विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ ।
थाइराइड ग्रन्थि पुतली आकारमा सास नलीको माथिल्लो भाग तथा रुद्रघण्टीको दुवैतर्फ दुई भागमा हुन्छ । थाइराक्सिन नामक हर्मोनको उत्पादन गर्ने यस ग्रन्थिले मुटु, मस्तिष्क, मिर्गौला लगायतका शरीरका विभिन्न भागलाई नियन्त्रण गर्छ । जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ, तब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन ।
यसबाट शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । यो रोग मेटाबोलिज्मको कमीका कारण हुने भएकाले यसलाई अटो इम्युन डिजिज पनि भनिन्छ । जब शरीरको रोग निरोधक शक्तिले आˆनै शरीरको स्वस्थ कोष वा ग्रन्थिहरूलाई भत्काउन सुरु गर्छ, तब शरीरमा अटो इम्युन डिजिज हुने गर्छ ।
त्यसबाहेक शल्यक्रिया, विभिन्न औषधीहरूको सेवन तथा रेडियसन थेरापीका कारण हर्मोनको गडबडी भई यो रोग लाग्नसक्छ ।
यो रोग आफैमा निको नहुने रोग हो । त्यसैले थाइराइडको समस्यालाई पूर्ण रूपले निको पार्न नसकिए पनि विभिन्न उपचार पद्धतिद्वारा यसलाई नियन्त्रण भने अवश्य गर्न सकिन्छ ।
सामान्यतया थाइराइड रोग दुई किसिमको हुन्छ ।
हाइपरथाइराइडिज्म र हाइपोथाइराइडिज्म
शरीरमा थाइराइड ग्रन्थिले आवश्यकताभन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।
त्यस्तैगरी शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।
हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । त्यसैले यसको लक्षण पनि विभिन्न किसिमको हुुन्छ ।
शरीरमा हाइपरथाइराइडिज्मको समस्या भएमा यस्ता लक्षण देखा पर्छन्ः
-शरीर कमजोर हुने तथा थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने
– छाला फुस्रो हुने
-जीउ सुन्निने
-तीव्र गतिमा तौल बढ्ने
-गर्मी तथा चिसो छिट्टै महसुस हुने
-कब्जियत हुने
– निद्रा नलाग्ने
शरीरमा हाइपोथाइराइडिज्मको समस्या भएमा निम्न लक्षण देखा पर्छन्ः
-शरीर दुब्लाउँदै जाने
-जीउ तातिने
-दिसा लागिरहने,
-धेरै पसिना बग्ने
यस्ता लक्षण व्यक्तिअनुसार फरक हुने भएकाले आफूलाई थाइराइड भएको शंंका लागेमा रगत जाँच गरेर यो रोग पत्ता लगाउन सकिन्छ । त्यसबाहेक, यस्ता लक्षण देखिएमा पनि थाइराइड रोग लागेको थाहा पाउन सकिन्छ ।
तीव्र गतिमा तौल बढ्नु
थाइराक्सिनले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने काम) लाई नियन्त्रण गर्ने हुँदा थाइराइडका कारण शरीरको मेटाबोलिज्म प्रभावित हुन्छ । मेटाबोलिज्मको प्रभावकै कारण हामीले खाएको सम्पूर्ण खाना शक्तिमा बदलिँदैन र त्यो शरीरमा अतिरिक्त फ्याटको रूपमा जम्मा हुने गर्छ, जसका कारण शरीरको तौल अचानक तथा तीव्र गतिमा बढ्छ ।
थकान महसुस हुनु
शरीर कमजोर हुनु तथा शरीरमा थकान महसुस हुनु थाइराइडको प्रमुख लक्षण हो । मेटाबोलिज्मको कारण जब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन, तब शरीरमा ऊर्जाको कमी हुन थाल्छ । जसका कारण शरीरमा कमजोरी महसुस हुने तथा शरीर थाक्ने गर्छ । शरीरमा रगतको कमी भएमा वा एनिमिया भएमा पनि महिलाहरूलाई थकान महसुस हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।
अनियमित महिनावारी
थाइराइडको समस्या भएमा महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ । अनियमित महिनावारीका कारण महिनावारी हुने समय लम्बिन्छ ।
डिप्रेसन
थाइराइडको समस्याकै कारण कतिपय महिलाहरूलाई डिप्रेसनसमेत हुने गर्छ । विशेषगरी थाइराइड ग्रन्थिले कम मात्रामा थाइराक्सिन उत्पादन गरेमा डिप्रेसनको हर्मोन सक्रिय हुन्छ जसका कारण थाइराइडका बिरामीलाई सुत्न समेत समस्या हुनसक्छ ।
स्मरणशक्ति कमजोर हुने
थाइराइड रोग लागेमा स्मरणशक्ति प्रभावित हुन्छ । सोच्ने तथा सम्झने क्षमतामा असर पर्छ । स्मरणशक्ति कमजोर हुनुका साथै व्यक्ति चिड्चिडे स्वभावको हुनसक्छ ।
जाडो वा गर्मी सहन नसक्ने
थाइराइडको समस्या भएमा त्यसले शरीरलाई समेत प्रभावित पार्दछ । विशेषगरी, थाइराईड हर्मोन बढी भएमा व्यक्तिलाई धेरै पसिना आउने तथा गर्मी लाग्ने गर्दछ । जब कि हाईपोथाइराइडिज्म भएमा शरीर चिसो हुने तथा शरीरले अलिकति पनि चिसो सहन नसक्ने हुन्छ ।
पेट सम्बन्धी समस्या
थाइराइड रोग लागेमा व्यक्तिलाई पेटसम्बन्धी समस्या धेरै हुने गर्छ । शरीरमा हाइपोथाइराइडिज्म वा हर्मोनको कमी भएमा कब्जियतको समस्या हुन्छ भने हाइपरथाइराइडिज्मको समस्या भएमा दिसा लाग्ने गर्दछ । थाइराइडको समस्याका कारण खाना पचाउन समस्या हुने तथा खाना सजिलैसित नपच्ने समस्या समेत देखा पर्छ ।
मुटु सम्बन्धी समस्या
मुटुको चाल सामान्यभन्दा धेरै छ भने यो पनि थाइराइड रोगको लक्षण हुनसक्छ । थाइराइड ग्रन्थिले धेरै हर्मोनको उत्पादन गरेमा मुटुको चाल धेरै हुन्छ जसका कारण मुटुमा विभिन्न समस्या उत्पन्न हुने तथा छाती दुख्ने गर्छ ।
निःसन्तानपन
थाइराइड हर्मोनको गडबडी भएमा महिलाहरूमा निःसन्तानपनको समस्या हुनुका साथै गर्भ तुहिने समस्या बारम्बार हुने गर्दछ । थाइराइड ग्रन्थिले उत्पादन गर्ने टीएचएस हर्मोनको गडबडीका कारण यस्तो हुन्छ ।
(यो लेख इन्डोक्राइनोलोजिस्ट डा. प्रियादर्शनी योञ्जनसितको कुराकानीमा आधारित छ । उनी हाल काठमाडौ डाइविटिज तथा थाइराइड सेन्टर प्रा.लि, अल्का अस्पतालमा कार्यरत छिन् ।)
प्रतिक्रिया 4