+
+

कुन उमेरमा कस्तो खानपान ? यी हुन् चरणवद्ध खाने तरिका

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३ गते १३:११

तपाईं बाँच्नका लागि खानुहुन्छ कि खानका लागि बाँच्नुहुन्छ ? यो प्रश्न यसकारण कि, धेरै मानिसहरु फुर्तिसाथ भन्छन् कि उनीहरु त बस् खानका लागि बाँच्छन् ।

खानेकुरासँग हाम्रो सम्बन्ध गहिरो छ । यसमा खाने चिजको मूल्य, त्यसको उपलब्धता र आसपासका व्यक्तिको खानपान शैलीले धेरै कुरामा प्रभाव पारिरहेको हुन्छ ।

भोकको माध्यामबाट हाम्रो शरीरले बताउँछ कि कहिले त्यसलाई इन्धन अर्थात खानाको जरुरत छ । तर हाम्रो खानेको इच्छा केवल भोकसँग मात्र जोडिएको छैन । किनभने भोक नलागेर पनि हामी खान्छौं । र, यादाकदा भोक लागेपनि केही खाइरहेका हुँदैनौ ।

हालै भएका केही रिसर्चले बताएको छ कि, खानासँग जोडिएको केही संकेतले हाम्रो खाने इच्छामा असर पारिरहेको छ । जस्तो कि बास्ना, खाना बनाउने आवाज र विज्ञापन । अवस्था यस्तो छ कि, विज्ञापनको जालमा फसेर हामी बढी खाना खाँदैछौं ।

हाम्रो खाने इच्छा पनि सधै एकनास हुँदैन । जिन्दगीको अलग अलग अवस्थामा यो पनि अलग अलग हुन्छ । उमेरका साथसाथै खानेको इच्छामा पनि परिवर्तन आउने गर्छ ।

खानाको कुरा गर्ने हो भने, आम सर्वसाधरणको जिन्दगीमा यस उतारचढावको सात चरण आउँछ । यसको बारेमा आफैलाई सम्झाएर हामी कम खाने वा ज्यादा खाने भन्ने निक्र्यौलमा पुग्नुपर्छ । खानाकै कारण शरीरमा रोग लाग्छ र खानाकै कारण शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान बनाउन सकिन्छ । त्यसैले कस्तो खानपान गर्ने भन्ने कुरामा एकदमै सर्तक एवं सजग हुन जरुरी छ ।

उमेरको पहिलो चरण (जन्मदेखि १० बर्ष)

यस चरणमा बच्चा एकदमै तिब्र गतिमा बढ्दै हुन्छ । उसको शारीरिक र मानसिक विकास तिब्र रुपमा भइरहेको हुन्छ । त्यस चरणमा उनले जुन खानपान गर्छ, त्यसले ठूलो हुँदासम्म असर गर्छ । कुनै बच्चा सानै छँदा मोटो हुन्छ भने पछि पनि मोटो नै हुनसक्छ ।

बच्चा अक्सर केही खानेकुरा खान डराउँछ । आनाकानी गर्छ । तर बच्चालाई पटक-पटक त्यस्ता कुरा चखाएर, त्यसको खुबीको बारेमा बताएर हामीले बच्चालाई स्वस्थ्यवर्द्धक खानेकुरा जस्तै सागसब्जीमा बानी पार्न सक्छौं ।

बच्चालाई हामीले खाएको बेला स्वयम्माथि नियन्त्रण गर्न पनि सिकाउनुपर्छ । खासगरी उनीहरुलाई यो कुरा बताउनुपर्छ कि, उसले कति खाने, त्यती धेरै पनि नखानु कि जसले मोटोपन बढ्न सक्छ ।

कतिपय आमाबुबाले बच्चालाई प्लेटमा भएको खानेकुरा सफाचट खानका लागि बाध्य तुल्याउँछन् । अर्थात खानेकुरा छाड्नु हुँदैन भनेर सिकाउँछन् । त्यही कारण बच्चाहरु आवश्यक्ताभन्दा बढी खाइदिन्छन् । पछि गएर उनमा खानेको बानी बस्छ ।

अहिले बच्चालाई अनियन्त्रित खानपानबाट जोगाउन थप चुनौती छ । विभिन्न माध्यामबाट आउने खानेकुराको विज्ञापनले उनीहरुलाई खानका लागि उकासिरहेको हुन्छ । खानपानको विज्ञापन देखेपछि बच्चाले त्यसको डिमान्ड गर्न थाल्छन् । त्यही कारण उनीहरु आवश्यक्ताभन्दा बढी खानाको सिकार हुन्छन् ।

उमेरको दोस्रो चरण (१०-२० बर्ष)

किशोरावस्थामा शारीरिक तथा मानसिक विकास तिब्र गतिमा हुन्छ । ठीक यही मोडमा आएपछि उनीहरुको खानपान शैलीले दीर्घकालिन असर गर्ने । किशोरावस्थामा उनीहरु कसरी खान्छन् भन्ने कुरा पछि ठूलो हुँदासम्म रहिरहन्छ ।

किशोरावस्थामा खानपानका लागि गरिने निर्णय, शैलीले भावी पीढींसम्म असर गर्छ । अर्थात यस चरणमा ति किशोरले जस्तो खानपान शैली अपनाएका छन्, त्यसको प्रभाव उनमा मात्र पर्दैन । उनको आउने पीढीमा पनि पर्छ ।

अक्सर के देखिएको छ भने, यतिबेला उनीहरु अनियन्त्रित रुपमा त्यस्ता खानेकुराको लतमा फस्न पुग्छन् कि, जो उनीहरुको स्वास्थ्यका लागि घातक हुन्छ । अर्को तथ्य के भने, किशोरको तुलनामा किशोरीमा यस्तो नराम्रो बानीको बढी असर हुन्छ । किनभने यस उमेरमा उनीहरुको शारीरमा प्रजननको प्रक्रिया अर्थात मासिक धर्मको सुरुवात भएको हुन्छ ।

कम उमेरमै गर्भवती हुने युवतीमा त यो चुनौती थप बढ्ने गर्छ । किनभने उनको शरीरले आफ्नो विकासका लागि पेटमा हुर्किरहेको बच्चासँग संघर्ष गरिरहेको हुन्छ ।

तेस्रो चरण (२०-३०)

युवाअस्थामा जिन्दगीमा केही परिवर्तन आउँछ । उनीहरु कलेज जान सुरु गर्छन् । बिहे गर्छन् । जागिर खान्छन् । यस क्रममा कतिपय आमाबुबा पनि बन्छन् । यी सबै कारण शरीरमा तौल बढाउनका लागि निहुँ बन्नसक्छ ।

शरीरमा जब एक पटक बोसो जम्मा हुन्छ, तब त्यसबाट छुटकारा पाउन एकदमै मुश्किल हुन्छ । जब हामी आफ्नो शरीरको आवश्यक्ताभन्दा कम खान्छौं, तब हाम्रो शरीरले तिब्र संकेत देखाइहाल्छ । जबकी हामीले शरीरलाई आवश्यक्ताभन्दा बढी खायौं भने, त्यसलाई रोक्ने संकेत एकदमै कमजोर हुन्छ । धेरैजसो शारीरिक तथा मानसिक कारण हुन्छ, जसको कारण हामी कम खाने बानीलाई लामो समयसम्म टिकाएर राख्न सक्दैनौ ।

हालैको दिनमा एक नयाँ किसिमको रिसर्च सुरु भएको छ । यसको माध्यामबाट मानिसले कम खाएर पनि सन्तुष्ट प्राप्त गर्ने तरिका विकास भएको छ ।
जो व्यक्ति तौल नियन्त्रण गर्ने प्रयासमा छन्, उनीहरुका लागि यो रिसर्च निकै उपयोगी हुनसक्छ । किनभने मानिसहरुले भोक महसुष गरेकै कारण शरीरले मागेको भन्दा बढी खाने गर्छौं ।

अलग अलग किसिमको खानाले हाम्रो मस्तिष्कमा अलग अलग संकेत दिन्छ । यही कारण हो कि, जतिपनि आइसक्रिम खाएर पनि हाम्रो दिमागले त्यसलाई रोक्ने संकेत गर्दैन । यही कारण हो कि, समोसा, चाट, पकौडा आदि खाइरहँदा कति खाने भन्ने कुरा मनमा आउँदैन ।

जबकी प्रोटिनले भरपुर डाइट होस् वा बढी पानीयुक्त फल, यी खानेकुरा सेवन गरेपछि हामीलाई चाडै पेट भरिएको अनुभूत हुन्छ । र, लामो समयसम्म त्यही महसुष भइरहन्छ ।

चौथो चरण (३० देखि ४० बर्ष)

कामकाजी उमेरमा पेटका समस्यासँगै केही चुनौती हाम्रो सामुन्ने हुन्छ । तनाव बढ्छ । तनावकै कारण ८० प्रतिशतको खानपानको बानीमा असर गरिरहेको हुन्छ । कतिपय त तनावको बेला बढी खानेकुरा खाइदिन्छन् । कतिले खाना छोड्छन् । तनावकै कारण खानपान सम्बन्धी हुने यस्ता उतारचढाव हाम्रो बानीमा रुपान्तरण हुन्छ ।

कामप्रति इमान्दार र कामलाई शालिनतापूर्वक गर्ने बानीको पनि हाम्रो खानपान र तनावसँग गहिरो नाता छ ।
कामको माहौल यस्तो बनाउनुनपर्छ, जसमा तनाव कम होस् । धेरै क्यालोरीयुक्त खानेकुराबाट बचोस् ।

पाँचौ चरण (४०-५० बर्ष)

डाइट शब्द ग्रीक जवानको डायेटियाबाट आएको हो । यसको अर्थ ‘जिन्दगी जीउने तरिका, अर्थात जीवनशैली) । तर हामी सबै बानीको गुलाम भएका छौं । हामी आफै बानीमा समेत सुधार ल्याउन वा लगाम लगाउन असमर्थ भइरहेका छौं । कुन राम्रो वा कुन नराम्रो भन्ने छुट्याएर पनि त्यसलाई सही ढंगले सम्पादन गर्न सकिरहेका छैनौं ।

मानिसहरुलाई मोटोपन ठिक होइन, तौल नियन्त्रण गर्नुपर्छ भन्ने त लागिरहेको हुन्छ । तर, उनीहरु तारेको, भुटेको, मसलेदार, मीठो मसिनो खानेकुरा खान छाड्दैनन् । अब उनीहरुले सोचेजस्तै तौल नियन्त्रण गर्न कसरी संभव छ ?

खानपानमा नियन्त्रण नगरी कसरी शरीरलाई स्वस्थ्य र तन्दुरुस्त बनाउन सकिएला ?

यो संभव नै छैन । खानपानसँग स्वास्थ्यको गहिरो र अन्र्तनिहित सम्बन्ध छ । हामी जस्तो खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ ।

विश्व स्वास्थ्य संगठन भन्छ कि, धुमपान स्वास्थ्यका लागि हानिकारक छ । मदिरा सेवनले जीवनशैली भताभुङ्ग बनाउन सक्छ । यही कारण मानिसको मृत्युदर पनि बढिरहेको छ ।

खासगरी ४० बर्ष पार गरेपछि खानपानमा थप सर्तक हुन आवश्यक छ । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा सेवन गर्नुपर्छ । यस उमेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, दम, थाइराइड आदिको समस्या हुनेगर्छ । यी सबै समस्यामा खानपान पनि एउटा कारक हुन्छ । सही र सन्तुलित खानपानले यी समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ ।

छैंटौं चरण (५०-६०)

५० बर्ष पार गरिसकेपछि कुनैपनि व्यक्तिको शरीरको मांसपेशी घट्न थाल्छ । शारीरिक निस्त्रिmयता र महिलाहरुमा रजनोवृत्तिका कारण पनि मांशपेसी घट्ने क्रम तिब्र भएर गएको छ ।

यस चरणमा स्वास्थ्यवद्धृक र पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खाएर बुढ्यौलीसँग लडाईं गर्न सकिन्छ । यतिबेला प्रोटिनयुक्त खानेकुरा बढी आवश्यक हुन्छ , जो अक्सर पुरा भएको हुँदैन ।

अहिले बजारमा प्रोटिनयुक्त खानेकुरा त पाइन्छ, तर त्यसले हाम्रो शरीरको आवश्यक्ता पुरा गरिरहेका छैन ।

सातौ चरण (६०-७०)

जति जति उमेर ढल्कदै जान्छ, शरीर उत्तिनै शिथिल र कमजोर हुँदै जान्छ । भित्री अंगहरुको कार्यक्षमता घट्दै जान्छ । यसकारण शरीरको एकदमै ख्यालबिचार गर्नुपर्ने चरण हो यो । यतिबेला गरिने स-सना गल्तीहरुले ठूला असर पारिरहेका हुन्छन् ।

बुढ्यौलीमा पोषणयुक्त, सन्तुलित, स्वास्थ्यवर्द्धक खानेकुराको अति जरुरी हुन्छ । सुपाच्य खानेकुरा आवश्यक हुन्छ । स्वाद होइन, स्वास्थ्यका लागि सोच्नुपर्ने हुन्छ । उमेर बढ्दै गएपछि शारीरिक सक्रियता घट्छ र खानेकुरामा रुची पनि घट्छ । कतिपय औषधी सेवन र खानेकुरा बार्नुपर्ने बाध्यताले पनि खानपानमा पुरै परिवर्तन आउँछ ।

बुढ्यौलीमा जीवनसाथी गुमाइसकेपछि वा परिवारबाट एक्लिएपछि एक्लै खाना खान रुचीकर हुँदैन । मुखमा स्वाद हुँदैन । चपाउन र निल्नमा पनि गाह्रो हुन्छ । खानाको बास्ना पनि अनुभव हुन्दैन । यसको नतिजा के भने, खानामा एकदमै अरुची हुन्छ । जबकी यहि चरणमा हो शरीरलाई सन्तुलित र सुपाच्य खानेकुरा चाहिने ।

हामी सबै खानाका विज्ञ हौं, किनभने हरेक दिन हामी खानेकुरा खाइरहेकै हुन्छौं । तर यस कुरामा ख्याल गर्नुपर्छ कि हामीले हरेक क्षण चपाइरहेको, खाइरहेको खानेकुरा स्वास्थ्यका लागि कति महत्वपूर्ण छ ?

बिबिसी हिन्दीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?