Comments Add Comment

बहसः औचित्य सकिएको प्रगतिशील लेखक संघ

प्रलेसमा सङ्ग्रौला, ढकाल र श्यामल किन अटेनन् ?


(लेखक विष्णु भण्डारी प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय काेषाध्यक्ष हुन् । केही साता अघिमात्रै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति र प्रलेस परित्यागको घोषणा गरेका भण्डारीले प्रगतिशील लेखकहरुको नयाँ संगठन ‘समाजवादी लेखक संघ’ गठन गरेका छन् । भण्डारीले प्रलेसबारे लेखेको यो लेख साहित्यिक बहसका लागि यहाँ प्रस्तुत गरिएको हो– सं)

नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको कुरा गर्दा सन्त कवि ज्ञानदिलदाससम्म पुग्नुपर्ने हुन्छ । जसले धर्मको आड लिएर अनुदारवादी धार्मिक समुदाय र अड्डा अदालतमा हुने नोकरशाही प्रवृत्तिको विरोध गर्दै रचना सिर्जना गरेका थिए ।

त्यस्तै महिला उत्पीडनविरुद्ध र सामाजिक सुधारका लागि योगमायाको विद्रोह प्रगतिशील आन्दोलनको अर्को महत्वपूर्ण परिघटना थियो ।

मकै पर्व र लाइब्रेरी पर्व हुँदै धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्ठ र गोपालप्रसाद रिमालसम्म आइपुग्दा नेपाली प्रगतिशील साहित्यिक आन्दोलनले प्रष्ट गोरेटो कोरेको पाइन्छ । यसरी हेर्दा यथास्थितिप्रतिको असन्तुष्टि, विरोध र आलोचना प्रगतिशीलता हो भन्न सकिन्छ ।

सामाजिक अन्तरविरोधमा अग्रगामी शक्तिको पक्षपोषण गर्दै कला सिर्जना गरिएको छ भने त्यो प्रगतिशील हुन्छ । प्रतिक्रियावादी र यथास्थितिवादी सोचभन्दा सुधारवादी सोच प्रगतिशील हुन्छ ।

सन्त कवि ज्ञानदिलदास कुनै प्रगतिशील कवि थिएनन् । तर, उनको सिर्जनाले तत्कालीन समाजको यथास्थितिवादी सोच र व्यवहारको विरोध गर्‍यो । तत्कालीन यथार्थप्रति समाजमा मोहभङ्ग ल्याउने काम गरेकोले उनी त्यो बेलाको सापेक्षतामा प्रगतिशील कवि हुन् ।

नेपाली कला-साहित्यमा यथार्थको प्रतिबिम्बन कसरी भएको छ ? नेपाली लोक साहित्यमा प्रगतिशीलता भेट्याउन सकिन्छ कि सकिन्न ? अथवा नेपाली प्रगतिशील आन्दोलनको इतिहास हामीले भन्दै आएजस्तो मात्र हो कि यसमा खोज र बहस गर्नुपर्ने आवश्यकता छ । यो अध्ययन, अनुसन्धान र खोजीको विषय हो ।

अहिलेसम्म यो क्षेत्रमा धेरै कम अध्ययन भएको छ । जे जति भएको छ, त्यो छिपछिपे छ । इतिहासको व्याख्या, अध्ययन र लेखन निश्चित आधार र दृष्टिकोणमा टेकेर गरिएको हुन्छ । तर, यहाँ प्रगतिशील भन्नेहरूकै दृष्टिकोणमा गम्भीर समस्या छ । इतिहासप्रतिको बोध र लेखन-पुनर्लेखनमा वस्तुनिष्ट मूल्याङ्कनको कमी छ ।

प्रगतिशील साहित्यको संस्थागत विकास

नेपालमा प्रगतिशील साहित्यिक आन्दोलनको संस्थागत विकास २००९ सालबाट भएको पाइन्छ । २००७ सालको परिवर्तनपछि सामाजिक र राजनीतिक क्षेत्रमा आएको परिवर्तन र विश्व राजनीतिमा देखिएको उतारचढाबले यो क्षेत्रमा पनि तरङ्ग ल्यायो । बोल्सेविक क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम र चिनियाँ क्रान्तिका बाछिटा नेपाली समाजमा पनि परिसकेका थिए ।

प्रलेस जुन उद्देश्यका साथ स्थापना भएको थियो पछिसम्म त्यसैमा अडिइरहन भने सकेन । प्रगतिशील भनिएता पनि यो संगठन वामपन्थी पार्टीसमर्थक साहित्यकारको पकडमा गयाे

भर्खर सकिएको दोस्रो विश्वयुद्धको भयावह मनोदशा पनि कायमै थियो । नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक जञ्जिरबाट उन्मुक्ति चाहन्थ्यो । मुक्ति र स्वतन्त्रता चाहन्थ्यो । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले जनतामा देखा परेको स्वतन्त्रताको चाहनालाई समाजवादी चेतनासँग जोड्न चाहन्थ्यो । यस्तैमा, यी सबै परिघटनाहरूको नजिकबाट अध्ययन गरिरहेका लेखक साहित्यकारहरूले यथास्थितिको विरुद्धमा प्रगतिशील लेखक सङ्घ स्थापना गरी सङ्गठित आन्दोलन सुरु गरे ।

नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्वमा भएको हो । स्थापनाको सुरु अवस्थाको पर्चा पढ्दा यो संगठन स्वतन्त्र रूपमा प्रगतिशील कला साहित्यको उन्नयनका खातिर स्थापना भएको देखिन्छ ।

स्थापना कालमा यो संस्थाको उद्देश्य देशमा साहित्यिक र सांस्कृतिक उन्नति गर्ने देखिन्छ । देशमा खुलेका संस्थाहरूले लेखकहरूलाई केन्द्रीकरण गर्न र उनमा रहेको शक्तिको उपयोग गर्न नसकेकाले प्रलेस खोल्नु परेको जिकिर गरिएको छ । (प्रलेस केन्द्रीय कार्यालय, सेवा सदन वीरगञ्जका तर्फबाट श्याप्रसाद, प्रलेसको संक्षिप्त इतिहास, विष्णु प्रभात, पृ. ३१)

प्रलेस जुन उद्देश्यका साथ स्थापना भएको थियो पछिसम्म त्यसैमा अडिइरहन भने सकेन । प्रगतिशील भनिएता पनि यो संगठन वामपन्थी पार्टीसमर्थक साहित्यकारको पकडमा गयो । तर, जसको पकडमा गए पनि यसले आफूलाई निरङ्कुशताविरोधी आन्दोलनका रूपमा स्थापित भने गर्‍यो ।

विकृतिको प्रारम्भ र पराकाष्टा

विस्तारै यो संगठन प्रगतिशील लेखकको हैन कि वामपन्थी पार्टीका लेखक साहियत्यकारको साझा मोर्चाको रूपमा विकसित भयो । जसका कारण स्वतन्त्र प्रगतिशील लेखक टाढिदै गए । यसमा सहभागी हुन कुनै न कुनै वामपन्थी पार्टीको सदस्य हुनैपर्ने भयो । अझ चुनिन र नेतृत्व गर्न पार्टीको कोटाबाट आउनुपर्ने बाध्यतात्मक स्थिति सिर्जना गरियो ।

अहिलेसम्म आइपुग्दा प्रगतिशील साहित्यको नाममा राजनीति गर्न प्रगतिशील लेखक सङ्घ एउटा ब्राण्ड भएको छ । यसमा आवद्ध लेखक साहित्यकारले जस्तोसुकै साहित्य सिर्जना गरे पनि त्यो प्रगतिशील हुन्छ र अरू अप्रगतिशील । के वामपन्थी मात्र प्रगतिशील हुन् ? अथवा वामपन्थी साहित्यकारले लेखेको साहित्य मात्र प्रगतिशील हो ? यी प्रश्नहरू हिजैदेखि उठ्दै आएका हुन् ।

हुण्डी बजारका व्यापारीहरू, एनजीओका एजेन्टहरू र भ्रष्ट कर्मचारीहरू कसरी प्रगतिशील होलान् ? प्रगतिशील त्यही हो जसले सिर्जना र कर्ममा संगति खोज्छ

व्यवहारले के देखाउँछ भने यसका सदस्यले जतिसुकै पश्चगामी काम गरे पनि ऊ प्रगतिशील भैरहन्छ । यसमा विमति राख्ने र अलग बस्नेहरू कि त प्रतिक्रियावादी हुन्छन् कि सङ्कास्पद । अहिले नेपालमा कम्युनिष्ट पार्टीको सदस्य हुन कुनै सैद्धान्तिक र वैचारिक छेकबार छैन । त्यस्तै अवस्था हो प्रलेसको पनि ।

हुन त प्रलेसको विधि र अवधारणाले एउटा सैद्धान्तिक मान्यता निर्माण गरेको छ । प्रगतिशील लेखन कस्तो हुने भन्नेबारे पहिलो सम्मेलनको प्रस्तावमा यस्तो लेखिएको छ-‘सामन्ती दर्शन, अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती अवशेष र हाम्रो देश र समाजलाई हानी पुर्‍याउने पतनशील पुँजीवादका व्यक्तिवाद, छाडावाद, पश्चिमी दासमनोवृत्तिजस्ता कुराको विरुद्ध प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई दीर्घकालीन रूपले चलाइरहने ।’ (२०४४ सालमा सम्पन्न पहिलो सम्मेलनमा पारित प्रस्ताव)

वामपन्थी साहित्यकार सबै प्रगतिशील र प्रगतिशील आन्दोलनमा आवद्ध नभएकाहरू अप्रगतिशील भन्ने मान्यता अब पुरानो भैसकेको छ । प्रगतिशीलताको मापन उसको अमूक संस्थ्ाामा आवद्धताले गर्दैन । यो अर्थहीन कुरो हो । प्रगतिशीलता त उसको सिर्जना र कर्ममा खोजिनुपर्छ ।

हुण्डी बजारका व्यापारीहरू, एनजीओका एजेन्टहरू र भ्रष्ट कर्मचारीहरू कसरी प्रगतिशील होलान् ? प्रगतिशील त्यही हो जसले सिर्जना र कर्ममा संगति खोज्छ, प्रगतिशील र अग्रगामी सोचलाई शिरोधार्य गर्छ । प्रगतिशील साहित्यकार त स्वप्नशील हुन्छ । निराशा र अप्ठेरोमा पनि सुदूर क्षितिजमा आशाको ज्योति बलेको देख्छ ।

तर यहाँको अवस्था बेग्लै छ । महेन्द्र प्रज्ञा पुरस्कार थाप्ने श्यामप्रसाद पनि प्रगतिशील, प्रज्ञाप्रतिष्ठानबाट पृथ्वीनाराणको रथारोहण गर्ने प्राज्ञ मातृका पोखरेलदेखि कुलपति गङ्गाप्रसाद उप्रेती पनि प्रगतिशील । त्यतिमात्रै हैन, न्यायपूर्ण आन्दोलनको विरोधमा कविता लेख्दै सत्ताको सीता खाने पनि प्रगतिशील ।

प्रलेस अहिले बायोडाटा बनाउने र प्रतिष्ठा कमाउने संस्थामा रूपान्तरण भएको छ । वर्षमा सरकारी पैसामा दुईचार वटा कार्यक्रम गर्नेभन्दा खासै अरू काम गरेको पाइँदैन

खगेन्द्र संग्रौलाको भनाइमा हामीकहाँ प्रगतिशील लेखक बन्न बडो सजिलो छ । तपाईं कम्युनिष्ट पार्टीको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको आधिकारिकता स्वतः प्राप्त भइहाल्छ । तपाईंको चिन्तन र सिर्जनामा प्रगतिशीलता हुनुपर्छ भन्ने केही छैन । तपाईं प्रगतिशील लेखक सङ्घको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको प्रमाणपत्र स्वतः प्राप्त भइहाल्छ ।’ (खगेन्द्र सङ्ग्रौलाः शुक्रबार साप्ताहिक, ५ बैशाख, ०७३) ।

सायद प्रगतिशील हुनका लागि जस्तोसुकै विचार, संस्कार र संस्कृति अवलम्बन गरे पनि फरक पर्दैन मात्र, ऊ वामपन्थी पार्टीको सदस्य हुनुपर्छ ।

नेपालका प्रगतिशीलको अर्को समस्या भनेको विचार, लेखन र सिर्जनाप्रतिको प्रतिवद्धताभन्दा नेतृत्वप्रतिको प्रतिवद्धतामा जोड दिनु हो । साहित्यमै भविष्य देखेर लेखन कार्यलाई नै मुख्य कर्म बनाएका प्रगतिशील साहित्यकार छैनन् भन्दा पनि हुन्छ । जहाँ एउटा लेखकले साहित्यको साधना गर्नुभन्दा नेता र पार्टीको झोला बोक्नुमा गर्व महसुस गर्छ त्यहाँ कसरी लेखिन्छ मानक प्रगतिशील साहित्य ?

प्रलेसको सुरुको पर्चामा लेखिएको उद्देश्य करिब-करिब छोडिसकेको छ प्रलेसले । प्रलेस अहिले बायोडाटा बनाउने र प्रतिष्ठा कमाउने संस्थामा रूपान्तरण भएको छ । वर्षमा सरकारी पैसामा दुईचार वटा कार्यक्रम गर्नेभन्दा खासै अरू काम गरेको पाइँदैन । ती पनि गतिविधिमै सीमित हुन्छन् ।

प्रलेसको मुख्य काम विचार, सिर्जना र संगठनमा निखार ल्याउने हो । तर, सिर्जना र विचार निर्माणका लागि अत्यावश्यक सोध, अनुसन्धान र कार्यशाला यसको कार्यक्षेत्रभित्र पर्दैनन् । नयाँ प्रतिभालाई आकषिर्त गर्नेभन्दा पनि भगाउने धन्दामा क्रियाशील भएजस्तो लाग्छ प्रलेस । प्रलेससँग न कुनै सिर्जनशील मञ्च छ, न कुनै प्रकाशन ।

मुखपत्र ‘प्रलेस’ आफ्नै जयगान गाउन पनि नसक्ने गरी वर्षमा मुस्किलले एक अङ्क निस्कनु प्रगतिशील आन्दोलनको विडम्बना हो । प्रलेसको उच्च ओहोदामा बसेकाहरू मालिक र अरू कारिन्दा र कार्यकर्ताजस्तो लाग्छन्

मुखपत्र ‘प्रलेस’ आफ्नै जयगान गाउन पनि नसक्ने गरी वर्षमा मुस्किलले एक अङ्क निस्कनु प्रगतिशील आन्दोलनको विडम्बना हो । प्रलेसको उच्च ओहोदामा बसेकाहरू मालिक र अरू कारिन्दा र कार्यकर्ताजस्तो लाग्छन् ।

जसरी सामन्तीकालका कविले आफूलाई छुट्टै लोकबाट आएको आत्मश्लाघा पाल्थे त्यस्तै छन् प्रलेसका हर्ताकर्ताहरू । यिनको आलोचना गर्नेले आˆनो साहित्यिक भविष्यलाई दाउमा राख्नुपर्छ । आलोचना गर्‍यो कि ऊ छद्मभेषी र संदिग्धमा दरिन पुग्छ ।

आफ्नै सहकर्मीको खुट्टा तान्ने, सामान्य मतमतान्तर हुनासाथ चरित्रहत्या गर्ने र स्वस्थ आलोचनाको साटो घृणा व्यक्त गर्नेहरू नै आन्दोलनको अगुवा बनेका छन् । यिनीहरू प्रगतिशीलको नाममा पलाएका ऐँजरु हुन् । यस्ता ढोँगी चरित्रको हाम्रो आन्दोलनमा कमी छैन ।

कवि श्यामलले एक ठाउँमा लेखेका छन्- ‘वामपन्थी आवरणमा त्यसरी लुकेर कसैको वदनाम गर्ने मानिसहरू एकदमै बढी क्रियाशील हुन्छन् । तिनले सही सूचनाको भयले गलत सूचना बेचेर जीवन चलाउँछन्, समाजमा आˆनो नक्कली आभा फैलाउँछन् र पूरै समाजलाई हानी पुर्‍याउँछन् । ती मानिसका रूपमा देखिने धमिराहरू हुन् ।’ (श्यामलः चक्रपथ डटकम, २४ फागुन, ०७३)

प्रलेसको नेतृत्वमा गैरपार्टी सदस्यको प्रवेश असम्भव छ । पार्टी कोटाबाट नेतृत्व छानिने परिपाटी बसालिएपछि यसो हुनु स्वभाविकै हो । पार्टी कोटाबाट प्रतिनिधित्व गर्ने भएपछि पार्टीको झोला बोक्नै पर्‍यो ।

खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल र श्यामलहरू नेतृत्वसामु धनुषटङ्कार नगरेकैले प्रलेसमा नअटाएका हुन् । प्रलेसमा पुग्ने ल्याकत नराख्नेहरूले प्रज्ञाको घुम्ने कुर्सीमा पुग्ने सपना देख्नु पनि भएन । पार्टी नेतृत्वको निगाहामा आएकाले पार्टी र नेतालाई खुसी पार्ने कि प्रलेसलाई । उनको कार्यसूचिमा प्रलेसको काम तपशीलमा पर्छ । सके एकाध मिटिङ र गतिविधिमा सहभागी हुने नभए सिधै अर्को सम्मेलनमा उपल्लो पदको सिफारिससहित पुग्ने ।

प्रगतिशील लेखक सङ्घको नेतृत्वमा पार्टीको कोटाबाट पुग्ने कि सिर्जनाको शक्तिले ? नेतृत्व निर्माणमा यो अहम सवाल हो जस्तो लाग्छ । तर अहिलेसम्म सिर्जनाको शक्तिले प्रलेसको नेतृत्वमा पुगेको इतिहास छैन ।

यसको अर्थ त्यहाँ पुगेका सबै सिर्जनामा कमजोर थिए भन्न खोजेको हैन, घटकको भागवन्डा र कोटाको आधारमा गठन हुने प्रलेसको संस्कृतिप्रति लेखकहरूले बेलाबेलामा असहमति व्यक्त गरेको पाइन्छ । व्यवहारमा भने त्यो लागू भएको पाइदैन ।

प्रलेसको नेतृत्व चयन र गठनबारे खगेन्द्र सङ्ग्रौला भन्छन्- ‘साहित्य र सत्ताको सम्बन्धबारे प्रगतिशील लेखक सङ्घसँग मेरा गम्भीर असहमतिहरू छन् । मेरो विचारमा प्रगतिशील लेखक सङ्घको नेतृत्व पोलिटब्युरोले बनाउँदैन ।

प्रगतिशील लेखक सङ्घको नेतृत्व विवेकवान, जागरुक लेखकहरूले बनाउँछन् । तर, हाम्रो नेतृत्व कसले बनाउँछ ? पोलिटव्युरोले । पोलिटब्युरोले लेखक सङ्घको नेतृत्व बनाउँछ र लेखकले ब्युरोसमक्ष आˆनो आलोचनात्मक विवेक बन्धक राख्छ । लेखक स्वत्वयुक्त रहन र लेखक सङ्घ स्वायत्त सङ्घ हुन सत्ताबाट निश्चित दूरीमा बस्नुपर्छ भन्ने मलाई लाग्छ । लेखक र सङ्घको सत्तामा विलय लेखन स्वतन्त्रताको पूर्ण परित्याग हो । जो यसो गर्छ, ऊ लेखक होइन, लेखन्दास बन्छ । (सङ्ग्रौलाः उही शुक्रबार साप्ताहिक, ५ बैशाख, २०७३)

प्रलेसमा त्यस्ता लेखकहरूको जमघट छ, जुन आफ्नो राजनीतिक घेरा तोडेर कहिल्यै पनि बाहिर निस्कन सक्दैनन् । त्यहाँ बसेर आˆनो घटक, त्यसमा पनि आफ्नै गुटका लेखक कविलाई महान् भन्दै प्रशंशा गाउनु र अरूलाई नाङ्गेझार पार्नु अधिकांशको दैनिकी हुन्छ ।

खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल र श्यामलहरू नेतृत्वसामु धनुषटङ्कार नगरेकैले प्रलेसमा नअटाएका हुन्

आफैं महान् लेखक भएको आत्मश्लाघामा रमाउनु यिनीहरूको नियति नै बनेको छ । सौन्दर्य र समालोचकीय चेतका अनाडी यी स्वनामधन्य लेखकहरूले आफ्नाको इन्टर हानेको गद्यलाई यस दशककै सुन्दर कविता र अन्यका सुन्दर कवितालाई झूर र प्रतिक्रियावादी भएको घोषणा गर्छन् ।

प्रलेसको दैनिक गतिविधि र यिनीहरूको व्यवहार देखेरै होला प्रगतिशील लेखक सङ्घहरूले के गर्दैछन् भन्नेबारेको जिज्ञासामा खगेन्द्र सङ्ग्रौलाले भनेका थिए- ‘पार्टी र सङ्घबाहिर वाम झुकाव राख्ने जनमुखी लेखकहरूलाई बडो कृपापूर्वक काम चलाउ प्रगतिशलिको दर्जा दिइँदो हो । अनि त्यो दर्जा दिने र खोस्ने उपक्रम चलिरहँदो हो । म कल्पना गर्छु, उग्र हिन्दुवादीले जस्तो कठोर निष्ठाकाष्टाको त्यान्द्रोमा झुन्डिएर सङ्घइतरका लेखकहरूको आचरणमाथि कठोर कटाक्ष गरिँदो हो । फलानो जाँड खान्छ भनिँदो हो । लुकेर खाए वा खाएर लुके ठीकै थियो, जाँड खान्छ र प्रगतिशीलताका निधारमा दाग लगाउँदै हाकाहाकी मैले खाएँ भन्छ नाथे भनिदो हो । फलानो आफ्नाे वैचारिक जातको प्रवाह नगरी प्रतिक्रियावादीसँग चोचोमोचो गर्छ पनि त भनिँदो हो । कुन्नि, यी र यस्ता नाटीकुटीहरू प्रगतिशील लेखक सङ्घहरूका बसिबियाँलो गर्ने मसला पो हुँदा हुन् कि ! (सङ्ग्रौला: ०६९ पुस १६ शुक्रबार साप्ताहिक) समयले हामीलाई प्रगतिशील आन्दोलन र प्रलेसको संगठनात्मक विधिप्रति पुर्नमूल्याङ्कन गर्ने अवस्थामा पुर्‍याएको छ । अबको लेखनको दिशा कस्तो हुने ? यसबारे बहस नगरी सतीदेवीको लासलाई काँधमा बोकेर हिँडेझैँ प्रलेसलाई काँधमा बोक्नुको औचित्य पुष्टि हुन्न ।

प्रलेस गठन भएको साढे छ दशक पूरा भएको छ । हिजो यो जुन भावभूमिमा र जुन उद्देश्यका साथ स्थापना भएको थियो, अहिले त्यो अवस्था छैन । लामो समयको सङ्घर्षपछि हामी नयाँ ठाउँमा आएर उभिएका छौँ । हामीले सामन्ती राज्य-सत्ता निर्मुल गरेको खुसी मनाउन नपाउँदै हाम्रो अघिल्तिर अर्को पहाड उभिएको छ । हामीले अबको हाम्रो कार्यभार निर्धारण गर्न सकेनौँ भने हाम्रो लेखन कमजोर हुने छ । हामी सकिनेछौँ ।

अबको प्रगतिशील लेखन कसको विरुद्धमा ?

अबको लेखन कसकाविरुद्ध र कस्तो हुनुपर्छ भन्ने प्रश्नसँगै प्रलेसको औचित्य पनि निर्धारण हुन्छ ।

हामीले सामन्ती समाजलाई पछि छोडिसकेका छौँ । अबको लडाइँ भनेको दलाल पुँजीवाद र साम्राज्यवादसँगको हो । यदि यो कुरा सत्य हो भने प्रलेसको औचित्यमाथि प्रश्न उठाउन सकिन्छ ।

प्रलेस सामन्तवादविरोधी मोर्चाको रूपमा विकसित भएको हो । राजनीतिको नयाँ कोर्ससँगै साहित्यिक दिशा पनि परिवर्तन हुन्छ नै । अबको लडाइँ हिजोको जस्तो सामन्तवादसँग नभएर दलाल पुँजीवादसँग हो । फेरि सूचना र प्रविधिको विश्वव्यापीकरणले हामीलाई हिजोजस्तो साँघुरो मानसिकता बोकेर बस्न नसक्ने अवस्थामा पुर्‍याएको छ ।

प्रलेसमा त्यस्ता लेखकहरूको जमघट छ, जुन आफ्नो राजनीतिक घेरा तोडेर कहिल्यै पनि बाहिर निस्कन सक्दैनन् । त्यहाँ बसेर आफ्नो घटक, त्यसमा पनि आफ्नै गुटका लेखक कविलाई महान् भन्दै प्रशंशा गाउनु र अरूलाई नाङ्गेझार पार्नु अधिकांशको दैनिकी हुन्छ

समाजवाद रक्षात्मक चरणमा छ । हामी पनि हिजोभन्दा भिन्न सामाजिक, आर्थिक र राजनीतिक अवस्थबाट गुजि्ररहेका छौँ । हामीले अहिलेको राष्ट्रिय परिवेश र मार्क्र्सवादको विकास र प्रयोगमा भएको बहसलाई मध्यनजर गर्दै कला साहित्यमा पनि दिशा निर्धारण गर्नुपर्छ ।

हामीले पुँजीवादी क्रान्तिको पूर्णतासहित समाजवादको नयाँ प्रयोग गर्ने भन्दैछौँ । यो भनेको के हो ? कस्तो हुन्छ अबको समाजवाद ? र, कस्तो हुन्छ अबको समाजवादी लेखन ? यसतिर बहस नगरी प्रलेसलाई नै बोकेर हिँड्नु भनेको गोलचक्करमा फस्नुसिवाय अरू केही होइन ।

प्रतिपक्ष बन्ने कि सत्ताको जयगान गाउने ?

प्रलेसको औचित्य सकिएको बहस अर्को कोणबाट पनि गर्नुपर्छजस्तो लाग्छ ।

यो संगठन सत्ताविरोधी प्रगतिशील लेखक साहित्यकारहरूको साझा मोर्चाको रूपमा विकसित भएको हो । लेखक स्वभावैले सत्ता विरोधी र प्रतिपक्षी हुन्छन् । हिजोको सङ्घर्ष र अबको सङ्घर्ष तात्विक रूपमा फरक छ । हिजो हामी सामन्तवाद र यसले सिर्जना गरेका सांस्कृतिक मूल्यमान्यता र संस्कार-संस्कृतिविरुद्ध लड्यौँ । अबको लडाइँ दलाल पुँजीवाद र यसले सिर्जना गरेको उपभोक्तावादी संस्कृतिका विरुद्ध मुखर हुनुपर्छ ।

यो संगठन सत्ताविरोधी प्रगतिशील लेखक साहित्यकारहरूको साझा मोर्चाको रूपमा विकसित भएको हो । लेखक स्वभावैले सत्ता विरोधी र प्रतिपक्षी हुन्छन्

सामन्ती अवशेषका विरुद्ध लड्नु त छँदैछ, त्यसका साथसाथै व्यक्तिवाद, बजारवाद र मानवीय मूल्य विघटनका विरुद्ध पनि लड्नुपर्ने छ । गणतन्त्र प्राप्तिपछि वामपन्थी पार्टीहरूमा देखिएको दिशाहीनता, विचार स्खलन र दलाल पुँजीवादप्रतिको अतिशयमोहका कारण यिनीहरूले देशमा समाजवादी समाज हैन, दलाल पुँजीको विकासमा काम गर्ने छन् भन्ने पक्का भएको छ । यिनीहरूको ऐयासी र भ्रष्ट जीवन शैली, सामन्ती र दलाल सोचले राजनीतिक क्रान्ति सकिएको नभै नयाँ रूपमा विकसित हुँदै गएको छ ।

यस्तो अवस्थामा हामी प्रगतिशील लेखक साहित्यकार यिनको जयजयकार गाउँदै यिनको विश्वासमा बस्नु भनेको फेरि पनि दिग्भ्रमित र दिशाहीन हुनु हो ।

दलाल पुँजीवादले हामीलाई कसरी शोषण गर्दैछ ? नवउदारवादको नाममा हामीहरू कसरी साम्राज्यवादको चङ्गुलमा फस्दै गएका छौँ ? बजारवाद र उपभोक्तावादले हामीलाई कसरी एक्ल्याउँदै र संवेदनाहीन बनाउँदै छ ?

अबको हाम्रो साहित्य यी र यस्ता अहम् सवालमा केन्दि्रत हुनुपर्छ । पुँजीवादले अङ्गीकार गरेका शोषणका नयाँनयाँ रूपबारे आम जनतालाई सु-सूचित गराउने र उन्मुक्तिको सपना जगाइराख्ने काम हाम्रो हो । यो काम सत्ताको ललीपपमा र्‍याल चुहाउनेबाट संभव छैन, चाहे तिनले जतिसुकै क्रान्तिका गफ किन नगरुन् । यसकारण पनि सरकारी लेखकहरूले भरिएको सत्तापक्षीय प्रलेसको औचित्य सकिएको हो । औचित्य सकिनु भनेको अवसान हुनु हो ।

यो संगठन अब सत्ताधारी वामपन्थी पार्टीहरूको जयगान गाउने थलोको रूपमा विकसित हुँदैछ । लेखक साहित्यकार सत्ताको राग गाउने प्राणी हैन, सत्ताको अघिल्तिर उभिएर प्रश्न गर्न नसक्नेले केको प्रगतिशील दाबा गर्नु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment