२३ फागुन, राजविराज । सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका मण्डललार्इ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगतै निधन भएको छ ।
यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्दि्रय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संजय यादवसहितका लाठी चार्जबाट घाइते भएका छन् । घाईते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
झडपमा परी केहि प्रहरी समेत घाइते भएका छन् ।
घटनापछि एमालेले तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गरेको छ भने मधेसी मोर्चालाई आन्दोलन घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
नोटः मधेसी मोर्चाले मृतकको संख्या चार भनेकाले सुरूमा त्यही संख्या उल्लेख हुन पुग्यो । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं-सं.
प्रतिक्रिया 4