Comments Add Comment

पियरसिङः नाकदेखि नाइटोसम्म छेडछाड

पहिले भूत भगाउन, अचेल सेक्सी देखिन

२७ कात्तिक, काठमाडौं । कसैले नाकका दुवै प्वालको बीचमा प्वाल पारेर रिङ झुण्ड्याएका छन् । कसैले दुवै आँखीभौं छेडेर गहना घुसारेका छन् ।

कसैका दुवै कानका लोतीभरि टपैटप कोचिएका छन्, मानौं ती कुनै पसलमा बेच्न राखिएका हुन् ।

कसैको फेसन कस्तो भने जिब्रोमै प्वाल पारेर रिङ घुसारेका छन् । कसैले ओठमै छेडेर छर्राजस्तो डल्लो गहना अड्काएका छन् ।

यहाँसम्म त ठीकै थियो, फेसनका पारखी र स्टाइलिस हुन चाहनेहरु नाइटो र आसपासका अंगहरुमा पनि छेडछाड गरेर रिङ झुण्ड्याउन पछि पर्दैनन् ।

शरीरका विभिन्न अंगमा छेडेर रिङ या अन्य गहना झुण्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट, नाइटो, जिब्रो, ओठ र कानको बाहिरी लोतीमा पियरसिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।

केही समय अघिसम्म नेपालमा ट्याटुको मात्र प्रचलन थियो । ठमेललगायत पर्यटकीय क्षेत्रमा जसै विदेशीहरुमाझ पियरसिङको माग बढ्दै गयो, नेपालीले पनि त्यसको सिको गर्न थाले ।

‘विदेशीहरु पियरसिङका लागि आएसँगै नेपालीमाझ पनि पियरसिङ गर्ने क्रम बढ्दो छ,’ ठमेलस्थित ‘गगन ट्याटुज इन’का सञ्चालक गगन थापा भन्छन् ।

विगत १४ वर्षदेखि यो पेसामा लागेका थापाका अनुसार आँखीभौं, चिउँडो, निपल, गाला, जिब्रोलगायत अंगमा पियरसिङ गर्नेको संख्या ह्वात्तै बढेको छ ।

भूत भगाउने ‘उपाय’

पियरसिङ कहिलेदेखि सुरु भयो, ठ्याक्कै जानकारी अघिल्लो पुस्तालाई समेत छैन । यद्यपि, यसको आफ्नै महत्व र इतिहास छ । गहना लगाउने चलनसँगै विकसित भएको हो, पियरसिङ ।

महिलाहरुलाई गहना दिएर आफ्नो प्रभावमा पार्न पनि कान र नाक छेडाउने चलन भगवानकै पालादेखि चल्दै आएको पौराणिक ग्रन्थहरुमा पाइन्छ । यही कारण नेपाली समाजमा नाक तथा कान छेड्नु नौलो मानिँदैन ।

नेपालमा कान र नाकमा प्वाल पार्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको हो । त्यसबेला, कान तथा नाकमा गरिने पियरसिङलाई नै अहिले नयाँ पुस्ताले शरीरका विभिन्न अंग छेडेर नयाँ रुप दिएका हुन् ।

नेपालमा आँखीभौं, चिउँडो, निप्पल, गाला, जिब्रोलगायत अंगमा पियरसिङ गर्नेको संख्या ह्वात्तै बढेको छ ।

विशेषगरी, स-साना बालबालिका, नवजात शिशु र पास्नी गरिने उमेरका शिशुहरुको कान र नाकमा गरिने यस्ता छेदन मानिसको धार्मिक मान्यता तथा परम्परामा आधारित हुन्थ्यो ।

पहिले-पहिले भूतप्रेत नलागुन् भनेर कान, जिब्रो छेड्ने चलन थियो । पहिले धार्मिक मान्यता तथा तन्त्रमन्त्रमा आधारित रहेर यस्ता छेदनहरु गरिन्थ्यो ।

‘पहिले पहिले मानिस तन्त्रमन्त्रमा विश्वास गर्थे । कान छेडेर त्यसमा फलाम लगाउँदा भूतप्रेत, पिशाचबाट शरीरलाई सुरक्षित राख्न सकिन्छ भन्ने उनीहरुको विश्वास थियो । कतिपयले धार्मिक कार्यका लागि पनि जिब्रो र कान छेड्ने प्रचलन थियो,’ समाजशास्त्री मोदनाथ प्रश्रति भन्छन् ।

जातीय रवाफ

बाहुन/क्षत्री समुदायमा महिलाको विवाहपूर्व नाक छेड्ने प्रचलन अद्यापि छ । गुरुङ र तामाङ समुदायमा नाकमुनि छेदन गरेर बुलाकी लगाउने चलन छ ।

बाहुन/क्षत्री समुदायमा नाक तथा कान छेड्नु आफूलाई ‘उपल्लो वर्ग’को दर्शाउने एउटा आधार पनि मानिन्थ्यो । अझ विवाहपूर्व नाकमा छेदन गरी फुली लगाउँदा उनीहरु पवित्र भएको तथा पूजाआजा र धार्मिक अनुष्ठानका लागि योग्य भएको मानिन्थ्यो ।

नाक छेडेर फुली लगाउने महिला उतिबेला उच्च वर्गका र शुद्ध मानिन्थे, जुन मान्यता अद्यापि छ । अहिले पनि बाहुन/क्षत्रीको वैवाहिक समारोहमा फुलीलाई पवित्र मानिनुका साथै पोते, चुराझैं सगुनको रुपमा प्रयोग गर्ने गरिन्छ ।

महिलाको मृत्यु हुदाँसमेत उनीहरुको नाकको फुली झिकेर अन्तिम संस्कार गर्ने चलन छ ।

पछिल्लो समय नयाँ पुस्तामाझ भने नाक, कानका साथमा शरीरका अन्य भागमा समेत छेदन गर्ने प्रचलन बढेको छ, जसलाई उनीहरु ‘पियरसिङ’ भन्ने गर्छन् । नयाँ प्ुस्ताका लागि यो धार्मिक र सांस्कृतिक कर्मकाण्डभन्दा पनि फेसन बन्न पुगेको छ ।

उच्च घरानाहरुमा पियरसिङ गराउनुलाई प्रतिष्ठाकै विषय मान्ने गरिएको छ । आर्थिक हैकम, धनाढ्य देखाउने, समाजमा नौलो ढंगले चिनाउने र उपस्थिति जनाउने माध्यमका रुपमा पनि पियरसिङ गर्ने चलन बढेको छ ।

पियरसिङ कति सुरक्षित ?

पियरसिङ गर्दा शरीरको कुनै भागमा प्वाल पारिन्छ । र, त्यसलाई गहना लगाउन योग्य बनाइन्छ ।

प्रायजसो पियरसिङ सामान्य सियो र बन्दुकको माध्यमबाट गरिन्छ । पियरसिङ गर्ने बन्दुकमै कानमा लगाउने टप जोडिएको हुन्छ । बन्दुकले कानमा दुलो पारेसँगै टप त्यहीं फिट हुन्छ ।

यस्तै, सियोद्वारा शरीरका विभिन्न अंगमा दुलो पारेर पनि पियरसिङ गरिन्छ । यो विधि खासै सुरक्षित नमानिए पनि नेपालमा यसकै चलन बढी छ ।

‘जथाभावी पियरसिङ गर्दा ब्याक्टेरिया, भाइरस, एचआईभी, हेपाटाइटिसलगायत संक्रमणको जोखिम हुन्छ’

‘सियोको माध्यमबाट गरिने पियरसिङ व्यक्तिको रोजाइ हो,’ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकी डा. सविना भट्टराई भन्छिन्, ‘सियोलाई उचित तरीकाले प्रयोग नगर्दा संक्रमणको जोखिम हुन्छ ।’

जथाभावी छेदन गर्दा घाउ पाक्ने, नकारात्मक प्रतिक्रिया, ब्याक्टेरिया, भाइरस, एचआईभी, हेपाटाइटिसलगायत संक्रमणको जोखिम बढ्ने डा. भट्टराई बताउँछिन् । भन्छिन्, ‘जहाँ पायो त्यहीं छेदन गर्दा शरीरमा मासु पलाउने समस्या आउने र नशामा क्षति पुग्नसक्छ ।’

‘गगन ट्याटुज इन’का सञ्चालक थापाका अनुसार सुरक्षित हुने भएकाले अधिकांशले सियोबाटै पियरसिङ गराउँछन् । उनी भन्छन्, ‘यस्तो पियरसिङ शरीरमा सुहाउँदो पनि हुन्छ ।’

विश्व रेकर्ड

शरीरमा सबैभन्दा धेरै पटक छेदन गरेर सर्वाधिक चर्चा कमाउन सफल हुनेमा ब्राजिलकी नर्स इलाइन डेभिडसन अंग्रपक्तिमा छिन् ।

उनले १७ वर्षअघि शरीरमा चार सय ६२ वटा पियरसिङ गराएर गिनिज बुकमा नाम लेखाएकी थिइन् । उनको मुखमा मात्र एक सय ९२ पियरसिङ गरिएको थियो ।

त्यसपछि उनी यति हौसिइन् कि सन् २००१ मा गरिएको जाँचमा उनको मुखमा सात सय २० वटा पियरसिङ गरिएको थियो ।

‘दी गार्जियन’का अनुसार डेभिडसनको हौस्याइ त्यतिमै सीमित रहेन । सन् २००५ सम्ममा उनको शरीरभर ३९ सय ५० वटा पियरसिङ भेटियो । त्यसको सात वर्षपछि अर्थात् सन् २०१६ सम्ममा डेभिडसनले करिब ९८ सय पियरसिङ गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment