+
+
Shares

८० प्रतिशत बाढी पीडित महामारीको जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १९:३४

३२ साउन, काठमाडौं । बाढी प्रभावित तराईका करिब ३० जिल्लामा सरुवा रोगको महामारी फैलिन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । उनीहरुले महामारीको जोखिमबाट सचेत रहन सुझाव समेत दिए ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्थाबारे जानकारी दिने उद्देश्यले स्वास्थ्य सेवा विभागले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. राजेन्द्र प्रसाद पन्तले डुबान पश्चात महामारीको खतरा रहेकाले सजग हुनुपर्ने बताए ।

‘अहिले बाढीग्रस्त क्षेत्रमा डबानको अवस्था हो । महामारी हैन । तर अब महामारी हुन सक्ने भएकाले शुुद्ध पानी र स्वस्थ खाना खान निकै जरुरी छ । यति भए ९९ प्रतिशत मानिस महामारीबाट बच्न सक्छन् ।’

उनका अनुसार हाल ती क्षेत्रका करिब ८० प्रतिशत मानिस महामारीको जोखिममा रहेकोमा उनीहरु कुनै न कुनै रुपमा प्रभावित बनेका छन् ।

गृह मन्त्रालयको एक तथ्यांक अनुसार हाल तराईका ३० जिल्ला बाढी प्रभावित छन् र १२२ जनाको मृत्यु भैसकेको छ । ३२ जना बेपत्ता हुनुका साथै ३८ जना गम्भीर घाइते छन् । त्यस्तै, करिब २१ हजार ५६९ मानिसलाई बाढीग्रस्त क्षेत्रबाट स्कुल लगायतका विभिन्न ठाउँमा सारिएको छ ।

ती क्षेत्रमा महामारी नफैलियोस् भन्नकै लागि पानी शुद्धिकरणको आवश्यकता महसुस भएपछि विभागले पर्याप्त मात्रामा पानीलाई शुद्ध बनाउने पियुष चक्की पठाएको बताएको छ । यस्तै, सिराहा, सप्तरी तथा महोत्तरीमा २५ हजार क्लोरिन ट्याब्लेट, ६ ड्रम ब्लीचिङ पाउडर, क्षेत्रीय निर्देशनालयमार्फत ६०० बोतल पियुष लगायतका औषधि सिराहा, सप्तरी, महोत्तरी तथा रौतहटका क्ष्ेत्रमा पठाइसकेको जनाइएको छ ।

त्यस्तै, धनुषामा ८ जार पानी, जनकपुरको मुसहर बस्तीमा २ हजार ट्याब्लेट क्लोरिन वितरण गरिसकेको विभागले जनाएको छ ।

त्यसबाहेक, सप्तरीमा ५०० थान सफाइ सम्बन्धी सामाग्री तथा २०० ट्याब्लेट एक्वा ट्याब्लेट पठाएको विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यसबाहेक ती क्षेत्रको वस्तु अवस्थाबारे जानकारी दिन तथा जिल्ला तथा क्षेत्रसितको समन्वयका लागि विभागले हालै ५ वटा क्षेत्रमा र्‍यापिड रेस्क्यू टिम परिचालन गरिसकेको छ । उक्त टिमले घटनाको विवरण संकलन गर्नुका साथै केन्द्रलाई त्यहाँको बस्तु स्थितिबारे जानकारी दिइए समन्वय गर्ने विभागले जनाएको छ ।

त्यसो त बाढीग्रस्त क्षेत्रमध्य हालसम्म महोत्तरीको भंगाहा गाउपालिकास्थित मुसहर वस्तीमा ३७ जनामा झाडापखाला देखिसकेको छ भने झापामा पनि झाडापखालाका विरामी देखिएको विभागले जनाएको छ । त्यसबाहेक, बाढीकै कारण ती क्षेत्रमा झाडापखाला, टाइफाइड, कोलेरा, सर्पदंश, फ्लू लगायतका संक्रमण हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?