Comments Add Comment

ट्रम्पको नाममा रेल्वे स्टेसन बनाउने इजरायली मन्त्रीको घोषणा

१३ पुस, काठमाडौं । इजरायलले पूर्वी जेरुसेलममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ ।

जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको सम्मानमा ट्रम्पको नाममा रेल वे स्टेशन स्थापना गर्न लागिएको त्यहाँका यातायातमन्त्री यिसरेल काट्सले बताएका हुन् ।

मन्त्री काट्सले यसलाई महत्वपूर्ण राष्ट्रिय परियोजनाका रुपमा सरकारले प्राथमिकता दिने उल्लेख गरेका छन् । ‘ट्रम्पको साहसिक र ऐतिहासिक निर्णयका लागि मैले परियोजनामा उनको नाम जोड्न चाहेको हुँ,’ काट्सले भने ।

यो रेलमार्ग निर्माण भएमा यात्रुहरुले जेरुसेलममा डोनाल्ड जन ट्रम्प स्टेशनसम्म यात्रा गर्न पाउनेछन् । यो रेलमार्ग वेस्टर्न वाल भनिने यहुदी धर्मावम्बीहरुको एउटा प्राचिन मन्दिरको अवशेष रहेको स्थान नजिकैबाट इस्लाम धर्ममावलम्बीहरुको तीर्थस्थल अल आस्का मस्जिदसम्म जानेछ ।

झण्डै दुई माइल सुरुङ खनेर रेलमार्ग निर्माण गरिने इञ्जिनियरहरुले बताएको बीबीसीले जनाएको छ ।

तर यो योजनाका क्रममा धेरै पुरातात्विक महत्वका सम्पदाताहरु भत्काउनुपर्ने हुन्छ, जसको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचना हुने पक्का छ । यसले प्यालेस्टिनियनहरुलाई पनि थप चिढ्याउने छ ।

इजरायली संसद नेस्सेटका एक प्रमुख अरब सदस्य अहमद तिबीले जेरुसेलमको मामलामा को बढि अतिवादी हुने भनेर मन्त्रीहरुबीच प्रतिस्पर्धा चलिरहेको बताए ।

अर्का अरब संसद जमल जाहाल्काले जेरुसेलमसम्म रेलरोडको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्ने दाबी गरे । उनले अगाडि थपे, ‘प्यालेस्टिनियनहरुका लागि ट्रम्पको नाम नेतन्याहुको भन्दा पनि खराब छ ।’

थुप्रै इजरायलीहरुले काट्सको योजनालाई ठट्टाको विषय बनाएका छन् ।

स्तम्भकार चेमी शेलेभले ट्विटरमा लेखेका छन्, ‘ट्रेन स्टेसनमा मात्रै किन रोकिने ? कोटेललाई ट्रम्प वाल नामाकरण गर्नुपर्छ र प्रार्थना क्षेत्रलाई इभान्का स्क्वायर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment