Comments Add Comment

पुरानो पुस्ताको ‘नाइट स्कुल’: जहाँ ४ सयका लागि ११ सय ७८ विद्यार्थीले दिए आवेदन

१२, वैशाख, चितवन । सरकारी जागिर भन्दा बाहेक अन्य सरकारी सेवा र निकायमा खासै आर्कषण छैन । सरकारी अस्पताल, सरकारी विद्यालय भनेपछि नाक खुम्चाउने जमात ठूलै छ । सरकारी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई नै विश्वास छैन । उनीहरुकै छोराछोरी निजी विद्यालयमा अध्ययन गर्छन् ।

विद्यार्थीको अभावमा सरकारी विद्यालयहरु मर्ज हुने गर्नुपर्ने बाध्यता समेत छ । जसकारण टाढाको दूरी पार गरेर विद्यालय जानुपर्ने बाध्यता सिर्जना भएको छ । यसले गर्दा विद्यार्थीले पढाइ छोड्ने गरेका छन् ।

यतिवेला भने देशभरका सरकारी र निजी विद्यालयहरुमा धमाधम भर्नाको कार्यक्रम चलिरहेको छ । सरकारले यसबर्ष बिषेश रुपमा नै भर्ना अभियान चलाएको छ ।

देशका कतिपय सरकारी विद्यालय विद्यार्थीको अभावमा फिटीफिटी परिरहँदा चितवनको एक सरकारी विद्यालय नारायणी नमूना माविमा भने विद्यार्थीको आकर्षण बढेको छ ।

निजी विद्यालयमा पढिरहेका बालबालिकाहरुलाई समेत अभिभावकहरुले ‘नारायणी’ भर्ना गर्ने गरेका छन् ।

स्मल हेभन मोडल स्कूल आँपटारीमा दुई छोरालाई पढाउँदै आएकी भरतपुर ११ की बविता पराजुलीले नारायणी माविमा नै पढाउने निधो गरेर प्रवेश परीक्षा दिन लगाइन् । जेठो छोरा प्रवेश भूषालले कक्षा ८ मा कान्छो प्रनिलले कक्षा ६ मा पढ्ने गरी प्रवेश परीक्षा दिए । उनीहरु दुवैले नाम निकाले । निजी विद्यालयबाट किन छुटाएर सरकारी विद्यालयमा ल्याउन खोज्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा बविताले भनिन् ‘निजी विद्यालयमा भन्दा यहाँको गुणस्तर राम्रो छ भन्ने थाहा पाएको छु, निजी विद्यालयले सास फेरेको बाहेक अरु सबै थोक गर्दा पैसा लिन्छन् ।’

विद्यालयमा कक्षा नर्सरीदेखि नौंसम्मको भर्नाका लागि वैंशाख १० गते लिइएको प्रवेश परीक्षाका क्रममा विद्यालयमा सानोतिनो आमसभा नै लाग्यो । यतिबेला भर्ना गर्नेहरुको घुइँचो लागेको छ । विद्यालयमा हरेक वर्ष प्रवेश परीक्षा दिनेहरु बढ्दै गएका छन् ।

४ सय विद्यार्थीका लागि ११ सय ७८ को आवेदन !

नर्सरीदेखि कक्षा नौंसम्म भर्ना खुल्ला गरेको नारायणी माविमा ४ सय विद्यार्थीका लागि ११ सय ७८ ले परीक्षा दिए ।

आवश्यक भन्दा झण्डैं तीन गुणा विद्यार्थी यहाँ आवदेन दिन आए । ती मध्ये ४४३ जनाको नाम निकालिएको छ ।

अहिले भर्ना गर्नेहरुको भिड लागेको छ । विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी मोवाइल अफ गरेर बसेका छन् ।

अत्याधिक दवाव र भर्नाका लागि सोर्स फोर्स आउन थालेपछि उनले मोवाइल अफ गरेको विद्यालयका एक शिक्षकले अनलाइनखबरलाई जानकारी दिए ।
नारायणी माविमा कक्षा ८ र ९ का लागि प्रवेश परीक्षा दिनेहरु धेरै छन् । सरकारी विद्यालयबाट एसईई पास भएपछि विभिन्न सरकारी कोटा र छात्रवृत्तिमा पढ्न पाउने भएकाले अभिभावक र विद्यार्थी लोभिने गरेका छन् ।

अघिल्लो वर्ष प्रबेश परीक्षामा ७५८ विद्यार्थी सहभागी थिए भने यसपटक ११ सय ७८ पुगे । सोमबार भएको प्रबेश परीक्षामा ८ कक्षाका लागि ४ सय र ९ कक्षाका लागि ३ सय ५० जना सहभागी बने ।

ती मध्ये ८ मा एकसय ५० र कक्षा ९ मा एक सय बीस विद्यार्थी भर्ना लिने सोच विद्यालयको छ । यसअघि ४ वटा सेक्सन रहेको कक्षा ८ मा यसपटकदेखि ५ बटा बनाइदैछ ।

कक्षा ९ मा ७ सेक्सन हुन्छ । कक्षा १० मा ५ सेक्सन पुर्‍याइँदैछ । त्यसमध्ये धेरैजसो अंग्रेजी माध्यमका विद्यार्थी छन् ।

विद्यार्थीको अधिक चापले गर्दा नारायणी माविले एक दिनअघि नै फारम रोकेको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिए ।

किन बढ्यो नारायणीमा आर्कषण ? 

नारायणी मावि पटकपटक राष्ट्रियस्तरबाट पुरस्कृत बनेको छ । नेपाली र अंग्रेजी माध्यमबाट पढाइने हुने, अपाङ्ग तथा दृष्टिविहीनलाई होस्टेलको व्यवस्था गरिएको छ ।

अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अगाडि छ । निरन्तरको पाको नेतृत्वले यसलाई हाँकिरहेको छ । विद्यालयमा अहिले २ हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायका कक्षा चलिरहेका छन् ।

अतिरिक्त कक्षासमेत सञ्चालन हुने गर्छन् । अहिलेसम्म २८ जना दृष्टिविहीन विद्यार्थीले यो विद्यालयबाट एसएलसी पास गरिसकेका छन् ।

०६८ सालमा सामुदायिक विद्यालयतर्फ मध्यमाञ्चलतर्फ ८ औँ स्थानमा उभिएको थियो । ०६९ सालमा राष्ट्रियस्तरमै सामुदायिकतर्फ ५ औँ स्थानमा, ०७० सालमा छैटौँ स्थानमा, ०७१ सालमा २१ औँ स्थानमा रहेको थियो ।

०७२ सालमा राष्ट्रियस्तरमा सामुदायिकतर्फ दोस्रो र मध्यमाञ्चलस्तरमा पहिलो बन्यो । विद्यालयमा ३४ जनाको शिक्षकको दरबन्दी छ ।

७१ जना शिक्षक कर्मचारी छन् । दरबन्दीबाहेक आन्तरिक स्रोतबाट व्यहोर्ने गरी शिक्षक कर्मचारी पनि राखिएका छन् । त्यसका लागि अंग्रेजी माध्यम पढ्ने विद्यार्थीबाट सामान्य आर्थिक सहयोेग विद्यालयले लिने गरेको छ ।

पुरानो पस्ताको ‘नाइट स्कुल’

प्रौढ स्कूलका रुपमा २०२० साल जेठ ६ गतेबाट नारायणी रात्री हाइस्कूल सञ्चालनमा आएको थियो ।

पुरानो पुस्ताले अझैं यसलाई ‘नाइट स्कूल’ भनेर चिन्छन् । सानो झुप्रोमा मैन्टोल बालेर रात्री कक्षा चल्थे । प्रौढ स्कूलका रुपमा ०२० साल जेठ ६ गतेबाट नारायणी रात्री हाइस्कूल सञ्चालनमा आएको थियो ।

विद्यालयबाट एसएलसी परीक्षामा सहभागी विद्यार्थी २०२४ सालमा जिल्ला प्रथम बने । वन सीमा क्षेत्र जग्गालाई ०२५ सालमा खनजोत गरेर विद्यालयको नाममा ओगट्ने काम भएको थियो ।

त्योबेला हालको विद्यालयको जग्गा ऐलानी थियो । ०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि ८ देखि १० कक्षा रात्री समयमा चलाउने स्वीकृति पाएपछि विद्यालय आˆनै भवनमा सरेको थियो । भरतपुर निमावि कक्षा ४ देखि ७ सम्म नयाँ भवनमा दिउँसो सञ्चालन भएको थियो ।

रात्री हाइस्कूलमा शिक्षक अधिकांश भरतपुर अस्पतालका कर्मचारी थिए ।०४९ सालदेखि कक्षा १ देखि १० सम्मका कक्षा दिउँसो सञ्चालन भएको थियो ।

०५६ सालदेखि विद्यालयले जिल्लास्तरीय मूल्यांकनमा नतिजा सुधार गर्दै लग्यो । ०६८ सालदेखि निरन्तर विद्यालयले राष्ट्रियस्तरमा आˆनो छवि कायमै राखेको छ ।

देशभरका सामुदायिक तथा निजी विद्यालयमध्ये ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालयका रुपमा नारायणी नमूना मावि रहेको छ ।

विद्यालयलाई शिक्षा मन्त्रालयले पुरस्कृत पनि गर्‍यो । विद्यालयको नाममा ६ विघा ४ कठ्ठा १४ धुर जग्गा छ । जसमध्ये नजिकैको सप्तगण्डकी क्याम्पसलाई १ विघा भोगचलनका लागि दिइएको छ । २ विघामा नारायणी पोलिटेक्निक इन्स्टि च्युट निर्माणाधीन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment