+

तपाई पनि उच्च रक्तचापको जोखिममा ? यसरी खोजौं समाधान

२०७५ जेठ  ६ गते १२:५७ २०७५ जेठ ६ गते १२:५७
तपाई पनि उच्च रक्तचापको जोखिममा ?  यसरी  खोजौं समाधान

हरेक घरमा खोज्दै हिँडौं, उच्च रक्तचापका रोगी भेटिने संभावना अधिक छ । खासगरी शहरी क्षेत्रमा । अहिले ग्रामिण जनजीवनमा पनि उच्च रक्तचापले प्रवेश गरिसकेको छ ।

उच्च रक्तचाप यस्तो समस्या हो, जसले शरीरमा अनगिन्ती समस्या पैदा गर्ने जोखिम हुन्छ । उच्च रक्तचापले मुटु तथा मिगौंलामा सोझो असर पार्न सक्छ । कतिपय अवस्थामा यी दुई अंगको खराबीले पनि उच्च रक्तचाप हुन्छ भने उच्च रक्तचापको कारण यी अंगहरुमा खराबी ल्याउने संभावना उत्तिकै हुन्छ ।

उच्च रक्तचाप हुनु भनेको रगत पम्प गर्नका लागि मुटुमा दवाव पैदा हुनु हो । जब राम्ररी रगत पम्प हुँदैन, वा प्रवाह हुँदैन, भित्री अंगको कार्य-संचालन सहज रुपले हुँदैन । यसले शरीरलाई कमजोर बनाउँछ । जब शरीर कमजोर हुन्छ, अरु रोग हावी हुन्छ ।
उच्च रक्तचाप हुनुमा एउटा मात्र कारण जिम्मेवार छैन । कतिपय अवस्थामा वंशानुगत रुपमै यो समस्या आउँछ भने, धेरैजसो अवस्थामा चाहि आफ्नो खराव जीवनशैलीले यो समस्या निम्त्याउँछ । खराब जीवनशैली भनेको अस्वस्थ्यकर खानपान, अनियमित दिनचर्या, तनावग्रस्त दैनिकी आदि हुन् ।

कस्तो अवस्थामा उच्च रक्तचाप ?

रगत सहज रुपमा संचालन एवं प्रवाह हुनमा अवरोध छ भने उच्च रक्तचापको समस्या देखापर्छ । यसलाई हामी अंकले पनि मापन गर्न सक्छौं ।

बोलीचालीको भाषामा १ सय २० को मुनी ८० अंक छ भने रक्तचाप सामान्य मानिन्छ । यदि त्यसमा घटबड भए असामान्य रक्तचाप मानिन्छ ।

चिकित्सकको भाषामा यसलाई सिस्टोलिक र डायस्टोलिक भनिन्छ ।

सिस्टोलिक भनेको खुम्चिएको बेला मुटुबाट निस्किएको रगतले रक्तनलीमा पर्ने चापलाई बुझाउँछ । डायस्टोलिक भनेको मुटु फुक्दा मुटुमा र्फकने रगतले रक्तनलीमा पार्ने चापलाई बुझाउँछ । सामान्यतः १४०/९० mm ज्न वा सो भन्दा बढी रक्तचाप भएको स्थिति नै उच्च रक्तचाप हो ।

उच्च रक्तचाप भएमा के हुन्छ ?

उच्च रक्तचापलाई ‘मन्द हत्यारा’ पनि भनिन्छ । यसले थाहै नपाई हामीलाई मृत्युको मुखमा धकेलिदिन्छ । जब उच्च रक्तचाप हुन्छ, त्यसले शरीरका भित्री अंगको कार्य-सञ्चालनमा असर पुर्‍याउँछ । मुटु, मिर्गौला जस्ता अंगमा दवाव पैदा गर्छ र क्षति पुर्‍याउँछ ।

उच्च रक्तचाप नियन्त्रण गरिएन भने हृदयघात हुने जोखिम अधिक हुन्छ । मस्तिष्कघात, पक्षघातमा पनि उच्च रक्तचाप नै जिम्मेवार हुन्छ ।

कसरी थाहा पाउने ?


उच्च रक्तचाप भएमा केही लक्षण देखापर्छ । यद्यपी ति लक्षणलाई सामान्य मानेर नजरअन्दाज गरिएमा त्यसले जटिलता निम्त्याउँन सक्छ ।

रक्तचाप बढेमा चक्कर लाग्छ । वा शरीरको सन्तुलन नमिलेको भान हुन्छ । टाउको दुख्छ । नाकबाट रगत बग्छ । छातीमा दवाव अनुभव हुन्छ । दृष्टि धुमिल हुनसक्छ । यीमध्ये कुनैपनि लक्षण देखापर्न सक्छ ।

कसरी निश्चित गर्ने ?

उच्च रक्तचाप नाप्ने यन्त्र स्पिग्मोमानोमिटरले नापेर रक्तचापको अवस्था जाँच गर्न सकिन्छ । रक्तचाप जाँच गर्नुअघि केही कुराहरुमा ध्यान दिनुपर्छ ।

-रक्तचाप नाप्नुअघि आधा घण्टासम्म चुरोट तथा चिया/कफीको सेवन नगर्ने ।

-आरामसँग केहीबेर कुर्सीमा बस्ने । हिंडडुल वा कसरत गर्नेबित्तिकै रक्तचाप मापन नगर्ने ।

-कसिलो लुगा नलगाउने । लुगाको माथिबाट वा बाहुलामाथि सारेर रक्तचाप मापन गर्ने ।

-रक्तचाप मापन गर्दा आˆनो पाखुरा मुटुको स्तरमा राख्नु उत्तम ।

उच्च रक्तचाप भएमा के गर्ने ?

यदि रक्तचाप नाप्ने यन्त्रले उच्च रक्तचाप भएको संकेत गरेमा के गर्ने त ? चिकित्सकको परामर्शमा औषधी सेवन गर्ने वा जीवनशैली परिवर्तन गर्ने । त्यसमध्ये दोस्रो सर्त अनिवार्य हुन्छ । अर्थात उच्च रक्तचाप भएको अवस्थामा जीवनशैली परिवर्तन गर्नैपर्छ ।

किनभने धेरैजसो अवस्थामा उच्च रक्तचाप हुने भनेको खराब जीवनशैलीको कारण हो । खराब जीवनशैली भनेको गलत खानपान, गलत दिनचर्या, गलत सोचाई हुन् ।

उच्च रक्तचाप अरु कारणले पनि हुनसक्छ । तर, जे जस्तो अवस्था भएपनि जीवनशैली सन्तुलित, संयमित र स्वस्थ्य हुनैपर्छ ।
यसको अर्थ हो, स्वास्थ्य, सन्तुलित खानपान गर्नु । ताजा खानेकुरा सकेसम्म उसिनेको खानुपर्छ । खानामा सागपात सामेल गर्नुपर्छ । मौसमी फलफूल, जुस खासगरी लौकाको जुस सेवन गर्नुपर्छ । एकै पटकमा धेरै खाना खाने होइन, बरु पटक-पटक थोरै खाना खानुपर्छ ।

नुन, चिल्लो, मदिराजन्य, मासुजन्य, दुधजन्य खानेकुरा नियन्त्रण गर्नुपर्छ ।

दैनिकी सन्तुलित हुनुपर्छ । सुत्ने, उठ्ने तालिका नियमित हुनुपर्छ । अनिन्द्राले पनि यसमा समस्या निम्त्याउँछ । सकेसम्म हरेक रात ८ घण्टा मस्त निदाउनुपर्छ ।

तनाव, चिन्ता पनि उच्च रक्तचापको कारण हुन् । तनाव विभिन्न कारणले पैदा हुन्छ । असमझदारी, रिस, घृणा, महत्वकांक्षा आदिले पनि तनाव पैदा गर्छ । सकेसम्म तनाव नियन्त्रण गर्नुपर्छ । यसका लागि योग, ध्यान, प्राणायम एकदमै उपयोगी हुन्छ ।

औषधीले काम नगरे ?

कहिले काहीँ औषधिका सेवनबाट पनि उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ । किन यस्तो भयो होला ? किनभने औषधीको मात्रा एवं डोज पुगेको छैन होला । रक्तचाप मापन ठिक ढंगले भएन होला । औषधी सेवन गरेर पनि जीवनशैली सहज, सन्तुलित भएन होला । साथै दुखाई कम गर्ने औषधि , गर्भनिरोधक चक्की आदिको सेवन गरेमा रक्तचाप नियन्त्रणमा नआउनसक्छ ।

सावधानी अपनाउने

– उच्च रक्तचापको कुनै स्थाई उपचार हुँदैन । यसलाई खानपानमा सुधार, स्वस्थ जीवनशैली, र औषधिबाट नियन्त्रित गर्न सकिन्छ । एकपटक ब्लड प्रेसर बढेको थाहा भइसकेपछि औषधि नियमित सेवन गर्नुपर्छ र डाक्टरको नियमित सम्पर्कमा बस्नुपर्छ ।

– उच्च रक्तचापको अवस्थामा दुई कुरामा ध्यान दिन आवश्यक हुन्छ । धूम्रपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्ने गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरुले धुम्रपान त्यागिहाल्नुपर्छ ।

– मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको एउटा ठूलो कारण हो । त्यसैले तनावलाई आफूमा हावी हुन दिनुहुन्न ।
– उच्च रक्तचाप भएकाहरुले खानपानमा संयम अपनाउनुपर्छ ।

– उच्च रक्तचाप भएकाहरुले खानामा नूनको मात्रा प्रतिदित ३.४ ग्रामभन्दा बढि लिनु हुँदैन । आहारामा आधा चम्चा नून कम गर्दा पनि उच्च रक्तचाप सामान्य स्तरमा आउन सक्छ ।

अपनाउनुहोस् यी घरेलु विधी

– मेथी दानालाई पानीमा रातभर भिजाउनुहोस् । बिहान उठेपछि खाली पेटमा उक्त पानी पिउने गर्नुहोस् । हरेक विहान यसलाई निरन्तरता दिनुहोस् ।

– मेथी दानालाई पानीमा उमाल्ने र त्यसको रस सेवन गर्नुहोस् ।

– विहान मनतातो पानी पिइसकेपछि खाली पेटमा लसुनको दुई, चार पेटी सेवन गर्नुहोस् ।

– दिनमा चार/पाँच कप ग्रीन टि सेवन गर्नुहोस् ।

– लौकाको जुस बनाउनुहोस् । त्यसमा धनियाँ, पुदिना र तुलसीको पात मिलाएर पिउने गर्नुहोस् ।

– बेल पत्रको पाँच वटा पातलाई मिहिन हुनेगरी पिस्ने र त्यसलाई एक गिलास पानीमा घोल्ने । उक्त घोल त्यसबेलासम्म उमाल्ने, जब त्यो आधा गिलास हुँदैन । त्यसपछि सेलाएर पिउने गर्नुपर्छ ।

– दालचिनीलाई पिसेर धुलो बनाउने । हरेक विहान आधा चम्चा धूलोमा त्यती नै मह मिसाएर खाली पेटमा खाने गर्नुपर्छ ।

उच्च रक्तचाप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश