Comments Add Comment

२ खर्ब १० अर्ब रेमिट्यान्स हुण्डीबाटै, कोरियाबाट ९० प्रतिशत

२९ असार, काठमाडौं । चालु अार्थिक वर्षको जेठसम्ममा नेपालमा विदेशबाट ६ खर्ब ३३ अर्ब  रूपैयाँ रेमिट्यान्स वैधानिक बाटोबाट भित्रियो । असार सकिँदा यो वैधािनक रेमिट्यान्सकाे रकम ६ खर्ब ९० अर्ब रूपैयाँको हाराहारीमा पुग्नेछ ।

तर, विदेशबाट आउने सबै रेमिट्यान्स वैधानिक बाटोबाट आउने हो भने यो आँकडा वर्षमा ९ खर्ब रूपैयाँमा पुग्ने जानकारहरु बताउँछन् । रेमिट्यान्स कम्पनी सञ्चालकहरुका अनुसार अहिले पनि देशमा कुल अाउनेमध्ये ३० प्रतिशत रेमिट्यान्स अबैध बाटो अर्थात हुण्डीबाट आउँछ ।

हुण्डीलाई अवैध र असुरक्षित कारोबार मानिएपनि केही देशबाट हुने हुण्डीको कारोबार झन उकालो लागिरहेको छ ।

व्यवस्थापिका संसदको बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै आइमएईका अध्यक्ष तथा नेपाल उदोग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले करिब ३० प्रतिशत रकम अबैध बाटोबाटै भित्रिने गरेको जानकारी दिए ।

उनले भने ‘कति रकम हुण्डीबाट आउँछ भन्ने बारेमा वास्तविक तथ्यांक छैन । तर, करिब ३० प्रतिशत रकम अबैध बाटोबाटै आउने गरेको हाम्रो अध्ययनले देखाएको छ ।’

अहिले वर्षमा झण्डै ७ खर्ब रेमिट्यान्स वैधानिक रुपमा भित्रिएपनि झण्डै २ खर्ब १० अर्ब रुपैयाँ अवैध रुपमा आउने गरेको छ ।

विदेशमा गएका कामदारहरुले अवैध रुपमा पैसा पठाउँदा कम शुल्क लाग्ने गरेका कारण हुण्डी नै रोज्ने गरेका छन् । तर, यसरी अबैध रुपमा रकम भित्रँदा भने राज्यलाई नोक्सानी हुन्छ । यसरी अवैध बाटोबाट रकम भित्रँदा देशमा कुल कति रकम भित्रियो भन्ने राज्यले आँकडा नै राख्न सक्दैन ।

तर, कतार मलेसिया र साउदी अरेबिया जस्ता देशहरुबाट भने अहिले धेरैजसो रकम वैध बाटोबाट आउने गरेको नेपाल राष्ट्र बैंक बताउँछ । तर दुबई तथा दक्षिण कोरियाबाट भने अधिकांश रकम अवैधबाटो बाटै भित्रिने गरेको छ ।

श्रममन्त्री फरमुल्लाह मन्सुरका अनुसार दक्षिण कोरियाबाट भित्रने कुल रकम मध्ये ९० प्रतिशत रकम हुण्डीबाटै भित्रिने गरेको छ ।

सन् २०१६ को जनवरी देखि सोही वर्षको डिसेम्बरसम्ममा कोरियाबाट आउने रकममा ०.८४ प्रतिशत मात्रै बृद्धि भएकेा राष्ट्र बैंकको आँकडामा उल्लेख गरिएको छ ।

नेपालबाट विदेशमा जाने कामदारहरुमध्ये दक्षीण कोरियामा जाने कामदारहरुले अन्य देशमा भन्दा बढि कमाउँछन् । तर त्यहाँबाट भित्रने गरेको रकममा भने खासै वृद्धि भएको छैन ।

त्यस्तै दुबईबाटै आउने रकममा पनि ७.५२ प्रतिशत मात्रै वृद्धि भएको छ । जुन अघिल्लो वर्षमा १४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको आँकडामा उल्लेख गरिएको छ ।

मलेसिया र कतारबाट आउने रेमिट्यान्समा भने उच्च बृद्धि भएको राष्ट्र बैंकको आँकडामा देखिन्छ । किनकी यि देशबाट धेरैजसो रकम बैधानिक बाटो हुँदै नेपाल आउने गर्दछ । सन् २०१६ को जनवरी देखि डिसेम्बर सम्ममा कतारबाट आउने रकममा १६.९५ प्रतिशत वृद्धि भएको छ भने मलेसियाकोमा करिब १३.४२ प्रतिशत वृद्धि देखिन्छ ।

नेपालबाट अहिले करिब ४० लाख युवाजनशक्ति कामको खोजीमा विदेश गएका छन् । ति कामदारको आँकडा सरकारसँग भएपनि यि मध्ये कति फर्किए भन्ने आँकडा भने उपलब्ध छैन ।

वैधानिक तबरले देशमा पठाउँदा भन्दा हुण्डीबाट पठाउँदा केही सस्तो पर्छ । जसका कारण नै कामदारहरुले अवैध बाटोबाट रकम पठाएको सांसदहरुको भनाइ छ । शुल्ककै कारण रकम अबैधबाटोबाट भित्रिएको भन्दै यसमा लाग्ने शुल्कमा कटौति गर्न उनीहरुले सुझाव दिएका छन् ।

अर्थसमितिको बैठकमा बोल्दै सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने ‘पाकिस्तानले विदेशी मुद्राको निक्षेप कम भएपछि विदेशबाट आउने रकमको शुल्क आफैले व्यहोर्ने व्यवस्था गरेको थियो । अवैध बाटोबाट पठाउँदा भन्दा वैध बाटोबाट पठाउँदा सस्तो परेपछि पाकिस्तानमा अधिकांश रकम वैध बाटोबाटै भित्रिएको थियो । ‘

सरकारले हुण्डीमार्फत देशमा भित्रने पैसालाई नियन्त्रण गर्न खोजेपनि सफल भएको छैन । यसमा लाग्ने शुल्कका कारण केहिले अबैधबाटोबाटै रकम पठाउने गरेका छन् ।

साथै विदेशमा रहेका कामदारको नजिकमा बैंक तथा वित्तीय संस्था नहुने र कामको व्यस्तताका कारण पनि उनिहरुले हुण्डीमार्फत रकम पठाउने गरेका छन् ।

दुइर् वर्ष अघि गएको भूकम्पपछि विदेश जाने कामदारको संख्यामा गिरावट आएको छ । जसका कारण रेमीट्यान्सको वृद्धिदर खुम्चिएको राष्ट्र बैंक बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment