Comments Add Comment

मध्य तराईमा अत्यधिक गर्मी, वीरगञ्जको तापक्रम ४० डिग्री

७ भदौ, वीरगञ्ज । मध्य तराईमा एक सातायता अत्याधिक गर्मी बढेको छ । पर्सा-बारा-रौतहटको जनजीवन गर्मीका कारण प्रभावित छ । यस क्षेत्रमा केही दिनदेखि दिनभर चर्को घाम लागिरहेको छ ।

वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजारमा सर्वसाधरणको चहलपहल पातलिएको छ भने अस्पतालमा गर्मीका बिरामीहरुको संख्या बढेको छ ।

एक सातायता पानी कम परेकोले निकै गर्मी महसुस भएको छ । वीरगञ्जमा रिक्सा चालाउँदै आएका महोत्तरीको गौशाला घर भएका सुरेश साहले एक सातादेखि निकै गर्मी महसुस भएको बताए । ‘दिनभर चर्को घाम लाग्छ, रिक्सा चलाउन सक्ने अवस्था छैन, शितल ठाउँ खोजेर बस्ने गरेको छु’ उनले भने ‘बिहान घाम नलाग्दै अनि दिउँसो घाम ओइलाएपछि रिक्सा चलाउँछु । आम्दानी पनि घटेको छ । जिउभरी घमौरा आएर हैरान छु ।’

गर्मीले बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा-ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू बढी प्रताडित छन् । बिहीबार यहाँको अधिकतम तापक्रम ४०.५ डिग्री मापन गरिएको छ भने न्युनतम तापक्रम २७ डिग्री सेल्सियस छ ।

बिहीबारको तापक्रम दुई महिना यताकै उच्च रहेको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको अटोमेटिक वेदर स्टेशनका अभ्जर्भर कामेश्वर राउत कम्कडले बताए ।

‘एक सातादेखि गर्मी निकै बढेको महसुस भएको छ । मौसममा सुधार आउन सकेको छैन’ उनले भने ‘पानी नपरेकोले पनि होला बैशाख जेठको जस्तै गर्मी छ, बिहीबार अधिकतम तापक्रम ४०.५ डिग्री पुग्यो, न्युनतम पनि २७ छ ।’

अटोमेटिक वेदर स्टेशनले वीरगञ्जको सबैभन्दा बढी तापक्रम ४२ डिग्रीसम्म मापन गरेको उनको भनाइ छ । वेदर स्टेशनको रेकर्डअनुसार एक सातामा तीन दिनमात्रै पानी परेको छ । स्टेशनले भदौ ४ गते ८.५ मिलिलिटर, भदौ ६ गते ३ मिलिलिटर र भदौ ७ गते ३.८ मिलिलिटर वषर्ाको मापन गरेको छ ।

यसअघि बुधबारको तापक्रम ३५ डिग्री सेल्सियस मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment