Comments Add Comment

भैरव गाउँ यसरी बन्यो भैरहवा

७ फागुन, भैरहवा । अहिलेको भैरहवा शहर वर्षौंअघि गाउँको रुपमा थियो । गाउँमा पनि सीमित मात्र घर थिए । त्यो गाउँ विस्तार हुँदै भैरहवाको नामकरण कसरी र कहिले भयो ? हामीले यसको ऐतिहासिक पक्षको बारेमा खोतल्ने प्रयास गरेका छौं ।

भैरहवा कसरी बन्यो भनेर इतिहासको उत्खनन गर्ने हो भने झन्डै ६ सय वर्षअघि सन् १५०० तिर पुग्नुपर्ने हुन्छ । त्यसबेला भैरहवा रहेको ठाउँसहित पूर्वमा मेचीदेखि पश्चिममा कणर्णालीसम्म राजा मणिमुकुन्द सेनको राज्य रहेको इतिहासविद् विजयसागर श्रेष्ठ बताउँछन् ।

मणिमुकुन्दले सन् १५८० देखि तीन वर्षमा तीन पटक काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए । तेस्रो आक्रमणमा उनलाई कर नदिनेको क्षेत्रबाट उनले भैरव भगवानका पाँच वटा मूर्ति लुटे ।

मूर्ति लुटेर आफ्नो राज्य फर्किने क्रममा उनी जहाँ बास बसे, त्यहाँ केही मूर्ति छाडे । जाडोयाममा मणिमुकुन्द बुटवलको दरबारमा बस्थे (जुन अहिले मणिमुकुन्द पार्कको नामले चिनिन्छ) भने गर्मीयाममा पाल्पाको दरबारमा बस्ने गरेको इतिहासविद् श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार, पाँच वटा मूर्तिमध्ये एउटा पाल्पामा रहेको भैरव स्थान भनिने मूर्ति हो । दुइटा मूर्ति पाल्पाको तानसेनमा छ । चौथो नुवाकोटमा छ भने पाँचौं मूर्ति कहाँ छ भन्ने अझैसम्म कसैलाई थाहा नभएको उनले बताए ।

पाँच वटामध्ये चार वटा मूर्ति अन्यत्रै रहे पनि त्यसबेला भैरहवा गाउँमा भैरव भगवानको पूजाआजा गर्न गुठीको स्थापना भयो । गुठी स्थापना गरी भैरवको पूजाआजा सुरु भएपछि भैरहवाको नाम ‘भैरव’ राखिएको इतिहासविद् श्रेष्ठको दाबी छ ।

तर, भैरहवाबाट ठाउँको नामकरण भैरव भइसक्दा पनि पछि ‘भैरहवा’ किन भनियो त ? यसबारे उनले अनलाइनखबरसँग भने, ‘भैरव नामकरण भएपछि ठाउँ पछाडिको शब्दमा ‘ह’ र वा को मात्रा ‘आ’ हवा अक्षर जोडेर उच्चारण गर्ने स्थानीय चल्नचल्ती रहेकोले उच्चारण गर्दागर्दै ‘भैरहवा’ भएको हो ।’

राजाले भैरव भगवानकै मूर्ति किन लुटे ?

सेन राजाले उपत्यकामा मूर्ति लुटेर ल्याउँदा भैरव भगवानकै मात्र किन मुर्ति लुटे भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्- ‘शिव भगवानको आठ वटा अवतारमध्ये एउटा रुप भैरवको हो । शिव भगवान निकै उग्र भएको बेला भैरवको स्वरूप लिन्छन् । त्यस्तै सेन राजा पनि लडाइँ लड्न जाने बेलामा भैरव जस्तै निकै उग्र भएर जाने गरेका थिए । काठमाडौं उपत्यकामा पनि त्यस्तै उग्र भएर लड्न गएको र फर्किंदा भैरव भगवानको मूर्ति ल्याएका हुन् ।’

‘भैरव’ यसरी भयो ‘सिद्धार्थनगर’

भैरहवा शहरको नाम बढी चल्तीमा रहे पनि अहिले प्रशासनिक कामहरु सिद्धार्थनगर नगरपालिकाको नामले हुने गर्छ । सिद्धार्थनगरको नामकरणको सन्दर्भ गौतम बुद्धसँग जोडिएको छ । सिद्धार्थनगरलाई पहिला ‘भैरव’ भन्ने गरिन्थ्यो । तर, पछि गौतमबुद्धको नाम सिद्धार्थ रहेको आधारमा यसै क्षेत्रमा जन्मिएको हिसाबले ‘भैरव’ नामलाई रुपान्तरण गरेर सिद्धार्थनगर राखिएको विकिपिडियामा उल्लेख छ । । सिद्धार्थनगर नाम भैरहवाका कोमलदत्त तिवारीले राखेको बताइन्छ ।

रुपन्देही नाम हुनुको कारण

रुपन्देही जिल्लाको नामकरणको सम्बन्ध पनि गौतम बुद्धसँग जोडिएको विकिपिडिया बताउँछ । गौतम बुद्धको आमा मायादेवी यसै जिल्लामा पर्ने देवदहको भवानीपुरमा जन्मिएकी थिइन् । उनी अत्यन्त सुन्दर रहेकोले उनलाई रुपदेवी भनिन्थ्यो । त्यही शब्द अपभ्रंश हुँदै रुपन्देही हुन गएको हो भन्ने भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment