२३ चैत, काठमाडौं । नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ ।
काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को बैठकमा नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएको छ । एक नेपाली सदस्यले अनलाइनखबरसँग भने, ‘१९५० को सन्धिबारे हामीले छलफल गर्यौं । भोलि पनि छलफल हुन्छ ।’
असमान धाराहरु हटाउन भारतीय पक्ष सकारात्मक रहेको भन्दै उनले अघि भने, ‘धाराहरु केही परिर्वतन होलान, केही रहलान् । छलफल टुंगिएपछि बाहिर ल्याउँछौं ।’
ईपीजीमा रहेका नेपाल र भारतीय दुबै पक्षले कुनै औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् ।
नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिलाई असमान भन्दै आएको छ ।
२०१४ को जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको (परराष्ट्रमन्त्री स्तरीय) बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमति अध्ययन गरी पुनरवलोकनका लागि सुझाव दिन प्रबुद्ध समूह गठन गर्ने सहमति भएको थियो ।
यहि सहमति अनुसार केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला प्रबुद्ध समूह गठन भयो, जसमा नेपालबाट भेषबहादुर थापाको संयोजकत्वमा अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई, पूर्वकानूनमन्त्री निलाम्बर आचार्य छन् ।
भारतीय पक्षबाट भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारीको नेतृत्वमा पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी.लामा र बिसी उप्रेती छन् ।
प्रतिक्रिया 4