Comments Add Comment

निक्षेपको ब्याजदर थप घट्दै, पुरानोको भारले घटेन कर्जाको ब्याजदर


२७ असोज, काठमाडौं । मुद्दती निक्षेपमा सबैभन्दा कम व्याज दर दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो दर थप घटाएको छ ।  स्ट्याण्डर्डले मुद्दतिमा अधिकत्तम ६.५ प्रतिशत ब्याजदर दिने भएको सार्वजनिक सूचना जारी गरेको हो । यता, निक्षेपमा उच्च ब्याजदर दिइरहेका प्रभु र सिभिल बैंकले पनि ब्याजदरमा कटौती गरेका छन् । प्रभुले अधिकत्तम ९ प्रतिशत र सिभिलले अधिकत्तम १० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।

केही महिनाअघिसम्म १३ प्रतिशतको हाराहारीसम्म पुगेको निक्षेपको ब्याजदर अहिले औसतमा ७/८ प्रतिशतमा झरिसकेको छ । बैंकहरुमा पूँजीको अवस्था (तरलता) संस्थापिच्छे नै फरक पर्न सक्ने भएकोले पनि कतिपयले १० दिनदेखि एक महिनाको अन्तरालमा निक्षेपको ब्याजदर घटाइरहेका छन् ।

‘पूँजीको अवस्था संस्था अनुसार फरक पर्छ, कम्पनीहरुले कति लगानी गरेका छन्, लगानी गर्न कति रकम बाँकी छ त्यसै आधारमा बैंकहरुले निक्षेपको ब्याजदर तय गर्छन्,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ४० अर्ब बराबरको तरलता रहेको छ । यसअघि ७०/८० अर्बको हाराहारीमा तरलता रहेको बजारमा पछिल्लो समय राष्ट्र बैंकले जारी गरेका तरलता खिच्ने उपकरण जारी गरेको, बजारमा कर्जा लगानीमा विस्तार भइरहेकोले पनि तरलताको तह केही घटिरहेको छ ।

बैंकहरुको तथ्यांक अनुसार असारयता मात्रै ४२ अर्ब रुपैयाँको कर्जा गएको छ जबकी ३६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको छ । यता, बैंकहरुले निक्षेपको व्याजदर क्रमिक रुपमा घटेपनि अझै पनि धेरै बैंकले प्रदान गरिरहेको कर्जाको ब्याजदर घट्न सकेको छैन् । ‘व्याज दर नघट्नुमा मुख्य कुरा पुरानो मुद्दती निक्षेपको व्याज भार नै हो,’ बैंक अफ काठमाण्डुका प्रमूख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले आक्रामक रुपमा कर्जा लगानी गर्दा कर्जा जारी गर्न थप पूँजी नै अभाव हुन थाल्यो । यससँगै बैंकहरुले निक्षेप आकर्षित गर्न उच्च ब्याजदर दिन थाले ।

‘त्यो समय संस्थागत निक्षेपकर्ताहरुले पनि  राम्रै  मोलमोलाई गरे र बढि ब्याजदरमा लामो अवधिको निक्षेप राखे,यसले पनि प्रभाव हालसम्म देखिएको हो,’ पन्तले स्पष्ट पारे । तुलनात्मक रुपमा मध्य व्याज दरका निक्षेप घटाएर पनि कतिपय बैंकले आफ्नो व्याज लागत घटाउन लागेको उनले बताए ।

बैंक अफ काठमाण्डुकै पनि कर्जाको ब्याजदर थप महंगिएको छ । असारमा १०.५७ रहेको यस बैंकको आधार दर (बेस रेट) भदौंमा १०.७१ रहेको छ । बैंकहरुले आधार दरमा थप केही प्रतिशत थपेर शीर्षक अनुसारको कर्जाको ब्याजदर निर्धारण गर्छन् । यस्तै आधार दर बढ्ने केही बैंकमा सानिमा बैंक, मेगा बैंक पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment