Comments Add Comment

गोरेकै सूचनामा सुन समात्थ्यो प्रहरी !

यस्तो छ बालकृष्ण सञ्जेलले अदालतमा दिएको बयान

२५ वैशाख, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त हुन्, चुडामणि उप्रेती ‘गोरे’ । उनकै योजनामा पछिल्लो चार वर्षमा दजनाैं पटक सुन तस्करी भएको सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष छ ।

तर, प्रहरीले बेलाबेला बरामद गर्ने सुनको सुराकी उनै गोरे भएको पाइएको छ ।

सुन तस्करीको अभियोगमा पक्राउ परेका प्रहरीले अहिले मोस्ट वान्टेड सूचीमा रहेका गोरेको सुराकीकै आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको सुन बरामद गरेको स्वीकार गरेका हुन् ।

प्रहरीमाझ गोप्य सूचना दिने सूत्र बनेका गोरेले गरेको सुन तस्करी भने प्रहरीले पत्तै पाएन वा त्यसमा आँखा चिम्लियो, सन्देहमै छ ।

गोरेले सुन तस्करीको सूचना दिन्थेः सञ्जेल 

जिल्ला अदालत मोरङमा दिएको बयानका क्रममा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले ‘गोरे’कै सुराकी आधारमा सुन बरामद भएको बताएका छन् ।

‘एक पटक गोरेकै सूचना अनुसार पौने २ केजी सुन पक्राउ गरेका थियौं’, सई सञ्जेलले बयानमा भनेका छन्, ‘उसले कहाँबाट कसरी सुन ल्याउँछ वा ल्याउँदै थियो भन्ने चाहिँ मलाई थाहा थिएन ।’

सञ्जेलका अनुसार ५/६ महिनाअघि गोरेले उनलाई फोन गरेर गैरीधारामा कार्गो अगाडि तस्करीको सुन आउँदै गरेको बताएका थिए । उसले तुरुन्तै आउनु भनेपछि परिणामबारे सोध्दा २० केजी छ भनेको सञ्जेलको भनाइ छ ।

‘डिएसपी अजय केसीको कमान्डमा टोली खटिँदा बागमती पुलमा मारुती भ्यानमा गाडीको भित्री पार्टस्मा लुकाएर राखेको पौने दुई केजी सुन समातिएको थियो’, उनले भनेका छन्, ‘त्यसबेला उप्रेतीलाई सुराकी बापत पाउने भत्ताको लागि कसको नाम राखौं भनेर फोन गर्दा मलाई पर्दैन, तपाईहरूले मिलाउनु भनेपछि सई सा’बले आफ्नो मान्छेको नाम राख्नु भएछ ।’

त्यसपछि पनि गोरेले सई रावललाई फोन गरेर हुण्डी कारोबारको बारेमा सूचना दिएको सन्जेलले बताए । नक्सालस्थित एक घरमा हुण्डी कारोबार हुँदै गरेको सूचना अनुसार महाशाखाले अप्रेशन चलाएको थियो । तर, पैसा लिएर आउने मान्छेहरू उक्त घरमा नआएपछि काम नभएको सञ्जेलको भनाइ छ ।

गोरेले अपराध महाशाखालाई मात्रै होइन, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पनि सुन तस्करी बारेको सूचना दिने गरेको स्रोत बताउँछ । तर, यसरी सुराकी दिएर गोरले थोरै परिणाम सुन पक्राउ गराउने र ठूलो परिणाममा तस्करी गर्थे वा आफ्ना विरोधीको सुन समाउन लगाएका थिए, खुलेको छैन ।

निशासँग काठमाडौं फर्किएपछि पहिलो पटक भेटः सञ्जेल

साढे ३३ केजी सुन प्रकरणमा मारिएका सनम शाक्यकी प्रेमिका निशासेन ठकुरीले बयानमा सञ्जेलले ‘घटनाको इञ्चार्ज हामी हौं, टेन्सन लिनु पर्दैन’ भनेको बताएकी थिइन् । उनले त्यसअघि पनि सञ्जेलसँग भेट भएको बताएकी थिइन् ।

कहाँ हरायो साढे ३३ किलो सुन ? सनमकी गर्लफ्रेण्ड भन्छिन्- लुटिने सूचना गोरेले पाइसकेका थिए

तर, सई सञ्जेलले अदालतलाई दिएको बयानमा निशाको दाबी अस्वीकार गरेका छन् । पूर्वबाट टोली काठमाडौं आएपछि निशासँग पहिलो भेट भएको दाबी गरेका छन् ।

‘घटनाको दिन गोरेले मेरो मोबाइलमा पठाएको म्यासेजमध्ये दुई वटा नम्बर निसा सेनकै भएको अनुसन्धानको क्रममा खुलेको थियो’, उनले भनेका छन्, ‘हामी गोरेलाई पक्राउ गर्न पूर्वतर्फ आएपछि काठमाडौंमा खटिएको टोलीले निशालाई सोधपुछका लागि ल्याएर तारिखमा छोडेको रहेछ । काठमाडौं फर्किएपछि त्यसबारे जानकारी पाएपछि डिएसपी प्रजित केसीको आदेशले भेटेर गोरेको बारेमा केही खुल्छ कि भनेर सोधपुछ गरेको थिएँ ।’

‘केही नयाँ सूचना थाहा भए भन्नु भनेको थिएँ । मैले त्यसबेलै सबै कुरा डीएसपीलाई समेत भनेको थिएँ’, उनले भनेका छन्, ‘मैले अवैध सुनवापत कहिल्यै गोरेसँग एक पैसा पनि लिएको छैन । र, निशासँग त्यसअघि भेट पनि भएको थिएन ।’

आफूले गारेलाई पक्राउ गर्ने प्रायोजनका लागि उनकी श्रीमती र भाइलाई फोन गरेको गरेको दाबी गर्दै भने, ‘त्यही कल डिटेल निकालेर मेरैविरुद्ध प्रमाण ल्याउन खोजिँदैछ । मेरो पदको हैसियतले पनि म एक्लैले उक्त कार्य गर्न सक्ने कुरै हुँदैन ।’

सञ्जेलको बयानको सम्पादित अंश

प्र. गजेन्द्र रावलले तपाईलाई गोरसँग चिनजान गराएको अस्वीकार गरेका छन् नि ?

त्यस दिन एसएसपी श्याम खत्रीले भने अनुसार नै प्रहरी नायब निरीक्षक गजेन्द्र रावलले मलाई पटकपटक फोन गरी भेट गर्न बाजेको सुकुरा कर्नर पुरानो बानेश्वरमा बोलाएकाले म त्यहाँ गएँ । तर, त्यसदिन त्यहाँ आएका थिएनन् । त्यसैकै २/४ दिनपछि होलीको समयमा उसले नै मलाई बोलाएर म एसएसपीको मान्छे गोरे हुँ भन्थे ।

तपार्इँलाई अनुसन्धानको क्रममा भएको निशा सेन ठकुरीको कागज सुनाइन्छ, निजले हाल हराएको भनिएको सुन लुट्ने योजनामा रहेका रोशन श्रेष्ठले तपाईँ इन्काउन्टर स्पेसलिष्ट हो भनि चिनाएको र तपार्इँले निशालाई त्यसको इञ्चार्ज हामी हो, टेन्सन लिनु पर्दैन भनि फोन गरेको उल्लेख छ । कतै गोरेको हराएको सुन खोज्ने क्रममा निशासँग भेट भएको त होइन ?

मलाई निसा सेनको कागज सुनाउँदा सुने उससँग गोरेको हराएको सुन पत्ता लगाउन भेट गरेको होइन । वास्तविकता के हो भने घटनाको दिन गोरेले मैले मोबाइलमा पठाएको म्यासेज दुई वटा नम्बर निसा सेनकै रहेछ ।

हामी गोरेलाई पक्राउ गर्न पूर्वतर्फ आएपछि काठमाडौंमा खटिएको टोलीले निशालाई सोधपुछका लागि ल्याइ तारिखमा छोडेको रहेछ ।

पछि काठमाडौं फर्किएपछि सो कुरा जानकारी भइ डिएसपी प्रजित केसीको आदेशले भेटेर गोरेको बारेमा केही खुल्छ की भनेर भेटेको हो । मृतक सनम शाक्यको प्रमिका रहिछिन् । केही नयाँ सूचना थाह भए भन्नु भनेको थिएँ ।

मैले सो कुरा डिएसपी सा’बलाई तत्काल भनेको थिएँ । मेरो उससँग त्यो भन्दा अगाडि भेट सम्पर्क केही पनि थिएन ।

मैले गारे भन्ने चुडामणि उप्रेतीलाई पक्राउ गर्ने प्रायोजनाका लागि उसको श्रीमति, भाइ समेतलाई फोन गरेको हुँ । त्यो पनि सरहरुको आदेश अनुसार गरेको हुँ ।

जुन कल डिटेल निकाली मेरैविरुद्ध प्रमाण ल्याउन खोजिँदैछ । मेरो पदको हैसियतले पनि म एक्लैले उक्त कार्य गर्न सक्ने कुरै हुँदैन ।

तपार्इँले विशेष अनुसन्धान टोली समक्ष गरेको बयानको श्रव्य दष्य तपार्इँलाई सुनाइन्छ, उक्त बयान बेहोरा तपार्इँको हो कि होइन, खुलाइदिनुस् ।

मलाई उक्त श्रव्य दृश्य बयान आज यस अदालतमा सुनाउँदा सुनेँ । देखाउँदा देखेँ । यसमा मेरो व्यहोरा यो छ कि मलाई बिराटनगरबाट काठमाडौं फर्किएपछि करिब ४/५ दिनपछि अनुसन्धान गरिरहेको विशेष समिति डिएसपी सुदिप पाठक समेतको टोलीले सोधपुछ गर्नु भयो । त्यसवेला मैले हाल बयान गरेकै व्यहोरा भनेको थिएँ ।

त्यसपछि हामीलाई गृह मन्त्रालय बोलाइयो, त्यहाँ हाम्रो बयान भएको हो । त्यसपछि समितिका सदस्य डिएसपी सुदिप पाठकको आईजी सा’बसँग केके कुरा भयो थाहा भएन ।

मलाई बयान लिँदै गरेको कोठामा पाठले तँ हिरो भएर हिँड्छन्, तँलाई जसरी पनि फसाउँछु, मेरो फन्दा परिस् भनि थर्काउनु भएको थियो । यस कुराको जानकारी मैले एसएसपी साबलाई पनि तत्काल गराएको थिएँ ।

यसरी समितिका सदस्य डिएसपीले मलाई पूर्व रिसइबी समेत लिइ फसाउनलाई भिडियो बयानमा अतिरञ्जित तथ्य स्थापित गर्न खोजेका हुन् । समितका ५/६ जनाले भनेको कुरा नसिध्याइ जताभावी प्रश्नहरु गर्नु भएको थियो ।

मैले आफ्नो सत्य बेहोरा नै भनिरहे । एक/दुई कुरा तलमाथि भएको हुन सक्छ । भिडियो बयान लिँदा मलाई मानसिक यातदा दिँदै गणमा बन्करमा एक्लै कोट गार्डभित्र चाबी लगाएर राखेको बयान गराइएको थियो ।

मैले म औषधी खान्छु भन्दा समेत खान दिइएन । तसर्थ सम्मानित अदालतमा मैले दिएको बयान व्यवहोरा सत्य हो, समितिको बयानमा सो बाहेकका अन्य कुरा भए ती गलत हुन् ।

सुनसरीमा भएको घटनाको अनुसन्धान यहीँको प्रहरीबाट हुनु पर्नेमा किन त्यहाँबाट आउनु भयो ?

मलाई आएको अपराधको सूचना तत्काल आफूभन्दा माथिल्लो कमान्डरहरुलाई जानकारी गराएको हुँ र माथिल्लो कमान्डहरुबाट भएको आदेश अनुसार गरेको हुँ । यस विषयमा तथ्य कुरा प्रजित सरलाई नै थाहा छ ।

फागुन १८ गते मलाई चुडामणि उप्रेतीको फोन मलाई आएपछि आफ्ना सिनियरहरुको आदेशमा गोरेलाई पक्राउ गर्न योजना अनुसार सम्पूर्ण कार्य गरेको हो । मैले आफ्नो कर्तव्य पालना गरेको हुँ । मैले जानीजानी कुनै कसुर गरेको छैन ।

इटहरी गेष्ट हाउसमा मेषबहादुर रानाले इन्ट्री गराएका हुन् । के नाम लेखे मलाई थाहा भएन ।

एसपी, पूर्व डिआईजी, सुरेन्द्र कार्की र भेषबहादुर रानाको विवरण र केसीको बयानबारे कागज सुनाउँदा सुनेँ । प्रतिवादी विकासराज खनाल र गोविन्द निरौलालाई पहिले मैले चिनेकै थिइन । उहाँहरुको नाम मात्रै सुनेको हुँ । उहाँहरुसँग कहिल्यै काम पनि गरेको छैन ।

उहाँहरुको गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्बन्ध थियो थिएन मलाई थाह छैन । गोरेले मलाई फोन गर्दा मैले मानिस मरेको कुरा कसकसलाई भनिस भन्दा गोरेले विकासराज खनाल र गोविन्द निरौलालाई भनेको भन्यो ।

उक्त कुरा मैले तत्काल आफ्नो हाकिम प्रजित केसी सरलाई भनेको छु । प्रतिवादी प्रजित केसी र घटना विवरण कागज गर्ने प्रहरी जवान मेषबहादुर राना र सुरेन्द्र कार्की हामीसँगै गोरेलाई पक्राउ गर्न आएको टोली हो, भएकाले अन्य बेहोरा माथि नै लखाइ सकेको छु ।

 

आफू निर्दोश रहेको भन्ने के प्रमाण छ त ?

म वास्तवमा निर्दोष छु । मैले प्रहरी कर्मचारी भइ इमान्दार रुपमा काम गर्दा पाएको इमानको बारेमा प्रहरी प्रधान कार्यालयमा बुझीँ पाउँ । साथै, सेवा अवधिमा मलाई एक पटक पनि कारबाही परेको छैन । साथै, मेरा निज साथीहरुसँग पनि बुझी पाउँ ।

म वास्तवमा निर्दोष छु । मैले प्रहरी कर्मचारी भइ इमान्दार रुपमा काम गर्दा पाएको इमानको बारेमा प्रहरी प्रधान कार्यालयमा बुझीँ पाउँ । साथै, सेवा अवधिमा म एक पटक पनि कारबाही परेको छैन ।

यो पनि पढ्नुस् 

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment