Comments Add Comment

काठमाडौंमा कांग्रेसका तीन नेता हृयाट्रिक होडमा

१ मंसिर, काठमाडौं । वाम गठबन्धनका कारण प्रतिनिधिसभा धेरै क्षेत्रमा एमाले-माओवादी आक्रमक र कांग्रेस रक्षात्मक देखिएका छन् । तर, १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा ठीक विपरीत छ ।

कांग्रेसले जिल्लाको ९ सिटमा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर ७ मा राप्रपालाई समर्थन गरेको छ । वाम गठबन्धनबाट एमालेले ७ र माओवादी केन्द्रले ३ सिटमा उम्मेदवारी दिएका छन् ।

चुनावी मैदानमा उत्रिएका कांग्रेसका ९ मध्ये तीन नेता हृयाट्रिकको होडमा छन् । प्रकाशमान सिंह, नविन्द्रराज जोशी र ध्यानगोविन्द रञ्जित लगातार तेस्रो पटक चुनाव जित्ने होडमा छन् ।

पूर्वमहामन्त्री समेत रहेका सिंह काठमाडौं १ का उम्मेदवार हुन् । उनी पहिलो र दोस्रो दुबै संविधानसभा निर्वाचित यो क्षेत्रबाट भएका थिए । यो पटक उनीसँग चुनावी प्रतिस्पर्धामा विवेकशील साझा पार्टीर्का रविन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्मा छन् ।

सिंहलाई यो चुनावमा माओवादीका शर्मा भन्दा विवेकशील साझाका मिश्र चुनौतीका रुपमा हेरिएको छ । तर, यो पटक पनि चुनाव जिते काठमाडौं क्षेत्र नम्बर १ मा उनको जितको हृयाट्रिक हुनेछ ।

हृयाट्रिकको होडमा रहेका अर्का कांग्रेस उम्मेदवार हुन् काठमाडौं ८ का नविन्द्रराज जोशी । उनको चुनावी प्रतिस्पर्धामा एमालेका जीवनराम श्रेष्ठ छन् । श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष पनि हुन् ।

जोशीले पहिलो संविधानसभामा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराएका थिए, जो यो पटक त्यही क्षेत्रबाट प्रदेशतर्फ उम्मेदवार भएकी छन् । दोस्रो संविधानसभामा भने उनले जीवनरामलाई हराएका थिए ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जित पनि हृयाटि्रक होडमा छन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका कृष्णगोपाल श्रेष्ठसँग हुँदैछ । ध्यानगोविन्दले दुबै संविधानसभा चुनावमा श्रेष्ठलाई नै हराएका थिए ।

०४८ को उपचुनाव जितेका श्रेष्ठ ०५१ मा पनि विजयी भएका थिए । तर, त्यसपछि उनले चुनाव जित्न सकेको छैनन् । ०७० मा माधव नेपालले काठमाडौं २ छाडेपछि उनी त्यहाँ चुनाव लड्न आएका थिए । तर, कांग्रेसका दीपक कुइँकेलसँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment