+
+

भाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन

अपराधको भारतीय शैली सिको गर्दै नेपाली युवा

गौरव पोखरेल गौरव पोखरेल
२०७४ पुष १८ गते ९:४९

१८ पुस, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई कसले गोली प्रहार गर्‍यो ? प्रहरीका दुई अनुसन्धान निकायले फरक-फरक सुटरलाई इंगित गरेका छन् । गोली जसले प्रहार गरे पनि उनको हत्यामा भाडाका सुटर प्रयोग गरिएको भने सत्य हो ।

र, भाडाका सुटरमार्फत् हत्या अर्थात् ‘कन्ट्रयाक्ट किलिङ’को पछिल्लो शिकार हुन्, गौचन । हत्या अनुसन्धानका लागि गठित कार्यदलले गौचनमाथि नुवाकोटका राजीव स्याङ्तानले गोली प्रहार गरेको प्रतिवेदन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानविनमा भने नेपाली सेनाको जागिर छाडेर भागेका श्याम गोम्बे र अमरबहादुर लामा सुटरको रुपमा प्रयोग भएको देखिएको छ । गौचन हत्याकाण्डलाई प्रहरीले ‘संगठित कन्ट्रयाक्ट किलिङ’को संज्ञा दिएको छ ।

के हो कन्ट्रयाक्ट किलिङ ?

सामान्य भाषामा कन्ट्रयाक्ट किलिङको अर्थ हुन्छ, भाडामा अपराध । प्रहरी अधिकारीहरु भने अपराधको व्यावसायीकरण र व्यापारीकरणको गम्भीर रुप मान्छन्, यसलाई ।

निश्चित रकम लिएर मानिसको हत्यामा संलग्न सुटरदेखि घटनामा संलग्न अन्य व्यक्तिहरु जस-जसले जिम्मेवारीअनुसार रकम लिन्छन्, उनीहरुलाई कन्ट्रयाक्ट किलर मानिन्छ । त्यसरी जिम्मेवारी पूरा गरेपछि लिने रकमलाई यस्तो गम्भीर अपराधमा संलग्नहरुले ‘सुपारी’ भन्ने गर्छन् ।

सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीको विश्लेषणमा कन्ट्रयाक्ट किलिङका दुईखाले प्रवृत्ति देखिएको छ ।

पहिलो, कुनै व्यक्तिको हत्या वा आक्रमण गरेवापत निश्चित रकम दिने सम्झौतापछि गरिने अपराध ।

उक्त प्रवृत्तिका उदाहरण हुन्, २८ वर्षीय विवेचत प्रजापति । ३२ साउन ०७३ मा पक्राउ परेका काठमाडौं नयाँबजारका प्रजापतिले गुण्डा नाइके रोज राणा भनिने सरोज थापामाथि बानेश्वरमा खुकुरी प्रहार गरेका थिए । र, त्यस घटनामा प्रजापतिका सहयोगी थिए, कटुन्जे भनिने सूर्य लामा ।

अनुसन्धानका क्रममा प्रजापति ‘हिटम्यान’ अर्थात्, पैसा लिएर आक्रमण गर्ने व्यक्ति भएको खुल्यो । प्रहरीका अनुसार जोधा भनिने रत्नबहादुर लामाले प्रजापतिलाई ३० लाखको ‘सुपारी’ दिएर राणालाई खुकुरी प्रहार गर्न लगाएको खुलेको छ ।

प्रजापतिले पेश्कीस्वरुप ५० हजार रुपैयाँ घटनाअघि नै लिएको अनुसन्धानका क्रममा पत्ता लाग्यो ।

भाडाका सुटर प्रयोग गरी नेपालमा हाई-प्रोफाइल हत्याकाण्डको शृंखला पूर्वसांसद मिर्जा दिलसाद वेगबाट प्रारम्भ भएको हो । र, जति पनि हाई-प्रोफाइल हत्याकाण्ड भए, सबैमा भाडाका सुटर प्रयोग भए

दोस्रो प्रवृत्ति हो, लेनदेनसम्बन्धि विवाद बढेका कारण गर्ने/गराउने हत्या । यस्तो प्रवृत्तिको पछिल्लो उदाहरण गौचन हत्याकाण्ड हो । उक्त घटनाका मुख्य योजनाकार मानिएका समीरमानसिंह बस्न्यात कुनै समय कुमार घैंटे समूहमा आबद्ध थिए । गौचनले घैंटेमार्फत् आफ्नो कम्पनी डाँफे कन्स्ट्रक्सनमा लगानी भित्र्याएका थिए ।

घैंटे प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि समीरमानले गौचनसँग अढाइ करोड रुपैयाँ मागेका थिए । त्यही रकमका कारण गौचनले ज्यान गुमाएको प्रहरीको दाबी छ ।

भारतबाट नेपालतिर

प्रहरी अधिकारीहरु अपराधको यो स्वरुपलाई ‘विहारी शैली’को संज्ञा दिने गर्छन् । नेपालसँग सात सय २९ किलोमिटर पूर्व-पश्चिम सीमा जोडिएको भारतको विहार प्रान्तमा यस्ता घटना प्रशस्त हुने भएकाले त्यस्तो संज्ञा दिइएको हो ।

भारतका मुम्बई, दिल्ली, लखनऊमा यस्ता घटना प्रशस्त हुने गरेका छन् । त्यसैले प्रहरी अधिकारीहरु अपराधको यो स्वरुप भारततिरबाटै आयात भएको मान्छन् ।

नेपालमा भने सबैभन्दा पहिले तराईका जिल्लाहरुमा देखिएको थियो । तराईमा आफ्नो दुश्मनको हत्या गराउन भारतीय पेसेवर कन्ट्रयाक्ट किलरलाई ‘सुपारी’ दिने प्रचलन नयाँ होइन ।

पहाडी क्षेत्रमा भने ०५५ सालयता अपराधको यस्तो प्रवृत्तिले प्रवेश पाएको मानिन्छ । खासगरी, पूर्वसांसद मिर्जा दिलसाद वेगको हत्यामा भाडाका सुटर प्रयोग भएका थिए । १५ असार ०५५ मा काठमाडौं सिफलमा उनको हत्या भएको थियो ।

नेपालमा हाई-प्रोफाइल हत्याकाण्डको शृंखला पनि सोही विन्दुबाट प्रारम्भ भएको हो । र, जति पनि हाई-प्रोफाइल हत्याकाण्ड भए, सबैमा भाडाका सुटर प्रयोग भएका थिए ।

अन्तर्राष्ट्रिय गिरोहको संलग्नता

पूर्वसांसद वेग हत्याको कडी अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग जोडिन्छ । त्यस्तो गिरोह वेगकै बुई चढेर नेपाल प्रवेश गरेको पनि मानिन्छ ।

उनको हत्या भारतीय अन्डरवर्ल्डका नाइकेद्वय छोटा राजन भनिने राजेन्द्र सदाशिव निखल्जे र बब्लु श्रीवास्तवको योजनामा भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । भारतीय नागरिकहरु करण सिंह, अरुण सिंह र मञ्जित सिंहले उनको हत्या गरेर उक्त योजना सफल बनाएका थिए ।

त्यसयता भएका अधिकांश हाई-प्रोफाइल हत्यामा भारतीय सुटरहरुकै प्रयोग भएको प्रहरी अनुसन्धानहरुको निष्कर्ष छ ।

जस्तो- २४ माघ ०६६ मा सञ्चार उद्यमी जमिम शाहको हत्या भयो । भारतको जेलमा रहेका बब्लु श्रीवास्तवको निर्देशन र बब्बु सिंह भनिने दीपक शाहीको योजनाअनुसार मोहम्मद बकार सैयद र परिचय नखुलेका अर्का एक भारतीय नागरिकले सञ्चार उद्यमी शाहको हत्या गरेका थिए ।

जमिम शाह हत्याकाण्डका संलग्नहरू, माेहम्मद, नाम नखुलेका एक सुटर र दिपक ।

१९ असोज ०६६ मा नेपालगञ्जका व्यवसायी अब्दुल मजिद मनिहारको भारतीय कन्ट्रयाक्ट किलर जसजित सिंह भनिने मनमितसिंह भाटियाले हत्या गरे । त्यसपछि भाटियाले नै काठमाडौंस्थित केन्द्रीय कारागारमा अर्का सञ्चार उद्यमी युनुस अन्सारीलाई पनि गोली प्रहार गरेका थिए ।

१० पुस ०६६ मा बुटवलको मैनाबगरमा सौकत अलि वेग भनिने परवेज टान्डाको हत्या भयो । उनको हत्या सञ्चार उद्यमी शाहको हत्यामा संलग्न भारत मुम्बईका मोहम्मद बकार सैयदले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सशस्त्र द्वन्द्वयता नेपाली समाजमा सहिष्णुता कम हुँदै जानु अपराधको व्यापारीकरणको मुख्य कारण हो

भारतीयदेखि नेपालीसम्म प्रयोग

माओवादी सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आएपछि नेपाली समाजमा अपराधको स्वरुप पनि बदलिएको पाइन्छ । त्यसअघिसम्म कन्ट्रयाक्ट किलिङका घटनामा नेपाली युवा प्रयोग भएको पाइँदैनथ्यो ।

त्यसयता भने नेपाली युवाकै संलग्नता देखिन थालेको छ । त्यसकै पछिल्लो कडी हो, गौचन हत्याकाण्ड र त्यसमा प्रयोग भएका नेपाली युवा ।

यस्ता घटनामा संलग्न व्यक्तिहरुको पृष्ठभूमि केलाउँदा कोही पूर्वलडाकु छन् त कोही भगौडा सैनिक । त्यसबाहेक नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाका केही युवा पनि यस्तो अपराधमा संलग्न रहेको पाइएको छ ।

सशस्त्र द्वन्द्वयता नेपाली समाजमा सहिष्णुता कम हुँदै जानु यसको कारक भएको पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी बताउँछन् ।

‘द्वन्द्वपछि कतिपय नागरिक कठोर बनेका छन् । उनीहरुलाई अपराध गर्न सहज भएको छ,’ उनी भन्छन्, ‘व्यापारी र व्यवसायीले पनि गुण्डा पाल्न थालेपछि आपराधिक मनसाय भएकालाई कुनै न कुनै रुपमा प्रश्रय मिलेको छ ।’

उनको भनाइमा यसको अर्को पाटो पनि छ । आपराधिक क्रियाकलापमा नेपालीलाई नै प्रयोग गर्दा आफ्नो नियन्त्रणमा राख्न सहज हुने बुझेका छन्, अन्तर्राष्ट्रिय गिरोहहरुले । मल्ल भन्छन्, ‘भारतीय कन्ट्रयाक्ट किलरहरु अपराध गराउनेहरुको नियन्त्रणमा बस्दैनन् ।’

मल्लको विश्लेषणमा भारतीय कन्ट्रयाक्ट किलरहरुको देखासिकी, छोटो समयमा धेरै कमाउन खोज्ने लालची मानसिकतालगायत कारण पनि नेपाली कन्ट्रयाक्ट किलर बढेका हुन् ।

शुरुमा डकैती सँगसँगै हत्या गराउने र आर्थिक अपराधका घटनाहरुमा कन्ट्रयाक्ट किलर प्रयोग गर्ने गरिन्थ्यो । अहिले व्यक्तिगत रीसइबीका कारण पनि कन्ट्रयाक्ट किलर प्रयोग गरेर हत्या गराउने क्रम शुरु भएको देखिन्छ ।

२ साउन ०७०, राति ११ बजे । सिराहाको सिक्रौन-७ का गुरुशरण शाह घरमा सुतिरहेका थिए । सुतेकै बेलामा धारिलो हतियार प्रहार गरी उनको हत्या भयो ।

प्रहरी अनुसन्धानपछि खुल्यो, उनको हत्या गर्न पत्नी चन्दरदेवीले भारतीय भाडाका अपराधीलाई ‘सुपारी’ दिएकी रहिछन् ।

उनले दुई लाख रुपैयाँमा पतिको हत्या गर्ने ठेक्का भारतीय कन्ट्रयाक्ट किलरलाई दिएकी थिइन् । कारण थियो, पतिकै साथीसँग उनको १५ वर्ष पुरानो प्रेम सम्बन्ध ।

आपराधिक क्रियाकलाप गरेर सहजै उन्मुक्ति पाउन राजनीतिक दलहरुका भातृ संगठनमा आवद्ध हुने क्रम बढेको प्रहरी अधिकारीहरू बताउँछन्

‘सशस्त्र द्वन्द्वपछि गुण्डागर्दी बढ्यो’

माओवादी द्वन्द्वको समाप्तितिर तराईमा ‘सुपारी’ दिएर हत्या गर्ने क्रम बढेको पाइएको त्यस क्षेत्रलाई कार्यथलो बनाएका एक पूर्वप्रहरी अधिकारी बताउँछन् ।

त्यसलगत्तै शुरु भएको भूमिगत सशस्त्र समूहको गतिविधिले पनि आपराधिक क्रियाकलापलाई प्रश्रय दिएको ती प्रहरी अधिकारी बताउँछन् ।

त्यस्ता, आपराधिक क्रियाकलापको निशानामा उद्योगी, व्यवसायी, सरकारी कर्मचारीलगायत परेका थिए । सुटरका रुपमा अधिकांश भारतीय नागरिक प्रयोग भएको देखिन्छ ।

‘द्वन्द्वपछि लोकतन्त्र आयो । त्यसपछि आर्थिक विकास र ठेकापट्टाका काम अगाडि बढे,’ ती प्रहरी अधिकारी भन्छन्, ‘त्यसपछि पैसा कमाउने ठाउँ त्यतै भएको सोच्दै आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले गुण्डागर्दी थालेको पाइन्छ ।’

व्यवसायीहरुले पनि जग्गा र ठेकापट्टा कारोबारमा ‘गुण्डा’हरुको प्रयोग गर्न थाले । र, गुण्डागर्दीले अझ झांगिने मौका पायो । राजनीतिक दलहरुको आवरणमा गुण्डागर्दी पनि त्यसपछि नै बढेको ती प्रहरी अधिकारीको विश्लेषण छ ।

आपराधिक क्रियाकलाप गरेर सहजै उन्मुक्ति पाउन राजनीतिक दलहरुका भातृ संगठनमा आवद्ध हुने क्रम बढेको उनी बताउँछन् ।

नेपाली युवाको संगठित अपराधसँग राजनीतिक संरक्षण पनि जोडिन आउँछ । यस्तो संरक्षणले देशभित्रै पेसेवर ‘कन्ट्रयाक्ट किलिङ’ शुरु भएको संकेत पनि पाइन्छ

प्रहरीको फन्दामा परेमा पार्टीले बचाउने भएकाले पनि गुण्डागर्दी बेरोकटोकझैं देखियो । त्यसयता नै हो, कन्ट्रयाक्ट किलिङमा नेपाली युवा प्रयोग हुने क्रम बढेको पनि ।

नेपाली युवाको संगठित अपराधसँग राजनीतिक संरक्षण पनि जोडिन आउँछ । यस्तो संरक्षणले देशभित्रै पेसेवर ‘कन्ट्रयाक्ट किलिङ’ शुरु भएको संकेत पनि पाइन्छ ।

यद्यपि, अपराधको यो संगठित शैलीले अहिले नै झांगिने अवसर पाइसकेको छैन । अहिलेसम्म छिटफुट घटनामै सीमित देखिन्छ ।

‘त्यस्ता किसिमका अपराधिक घटना हुनै नदिनु त ठूलो कुरा हो । तर, घटना भएपछि पनि सफल अनुसन्धान भएका छन्,’ डीआईजी कार्की भन्छन्, ‘त्यसैले त्यस्ता घटनाको फ्रिक्वेन्सी कम छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?