
अभिनेता राजेश हमाल यतिबेला दिल्लीमा छन् । उनी, व्यक्तिगत घुमघामका लागि त्यहाँ पुगेका होइनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणका क्रममा फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै उनी गएका हुन् । पहिलोपटक नेपालका कुनै प्रधानमन्त्रीले विदेश भ्रमणका क्रममा कलाकारलाई स्थान दिएका छन् ।
राजेश हमाल प्रधानमन्त्रीको रोजाइमा पर्नुको पछाडि केही कारण छन् । हमाल उच्च अध्ययन गरेका, पर्सनालिटी भएका, वौद्धिक क्षेत्रले समेत गनेका कलाकार हुन् । नेपाली फिल्म क्षेत्रमा हमाल जस्तो पढेलेखेका अभिनेता सायदै छैन ।
तर, फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल दिल्ली पुग्दै गर्दा त्यहाँ उनले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने हेर्न बाँकी छ । प्रधानमन्त्रीले बलिउडका कलाकर्मीसँग संवाद गर्ने कार्यक्रम छ । त्यसमा हमालको भूमिका हुनेछ । उनले भारतीय कलाकर्मी र प्रधानमन्त्रीकाबीच सहजिकरण गर्न सक्छन् । प्रधानमन्त्रीले बलिउडसँग नेपाली चलचित्रको सम्वन्ध गाँस्न प्रयास गर्ने बताएका थिए । त्यसमा हमालले पहलकदमी लिन सक्छन् ।
त्यसपछि उठ्ने प्रश्न हो, दिल्लीबाट फर्किएपछि हमालले नेपाली फिल्मका लागि त्यसको प्रतिफल के दिनेछन् ? यति ठूलो नाम भएर पनि हमालले आजसम्म फिल्म क्षेत्रमा अभिनय गर्नुबाहेक त्यस्तो उल्लेखनिय काम गरेका छैनन् । फिल्मसम्वन्धी नीतिगत बहसहरुबाट उनी टाढै छन् । उनले न फिल्म निर्माण गरे, न त निर्देशन नै । न त फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने कुनै संघसंस्थामा नै उनी छन् ।
काम नहुँदा रिजर्भ बस्ने हमालले अब समग्र फिल्म क्षेत्रको बारेमा पनि सोच्न जरुरी छ । कतिपय फिल्मीकर्मीहरु हमालले चाहेमा यो क्षेत्रमा धेरै कुरा परिवर्तन हुन सक्ने विश्वास राख्छन् । उनलाई फिल्म क्षेत्रको नेतृत्व लिन घच्घच्याउनेहरु पनि धेरै छन् । हमालले पहल गर्ने हो भने फिल्म क्षेत्रलाई सरकारले सुन्न सक्ने अवस्था पनि छ ।
चाहे भने दिल्ली भ्रमणलाई हमालले अब आफ्नो प्रस्थानविन्दू बनाउन सक्छन् । समग्र नेपाली चलचित्रकर्मीको अगूवाई गर्ने सोच उनमा पलाउनुपर्छ । अब पनि गरेनन् भने हमालको दिल्ली भ्रमण घुमघाममै सिमित हुनेछ ।
प्रतिक्रिया 4