Comments Add Comment

चिकित्सकको रुखो व्यवहारले रोगीको मनोवल कमजोर

तपाईं, हामी अस्पताल जान्छौं । अस्पतालको गेटबाट प्रवेश गर्दै गर्दा हाम्रो मन स्थिर हुँदैन । शारीरिक, मानसिक चिन्ताले हामी थाकिसकेका हुन्छौं ।

अस्पतालमा पुगेपछि के हुने हो ? खर्च कति लाग्ने हो ? कति समय लाग्ने हो ? थाहा हुन्न । पैसाको जोहो गर्नुपर्छ । समय मिलाउनुपर्छ ।

त्यहाँ टिकटको लम्बेतान पंक्ति हुन्छ । पंक्तिमा उभिएर टिकट लिन्छौं । यसबापत केही शुल्क लाग्छ । कति लाग्छ ? त्यो पनि एकरुपता हुँदैन । कुनै अस्पतालमा एक सय रुपैयाँ हुन्छ, कुनैमा पाँच सयले पनि भ्याउँदैन ।

टिकट काटेपछि अर्को पंक्ति लाग्छ, सम्बन्धित विभाग एवं चिकित्सकको । त्यो पंक्ति पनि पार गरेर चिकित्सककहाँ पुग्छौं । यतिबेला एउटा रोगीको हालत कस्तो भइसकेको हुन्छ ?

शरीरमा पीडा, मनमा चिन्ता ।

बिरामीले आफ्नो समस्या बताउँछन् । रोगीले झेलिरहेको समस्या अनुरुप त्यसको निदान खोजिन्छ । यो आफ्नो ठाउँमा छ ।

तर, जब बिरामी चिकित्सकको सामु पर्छन्, उनीहरु रुखो व्यवहार गर्छन् । विरामीलाई उपेक्षा गर्छन् । बिरामीले राख्ने जिज्ञासाको उत्तर दिदैनन् । विरामीलाई थर्काउँछन्, ‘किन यतिका समयसम्म उपचार नगराएको ? किन यो गरेको ? किन त्यो नगरेको ?’

विरामीलाई डर देखाउँछन्, ‘यो केसमा यस्तो जटिलता पनि हुनसक्छ । त्यसमा हाम्रो केही गल्ती हुँदैन ।’ चिकित्सकको यस्तो व्यवहारले एउटा रोगीलाई कस्तो प्रभाव पार्छ होला ?

चिकित्सकको रुखो बोली

केही समयअघि भक्तपुर, ठिमीस्थित कोरिया-नेपाल मैत्री अस्पतालमा पुगेका एक बिरामीसँग चिकित्सकहरुले नराम्रो व्यवहार गरे । प्रजनन सम्बन्धी समस्या लिएर पुगेका ति बिरामीलाई चिकित्सकले सही परामर्श दिनुभन्दा पनि रुखो व्यवहार गरेर फर्काइदिए ।

‘त्यहाँ केही महिला चिकित्सक थिए’ उनले सुनाए, ‘उनीहरुको व्यवहार एकदमै अभद्र किसिमको थियो । मैलें आफ्नो समस्या सुनाएर त्यसको उपचार के हुन सक्छ भनी सोधें । तर, उनीहरुले मसँग यस्तो बोलीबचन गरे त्यो सहन सकिने खालको थिएन ।’

पेशागत होइन, व्यक्तिगत प्रवृत्ति

सबै चिकित्सक त्यस्ता हुँदैनन् । यो पेशागत भन्दा पनि व्यक्तिगत प्रवृत्ति हो । हामी ठान्छौं, राम्रो पेशामा आवद्ध भएका, पढेलेखेका व्यक्ति समझदार हुन्छन् । सभ्य हुन्छन् । तर, यी  व्यक्तिगत प्रवृत्तिसँग जोडिएर आउने कुरा हुन् । उनीहरु हुर्कने संस्कारले पनि यसमा प्रभाव पार्छ । त्यसैले सबै चिकित्सक समझदार, सभ्य, सौम्य, शालिन हुन्छन् भन्ने हुँदैनन् । कतिपय चिकित्सक विरामीसँग एकदमै अमानविय व्यवहार गर्छन् ।

मानविय व्यवहारको अपेक्षा

के पनि हो भने, चिकित्सा पेशा आफैमा जटिल हो । हरेक क्षण रोगीहरुको सम्पर्कमा रहनुपर्छ । अरुको रोग, दुख, पीडाको प्रभाव उनीहरुमा पनि पर्न सक्छ । तर, आफ्नो पेशागत प्रवृत्ति कस्तो हो भन्ने पूर्व मानसिकता त चिकित्सकले सो क्षेत्रमा करियर बनाउनुअघि नै बनाइसकेका हुनुपर्ने हो । त्यसैले जतिबेला उनीहरु बिरामीका सामुन्ने हुन्छन्, आफ्नो दायित्व एवं कर्तव्यको पालना गर्नुपर्ने हो ।

कतिपय रोगीहरु चिकित्सकको नराम्रो व्यवहारको शिकार बनिरहेका हुन्छन् । कतिले यसलाई व्यक्त गर्छन्, कतिले गर्दैनन् । कुनै रोग लिएर चिकित्सककहाँ उभिएका रोगीलाई प्रहरीले अपराधीसँग केराकार गरेकै शैलीमा पनि सोधपुछ गरिरहेका हुन्छन् ।

रोगीले आफ्नो रोगबारे सम्पूर्ण रुपमा बताउन सकिरहेका हुँदैनन् । वा चिकित्सकले सोध्ने प्रश्नको सही जवाफ दिन सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा पनि कतिपय चिकित्सक रिसाउने गर्छन् । विरामीमाथि फरक किसिमको व्यवहार गरिरहेका हुन्छन् ।

रोगीको मनोदसा कस्तो हुन्छ ?

वास्तवमा एउटा चिकित्सकले रोगीसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्ने हो । किनभने रोगी आफैमा शारीरिक, मानसिक रुपले थाकिसकेका हुन्छन् । उनीहरुमा आफ्नो रोगलाई लिएर अनेक शंका उपशंका उब्जिरहेको हुन्छ । दुखाई, पीडा पनि झेलिरहेकै हुन्छ । त्यसमाथि उपचारमा लाग्ने संभावित खर्च वा जटिलताले पनि उनीहरुलाई तर्साइरहेकोे हुन्छ । रोगीको मनोदसा कस्तो छ ? उनीहरु कति जटिल अवस्थामा छन् भन्ने कुरा चिकित्सकले महसुष गर्नुपर्ने हो ।

चिकित्सकले कुनैपनि रोगको लक्षण, उपचार विधी आदिबारे विज्ञता हासिल गरेका हुन्छन् । उनीहरुले सुरुवातमा रोगीसँग कुरा गर्छन्, उनीहरुको स्वास्थ्य स्थितीको सम्बन्धमा जानकारी लिन्छन्, विगतमा स्वास्थ्य स्थिती के-कस्तो अवस्थामा थियो भन्ने कुरा बुझ्छन्, प्रारम्भिक जाँच गर्छन् र रोगको पहिचान गर्छन् । आधारभूत स्वास्थ्य जाँचमा रोग पहिचान नभए अन्य विधीहरु अपनाइन्छ ।

तर, कुनैपनि चिकित्सकले शारीरिक संरचना, रोग, त्यसको उपचार विधीबारे मात्र जानेर पुग्दैन ।  विरामीको मनोदसा कस्तो हुन्छ ? उनीहरुसँग कस्तो व्यवहार गर्ने ? मानविय पाटोको यी कुरा पनि जान्नुपर्छ ।

सार्वजनिक गाडीका चालक-सहचालकलाई त यात्रुसँग कस्तो व्यवहार गर्ने भनेर सिकाइन्छ । चिकित्सा जस्तो संवेनसिल क्षेत्रमा काम गर्नेहरुले त यस कुरामा थप ध्यान पुर्‍याउनुपर्छ । विरामीसँग मित्रवत् व्यवहार गर्नुपर्छ । शालिन, सभ्य र मिठो भाषामा उनीहरुसँग कुराकानी गर्नुपर्छ । रोगको जटिलता देखाएर बिरामीलाई हतोत्साही गराउनु हुँदैन । थप त्रास देखाउनु हुँदैन ।

आत्ममनोवलः एक उपचार

भनिन्छ, रोगको उपचार शल्यक्रिया वा औषधीबाट जति संभव हुन्छ, उत्तिनै रोगीको आत्ममनोबलबाट पनि । रोगीको आत्ममनोबल उच्च भयो भने उनमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसले उनीहरुमा रोगसँग सजिलै जुध्न सक्छन् ।

खुसी वा सन्तोषलाई पनि कतिपय रोगको उपचार मानिन्छ । त्यसैले चिकित्सकले रोगीसँग यस्तो व्यवहार गर्नुपर्छ, जसले उनीहरुलाई खुसी तुल्यायोस् ।

चिन्ता वा तनाव आफैमा रोग हो । यसको ब्यारोमिटर बढाउने वा घटाउने हात पनि चिकित्सकसँग हुन्छ । चिकित्सकले विरामीलाई सान्तवना दिने, संभावनाका कुराहरु गर्ने हो भने विरामी तनावमुक्त हुन्छन् । यसले पनि उनीहरुको शरीरमा शक्ति मिल्छ । उर्जा मिल्छ ।

रोगीलाई केवल ग्राहक मात्र ठानेर होइन, आफ्नो दाजुभाई, दिदीवहिनी, छोराछोरी, आमाबुबा ठानेर प्रेमपूर्वक व्यवहार गर्नु उपयुक्त हुन्छ । यसले रोगी वा तिनका आफन्तलाई केही मात्रामा भएपनि राहत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment