्यो पनि हेर्नुपर्छ । उत्पादन गर्ने उद्योगको नाम र ठेगाना छ कि छैन, उत्पादन मिति छ कि छैन, डेट एक्सपायर कहिले हुन्छ ? यस्ता कुरामा ध्यान दिनुपर्छ ।

यसका साथै सामानको ब्याच नम्बर पनि हेर्नुपर्छ । आफूले खरीद गर्ने खाद्यवस्तुमा समिश्रण के-के छ र त्यसपछि नेपालमा उत्पादन भएको वस्तु हो भने प्रमाणीकरण नम्बर छ कि छैन ? विदेशबाट आएको हो भने प्रमाणित भएको छ कि छैन ? यी कुराहरु हेर्नुपर्छ ।

खरिद गरेर घरमा लगेपछि ध्यान दिनुपर्ने कुराहरु के हुन् ?

किनेर लगेपछि खाद्य वस्तुको ‘नेचर’ हेरेर  चिसो अवस्थामा राख्नुपर्ने भए चिसोमा राख्नुपर्छ । सुख्खामा राख्नुपर्ने भए त्यहाँ राख्नुपर्छ ।

तरकारीमा विषादि प्रयोग भएको हुन सक्छ । त्यसैले त्यस्ता चिजलाई राम्रोसँग पखालेर प्रयोग गर्नुपर्छ । रंगको समस्या पनि छ, त्यसैले धेरै रंगीन वस्तु  किनेर घर लैजानुहुँदैन । तारेका वस्तु छन् भने त्यो तेल धेरैपटक प्रयोग गर्नुहुन्न । खुल्ला वस्तुहरु सकेसम्म उपभोग गर्नुहुन्न ।

सरकारले बजारमा बेचिने खाद्य वस्तुको गुणस्तर कायम राख्न के गर्दैछ ?

चाडपर्वमा उद्योगी तथा ब्यापारीले मौका छोप्दै गुणस्तरहीन खाद्य बस्तु बिक्री गर्नसक्ने हुँदा विभाग त्यहीअनुरुप परिचालित भइरहेको छ । त्यसमा पनि तिहार, नेपाल संवत् र छठपर्वलाई  मध्यनजर गरेर विशेष कार्यक्रम गरिरहेका छौं ।
बजारमा बिक्री वितरण हुने विभिन्न खाद्यवस्तुहरुमा कसैले ठग्न खोज्ने सम्भावना अलि बढी नै हुन्छ । त्यसैले यो समयमा अनुगमनलाई बढाएका छौं ।

बजारमा अहिले उपभोक्ताले खरिद गर्ने सबै खाद्य बस्तु गुणस्तरीय हुन् भन्ने अवस्था पनि छैन । विगतका वर्षहरुको बजार अनुगमनलाई हेर्दा पनि अझै बजारमा २० प्रतिशतभन्दा बढी उपभोग्य बस्तु गुणस्तरहीन छन् । तर त्यो निर्मूल पार्न सक्ने अवस्था पनि छैन । यसलाई विस्तारै घटाएर लैजान पनि हामी निरन्तर लागि रहेका छौं ।

सामान्य अवस्थामा सातामा ४ दिनसम्म एउटा टोली बजार अनुगममा निस्कन्थ्यो । तर, अहिले उपभोग्य वस्तुको खपत पनि बढी हुने र उत्पादन पनि बढी हुने हुँदा यसलाई केही बढाएका छौं । अहिले दैनिक ४ वटा टोलीले खाद्य वस्तुको गुणस्तर कायम गर्न बजार अनुगमन गरिरहेको छ ।

राजधानीमा बेचिने खाद्यान्नको गुणस्तरको अवस्था के छ ?

बजार अनुगमनमन क्रममा सानादेखि ठूला व्यापारीले म्याद सकिएका सामान र म्याद रहेको सामान मिसावट गरेर बिक्री गर्ने गरेको फेला परेको छ । त्यसमा पनि मसलाजन्य वस्तु, दाल, तेलमा बढी मिसावट भेटिएको छ ।

तथ्यांक हेर्दा २० प्रतिशत खाद्यवस्तु खान योग्य छैनन् । ८० प्रतिशत जति खाद्यवस्तु खान योग्य नै छन्  । २० प्रतिशतमा भने उपभोक्ताका लागि हानिकारक मिसावट र अस्वस्थता छ ।

तर, सबै नराम्रो मात्रै फेला परेको छैन । कतिपय उद्योगहरुले मसाला, मिठाई उद्योगहरुमा मापदण्ड विपरीत बस्तुहरु उत्पादन गरिरहेका पाइएको छ । कतिपयको अवस्था राम्रो पनि छ । यो समयमा जुन बस्तु बढी बिक्री हुन्छ, त्यसमा बदमासी बढी हुन्छ ।

तिहारमा तेलको प्रयोग धेरै हुन्छ, तर विभागको रिर्पोटमा न्यून गुणस्तरको तेल फेला परेको सूचना आइरहेको छ, बजारमा पाइने तेलको स्थिति कस्तो छ ?

तेलमा दुई थरी मापदण्ड छ र एउटा प्रशोधित तेल र अर्को कच्चा तेल । तेलमा विषेश गरी दुई प्रकारको परीक्षण गरिन्छ । त्यो हो  पेरोक्साइड भ्यालु र एसिड भ्यालु हुन्छ ।

एसिड भ्यालु भनेको प्रशोधित तेलमा ०.५ प्रतिशत र कच्चा तेलको हकमा ०.६ प्रतिशत हुनुपर्छ । यो भन्दा बढी हुनहुँदैन । र पेरोक्साइड १० भन्दा बढी भएमा धेरै पुरानो हुन्छ । यसमा कच्चा पदार्थको गुणस्तर पनि कम हुन सक्छ । तर, यही मापदण्ड नमान्ने उद्योगको तेल गुणस्तरहीन हुन् ।

sanjeeb-karna-1हामीले किन्ने मासुको अवस्था कस्तो छ ?

मासु फोहोर अवस्थामा राखेर अथवा बिक्री वितरण गर्नु हुँदैन । तर, ट्रेन्ड हेर्नुभयो भने धेरै  पसलहरुमा सरसफाई नभएको अवस्था भेटिन्छ । यसो हुँदा वरिपरीको वातावरणबाट पनि मासुमा संक्रमण हुन्छ ।

हामीकहाँ अर्को गलत अभ्यास के छ भने मासु फ्रिजिङ नगर्ने तर देखाएर राख्ने बानी छ ।  यसो गर्नाले पनि मासुमा संक्रमण बढिरहेको छ ।  यसमा उपभोक्ताहरुले पनि फ्रिजमा राखेको मासु बासी हो भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।

जार र बोत्तलको खानेपानी नि ? 

हामीले प्याकिङ पानीको गुणस्तर निश्चित गछौर्ं । तर, ट्यांकरमा वितरण गर्ने पानीको नियमन गर्दैनौं । विगतको तथ्याङ्कअनुसार कुनैमा दुषित, तोकिएका गुणस्तरको मात्रा नपुगेको पाइएको थियो । धेरैले बजारमा पठाउनुभन्दा पहिले नै ड्राइभरले बाटोमा जहाँ पायो त्यहीँ पानी भरिदिने गर्नाले पनि समस्या आएकोे थियो ।  त्यसपछि हामीले श्रींक र्‍यापको व्यवस्था अनिवार्य गरेका छौं । त्यो बिर्कोमा हुनुपर्छ, जुन ड्राइभरले लगाउन सक्दैन ।

तर, स्वास्थ्य विभागको एक अध्ययनले उपत्यकाको अधिकांश पानी पिउन अयोग्य देखाएको थियो नि ? 

विगतमा हाम्रो तथ्याङ्कमा जार, बोतलका पानी अयोग्य भेटिएकै हो । अहिले पनि त्यो समस्या छ, तर त्यो सुधारोन्मख छ । र जुन विभागको अध्ययन कुरा छ, यसमा विज्ञले सही ब्याख्या गरिदिएन् भने बुझाइमा समस्या हुन्छ ।

जस्तो एक सयवटा नमूनामा ट्यांकर, जार र बोतलको कति हो ? त्यो किसिमले उहाँहरुले सार्वजनिक गरेपछि त्यो कुरा आउँदैनथ्यो ।

बजारमा कुन खाद्यबस्तुमा मिसावट बढी छ ?

खासगरी ठुलो समस्या दुध, पानी, मसलाजन्य वस्तु र मिठाईहरुमा छ । अर्को समस्या मिति गुजि्रएका वस्तुको बिक्रीवितरण गर्ने प्रवृत्तिले ल्याएको छ । उपभोक्ताहरुमा पनि लेबल हेरेर किन्ने बानी छैन । अर्को कुरा उद्योगीहरुले पनि लुकाएर सानो अक्षरमा लेख्ने काम गरिरहेका छन् ।

पानी, दूध, मिठाई र खाने तेल लगायत वस्तुमा बढी समस्या देखिन्छ । यसमा गुणस्तर कायम गर्न ब्यापारीहरुले प्रविधिको प्रयाग गरेका छैनन् । यसको उत्पादन तथा भित्री स्थलमा फोहोर पनि उत्तिकै भेटिन्छ ।

यसलाई नियन्त्रण गर्न विभागले के-के गर्दै छ ?

यसका लागि ऐन नै समय सापेक्षिक छैन, जसले आधुनिक अवधारणाहरुको परिकल्पना गरेको छैन । अब नयाँ ऐन आउँदैछ । यसबाट अब उद्योगबाट उत्पादन भएको वस्तु गुणस्तरको सुनिश्चिता भएपछि मात्रै बजारमा आउने व्यवस्था हुन्छ ।

त्यसका लागि निर्देशिका पनि तयार गरेर सरकारबाट स्वीकृति गराउने तयारी गर्दैछौं । जुन व्यवस्था लागू गर्न हाम्रा उद्योगहरु पनि सक्षम छन्, तर सचेत छैनन् । जसमा धेरै लगानी पनि आवश्यक छैन ।

ऐन त बन्ला, तर यसलाई कार्यान्वयनका लागि विभाग कति सक्षम छ ?

हामीले त्यो प्राणली लागू गरेपछि उद्योगीहरुले पालना गर्छन् । हामीसँग गुणस्तर मापन गर्ने प्रयोगशाला पनि छ । प्रयोगशालाका क्षमता बृद्धि गर्दै छौं । हामीसँग अन्तर्राष्ट्रिय गुणस्तर परीक्षण गर्ने मेसिनहरु समेत छन् ।

sanjeeb-karna-3

विभागमा दक्ष जनशक्ति छ त ?

हामीसँग भएको जनशक्तिलाई दक्ष बनाइरहेका छौं । र, क्षेत्रीय प्रयोगशालाहरुलाई पनि त्यसैतर्फ उन्मुख गराउँदै छौं ।  हामीले केन्द्रीय प्रयोगशालालाई अन्तर्राष्ट्रिय गुणस्तर मान्यता पनि दिलाइसकेका छौं । यस कारण अब केन्द्रीय खाद्य प्रयोगशालाले दिएको रिपोर्टलाई विश्वले मान्दछ ।

तर, विभागले उद्योगीलाई बचाउ गर्न रिपोर्ट लुकाउँछ भन्ने आरोप छ नि ?

हामीसँग जनशक्तिको अभाव छ, भएकालाई योग्य बनाउँदैछौं । तर, जति छ, त्यो न्यून छ । हामीसँग खाद्य निरीक्षक जम्मा विभागमा ८ जना छन् । देशभर ३६ जना छन् ।

नेपालको जनसंख्या अनुसारको अनुगमनको समस्या छ । त्यसकारण आज गुनासो आउनेबित्तिकै जान सक्ने अवस्था पनि छैन । तर, हामी प्रयास गछौर्ं ।  उपभोक्ताको जनस्वास्थ्यमा खेलवाड हुने गरी उद्योग तथा व्यापारीको पक्षमा रहेर रिर्पोट लुकाएको छैन । आफू काम गर्न नसक्ने र काम गर्नेहरुको खुट्टा तान्नेहरुले आरोप लगाउनु सामान्य जस्तै बनिसकेको छ ।

जनगुनासोको सम्बोधन भइरहेको छ भन्नुहुन्छ, उपभोक्ताबाट के कस्ता गुनासा आउने गरेका छन् ? 

मिति गुजि्रएका समानहरु बिक्री गर्‍यो भन्ने गुनासो धेरै आउँछन् । चिसो पदार्थमा विभिन्न मिसावट देखियो, मैले यहाँको खाद्यान्न खाँदा पखाला लाग्यो, विरामी परें लगायतका गुनासोको मात्रा धेरै हुन्छ ।

सिंहदरबारकै पनि गुनासो आउँछ ? 

हो, सिंहदरबारकै क्यानटिनमा पनि समस्या छ । गुनासो पनि आइरहेको छ । मलाई एक मन्त्रीले फोन गरेर रै गुनासो गर्नुभएको थियो । त्यहाँको मुख्य क्यान्टिनको विगतमा समस्या थियो । अहिले हामीले निरन्तरजस्तै अनुगमन गरेका छौं । सबै सुधारोन्मुख अवस्था छ । हामीले निर्देशन दिएपछि सुधार भइरहेको छ र अरुलाई पनि निर्देशन दिइरहेका छौं ।

वीरगञ्जमा केही समस्या देखिएको छ । प्रयोगशालमा परीक्षण नगराई भन्सारका कर्मचारीको मिलोमतोमा ठूला-ठूला व्यापारीले न्यून गुणस्तरको खाद्य वस्तु भित्र्यारहेका छन्

नेपालमा विदेशबाट आयात हुने खाद्यवस्तुको गुणस्तरको अवस्था कस्तो छ ?

विदेशबाट आएका वस्तुको अनुगमन पनि बजारमा हुने गरेको छ । तर, मुख्य भनेको भन्सार विन्दुमा नै चेकजाँच गर्ने हो । किनकि विदेशबाट आउने भनेको त भन्सारबाट नै हो ।

यसका लागि भन्सार विभाग, अर्थमन्त्रालयसँगको छलफल भएको छ । अहिले हाम्रा मुख्य नाका जहाँबाट बढी आयात हुन्छ, त्यहाँ परीक्षण भइरहेको छ ।

वीरगञ्जमा केही समस्या देखिएको छ । प्रयोगशालमा परीक्षण नगराई भन्सारका कर्मचारीको मिलोमतोमा ठूला-ठूला व्यापारीले न्यून गुणस्तरको खाद्य वस्तु भित्र्यारहेका छन्, यो सत्य हो ।

वीरगञ्ज भन्सार कार्यालयले त्यहाँबाट आयात हुने खाद्यवस्तुको नमूना विभागको प्रयोगशालामा पठाएको मात्रा एकदमै कम छ ।  विगतमा दैनिक २० देखि ३० वटा नमूना आउँथ्यो भने अहिले चाडवाडको समयमा त झन धेरै आउनुपर्नेमा २/३ वटामात्र आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment