Comments Add Comment

डा. रजनी हाडाका टिप्स:  यसरी बचाउन सकिन्छ, मिर्गौला

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरमा जम्मा भएका विषाक्त तत्वलाई छानेर पिसावको माध्यमबाट बाहिर निकाल्न सघाउँछ ।

अहिलेको तनावपूर्ण दिनचर्या, अनावश्यक भागदौड तथा गलत खानपानका कारण दिन प्रतिदिन मिर्गौला रोगी बढदैछन् ।

मिर्गौलामा अल्पकालीन तथा दीर्घकालीन रोग लागेपछि यसको काम गर्ने क्षमतामा कमी आउँछ । मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ थिग्रिदै जान्छन् । फलस्वरुप त्यसबाट शरीरका अन्य अंगमासमेत असर देखिन थाल्छ । समयमै उपचार नगरेको खण्डमा मानिसको मृत्युसमेत हुनसक्छ ।

मिर्गौला रोगका मुख्य कारण

दीर्घकालीन मिर्गौला रोगका मुख्य तीन कारण छन्, मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको आफ्नै रोग । यीबाहेक मिर्गौलामा पत्थरी, वंशाणुगत रोग, धेरै पेनकिलरको सेवन, पिसाबको बाटोमा रुकावट पैदा हुनु तथा कुनै पनि कारणबाट भएको अल्पकालीन मिर्गौलाको रोग (एक्यूट किड्नी इन्जुरी)ले गर्दा पनि दिर्घकालीन मिर्गौलाको रोग लाग्नसक्छ ।

ग्लोमेरुलोन नेफ्राइटिस

हाम्रोजस्तो विकासोन्मुख देशमा मिर्गौलामा हुने रोग ग्लोमेरुलोन नेफ्राइटिसका कारण कम उमेरमै मिर्गौला विग्रन्छ । ज्यान बचाउन डायलासिस तथा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ । यी रोग लाग्नासाथ सर्वप्रथम मिर्गौलाले पिसावमा प्रोटिन फाल्ने गर्दछ । यो रोगका मुख्य लक्षण यस्ता छन्ः

-पिसाबमा फिँज आउने ।

-विस्तारै विस्तारै जिउ सुन्निने ।

-अचानक जिउ सुन्निने ।

-पिसाब कम हुने ।

-पिसाबबाट रगत जाने ।

यी लक्षण देखा परेपछि धेरैजसो विरामी रगत तथा पिसावको जाँच, मिर्गौलाको बायोप्सी गरी उपचारमार्फत निको हुन्छन् । कतिपय विरामीमा यो रोगले भित्रभित्रै मिर्गौलालाई विगारीसकेको हुन्छ । चिकित्सककहाँ आइपुुग्दा दुवै मिर्गौला खुम्चिएर डायलाइसिस गर्नुपर्ने अवस्थामा उनीहरु पुगिसकेका हुन्छन् ।

यो रोगको समयमै पहिचान गर्ने साधारण उपाय भनेको पिसाबको नियमित जाँच नै हो ।

वर्षमा कम्तीमा एकपटक पिसावको जाँच गर्नुपर्छ । पिसाबमा प्रोटिन फालिएको छ भने त्यसपछि विस्तृत जाँच गरेर मिर्गौला विग्रनबाट जोगाउन सकिन्छ । तसर्थ, ‘पिसाब जचाऔं, मिर्गौला बचाऔं’ भन्ने अभियान प्रत्येक स्कुलमा लागू गर्नु जरुरी छ । यसबाट कम उमेरमा मिर्गौला विग्रेका विरामीको संख्या धेरै हदसम्म घटाउन सकिन्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप र मिर्गौला रोगबीच अन्तरनिहीत सम्बन्ध छ । उच्च रक्तचापले मिर्गौलालाई बिग्रदै लैजान्छ भने मिर्गौला रोग लागेपछि झण्डै ८० प्रतिशत विरामीमा उच्च रक्तचाप पाइन्छ । वंशाणुगत, मिर्गौलाको रोग अथवा अरु कुनै पनि कारणले उच्च रक्तचाप भएमा यसले मिर्गौला रोगमा आगोमा घ्युको काम गर्दछ । र, मिर्गौलालाई छिटोछिटो निस्कृय पार्दछ । यसबाहेक, उच्च रक्तचापले गर्दा अल्पायुमै हृदयघात, पक्षघात तथा मिर्गौला फेल हुने सम्भावना बढ्ने गर्छ ।

तसर्थ, उच्च रक्तचापको पहिचान हुनासाथ उपचार गरिहाल्नुपर्छ । पिसाब तथा मिर्गौलाको जाँच तुरुन्तै गर्नुपर्छ । ग्लोमेरुलोन नेफ्राइटिसबाहेक अरु मिर्गौलाको रोगमा उच्च रक्तचाप बढ्ने भएकाले पेटको अल्ट्रासाउण्ड पनि गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीले गर्दा जनतामा एउटा गलत धारणा छ, ‘औषधि खाएपछि बानी पर्छ, उच्च रक्तचापको उपचार तुरुन्तै गर्नुहुन्न ।’ यस्ता धारणाबाट मुक्त हुनुपर्छ । उच्च रक्तचाप देखिनासाथ पिसाव तथा मिर्गौलाका जाँच गर्नुपर्छ । मिर्गौला रोग भएमा त्यसको उपचार गर्ने र नभएमा उच्च रक्तचापको उपचार गर्नुपर्छ । यसबाट अल्पायुमै हुने गरेको पक्षघात, हृदयाघात तथा मिर्गौला फेलको समस्या हटाउन सकिन्छ ।

मधुमेह र मिर्गौला

पश्चिमा जीवनशैली, भागदौडको जिन्दगी, तनाव तथा जंकफुडको अधिक प्रयोगका कारण विश्वमै मोटोपना तथा मधुमेहका विरामीको संख्या बढ्दै गएको छ । मधुमेहका कारण मिर्गौला रोगी पनि बढेका छन् । तसर्थ मधुमेहका विरामीले मधुमेहको सही उपचार गरेर रगतमा चिनीको मात्रालाई सन्तुलनमा ल्याउनु यसबाट बच्ने पहिलो उपाय हो । अनि वर्षेनी पिसाबको जाँच गरेर मिर्गौलाको परीक्षण गर्नु दोश्रो उपाय हो । किनकी मधुमेहले मिर्गौलामा पारेकोे असरको पहिलो लक्षण भनेकै पिसाबबाट प्रोटिन फालिनु हो ।

इन्डोक्राइनोलोजिस्ट चिकित्सकहरुको सजगताकै कारण पछिल्लो समय मधुमेहका विरामीले पिसाबको जाँच गरेर मिर्गौलाको परीक्षण गर्न थालेका छन् । तैपनि अन्य धेरै विरामीले रगतमा चिनीको जाँच मात्र गरेर बसिरहेको पाइन्छ । सोही कारण विरामी मिर्गौलामा धेरै क्षति पुगिसकेपछि अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेका छन् । दैनिक खानपानमा ध्यान दिनु, मोटोपना हुन नदिनु, नियमित रुपमा शारीरिक कसरत तथा व्यायाम गर्नु नै मधुमेहबाट बच्ने उपाय हो ।

मिर्गौलामा पत्थरी

धेरैले मिर्गौलाको पत्थरीलाई सामान्य रुपमा लिन्छन् । पत्थरीले मिर्गौलालाई पूर्णतया असर पार्छ । समयमै पत्थरी निकालेर मिर्गौला बचाउन सकिन्छ । एकपटक मिर्गौलामा पत्थरी भैसकेकाहरुले फेरि पत्थरी नबन्ने विधि अपनाउन जरुरी हुन्छ । के कारणले पत्थरी भएको हो, त्यो पत्ता लगाएर पनि मिर्गौलालाई विग्रनबाट जोगाउन सकिन्छ ।

प्रशस्त पानी

मिर्गौलामा रोग लाग्नबाट जोगाउन अन्य पक्षमा झैं पानीमा पनि विशेष ध्यान दिनु आवश्यक छ । पानीले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई पिसाबबाट बाहिर निकाल्न मद्दत गर्छ ।

दैनिक ३-४ लिटरसम्म पानी पिउनुपर्छ । प्रशस्त मात्रामा पानी पिउँदा मिर्गौलामा हुने भीआईटी तथा मिर्गौलाको पत्थरीवाट बच्न सकिन्छ । शरीरका विभिन्न अंगहरुका साथै मिर्गौलालाई समेत रोग लाग्नबाट जोगाउन सकिन्छ । मिर्गौलाले काम कम गर्न थालेको हो भने चिकित्सकको परामर्श बमोजिम पानी पिउनुपर्छ ।

पेन किलर घातक

जीउ दुख्दा, जीउ सुन्निदा कयौं मानिस पेनकिलर प्रयोग गर्दछन् । पेनकिलर -एनएसएआईडी) को अधिक प्रयोग तथा अनावश्यक प्रयोगले पनि मिर्गौलामा प्रत्यक्ष असर गर्दछ । त्यसैले, मिर्गौलालाई जोगाउन पनि सकेसम्म एनएसएआईडी पेनकिलरलगायतका औषधिको अनावश्यक प्रयोग नगर्नु नै उचित हुन्छ ।

विशेषगरी, जन्मँदै एउटा मिर्गौला लिएर जन्मेको छ, शल्यक्रियाबाट एउटा मिर्गौला झिकिएको छ वा मिर्गौलाले कम काम गरिरहेको छ भनेपनि त्यस्ता व्यक्तिले यसखालका औषधि खानुहँुदैन । यति गरेमा मात्र पनि मिर्गौला बिग्रनबाट जोगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment