Comments Add Comment

प्रिय पुस्तक: जीवनको आदर्श सिकाउने ‘कोही किन बरवाद होस्’

khagendra-sangrulaजीवनको भिन्न-भिन्न कालखण्डमा भिन्न-भिन्न पुस्तक पढिए । त्यो बेलाको रुचि, मनोदशार बौद्धिक अवस्था हेरेर फरक-फरक चिजहरु मन पराइए । कसैले तिमीलाई सबभन्दा मन पर्ने एउटै पुस्तक कुन हो भनेर सोध्यो भने त्यसको जवाफ अत्यन्त कठिन हुन्छ । धेरै असल किताब पढिएरधेरै मन पराइए, तीमध्ये एउटै मात्र मन पर्‍यो भन्दा बाँकी मन परेकाहरुमाथि अन्याय होला कि भन्ने डर हुन्छ ।

सजिलोका लागि म आईए पढ्दाताकाको कुरा गर्छु । एसएलसी पढ्दासम्म धेरै नेपाली लेखकको नामसँग परिचित भइयो । भानुभक्त आचार्य, लक्ष्मीप्रसाददेवकोटादेखि लिएर पछिल्लो समयसम्मका । तर, आईएमा गएपछि पुस्तकमा प्रवेश गरियो ।

तेह्रथुमको आठराईमा आईए पढ्दा मेरा मन पर्ने लेखकहरु तीन जना थिए । देवकोटा त यसै पनि ठूलो नाम भइहाल्यो, यसै मन पर्ने । पाठ्यक्रममा विजय मल्लको ‘कोही किन बरबाद होस्’ नाटक पढ्नुपर्थ्यो ।

महिलाहरुले खुट्टाको गोलीगाँठा देखाउनु पनि पाप हुन्थ्यो त्यो बेलामा । त्यसैले नारी विद्रोहलाई मैले त्यस्तो राम्रो बुझेँ जस्तो लाग्दैन । तर, विजय मल्लको ‘कोही किन बरबाद होस्’ ले मलाई त्यो बेला नै छोएको हो ।

त्यसपछि गोपालप्रसाद रिमालको ‘मसान’ पढ्नुपर्थ्यो । यस्तै, गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रह थियो । ती तीनवटा पुस्तक मलाई समान रुपमा मन पर्थे जस्तो लाग्छ । त्यसमा पनि ‘कोही किन बरबाद होस्’ त्यो बेलादेखि अहिलेसम्म मेरो सर्वाधिक प्रिय पुस्तकमा पर्छ ।

आकारमा धेरै सानो तर मूल्यमा धेरै ठूलो पुस्तक हो यो ।

स-साना पुस्तकहरु जस्तो कि विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ मलाई अत्यन्त मन पर्ने किताब हो । पारिजातको नाम लिँदा उनका ठूल्ठूला उपन्यासका कुरा गरिँदा हुन् । तर, मलाई पारिजातको सबभन्दा मन पर्ने पुस्तक ‘धुपी सल्ला र लालीगुराँसको फेदमा’ संस्मरण जो सानो छ र काव्यात्मक भाषामा छ ।

‘मसान’ नाटक रुसी साहित्यकार हेनरिक इब्सेनबाट प्रभावित भनिन्थ्यो, महिला समस्याबारे केन्द्रित थियो । महिलाको शरीर र अस्तित्वमाथि पुरुषको एकाधिपत्यको विरुद्धमा त्यो एउटा विद्रोह थियो । त्यो विद्रोह त्यो बेलामा मैले राम्ररी बुझेँ जस्तो लाग्दैन । किनकि म त सामन्ती समाजमा हुर्केको मान्छे । सामन्ती समाजमा महिलाहरु बोल्दैनथे । महिलाहरुले खुट्टाको गोलीगाँठा देखाउनु पनि पाप हुन्थ्यो त्यो बेलामा । त्यसैले नारी विद्रोहलाई मैले त्यस्तो राम्रो बुझेँ जस्तो लाग्दैन । तर, विजय मल्लको ‘कोही किन बरबाद होस्’ ले मलाई त्यो बेला नै छोएको हो ।

त्यो नाटकमा बरालिएको एउटा बालक छ, जो आमा विहीन छ । उसलाई एउटा विद्यालयमा पुर्‍याइन्छ ।त्यहाँ एक जना शिक्षिका छिन् । बालकप्रति उनी पुत्रवत् व्यवहार गर्छिन् र उसको बरालिएको मनलाई जीवनको सङ्गतिपूर्ण रेखामा ल्याउँछिन् । ऊ मान्छे बन्छ । आखिरीमा बालकको बाउ आउँछ, कृतकृत्य हुन्छ शिक्षिकाप्रति । उनी अविवाहित छिन् । त्यस क्रममा बिहेको प्रसंग पनि आउँछ ।

केटोको पिताले प्रस्ताव राख्छ, ‘तिमीले मेरो छोरोलाई उद्धार गरेर मान्छे बनायौ, बरालिएको थियो, त्यसलाई सही बाटोमा ल्यायौ ।के हामी सँगै जीवन बिताउन सक्छौं ?’

शिक्षिकाले जवाफ दिन्छिन्, ‘धेरै ढिलो भयो ।’

धेरै किताब पढे पनि सर्वाधिक मन परेको किताबमा एक नम्बरमा म त्यसैलाई राख्छु । किनभने युवावयमा त्यो बेला पढ्दा त्यसले मलाई नाटकको ढाँचा सिकायो, जीवनको आदर्श सिकायो, भाषा सिकायो र अरु धेरै कुरा सिकायो । मानव कल्याण भनेको के हो,सेवा के होभन्ने पनि सिकायो । त्यसले मेरो मनमा सानो बत्ती बालिदियो जस्तो लाग्छ ।

अर्को कुरा, त्यो अत्यन्त सरल र सुन्दर भाषामा लेखिएको छ । त्यसले मलाई भाषा पनि सिकायो । यसैले साहित्यप्रति अभिरुचि पनि जगायो । ‘कोही किन बरबाद होस्’ लेमनमा अमिट छाप छोडेको हुनाले त्यो बेलामा पढेको किताबको बारेमा अहिले यसरी कुरा गर्दै छु, मानौं मैले भर्खरै पढेको हुँ ।

समाजसँग कसरी जोडिन्छ यो नाटक?

प्रत्येक समाजका आफ्ना स्थापित मानकहरु हुन्छन् । त्यो मानकभन्दा दायाँ-बायाँ जो बरालिन्छ, त्यसलाई बरालिएको, बिग्रेकोभन्छन् । बच्चा सानैमा आमा मरिन् भने, परिवार अति विपन्न छ भने, उसको खानपिन, लालनपालन, लाडप्यार आदि पर्याप्त रुपमा भएन भने उसको मानसिक मनोवैज्ञानिक विकास स्वस्थ ढंगले हुँदैन ।

गोपालप्रसाद रिमाल महान् लेखक हुन्, कविको रुपमा र नाटककारको रुपमा पनि । चिन्तकको रुपमा पनि । तर, रिमालको यतिविघ्न प्रशंसा भयो, विजय मल्ल छायामा परे

त्यसो भएमा त्यो बच्चा समाजको एउटा सामान्य चिन्तनधारभन्दा फरक हुन्छ । त्यो एकोहोरो होला, रिसाहा होला, अटेरी होला अथवा विनाशक प्रवृत्तिको होला । त्यसरी बरालिएको एउटा बालकलाई एउटी महिलाले आफ्नो सन्तान बराबर प्रेम दिएर उसमा मानवोचित चेतनाको विकास गरेकी छिन् । त्यसलाई परोपकार भनौं, करुणा भनौं अथवा मानव सेवा भनौं । त्यसले मानवताको पाठक सिकाउँछ ।

अहिलेको समाजमा यो पुस्तकको झन् धेरै महत्व किन छ भने, अहिले त धेरै मान्छे तनावग्रस्त छन् । बाल, वनिता, वृद्ध सबैको मनमा पीडा छ, औडाहा छ । मान्छे अर्धसिल्ली, अर्धपागल जस्तो भएको छ । त्यसैले त्यो पुस्तक, त्यसको आदर्श अहिलेको समाजको लागि पनि त्यत्तिकै प्रासंगिक र मूल्यवान् छ । आजका बच्चा आमा-बाको लाडप्यारबाट एकदमै टाढा हुन्छन्, तिनलाई बोर्डर्सको जिम्मा लगाइएको हुन्छ । बोर्डिङ भनेका त व्यापारिक गृहहरु हुन् । तिनले आमा-बाले दिने प्रेम त दिन सक्दैनन् । त्यो अर्थमा पनि यस्ता पुस्तकको महत्व छ ।

अवमूल्यनमा परेका लेखक

विजय मल्ल भव्य लेखक हुन् । साहित्यमा के-कति कारणले यस्तो हुन्छ भनेर म जान्दिनँ, कतिपय लेखकहरुको अधिमूल्यन हुँदो रहेछरकतिको अवमूल्यन हुँदो रहेछ । गोपालप्रसाद रिमाल महान् लेखक हुन्, कविको रुपमा र नाटककारको रुपमा पनि । चिन्तकको रुपमा पनि । तर, रिमालको यतिविघ्न प्रशंसा भयो, विजय मल्ल छायामा परे । नेपाली साहित्यमा रिमालको जति गहिरो छाप छर जति ठूलो योगदान छ, मल्लको छाप र योगदान त्योभन्दा कमजोर मलाई लाग्दैन ।

कथा, उपन्यास, कविता सबै क्षेत्रमा अब्बल छन् मल्ल । खासगरी मेरो सम्झनामा उनको ‘छोरीलाई मानचित्र पढाउँदा’, ‘लेनिन’, र ‘समय’ कविता नेपाली साहित्यका भव्यतम कविताहरुमध्ये पर्छन् । देवकोटाको ‘पागल’, रिमालको ‘आमाको सपना’ यावैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविता सरह मल्लका ती तीन वटा कविता पनि आउँछन् । तर, उनी उपेक्षामा परेका लेखक हुन् ।

ठ्याक्कै के कारणले यस्तो हुन्छ भनेर बुझ्दिनँ म ।

हामीकहाँ साहित्यको विभिन्न काल भनेर छुट्याइयो । त्यसरी काल छुट्याउँदा कालका मानकहरु निर्माण गर्दा खास-खास व्यक्तिहरुलाई मानकका रुपमा उभ्याइने क्रममा तिनका नजिकका अरु लेखकहरु ओझेल परेका हुन् कि ? विजय मल्लको ‘अनुराधा’ त्यो समयमा धेरै चर्चा भएको उपन्यास हो । उनको ‘बहुला काजीको सपना’ नाटकको पनि धेरै चर्चा भएको हो । ‘अन्तिम भोज’ भन्ने कथा पनि भव्य छ । अहिले उनको नाम कहीँ पनि छैन । नेपाली साहित्यका गम्भीर अध्येता र नवप्रवेशी पाठकहरु जोसुकैलाई सोध्दा उनको नाम कसैले पनि लिँदैन । हामीकहाँ कुनै पनि कुरामा केही गन्यमान्य भनिएका मान्छेले भनिदिएपछि मात्र आँखा चिम्लिएर पछि लाग्ने चलन छ । यस्तै आवेग, आग्रह र रुढीका शिकार मल्ल भएका हुन् कि ? थाहा छैन । तर, उनी मेरो लागि प्रिय लेखक हुन् ।

समाजमा लेखकहरु बिदा भएपछि पनि सम्झना गरिरहनुमा अर्को पाटो पनि छ । प्रतिभासम्पन्न र ठूलो योगदान गरेका लेखकको देहान्तपछि कतिपयको त पारिवारिक गुठीहरु नै बनेका छन् । त्यही गुठीको माध्यमबाट तिनको हरेक वर्ष कर्मकाण्ड र सम्झना गरिन्छ । कतिपय लेखकहरुको परिवारभन्दा बाहिरका जनहरुले संस्था खोलेरकृतिहरुलाई सम्झने, संरक्षण रविस्तार गर्दैनयाँ पुस्तामा पुर्‍याउने चाँजो मिलाउने गुठी वा प्रतिष्ठान बनाएका छन् । त्यसको माध्यमबाट तिनको सम्झनागरिन्छ । विजय मल्लको त्यस्तो केही पनि भएन । यस्तै कारण उनी अन्यायमा परेका हुन सक्छन् ।

(कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment