+
+
Shares

‘ब्लड प्रेसर’बाट यसरी बचौं

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १२:५८

डा. शिवजी सिलवाल

हृदयरोग विशेषज्ञ

तपाइको उमेर पचास वर्ष कटीसकेको छ ? छ भने सजग हुनुहोस् । तपाइको शरीरको तौल उमेरको अनुपातमा बढी छ ? छ भने हेलचेक्रयाइ नगर्नुहोस् । अनि तपाई धुम्रपान तथा मद्यपान गर्नुहुन्छ भने त झन् खेलाँची गर्दै नगर्नुहोस् । बरु, प्रेसर चेक गराइहाल्नुहोस् । तपाइ उच्च रक्तचापको जोखीममा हुनुहुन्छ ।

मधुमेह र मृगौला सम्बन्धी विरामीलाई पनि उच्च रक्तचापको जोखीम हुन्छ । तपाईंको परिवारका अरू सदस्यलाई पनि उच्च रक्तचाप छ भने तपाईलाइ पनि हुनसक्छ । तपाईं गर्भवती हुनुहुन्छ अथवा परिवार नियोजनका चक्की सेवन गर्नु हुन्छ भने रक्तचापको जोखीम हुनसक्छ ।

शहरीया जिवनशैली, बरालीएको खानपान र शारीरीक श्रमको कमीका कारण उच्च रक्तचापको जोखीम बढदै गएको छ ।

रक्तचाप

रगतबाट रक्तनलीमा पर्ने चापलाई रक्तचाप भनिन्छ । १२० माथिको अंकले सिस्टोलिक रक्तचाप अर्थात् मुटु खुम्चिएको बेला मुटुबाट निस्किएको रगतले रक्तनलीहरूमा पार्ने चापलाई जनाउँछ । ८० तलको अंकले डायस्टोलिक रक्तचाप अर्थात् मुटु फुक्दा मुटुमा र्फकने रगतले रक्तनलीहरूमा पार्ने चापलाई जनाउँछ । सामान्य व्यक्तिमा १२०/८० mm Hg अंकको रक्तचापलाई स्वस्थ मानिन्छ तर मधुमेह तथा मिर्गौला रोगीमा चाहिँ १३०/८० mm Hg अंकको रक्तचापलाई नै राम्रो मान्न सकिन्छ । सामान्यतः १४०/९० mm Hg  वा सो भन्दा बढी रक्तचाप भएको स्थिति नै उच्च रक्तचाप हो ।

समयमै उपयुक्त र पर्याप्त उपचार नभएमा उच्च रक्तचापले विभिन्न अंगलाई स्थायी रुपमा नोक्सान पुर्‍याउनसक्छ । अधिकांश हृदयाघात, मस्तिष्कघात एवम् पक्षघातमा उच्च रक्तचाप नै प्रमुख कारणका रुपमा पाइने गरेको छ । मिर्गौलाले कहिल्यै काम गर्न नसक्ने गरी मिर्गौला असफल हुनुको कारणमा पनि उच्च रक्तचाप पर्दछ ।

उच्च रक्तचापका लक्षण

प्रायःजसो अवस्थामा उच्च रक्तचापका कुनै लक्षण देखा पर्दैनन् । जटिल समस्या देखा नपर्दासम्म उच्च रक्तचापका विरामी सामान्य अवस्थामै हुन्छन् । केही बिरामीहरूमा भने तल उल्लेखित लक्षणहरू प्रारम्भिक चरणमा नै देखिनसक्छ ।

-अत्यन्तै टाउको दुख्ने ।

-रिङ्गटा लाग्ने ।

-नाकबाट रगत बग्ने ।

-छाती दुख्ने र दृष्टि धमिलो देखिने ।

नाप्ने तरिका

-रक्तचाप नाप्नुअघि आधा घण्टासम्म चुरोट तथा चिया/कफीको सेवन नगर्ने ।

-आरामसँग केहीबेर कुर्सीमा बस्ने । हिंडडुल वा कसरत गर्नेबित्तिकै रक्तचाप मापन नगर्ने ।

-कसिलो लुगा नलगाउने । लुगाको माथिबाट वा बाहुलामाथि सारेर रक्तचाप मापन गर्ने ।

-रक्तचाप मापन गर्दा आफ्नो पाखुरा मुटुको स्तरमा राख्नु उत्तम ।

परिक्षणहरु

डा. शिवजी सिलवाल

रगतः रगतमा ग्लुकोज, चिल्लो पदार्थ, (लिपिड प्रोफाइल), यूरिक एसिड, इलेक्ट्रोलाइटस्का साथै मिर्गौला सम्बन्धी युरिया र क्रियटिनिनको जाँच गराउनु उपयुक्त हुन्छ ।

पिसाबः पिसाबमा अल्बुमिन र माइक्रो अल्बुमिन मात्रा तथा ग्लुकोजको मात्रा जाँच गर्नुपर्छ । अल्बुमिनको जाँचले मिर्गौला तथा मुटुको स्वास्थ्य स्थिति कस्तो छ भनी पत्ता लगाउन सजिलो पर्दछ ।

 ईसीजीः यो जाँचले मुटुको स्थिति र कार्य क्षमता ठीक छ कि छैन भन्ने देखाउँछ । उच्च रक्तचापको बिरामीले ६-६ महिनामा यो परीक्षण गराईराख्नु पर्छ ।

इकोः यो जाँचले मुटुको क्षमता तथा मुटुमा परेको क्षति देखाउँछ ।

आँखाः  उच्च रक्तचापले आँखामा दीर्घ नोक्सान पुर्‍याई दृष्टिघात गर्न सक्छ । तसर्थ उच्च रक्तचापको बिरामीले आˆनो आँखाको नियमित परीक्षण गर्नु अत्यन्तै जरुरी हुन्छ ।

सामान्यीकरण उपाय

-स्वास्थ्यबर्द्धक एवम् चिल्लोरहित खाना खाने ।

-खाना थोरै थोरै गरेर पटक पटक खाने ।

-खानामा नुनको मात्रा कम  गर्ने । आˆनो दैनिक खानामा नुनको मात्रा ६ ग्राम भन्दा बढी नगर्ने ।

-नुनको मात्रा घटाउन खानामा फलफूलको मात्रा बढाउने । -यसो गर्न सक्यौं भने आफ्नो रक्तचाप २-८ mm Hg घटाउन सकिन्छ ।

-स्वस्थ तौल कायम गर्ने । आफ्नो BMI 18.5-24 मा कायम गर्ने । प्रत्येक १० के.जी. तौल घटाउँदा छ – 5 – 20 mm Hg रक्तचाप घटाउन सकिन्छ ।

-दैनिक ४५ मिनट व्यायाम गर्ने । नियमित व्यायाम गर्दा २-८ mm Hg जति रक्तचाप घटाउन सकिन्छ ।

-रक्तचापको नियमीत परिक्षण गर्ने ।

-चिकित्सको सल्लाह अनुसार नियमीत औषधि सेवन गर्ने ।

सावधानी

औषधिको नियमीत सेवनबाट पनि उच्च रक्तचाप नियन्त्रणमा नआएको देखिन्छ । औषधिको मात्रा नपुगेमा, रक्तचाप मापन गरेको तरिका नमिलेमा, बढी मात्रामा नुनको सेवन गरेमा, दुखाई कम गर्ने औषधि (NSAID), गर्भनिरोधक चक्की आदिको सेवन गरेमा रक्तचाप नियन्त्रणमा नआउनसक्छ । यसको ख्याल गर्नैपर्छ ।

के नखाने ?

-धेरै चिल्लो र नुनिलो खाना

छाला र बोसोयुक्त/पोलेको चिल्लो मासु ।

प्रशोधन गरिएको सेतो चामल र मैदा तथा यसबाट बनेका बिस्कुट, चाउचाउ ।

शिशीका अचार, क्यान फुड, भुटे तारेका खाद्य पदार्थहरू ।

बजारमा पाइने तयारी खाद्य पदार्थहरू ।

मद्यपान धुम्रपान ।

के खाने ?  

-स्वच्छ एवम् ताजा शाकाहारी खाना,

-छाला र बोसो हटाई राम्रोसँग पकाइएको सिमित मात्रामा मासु ।

-उच्च रेसायुक्त प्रशोधन नगरिएको चोकरसहितको गहुँको पीठो, खस्रो चामल, हरिया ताजा तरकारी र फलफूल ।

बोक्रासहितको चना, भटमास, स्याउ ।

रक्तचापको अवस्था र जोखिम

 

वर्गीकरण माथिको अंक तलको अंक तपाईंको अंकले के भन्छ ?
सामान्य रक्तचाप १२० भन्दा कम ८० भन्दा कम रक्तचापको अंक थोरै मात्र बढ्नाले पनि हृदयाघात तथा मस्तिष्कघात जस्ता रोगको जोखिम बढ्नसक्छ ।
पूर्व उच्च रक्तचाप (Pre-hypertensive) रक्तचाप बढ्ने खतरनाक अवस्था) १२०-१३९ वा ९०-९९ तपाईंको रक्तचाप बढ्ने जोखिम हुन्छ । तसर्थ डाक्टरसँग परामर्श गरी आफ्नो रक्तचापलाई सामान्य पार्ने तरिका अपनाइहाल्नुपर्छ ।
प्रथम चरणको उच्च रक्तचाप १४०-१५९ वा ९०-९९ यदि तपाईंको रक्तचाप यो वर्गीकरणमा पर्छ भने तपाईंलाई औषधि उपचारको खाँचो छ ।
दोस्रो चरणको उच्च रक्तचाप १६० वा सो भन्दा बढी वा १०० वा सो भन्दा बढी यदि तपाईंको रक्तचाप यो वर्गीकरणमा पर्छ भने तपाईंलाई तत्कालै औषधि उपचारको खाँचो छ ।

 

(हृदयरोग विशेषज्ञ, डा. सिलवाल नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्)

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?