Comments Add Comment

तत्काल एलइडी ल्याउन नपाएपछि भारतबाट विद्युत आयात बढाइने

२६ असार, काठमाडौंं । भारतबाट दुई करोड थान एलइडी बल्ब आयात गर्ने प्रक्रिया अदालती झमेलामा फसेपछि नेपाल विद्युत प्राधिकरणका लागि आगामी सुख्खायाममा लोडसेडिङ टार्नु चुनौतिपूर्ण बनेको छ । यो चुनौति सामना गर्न प्राधिकरणले भारतबाट विद्युत आयात अझै बढाउने तयारी गरेको छ ।

एलइडी बल्बको खरिद प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दा विचाराधीन अवस्थामा रहेकाले आउँदो सुख्खा यामसम्ममा एलइडी भित्रने सम्भावना न्युन हुँदै गएको छ ।

वर्षातमा सहज अवस्था

वर्षात सुरु भएसँगै अहिले देशका खोलानालामा पानीको तह बढेको छ । यससँगै विद्युत उत्पादन बढेर गएको छ र भारतबाट विद्युत आयात घटेको छ । जसका कारण देशबाट बाहिरिने ठूलो रकममा पनि कमी आएको छ ।

प्राधिकरणका अनुसार अहिले भारतबाट २ सय ५० मेगावाट मात्र विद्युत आयात भइरहेको छ । गत वर्ष यही समयमा भारतबाट करिब ३ सय २५ मेगावाट बराबरको विद्युत आयात भइरहेको थियो । गत वर्ष यो सिजनमा अहिलेको भन्दा बढी बिजुली आयात गरिएको भए पनि देशमा ६ देखि ७ घन्टासम्म लोडसेडिङ भइरहेको थियो ।

वर्षातको समयमा विद्युत पुर्‍याउन प्राधिकरणलाई त्यति कठिन छैन । तर आउँदो कात्तिक महिनादेखि प्राधिकरणका कठिन दिन सुरु हुनेछन् ।

सुख्खायाममा थप २ सय ५० मेगावाट आवश्यक

अबको सुख्खा याममा २ सय ५० वाटसम्म विद्युतको माग बढ्ने विद्युत प्राधिकरणको आँकलन छ । यो मागलाई धान्ने गरी देशमा थप विद्युत उत्पादन हुने अवस्था छैन ।

असोज महिनासम्ममा चमेलिया जलविद्युत आयोजनाको निर्माण सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । यो आयोजनाबाट ३० मेगावाट बिजुली थपिन्छ । अर्द्धजलाशययुक्त यो आयोजनाले आगामी वर्षको सुख्खा समयमा थोरै राहत दिने देखिन्छ ।

प्राधिकरणले नै निर्माण गर्न लागेको १४ मेगावाटको जलाशययुक्त आयोजना कुलेखानी तेस्रो यो वर्ष सञ्चालनमा आउने छाँटकाँट छैन । किनकी निर्माण कार्यमा चिनियाँ कम्पनीले कुनै चासो नै दिएको छैन । यसरी हेर्दा प्राधिकरणका अयाोजनाबाट आगामी सुख्खायाममा थपिने विद्युत ३० मेगावाट मात्र हो ।

निजी क्षेत्रले भने यो समयसम्ममा २ सय ५० मेगावाट विद्युत थप्ने लक्ष्य लिएको छ । निजी क्षेत्रबाट १ सय ५१ वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

निर्माणाधीन अवस्थामा रहेका आयोजनाको कार्यप्रगति हेर्दा सुख्खा यामसम्ममा १ सय २५ मेगावाट विद्युत थप हुने देखिन्छ । तर यि आयोजनाहरु रन अफ दि रिभर हुन् । सुख्खा समयमा यस्ता आयोजनाले एक तिहाई मात्रै विद्युत उत्पादन गर्छन् । जसले गर्दा निजी र प्राधिकरणका आयोजनाबाट उत्पादित विद्युतले अबको थप माग सम्बोधन गर्न सक्दैन ।

आयात बढाउने तयारीमा प्राधिकरण

सञ्चालनमा आउन लागेका आयोजनाले आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइनमार्फत विद्युत ल्याउने तयारी गरेको छ । हालैमात्रै कटैया-कुशाहाको ५० मेगावाटको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यो प्रसारणलाइनमार्फत अब भारतबाट थप ५० मेगावाट विद्युत ल्याउन सकिन्छ । तर यसको लागि भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी र एनभीभीएनसँग सम्झौता गर्न बाँकी छ ।

ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभिमा चार्ज भइरहेको छ । यो प्रसारणलाइन २ सय २० केभिमा चार्ज गर्नका लािग अहिले तयारी भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, ‘२ सय २० केभिको लागि निर्माण कार्य अघि बढेको छ्, अगष्टसम्ममा यसको पनि निर्माण सक्छौ र यसबाट पनि थप विद्युत ल्याउनको लागि एनभिभिएनसँग सम्झौता गर्नुपर्छ ।’

त्यस्तै अहिले रक्सौल-परवानीपुर प्रसारणलाइनको पनि निर्माण सकिन लागेको छ । यसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ । यसमा पनि भारतीय पक्षसँग सम्झौता गर्न बाँकी छ ।

त्यस्तै यसअघि नै निर्माण भएको धनगढी-पालीबाट अहिले विद्युत आयात भएको छैन । अहिलेसम्म यो प्रयोगविहीन अवस्थामा छ । जसका कारण विभिन्न ठाउँमा मर्मत गर्नुपर्ने भएको छ । १० मेगावाट विद्युत आयात गर्नसक्ने यो प्रसारणलाइनको अहिले मर्मत प्रक्रिया अघि बढाउन लागिएको अधिकारी बताउँछन् ।

त्यस्तै टनकपुर-महेन्द्रनगर प्रसारणलाइनबाट पनि थप ४० मेगावाट आयात गर्न मिल्ने बनाउन लागिएको छ । ५० एमबीएको ट्रान्सर्फमर राखेर यसको स्तरोन्नति गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment