Comments Add Comment

फुटबलबाट सिक्न सक्छन् बच्चाले यी जीवनोपयोगी कुरा

यतिबेला विश्वकप फुटबलको चर्चा छ सबैतिर । रुसमा भइरहेको विश्वकप फुटबल पक्कैपनि हेरिरहनु भएकै होला । चार-चार बर्षमा एक पटक जुर्ने यो अवसर किन पो गुमाउनुहुन्थ्यो र ?

फुटबल हेरेर आनन्द एवं मनोरञ्जन लिइरहनु भएको छ । यसले तपाईंको तनाव पनि हटाउन पक्कैपनि मद्दत पुग्छ ।

घरपरिवार, बालबच्चा एकसाथ बसेर फुटबल हेर्नु रमाइलो हुन्छ । तर, फुटबलबाट रमाइलो मात्र हुँदैन, यसले जीवनोपयोगी कुरा पनि सिकाउँछ, जो तपाईंले आफ्नो बच्चालाई अनुभूत गराउन सक्नुहुन्छ । यो कुरा विर्सनुहोस् कि, विद्यालयमा मात्र बच्चाले सिक्छन् । पाठ्यपुस्तकका मात्र सिक्ने कुरा हुन्छन् । हरेक कुराबाट बच्चालाई उपयोगी ज्ञान दिन सकिन्छ, जो उनीहरुका निम्ति जीवनोपयोगी हुनसक्छ ।

सर्तक रहनुपर्ने कुरा चाहि के भने, बच्चालाई कुनैपनि कुरा सिकाउँदा शिक्षकले पाठ घोकाए जस्तो वा उपदेश दिएजस्तो गरेर होइन । रमाइलो ढंगले, बुझ्नेगरी यसरी सिकाउनुपर्छ, जसमा उनको गहिरो रुची जागोस् । र, त्यसलाई उनीहरुले व्यवहारिक जीवनमै प्रयोग गर्न सकोस् ।

अब लागौं फुटबलतिर । फुटबल हेरेर बच्चालाई के बुझाउन सकिन्छ त ?

फुटबलले हारलाई सहर्ष स्विकार गर्न सिकाउँछ, सधै अगाडि बढ्नका लागि प्रेरित गर्छ, टिमवर्कको महत्व बुझाउँछ, संघर्ष गर्न सिकाउँछ, अनुशासनमा अभ्यस्त गराउँछ ।

टिमवर्कको कुरा

थाहा भएकै कुरा हो, फुटबल भनेको टिमवर्क हो । यसमा एक जनाले मात्र चाहेर वा एक जनाको प्रयासले मात्र केही हुँदैन । जीत हासिल गर्नका लागि सामूहिक प्रयास एवं तालमेल मूख्य हुन्छ । मैदानभित्र ११ जनाले खेल्छन् । उनीहरुको आ-आफ्नै भूमिका र क्षेत्र हुन्छ । गोल किपरको जुन भूमिका हुन्छ, अग्रपंक्तिका खेलाडीको त्यो भन्दा फरक हुन्छ । त्यस्तै रक्षापंक्तिका खोलाडीको भूमिका पनि यी दुबैको भन्दा भिन्न हुन्छ । अर्थात सबैले आ-आफ्नो ठाउँमा रहेर गोललाई अगाडि बढाउनुपर्छ । विपक्षीमाथि दवाव पैदा गर्न सक्नुपर्छ । यसका लागि सामूहिक तालमेल र प्रयास अपरिहार्य हुन्छ ।

फुटबलले हारलाई सहर्ष स्विकार गर्न सिकाउँछ, सधै अगाडि बढ्नका लागि प्रेरित गर्छ, टिमवर्कको महत्व बुझाउँछ, संघर्ष गर्न सिकाउँछ, अनुशासनमा अभ्यस्त गराउँछ

ठीक यसैगरी जीवनमा पनि सफलता हासिल गर्नका लागि वा लक्ष्य प्राप्तिका लागि यस्तो समूह निर्माण गर्नुपर्छ, जसले जितका लागि अर्थपूर्ण योगदान दिन्छ । एकअर्कामा विश्वास, सझमदारी र आ-आफ्नो भूमिकामा इमान्दार हुनुपर्छ । तब मात्र जीत हासिल हुन्छ ।

अनुशासनको कुरा

फुटबल मैदानमा प्रवेश गरेपछि त्यसका नियम र परिधीभित्र रहनुपर्ने हुन्छ । जथाभावी गर्ने वा आफ्नो मनोमानी चल्दैन । मैदानभित्र उनीहरुले विपक्षीसँग भिड्नु त पर्छ, तर नियमपूर्वक । यदि नियम उल्लंघन गरेको अवस्थामा मैदानबाट बाहिरिनुपर्ने वा सजाय भुक्तान गर्नुपर्ने हुन्छ ।

हुन त हरेक खेलका आफ्नै नियम हुन्छन् । आफ्नै परिधी हुन्छन् । आफ्नै सीमा हुन्छन् । त्यसभित्र रहेर नै खेलाडीले आफ्नो क्षमता देखाउनुपर्ने हुन्छ । खेलकुदमा आत्मअनुशासन एकदमै महत्वपूर्ण मानिन्छ । अनलाइनखबरसँगका कुराकानीमा एक फुटबल प्रशिक्षकले भनेका थिए, ‘ब्राजिललगायतका मुलुकमा सानैदेखि बच्चालाई फुटबल खेल्न पठाइन्छ । यसको मतलब उसले फुटबलर नै बन्नुपर्छ होइन । पछि गएर जे-सुकै होस् । तर, बच्चामा उसले फुटबल खेलेपछि जीवनप्रति जिम्मेवार हुन र अनुशासित हुन अभ्यास गराउँछ ।’

वास्तवमा हामी आफ्नो जीवनमा पनि अनुशासित हुन आवश्यक छ । जीवन अनुशासित भयो भने, हामी सफल हुन्छौं, स्वस्थ्य हुन्छौं, सरल हुन्छौं, सजग हुन्छौं ।

संघर्षको कुरा

फुटबलमा जीत हासिल गर्नका लागि बललाई अगाडि बढाउनु वा विपक्षीको गोलपोस्टमा लगेर छिराउनुपर्छ । यसरी गोल लगाउनका लागि विपक्षीको अवरोध छिचोल्नुपर्छ । उनीहरुलाई उछिनेर बल अगाडि बढाउनुपर्छ । त्यो पनि एकदमै नियमसंगत ढंगले ।

यसबाट जीवनमा के सिक्न सकिन्छ भने, हामी सधै अगाडि बढ्नका लागि प्रयासरत हुनुपर्छ । र, त्यसका लागि विभिन्न अवरोध छिचोल्नुपर्छ । संघर्ष गर्नैपर्छ । फुटबलमा स्वत गोल लागेर जीत हुँदैन । अर्थात यो भाग्यचिट्ठा जस्तो होइन । सफलता पाउनका लागि, जीत हासिल गर्नका लागि पसिना चुहाउनैपर्छ, संघर्ष गर्नैपर्छ, प्रयासरत हुनैपर्छ, अवरोध छिचोल्नैपर्छ, अगाडि बढ्नैपर्छ ।

समयसीमाको ख्याल

फुटबल यस्तो खेल पनि हो, जसको निश्चित समयसीमा हुन्छ । निर्धारित समयभित्र विपक्षीलाई दवावमा राखेर गोल गरेपछि मात्र त्यस टिमले जीत हासिल गर्छ । उक्त समयभित्र सार्थक प्रयास गरिएन भने हार व्यहोर्नुपर्ने हुन्छ ।

जीवनमा केही गर्छु भन्नेले पनि यसबाट पाठ सिक्न सक्छन् । हामीले कुनैपनि काम निश्चित अवधीभित्रै सम्पन्न गरिसक्नुपर्छ । कुनैपनि लक्ष्य हासिल गर्नका लागि त्यसको निश्चित समयसीमा हुन्छ । त्यस समयसीमाभित्र गरिने कामले नै सार्थक नतिजा दिन्छ ।

अन्तिम क्षणसम्म उस्तै उर्जा र जोश

अर्को सत्य के भने अन्तिम क्षणसम्म उत्तिकै प्रयास गर्नुपर्छ, जो सुरुवातमा गरिन्छ । फुटबलमा खेल सम्पन्न हुने अन्तिम मिनेट मात्र होइन, अन्तिम सेकेन्डसम्मै खेलाडीहरु उत्तिकै जोश र जाँगरका साथ खेल्छन् । अन्तिम सेकेन्डमा लगाइएको गोल निर्णयक पनि हुन्छ । अन्तिम अवस्थासम्म खेलाडीहरु आशावादी हुन्छन् ।

फुटबल खेलबाट तपाईले कुनै विश्वविद्यालयमा नपाइने जीवनोपायोगी शिक्षा दिन सक्नुहुन्छ । तर, बच्चालाई कुनैपनि कुरा सिकाउँदा शिक्षकले पाठ घोकाए जस्तो वा उपदेश दिएजस्तो गरेर होइन । रमाइलो ढंगले, बुझ्नेगरी यसरी सिकाउनुपर्छ, जसमा उनको गहिरो रुची जागोस् ।

हाम्रो व्यवहारिक जीवनमा पनि यो कुरा निकै महत्वपूर्ण हुन्छ । हामी कुनै काममा सानो असफलता हात लाग्नसाथ हतोत्साही हुन्छौं । र, त्यो कामलाई त्यही छाडिदिन्छौं । तर, फुटबलले हामीलाई के सिकाउँछ भने, अन्तिम क्षणसम्म आशावादी रहनुपर्छ । अन्तिम क्षणसम्म उत्तिकै प्रयासरत रहनुपर्छ । उत्तिकै जोश र जाँगरका साथ अगाडि बढ्नुपर्छ ।

रणनीतिको कुरा

हरेक खेल रणनीतिक हुनेगर्छ । फुटबलमा त अझ रणनीतिक खेल नै हो । फुटबलमा सधै उस्तै पोजिसन, उस्तै शैली खेलेर हुँदैन । विपक्षी टिमको खेल स्तर, शैली, खेलाडी र पोजिसन हेरेर आफ्नो खेल-रणनीति तय गर्नुपर्छ ।

अक्सर विपक्षी टिमकै आधारमा अर्को टिमले आफ्नो रणनीति तय गर्छ । विपक्षी टिमसँग रक्षात्मक खेल खेल्नुपर्ने हो वा आक्रमक ? यस्ता कुरामा टिमले नै उपयुक्त निर्णय लिनुपर्ने हुन्छ । खेलाडी अनुसार पनि यस्ता रणनीति तय गर्ने गरिन्छ ।

वास्तवमा हामीलाई व्यवहारिक जीवनमा सफलता हासिल गर्नका लागि, कुनै व्यापार, व्यवसाय, उद्यम आदिमा सफलता प्राप्त गर्न पनि रणनीतिक योजना आवश्यक हुन्छ ।

हार स्विकार

मैदानमा प्रवेश गरेपछि दुई कुरा निश्चित हुन्छ, जीत वा हार । हुन त खेलाडीले जहिले पनि जीतका लागि प्रयास गर्ने हो । उसले खेल अवधीभर त्यही आशाका साथ जित्ने प्रयास गरिरहन्छ । जीतकै लागि संघर्ष गर्छ । तर, यससँगै उनीहरुमा के पनि ठान्दैनन् भने, हार हुँदै हुँदैन । वा  हामी हार्न तयार छैनौं भन्ने कुरा पनि उनीहरुले राखेका हुँदैन । त्यही कारण जब हार हुन्छ, उनीहरुले त्यसलाई स्वभाविक रुपमा स्विकार्छन् ।

हाम्रो व्यवहारिक जीवनमा पनि असफलता हुन्छ । अझ हामी जति अगाडि बढ्न खोज्छौं, जति सफलता खोज्छौं, उत्तिनै असफलता पनि व्यहोर्नुपर्ने हुन्छ । तर, यस्ता असफलता स्विकार्न सक्नुपर्छ । असफलता स्विकार्दै त्यसलाई कसरी सच्याउने भन्नेतर्फ आगमी लक्ष्य तय गर्नुपर्छ । फुटबलले हामीलाई यस्तो हार, असफलतामा विचलित एवं हतोत्साही नहुन सिकाउँछ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment