+
+

बैतडीमा पुगेन मतदाता शिक्षा, जानकीको दुखेसो – भोट माग्नेले मत हाल्न सिकाएनन्

रासस रासस
२०७४ जेठ २५ गते ९:०७

२५ जेठ, बैतडी । करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् ।

‘यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ,’ डिलाशैनी–१ का जानकी रानाले भनिन् । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही नआएको उनले गुनासो गरिन् । ‘मतदान गर्ने तरिका सिकाउन कोही आएका छैनन्, कसरी मतदान गर्ने भन्ने थाहा नहुँदा अन्योल भएको छ’, उनले भनिन् ।

राजनीतिक दलका नेताहरुले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताए । उनले भने, ‘ग्रामीण क्षेत्रका महिलालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदरमा जाने सम्भावना छ ।’

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी द्यारले बताए । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक खटाइसकेको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयंसेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताए ।

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १८७ जना मतदाता शिक्षा स्वयंसेवकलाई परिचालन गरेका छौं, उनले भने, ‘बदर मत घटाउने उद्देश्यका साथ जिल्लाभरिनै स्वयंसेवक खटाएका हौँ ।’ यस्तै, राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि सँगसँगै गरिरहेको जनाएका छन् ।

राप्रपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा वडा अध्यक्षका उम्मेदवार हेमराज गिरीले घरदैलोसँगै मतदाता शिक्षाको पनि ज्ञान दिइरहेको बताए ।

उनले भने, ‘पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले प्राथमिकताका साथ मतदाता शिक्षालाई पनि जोड दिएका छौँ ।’ यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर विष्टले स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?