+
+

बालबालिकामा बढ्दैछ थाइराइडको समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १०:३५

थाइराइडको समस्या प्रायः वयष्क उमेरका मानिसहरुमा देखिने गर्छ । पछिल्लो समय थाइराइडसम्बन्धी समस्याबाट ग्रसित हुनेमा युवा, वयस्क र वृद्ध वृद्धामात्रै नभएर १८ वर्ष मुनिका बालबालिकासमेत रहने गरेका छन् ।

यो समस्या किन हुन्छ, धेरैलाई थाहा छैन । तथापि, नेपालमा थाइराइड सम्बन्धी समस्याबाट ग्रसित हुनेको संख्या उच्च हुने गरेको छ । अटो इम्युन समस्या तथा खानामा आयोडिनको मात्रा धेरै हुने कारणले पनि नेपालमा धेरैलाई थाइराइडको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।

पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत इन्डाक्राइनोलोजिस्ट डाक्टर प्रियदर्शिनी योञ्जन भन्छिन् ,‘खानामा आयोडिनको मात्रा धेरै भएमा यसले थाइराइड ग्रन्थी भत्काइदिन्छ । जसले गर्दा थाइराइडको समस्या निम्तने गर्छ’ ।

त्यसबाहेक, आयोडिनको कमी हुने ठाउँमा आयोडिनको कमी भएमा, थाइराइडको संक्रमण, विभिन्न किसिमका औषधीको प्रयोगका कारण पनि थाइराइड हुने गर्दछ ।

त्यस्तै, शरीरमा हर्मोनको उत्पादन बढी भई हाइपर थाइराइडिज्मको समस्या भएमा २० देखि ३० वर्ष उमेरका महिलाहरुमा थाइराइडको समस्या देखिन्छ भने हर्मोनको कमी भई हाइपोथाइराइडिज्मको समस्या भएमा ४०–५० वर्ष उमेर पार गरेका महिलाहरुमा पनि यो समस्या देखिने गर्छ ।

त्यसबाहेक, अटो इम्युनको समस्या भएमा पनि थाइराइडको सम्भावना उच्च हुने गर्छ ।

अटो इम्युन डिजिज भएमा शरीरको प्रतिरोधी क्षमताले शरीरको कुनै अंग (थाइरइड ग्रन्थी, मिर्गौला, छाला लगायतका अंगहरु) लाई नचिनेर उक्त अंगलाई भित्रबाटै भत्काईदिने वा उक्त अंगमा हमला गरिदिन्छ । र, थाइराइड लगायतको समस्या निम्तने गर्छ ।

अटो इम्युन समस्या हुनको लागि शरीरको संरचना त्यही तरीकाले बनेको हुनुपर्छ । तर अटो इम्युन समस्यालाई ट्रिगर गर्ने वातावरणीय समस्याहरु हुन्छ । जसमध्यको एउटा आयोडिन पनि भएकाले डाइटकै कारण अटो इम्युन समस्या भने पटक्कै हुँदैन ।

त्यसबाहेक, भाइरल रोगको संक्रमण, औषधीको सेवन, घाँटीमा रेडिएशन थेरापीको प्रयोगका कारण पनि थाइराइड हुने सम्भावना उच्च हुने गर्छ ।

नेपालमा थाइराइडबाट संक्रमित बालबालिकाको यकिन तथ्यांक छैन । तर एकदेखि दुई प्रतिशत बालबालिका तथा अठार वर्ष नाघेका करिब चार प्रतिशत वयष्कहरुमा थाइराइडको समस्या हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

के हो थाइराइड ?

समयमै उपचारद्वारा नियन्त्रण गर्न सकिने रोग भएका कारण थाइराइड हुँदैमा आत्तिहाल्नु पर्दैन । र, प्रजनन स्वास्थ्यमा पनि यसले खासै असर गर्दैन । तथापी, समयमै रोग पहिचान नभएको खण्डमा थाइराइडका कारण बाँझोपना हुने तथा गर्भ तुहिने भएकाले यसका लक्षण देखा परेमा भने एक पटक अवश्य थाइराइडको परीक्षण गराउनु पर्दछ ।

रगतमा थाइराइडको परीक्षणद्धारा थाइराइड पत्ता लाग्नुका साथै कस्तो किसिमको थाइराइड हो भन्ने समेत पत्ता लगाउन सकिने हुदाँ यो जाँचलाई निकै प्रभावकारी मानिन्छ ।

थाइराइड कुनै रोग नभएर घाँटीमा हुने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थीबाट थाइराइड हर्मोन उत्पादन हुन्छ, जसले शरीरलाई ताकत प्रदान गर्छ ।

कुनै कारणवस थाइराइड ग्रन्थीमा समस्या भएमा थाइराइडको समस्या हुने गर्छ । र, थाइराइडको समस्या दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म (हर्मोन कमीको समस्या) र हाइपो थाइराइडिज्म (हर्मोन बढी हुने समस्या) ।

थाइराइडको लक्षण

हाइपो थाइराइडिज्म भएमा शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने ) कम हुने गर्छ । जसले गर्दा दुविधा बढ्ने, मुड ठीक नहुने, स्मरण शक्ति कमजोर हुने, चिडचिडापन हुने, अल्छी लाग्ने गर्दछ ।

डा. प्रियदर्शनी योञ्जन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ

थाइराइइडको लक्षण रोग अनुसार फरक हुने भएकोले यसको लक्षण पनि फरक फरक हुने गर्छ । शरीरमा हर्माेनको कमीका कारण हाइपोथाइराइडिज्म समस्या भएमा शरीरमा इनर्जी दिने हर्मोन को कमी हुने गर्छ । जसले गर्दा शरीर कमजोर हुने , थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने, छाला फ्रुुस्रो हुने, जीउ सुन्निने, तिव्र गतिमा तौल बढ्ने, गर्मी तथा चिसो छिट्टै महसुस हुने, कब्जियत हुने, अनिद्रा, कपाल झर्ने लगायतको समस्या निम्तने गर्छ ।

तर, यस्ता लक्षण आफैंमा वृहत भएकाले यस्ता लक्षण जोसुकैलाई देखिन सकिन्छ । विशेषगरी, महिलामा यो समस्या बढी हुन्छ ।

जब कि शरीरमा हर्मोनको मात्रा धेरै भएमा यसको लक्षण पनि ठीक उल्टो हुन्छ । जसले गर्दा शरीर दुब्लाउँदै जाने, हातखुट्टा काफ्ने, धेरै पसिना आउने, शरीर तात्ने, दिशा लाग्ने गर्दछ ।

एउटा सामान्य व्यक्तिमा थाइराइडकोे अपर रिफरेन्स रेन्ज ४.२ देखि ५.५ भएमा चिकित्सकहरु यसलाई सामान्य स्तर मान्ने गर्छन् भने बच्चाहरुमा टिएचएसको स्तर १० सम्म भएमा त्यसलाई सामान्य भन्ने गर्दछन् । बालबालिकामा यदी टिएचएसको स्तर १० भन्दा माथि भएमा त्यसलाई असामान्य भन्ने गरिन्छ । र , यस्तो अवस्थामा बालबालिकालाई तुरुन्तै औषधी सेवन गर्न सल्लाह दिइने गरिन्छ ।

थाइराइडका प्रकार

थाइराइड सामान्यतया दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म र हाइपो थाइराइडिज्म । थाइराइड ग्रन्थीले आवश्यक्ता भन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यसैगरी, शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

हाइपोथाइराईडिज्म र हाइपर थाइराईडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । तथापि, हर्मोनको उत्पादन हुने समस्याको तुलनामा हर्मोनको कमी हुने समस्या धेरै देखिने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा धेरै हुन्छ ।

यो आणुवंशिक रोगसमेत भएकाले परिवारका कुनै व्यक्तिमा यो समस्या देखिएमा परिवारका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । अझ यो रोग अटो इम्युन समस्याका कारण भएको हो भने आमाबाट छोराछोरीमा तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ ।

उपचार विधि

थाइराइडको उपचार रोग अनुसार फरक हुने भएकोले कुनै व्यक्तिलाई थाइराइडको समस्या भएमा सबैभन्दा पहिले कारण खोज्न जरुरी छ । त्यस पश्चात्त थाइराइडको समस्या कुन किसिमको हो ? निको हुने हो कि हैन ?

किनकि अटो इम्युनका कारण थाइराइडको समस्या भएमा यो रोग निको हुँदैन । जब कि, भाइरस संक्रमणका कारण थाइरोडाइटिस् भएमा ८० प्रतिशत व्यक्तिमा यो रोग आफंै निको हुने भएकाले रोगको पहिचान गरी उपचार छिटो गर्न जरुरी छ ।

अन्यको हकमा भने चिकित्सकको परामर्श अनुसार थाइरोक्सिन वा थाइरोनम नामक औषधीको सेवनद्वारा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

थाइरोक्सिन र थाइरोनम आफंैमा एक प्रकारको हर्मोन भएकाले यसको सेवनले शरीरलाई खासै असर गर्दैन । तथापि, हाइपर थाइराइडिज्म (थाइराइडको उत्पादन धेरै भएमा) को समस्या भएमा त्यसलाई नियन्त्रण गर्न केही समस्या हुने भएकाले यसको नियन्त्रणका लागि एन्टी थाइराइड हर्मोन दिइने गरिन्छ । त्यसका बाबजुद यदि कुनै कारणवस उक्त औषधीले काम नगरेको खण्डमा झोल आयोडिन वा रेडियो एक्टिभ आयोडिन समेत खुवाइने गरिन्छ ।

के गलत खानपानले पनि थाइराइड हुन्छ ?

यो रोग जीवनशैलीका कारण लाग्ने रोग नभएका मधुमेह, उच्च रक्तचापमा जस्तो यसमा डाइटको खासै भूमिका हँुदैन । तर, आयोडिनको मात्रा धेरै भयो भने यसले थाइराइडको समस्या निम्त्याउन सक्छ । यहाँ बुझ्न के जरुरी छ भने यो रोग जंकफुड, प्रोसेस्ड फुडकै कारण लाग्ने रोग भने पटक्कै हैन । त्यसैले, यसको प्रत्यक्ष सम्बन्ध पनि खानासित खासै हुँदैन ।

तथापि, पहाडतिर हुने गलगाँडको समस्या आयोडिनको कमीले गर्दा हुने भएकाले यो समस्या भएमा फोसिफेरस तरकारी जस्तै बन्दा, काउली लगायतका खानेकुरा नखान सल्लाह दिइने गरिन्छ । यसको कारण के हो भने यस्ता खानेकुराको सेवनले थाइराइडको फंसनमा असर गर्न सक्दछ ।

त्यो पनि शरीरमा आयोडिनको कमी छ वा गलगाँडको समस्या छ भने मात्र थाइराइडको समस्या ल्याउन सक्ने भएकाले त्यस्तो खानेकुरा नखान सल्लाह दिइने हो । तर बन्दा, काउली खाँदैमा थाइराइड हुन्छ नै भन्ने चाहिँ हुँदैन ।

(यो सामाग्री थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. प्रियदर्शनी योञ्जनसितको कुराकानीमा आधारित छ । उनी हाल पुल्चोकस्थित काठमाडौ डायविटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत छिन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?