Comments Add Comment

लेखनाथको बजेट साढे २६ करोड, जग्गा प्लटिङमा कडाई यथावत

lekhnath-nagarpalika-kaski

२६ पुस, पोखरा । सात तालको बगैंचा शहर लेखनाथको आगामी आर्थिक वर्षको बजेट २६ करोड ४० लाख ५२ हजारको योजना तर्जुमा भएको छ । यो बजेट अघिल्लो वर्षको तुलनामा ४ करोड ८८ लाख ३२ हजारले बढी हो । अघिल्लो वर्ष लेखनाथ नगरपालिकाको बजेट २१ करोड ५२ लाख २० हजार थियो ।

लेखनाथ नगरपालिकाको २४ औं नगर परिषदले गरेका निर्णय सार्बजनिकीकरण गर्न सोमबार आयोजित कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बजेटमा कुल आन्तरिक श्रोततर्फ ४ करोड ६६ लाख ८२ हजार अर्थात कुल बजेटको १७.६८ प्रतिशत र वाहृय श्रोततर्फ २१ करोड ७३ लाख ७० हजार अर्थात ८२.३२ प्रतिशत अनुमान गरिएको जानकारी दिए । अनुमानित श्रोत चालु वर्षको तुलनामा आन्तरिक तर्फ ३७.८८ प्रतिशत र बाहृयतर्फ १६.७३ प्रतिशतले बढी हो ।

आन्तरिक श्रोततर्फ स्थानिय करबाट १ करोड ९८ लाख ८० हजार, सेवा शुल्कबाट १५ लाख ४० हजार, दस्तुरबाट २ करोड ३९ लाख ५० हजार, बिक्रीबाट ६ लाख र अन्य आयबाट ७ लाख १२ हजार अनुमान गरिएको छ ।

बाहृयतर्फ नेपाल सरकारबाट प्राप्त सशर्त र निःशर्त दुबैबाट १५ करोड ४५ लाख २० हजार, राजस्व बाँडफाँड तथा रजिष्टे्रसन दस्तुरबाट २ करोड ४० लाख, अन्य निकायबाट १ करोड ३८ लाख ५० हजार, लागत सहभागिताबाट २ करोड ५० लाख अनुमान गरिएको कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए ।

लेखनाथ नगरपालिकाले आगामी वर्षको बजेट तर्जुमा गर्दा पूर्वाधार तथा संरचना विकासमा ८ करोड, ८८ लाख ९६ हजार अर्थात कुल बजेटको ३३.६७ प्रतिशत छुट्याएको छ । कृषि, वन तथा वातावरणमा ५५ लाख ४१ हजार अर्थात २.१० प्रतिशत मात्रै छुट्याइएको छ । कृषि, वन तथा वातावरणका लागि छुट्याइएको बजेट अघिल्लो वर्षको भन्दा ७९ लाख ९ हजारले कमी हो ।

त्यस्तै, जनसंख्या तथा सामाजिक कामका लागि ८ करोड १८ लाख १२ हजार अर्थात ४३.०३ प्रतिशत छुट्याइएको छ । संगठन तथा प्रशासनमा ३ करोड ८० लाख ८६ हजार अर्थात १९.२५ प्रतिशत छुट्याइएको छ भने जलश्रोत तथा भूमीमा ५१ लाख रुपैयाँ अर्थात १.९५ प्रतिशत छुट्याइएको छ ।

lekhnath-budgetबजेटमा नगरको वडा विकासका लागि प्रति वडा ७ लाखका दरले १८ वटा वडाका लागि १ करोड २६ लाख बिनियोजन गरिएको छ । सडक स्तरोन्नती र मर्मत सम्भारका लागि १ करोड ४९ लाख ८२ हजार छुट्याइएको छ । सहरी पूर्वाधार योजनाका लागि १ करोड ८१ लाख ७ हजार, नगरको वातावरण तथा सरसफाई र हरियाली कार्यक्रमका लागि १७ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै, अतिक्रमित जग्गा संरक्षणका लागि २० लाख छुट्याइएको छ । बेगनाससहित ७ तालमा पर्यटन प्रबर्द्धनका लागि ७ लाख बिनियोजन गरिएको छ ।

वालमैत्री नगर घोषणा गर्ने योजनासहित लेखनाथ नगरपालिकाले त्यसको तयारीका लागि ८१ लाख ८ हजार १ सय बिनियोजन गरिएको छ । जनजातीहरुको भाषा, संस्कृति तथा संरक्षणका लागि २० लाख २७ हजार, दलित समुदायको उत्थान, सिप विकासका लागि १२ लाख १६ हजार, अपाङ तथा फरक क्षमता भएकाहरुका लागि आयआर्जन, सिप विकास, क्षमता अभिबृद्धिलगायतका लागि ८ लाख १० हजार, महिलाको सिप विकास, क्षमता अभिबृद्धि, संस्थागत विकासका लागि ५४ लाख ६ हजार, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि ८ करोड बिनियोजन गरिएको छ ।

लेखनाथ नगरपालिकाले पोखरा उपत्यकाको समग्र विकासका लागि ३० लाख छुट्याएको छ । यसैगरी गरिबी न्यूनिकरण तथा गाउँ नगर साझेदारी कार्यक्रमका लागि १ करोड बिनियोजन गरिएको छ ।

जग्गा प्लटिङमा कडाई यथावत

लेखनाथ नगरपालिकाले नगरक्षेत्रको जग्गा जथाभावी रुपमा हुने गरेको प्लटिङमा लगाएको प्रतिबन्ध यथावत राखेको छ । राज्यले तोकेको मापदण्डबाहेक जथाभावी रुपमा गरिएको प्लटिङमा कडाई गरिने र नयाँ प्लटिङ रोक्न कडाईका साथ जग्गा विकास कार्यबिधी लागु गर्ने कार्यकारी अधिकृत ढुङ्गानाले बताए । उनका अनुसार जग्गा प्लटिङको अनुगमन गरी त्यसलाई ब्यबस्थित बनाउन प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा प्रमुख राजनीतिक दलका प्रतिनीधि सदस्य रहनेगरी कार्यदल गरिनेछ ।

एकीकृत बस्ती निर्माणमा जोड

लेखनाथ नगरपालिकाको २४ औं नगर परिषदले एकीकृत बस्ती निर्माणमा जोड दिएको छ । नगरका समथर क्षेत्रमा बसाई सराईको अधिक चापका कारण कृषि क्षेत्र तथा उर्वर भूमी खण्डीकरण भएको तथा अवैज्ञानिक जग्गा प्लटिङले ब्यबस्थित नगर निर्माणमा बाधा पुगेको निश्कर्ष निकाल्दै लेखनाथ नगरपालिकाले पहाडी क्षेत्रमा एकीकृत बस्तै निर्माण गर्ने योजना अगाडी सारेको हो । विशेष गरेर पहाडी क्षेत्रमा ‘ल्याण्ड युज प्लान’ निर्माण गरी लागु गर्ने कार्यकारी अधिकृत ढुङ्गानाले बताए ।

महानगर बनेकोमा स्वागत

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकासहित केही गाविस मिलाएर पोखरा महानगरपालिका बनाउन गरिएको प्रस्तावको लेखनाथ नगरपालिकाले स्वागत गरेको छ । लेखनाथ नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ को बजेट सार्बजनिक गर्दै कार्यकारी अधिकृत नवराज ढुंगानाले दुई नगरपालिकासहित अन्य केही क्षेत्र मिलाएर महानगर बनाउने स्थानिय निकाय पुनर्संरचना आयोगको प्रस्ताव स्वागतयोग्य भएको बताएका हुन् ।

पोखरा उपमहानगरपालिकाका समेत कार्यकारी अधिकृत ढुंगानाले प्रदेश नम्बर ४ को केन्द्रका रुपमा प्रस्ताव गरिएको पोखरा महानगरपालिकाको निर्माणले समग्र पोखरा उपत्यकाको विकास र सम्भावनाको मार्ग प्रशस्त भएको बताए ।

उनले महानगरपालिका बनेपछि समग्र मुलुककै विकास र आर्थिक समृद्धिको नेतृत्व गर्ने सुअवसर समेत पोखराले पाएको बताए ।

बजेट सार्वजनिक पछि पत्रकारको जवाफ दिँदै कार्यकारी अधिकृत ढुंगानाले सबै क्षेत्रको सन्तुलित विकास गर्ने लक्ष्यसहित बजेट बिनियोजन गरेको बताए । उनले पूर्वाधार तथा संरचना निर्माणमा भन्दा सामाजिक कार्यक्रममा बजेट बढी हुनुको कारण समुचित विकासकै कारण यस्तो भएको जिकिर गरे ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले ब्यवस्थित सहर बनाउने योजनासहित अगाडि बढ्न सुझाव दिए । उनले मापदण्ड तोकेर त्यसलाई कडाईका साथ पालना गराएर जग्गा प्लटिङ गर्न दिनुपर्ने बताए । नत्र व्यक्तिको जग्गा प्लटिङ गर्न दिन्न भन्नु नगरपालिकाले उसको सम्पत्तिमाथी हस्तक्षेप गरेको ठहरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment