Comments Add Comment

सिद्धबाबाको पहिरो छल्न ड्रागन टनेलकाे अवधारणा


५ भदौ, बुटवल । स्याङ्जा घर भएका इन्जिनियर ओम शर्मा भैरहवाबाट बिदामा घर जानुपर्दा बुटवलको सिद्धबाबा मन्दिरनिर पुगेपछि एकछिन गाडी रोकेर घरमा फोन गर्छन् । डायरीमा लेनदेनको हिसाब टिपोट गर्छन् । अनि करिब तीन किलोमिटर दूरी पार गरेपछि पाल्पाको दोभान पुगेर फेरि घरमा फोन गर्छन् र सकुशल ‘मृत्यु मार्ग’ पार गरेर बाँचेको जानकारी गराउँछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएर तीन वर्ष काम गर्दा इन्जिनियर शर्माले दर्जनौंपटक यस्तै त्रास र सकस झेले । अहिले निजगढ विमानस्थलमा सरुवा भएका शर्माले भैरहवा विमानस्थल पूरा हुनै लाग्दा पहिरोको अति जोखिमयुक्त सिद्धबाबा खण्डको सडकलाई सुरक्षित बनाउन मात्र होइन, आकर्षक पर्यटकीय गन्तव्य समेत बनाएर आयआर्जन गर्न सकिने अवधारणा प्रदेश सरकारलाई दिएका छन् ।

इन्जिनियर शर्माले ल्याएको अवधारणा हो, ड्रागन टनेल । अहिलेकै सडकमाथि कंक्रिट टनेल बनाउने र त्यसलाई ड्रागनको रुप दिने अर्थात् ड्रागन टनेल । इन्जिनियर शर्माका अनुसार तल्लो सिद्धबाबा मन्दिरबाट शुरु हुने ड्रागन टनेल कूल दुई किलोमिटर चारसय मिटर लामो हुनेछ । आकाशबाट हेर्दा यो साढे दुई किलोमिटर सडक ड्रागन जस्तै घुमाउरो देखिन्छ ।

अहिलेकै सडकलाई प्रयोग गरेर ११ मिटर चौडाईको दुई लेन र सुविधायुक्त २ मिटर चौडाईको फुटपाथसहितको कंक्रिट टनेलको उचाई दुई तले बस आवतजावत गर्न मिल्ने गरी अधिकतम २७ फिटको हुनेछ ।

कंक्रिट टनेललाई जतिसुकै ठूलो पहिरो वा ढुंगा खसे पनि सजिलै धान्न सक्ने गरी बलियो ढलान गर्न सकिने इन्जिनियर शर्मा बताउँछन् । माथिबाट खस्ने पहिरो र ठूला ढुंगाहरु आर्क आकारको टनेलको माथिल्लो भागमा ठोक्किएर सीधै तल नदीमा झर्नेछन् । जसले गर्दा यात्रु, सडक र सवारी साधन सबै सुरक्षित हुनेछन् । पहाड भित्रबाट चुहिने तथा सतहमा बग्ने पानीको सहज निकासको लागि यथेष्ट व्यवस्था हुनेछ । तीन खण्ड हुने टनेलका बीच–बीचमा मान्छे छिर्न नमिल्ने गरी ठूला ठूला झ्यालहरु राखिनेछ । जसले टनेललाई भेन्टिलेटेड बनाउने छ भने यात्रुलाई बाहिरको प्राकृतिक दृश्य अवलोकन गर्न मिल्ने छ ।

इन्जिनियर शर्माले अघि सारेको योजना अनुसार, तल्लो सिद्धबाबामा पहिलो ड्रागनको मुखाकृतिबाट शुरु हुने टनेल माथिल्लो सिद्धबाबा मन्दिरमा पुगेर टुंगिनेछ । त्यहाँ केही भाग खुल्ला हुनेछ । माथिल्लो सिद्धबाबाबाट दोस्रो ड्रागन टनेल शुरु हुनेछ र रामापिथेकसको बंगारा भेटिएको स्थलमा टुंगिनेछ । केही खुल्ला ठाउँमा छाडेर तेस्रो ड्रागन टनेल शुरु हुनेछ ।

जसले गर्दा सिद्धबाबाको मन्दिर दर्शन र रामापिथेकसको बंगारा रहेको पर्यटकीय स्थल (रामापिथेकस वनस्पति पार्क) अवलोकन गर्न चाहनेहरुलाई सहज हुने छ । टनेलको बीच बीचमा दुई दर्जन झ्याल राखिने र तीन खण्डमा बनाइने भएकाले स्थानीय सर्वसाधारण आफ्नो गन्तव्यमा पुग्न र पर्यटकहरु सहजरुपमा घुम्न सक्ने इन्जिनियर शर्मा बताउँछन् ।

करिब साढे दुई किलोमिटर लामो टनेल बनाउन बढीमा दुई अर्ब रुपैयाँ खर्च हुने यसका परिकल्पनाकार इन्जिनियर शर्माको आंकलन छ । बनाउन सजिलो हुने भएकाले काम शुरु गरेको एक वर्षभित्रै टनेल निर्माण पूरा गर्न सकिने शर्माले प्रदेश सरकारका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकास मन्त्रीसम्मलाई आश्वस्त पारेका छन् ।

‘यो कन्सेप्टमा टनेल बनाउँदा अरु प्रविधिभन्दा २५ गुणा लागत सस्तो हुन्छ र एक वर्षभित्रै काम पूरा गर्न सकिन्छ’, इन्जिनियर शर्माले भने, ‘यो कन्सेप्ट सडकलाई सुरक्षित गराउने मात्र होइन, पर्यटक आकर्षित गरेर पर्यटकीय गन्तब्य बनाउने पनि हो ।’

सिंगापुरमा पनि आफूले यस्तो टनेल सफल कार्यान्वयन भएको देखेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसलाई दीगोरुपमा संचालनका लागि पर्यटकीय गन्तव्य थप्नुपर्ने भएकाले पनि यो अवधारणा आफूले अघि सारेको इन्जिनियर शर्माले खुलाए ।

यो अवधारणा कार्यान्वयन गर्न सरकारलाई समय लाग्ने हो वा पत्यार लाग्दैन भने आफूलाई जिम्मा दिए नीजि क्षेत्रका लगानीकर्ता खोजेर आफंै बनाएर देखाइदिने शर्माले प्रदेश सरकारलाई वचन दिएका छन् ।

‘कम्तीमा तीस वर्षको लागि ठेक्कामा दिनुपर्छ, म आफैं एक वर्षमा टनेल पूरा गरेर देखाइदिन्छु’, शर्माले गुनासो गर्दै भने, ‘हामीकहाँ स्वदेशी कन्सेप्ट, सीप र क्षमतालाई विश्वास नगर्ने तर विदेशीले जे भने पनि विश्वास गरिहाल्ने प्रवृत्ति छ ।’

एक सय १३ वटा साना ठूला पहिरो खसेको, १० वर्षको अवधिमा ७० जनाभन्दा बढीको पहिरोकै कारण ज्यान गएको यो करिब तीन किलोमिटर सडकलाई सुरक्षित बनाउन संघीय सरकारले सुरुङ मार्ग बनाउने भनेको छ भने प्रदेश सरकारले चट्टाने पहाड काट्ने (बेन्चकट ) प्रविधिबाट ढुंगा,माटो निकालेर बिक्री गर्ने सोच बनाएको छ । जसका लागि झुम्सा–चरंगे वैकल्पिक सडक बनाउन १० करोड रकम विनियोजन गरेको छ ।

तर पर्यटनविज्ञसमेत रहेका इन्जिनियर शर्मा अरु विकल्पभन्दा टनेल बनाउन लागत पनि धेरै सस्तो एवं नेपालमा अहिलेसम्म नबनेकाले आन्तरिक र वााह्य पर्यटकका लागि आकर्षित गरेर आयआर्जन गर्न टनेल नै उपयुक्त हुने दाबी गर्छन् । ड्रागन टनेलभित्र पैदल यात्रा गर्न र फोटो खिचाउन आन्तरिक पर्यटक मात्र नभई भारतीय शहरहरु सुनौली, नौतना, गोरखपुरसम्मबाट वाह्य पर्यटकहरुको समेत घुइँचो लाग्ने इन्जिनियर शर्माको आंकलन छ । ड्रागन टनेलबाट वार्षिक १२ करोड आम्दानी गर्न सकिने दाबी पनि उनले गरे ।

पर्यटक भुलाउन सिद्ध लेक

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एक वर्षपछि सञ्चालनमा आएसँगै आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाइ लम्ब्याउन इन्जिनियर शर्माले ड्रागन टनेलसंगै पाल्पाको दोभानदेखि झुम्सासम्मको तिनाउ नदी र आसपासको क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सिद्ध लेक (ताल) बनाउन सकिने अवधारणा अघि सारेका छन् । सिद्ध लेक दोभानको तिनाउ नदी दक्षिण तथा पश्चिमदेखि झुम्सासम्म फैलिएको हुनेछ । तालको गहिराई अधिकतम ६० मिटरको हुनेछ । र करिव ७० मिटर अग्लो र १५० मिटरभन्दा बढी चौडा कफर ड्याम बनाइने छ । अनुमानित एक अर्ब रुपैयाँ लागतमा सिद्ध लेक परियोजना शुरु गर्न सकिने र यसलाई दुई वर्षभित्र भारतको नैनीताल, सिंगापुरको मेरिना बे र पोखराको लेकसाइड जस्तै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने शर्माले सरकारलाई सुझाएका छन् ।

करिब १२ लाख वर्ग मिटर अर्थात् करिब २ सय बिघा क्षेत्रफलको तालको किनारामा ७ मिटर चौडाईको पेभ्ड फुटपाथ र केही दूरीमा डबल लेन पिच मोटर बाटो हुनेछ, जसबाट पर्यटकले उक्त पर्यटकीय तलाउको पैदल र सवारी साधन दूवैबाट सहज तरिकाले अवलोकन गर्न सक्नेछन् ।

ताल वरिपरिको फुटपाथको बीचबीचमा पर्यटकीय रेष्टुरेण्ट, रिर्सोट, बोटिङ प्वाइन्ट, क्युरिओ सप फन पार्क, फिसिङ यार्ड, ड्राइभिङ प्वाइन्ट जस्ता सुविधा हुनेछन् भने तालमाथि तीनतर्फ विशेष प्रकारका आर्कषक ३ वटा झोलुङ्गे पुल हुनेछन् । ‘क्षेत्रफल ठूलो नभई उपयुक्त भएकाले यसलाई लेकसाइड भन्दा रमणीय र आकर्षक बनाउन सकिन्छ’, शर्मा भन्छन्, ‘तालमा बोटिङ, स्वीमिङ, फिसिङ आदि जल बिहारमार्फत आन्तरिक र वाह्य पर्यटकलाई मज्जाले भुलाउन सकिन्छ ।’

इन्जिनियर शर्माका अनुसार सिद्ध लेक परियोजनाको बाँधले अति बृष्टि हुंदा कम्तीमा ५–६ घण्टा पानी स्टोरेज गर्न सक्छ, जसले गर्दा तिनाउ र दानव नदीबाट तल्लो तटीय क्षेत्र मर्चवारसम्म हुने डुबान र कटानको जोखिमलाई पनि नियन्त्रण गर्न सकिनेछ भने जलविद्युत पनि उत्पादन गर्न सकिने छ । यो परियोजना कार्यान्वयनमा आउँदा दोभान र झुम्सा क्षेत्रका ग्रामीण वस्तीका समुदायले रोजगारी र व्यवसाय गर्ने अवसर पाई उनीहरुको आयआर्जन र जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सकिने शर्माको तर्क छ ।

‘मेरा यी परिकल्पना र डिजाइन पर्यटन प्रवद्र्धनका लागि स्वतःस्फुर्त योगदान हुन्, कुनै कन्सल्ट्यान्टलाई दिने हो भने लाखौं रुपैयां लिन्छन्’, इन्जिनियरिङसहित अर्थशास्त्र, पर्यटन, समाजशास्त्र र कानुन विषयमा स्नातकोत्तर शर्माले भने, ‘राज्यले मेरा लागि नभई मुलुकको समृद्धिका लागि यो कन्सेप्टलाई अपनत्व लेओस् भन्ने मेरो आग्रह हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment