Comments Add Comment

कोरियन एनजीओले बनाइदिएको करुणाको खोर

जसले खोर बनाउँछ उसले चल्ला पाउँछ र सहयोगस्वरुप पैसा पनि । कोरियाली गैरसरकारी संस्था जीएनआई अथवा गुडनेबर इन्टरनेसनलले डोटी निवासी करुणा कुँवर यस्तो आश्वासन दियो ।

जीएनआईका मानिसहरुको आश्वासन सुन्नासाथ डोटीको गाँजरी दानकोटकी करुणा कुँंवर जोसिइन् । उनले तुरुन्तै खोर बनाइन् । गतसालको मंसिरको महिनाको कुरा हो यो ।

स्थानीय साझेदार संस्थाले तुरुन्तै ५४ वटा चल्ला प्रदान गर्‍याे । खोर बनाइसकेपछि परियोजनाले उनलाई केही अनुदान प्रदान गर्‍याे भने केही रकम स्थानीय सहकारीबाट सस्तो ब्याजमा ऋण लिइन् ।

करुणाले लिएकोमध्ये धेरैजसो ऋण यसैवर्ष तिरिसकेकी छन् । ‘२७ हजार अनुदान पाएँ, ६० हजार ऋण लिएँ,’ उनले भनिन् । करुणाका अनुसार स्थानीय सहकारीबाट लिइएको ऋणको ब्याज ६ प्रतिशत लाग्ने रहेछ । बाँकी ब्याज परियोजनाले तिरिदिँंदो रहेछ ।

जीएनआईले विश्व खाद्य कार्यक्रमको व्यवस्थापनमा डोटी जिल्लाका साबिकका ७ गाविसमा जिरो हंगर अथवा शुन्य भोकमरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमका लागि कोरियाली अन्तरराष्ट्रिय सहयोग कार्यक्रम कोइकाले आर्थिक सहयोग गरेको छ ।

करुणाले बनाएको खोरमा गतवर्ष पुसको जाडोमा चारवटा चल्ला टिकेनन् । बाँकी चल्ला भने अहिले तन्नेरी भए । केही भाले, केही पोथी । भालेको संख्या बढी भएका कारण २/४ भाले बेचिदिइन् । भर्खरै मात्र उनले दुईवटा भाले ५ हजार रुपैयाँमा बेचिन् । उनले पालेका भाले निकै ठूला छन् ।

अहिले उनको खोरमा बढेमानका केही भाले र ३२ पोथी छन् । गिरीराज जातका यी ३२ पोथीले दैनिक करिव एक क्यारेट अण्डा दिन्छन् । अण्डा छिमेकी गाँजरी बजारमा हाताहाती बिक्री हुन्छ ।

करुणाले अहिले तरकारी पनि लगाउन थालेकी छन् ।

डोटीको कूल जनसंख्या करिव २ लाख १२ हजार मानिन्छ । सोमध्ये ५४ प्रतिशत महिलाको जनसंख्या छ । हरेक परिवारका पुरुष सदस्य भारत लगायतका मुलुकमा रोजगारीका लागि विदेशिन्छन् ।

तर, खुशीको कुरा, करुणाका पति भने गाउँमै बसेका छन् । उनी निजी स्रोतमार्फत स्थानीय विद्यालयमा पढाउँछन् । निजी स्रोतबाट तलब खानु परेकाले सरकारले तोकेको तलबमान भन्दा ७५ प्रतिशत कम रकममा उनी काम गर्दा रहेछन् । यसैबाट भए पनि करुणालाई केही सजिलो भएको छ ।

कुखुरा पालेपछि उनलाई एउटै कुराको चिन्ता छ, चाडबाडमा माइती गएका बेला घरतिरका आफन्तले कुखुरा काटेर खाइदेलान् कि ? ‘बेलाबेलामा फोन गरेर श्रीमानलाई सजक पार्छु’, उनी भन्छिन् ।

करुणाजस्तै करिव एक लाख मानिसलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।

यस जिल्लाको प्रतिव्यक्ति आय ७ सय ७४ अमेरिकी डलर मानिन्छ । जुन नेपालको औषत प्रतिव्यक्ति आयभन्दा करिव एक चौथाइले कमी हो । नेपालको औषत प्रतिव्यक्ति आय ११ सय ६० डलर मानिन्छ ।

डोटी जिल्लाको गरिवीको तथ्यांक पनि डर लाग्दो छ । करिव ४९ प्रतिशत मानिस गरिवीको रेखामुनि बसोबास गर्दै आएका छन् । दैनिक ०.५ अमेरिकी डलर अथवा हालको सटहीमा करिव ५८ रुपैयाँभन्दा कम आयमा बाँच्ने मानिसलाई नेपालमा गरिव मानिन्छ ।

नेपालको कूल जनसंख्याको करिव साढे २३ प्रतिशत मानिस यस्तो जिवन यापन गर्दैआएको तथ्यांक छ । डोटी जिल्लामा ५६ प्रतिशत साक्षरता रहेको छ भने ७३ प्रतिशत पुरुस र ४३ प्रतिशत महिला साक्षर छन् । त्यस्तै ५ वर्ष मुनिका करिव ५८ प्रतिशत बालबालिकामा सन्तुलित आहारको कमी रहेको छ ।

यहाँ करिव ६५ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा छ भने ३० प्रतिशत जनसंख्याले विजुलीको सुविधा पाएका छन् । ४१ हजार ३ सय ८३ घर परिवारमध्ये करिव ९५ प्रतिशतसँग आफ्नै घर छ । त्यस्तै ती घरमध्ये करिव ९६ प्रतिशतले दाउरामा खाना पकाउँछन् । दाउराको प्रयोग गरिने हुनाले डब्लूएफपीले सुधारिएको चुलोमा पनि सहयोग गरेको छ ।

यस जिल्लामा करिव ४२ लाख ४७ हजार पशुपन्छी पालन गरिएको तथ्यांक छ । सबैभन्दा बढी करिव १५ लाख बाख्रा छन् । यस जिल्लामा वार्षिक २७ सय टन मासु उत्पादन हुन्छ ।

त्यस्तै करिव १३ लाख पशुबाट वार्षिक १७ हजार मेट्रिक टन दुध उत्पादन हुन्छ । त्यस्तै करिव २३ हजार कुखुराबाट वार्षिक ३७ लाख थान अण्डा उत्पादन हुन्छ । करिव २ हजार वर्गकिलोमिटर जमीन रहेको यस जिल्लाको ७४ प्रतिशत जमिन जंगलले ढाकेको छ ।

जिल्लाको सदरमुकाम दिपायल आसपासमा बढीमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ भने उच्च पहाडी भागमा शुन्य डिग्रीसम्म तल झर्छ । यस जिल्लाका ७२ प्रतिशत मानिसले खेती गर्दछन् । तर, अधिकांशलाई वर्षभरि खान पुग्दैन ।

वर्षभरि खान नपुग्ने भएकाले डब्लूएफपीले क्यास फर एसेट्स कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत कोइकाको सहयोगमा बाटो, सिंचाइ तथा खानेपानीलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । ती कार्यक्रममा परियोजना लागू भएको क्षेत्रका हरेक घरपरिवारका एक सदस्यले पूर्वाधार निर्माणमा काम गर्न पाउँछन् ।

‘जिरो हंगर’ परियोजना लागु हुनुअघि जीएनआईले दुईटा गाविसका अति गरिबहरुका लागि बाख्रा वितरण गरेहको रहेछ ।

‘सिजनल माइग्रेसन उच्च रहेकाले घरपरिवारमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र रहने हुनाले उनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमले हामीले सोचेभन्दा बढी सफलता हासिल गरेको हामीले पनि फिल्डमा नै जानकारी पायौं’, विश्व खाद्य कार्यक्रमकी अनुगमन तथा मूल्यांकन प्रमुख कान्ता खनालले भनिन् ।

उनका अनुसार परियोजना लागू भएका स्थानहरुमा महिलाको अवस्थामा सुधार आउनुका साथै बालबालिकाको स्कुल जाने क्रम बढेको छ । यस्तै ग्रामिण क्षेत्रमा सडक निर्माण गरिएकाले आवतजावतमा पनि सजिलो भएको पनि उनले बताइन् ।

निर्माण कार्यमा खटिएका घरपरिवारका सदस्यहरुले स्थानीय सरकारले तोकेको दैनिक ज्याला प्रदान गरिन्छ । दाताले सञ्चालन गरेको कार्यक्रममा लाभग्राहीले एक पैसा पनि लगानी गर्नुपर्दैन । बरु उल्टै पैसा पाइन्छ । सुरुमा लाभग्राहीले पनि लगानी गर्लान् भन्ने दाताले आशा गरेका रहेछन् । तर, आपसी छलफलपछि त्यो असंभव भएछ । तीन हजारभन्दा बढी मानिसले रोजगारी पाएको पूर्वी चौकी गाविसले जानकारी दियो ।

“छोटो समयमा धेरै काम गरेर परियोजना समाप्त हुँंदैछ । अरु केही समय थप भइदिएको भए हामी अझ बढी काम गर्न सक्थ्र्यौं” गाउँपालिका प्रमूख दीर्घराज बोटीले भने । साबिकका ७ गाविसमा कार्यक्रम सञ्चालन भएकोमा संघीयता कार्यान्वयनपछि ६ गाविस मिलेर पूर्वी चौकी गाउँपालिका बन्यो भने एउटा लडागाडा गाविस भने दिपायल सिलगढी नगरपालिकामा गाभियो । त्यसैले हाल जिरो हंगर कार्यक्रम पूर्वी चौकी गाउँपालिका र नगरपालिकाको एउटा वडामा सञ्चालित छ ।

‘सामाजिक परिचालन तथा जनचेतना, पूर्वाधार विकास र शिपविकास मार्फत जीविकामा सुधार गरी ३ किसिमका कार्यक्रम सञ्चालन गरिएका छन्’, जिरो हंगर परियोजनाकी कार्यकारी निर्देशक मिन जोङ किमले भनिन् । उनले सिलगढीमै बसेर कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । स्थानीयस्तरमा कार्यक्रम सञ्चालनका लागि दुई गैरसरकारी संस्थाले सहयोग गरेका रहेछन् ।

मिनका अनुसार परियोजना क्षेत्रका लाभाग्राहीसँग ४ दिन दोहोरो छलफल गरेर उनीहरुको आवश्यकता र माग अनुसारका कार्यक्रम तयार पारिन्छ । समुदायकै सहभागितमा उनीहरुकै परियोजनालाई दाताको पैसामा सञ्चालन गर्ने परियोजना मोडेललाई सायमाउल उनदोङ ग्रामिण विकास मोडेल भनिँदो रहेछ । यही मोडेलको विकास कार्यक्रम लागू गरेका कारण दक्षिण कोरियाले छिटै विकास गरेको विश्वास छ ।

त्यस्तै डब्लूएफपीले समूदायमा भौतिक पूर्वाधार तथा शीपमूलक तालिम प्रदान गर्न क्यास फर एसेट्स र क्यास फर ट्रेनिङ कार्यक्रम सञ्चालन गरेको छ । कार्यकारी निर्देशक किमका अनुसार दुर्गम स्थान भएका कारण भनेकै बेला सोचेजतिको छरितो मान्छे पाउन कठीन भयो भने राजीनितक कार्यक्रमहरुले पनि परियोजना कार्यान्वयनमा असर पारेको थियो ।

डोटीमा तरकारी खेती भने खासै देखिएन । बेंसीमा धार र बारी कोदो मज्जाले पाकेको देखियो । अन्य जिल्लामा जस्तै कोदोबारीमा बोडी लगाउने चलन देखिएन । नत इस्कुस फर्सि नै । जीरो हंगर लागू भएका स्थानहरुमा आधुनिक टनेलमा पनि तरकारी पाइयो । तर, अन्य ठाउँमा देखिएन् । क्रयशक्ति भएकाले छिमेकी जिल्लाहरुबाट तरकारी मगाएर खाँदा रहेछन् । अरुले निस्तै भात । कोदोको ढिँडो खाइन्न, रोटीको प्रचलन रहेछ ।

विश्वमा दैनिक ८० करोड भन्दा बढी मानिस अथवा विश्व जनसंख्यामा हरेक ९ जनामध्ये एक जना भोकै रात काट्छन् । त्यस्तै विश्व जनसंख्यामा हरेक ३ मध्ये एकजना सन्तुलित खानाबाट वञ्चित छन् ।

विश्वमा उत्पादितमध्ये आधा खाद्यवस्तु उपभोक्ताको गाँसमा पुग्नुअघि नै नष्ट भएर जाने तथ्यांक छन् । यस तथ्यलाई मध्यनजर गर्दै विश्व समूदायले सन् २०३० भित्रमा विश्वमा दिगो विकासका लागि १७ वटा लक्ष्य स्थापित गरेको छ । सोमध्ये दोस्रो नम्बरको लक्ष्यमा शुन्य भोकमरी अथवा जिरो हंगर रहेको छ । यस अन्तर्गत भोकमरीको अन्त्य, खाद्य सुरक्षाको व्यवस्था, सन्तुलित भोजनमा सुधार तथा दिगो कृषिको प्रवद्र्धन रहेका छन् ।

नेपालमा पनि पौष्टिक खानाको कमीका कारण ५ वर्षमुनिका ४१ प्रतिशत वालवालिकाको उचित वृद्धि हुनसकेको छैन । त्यस्तै २९ प्रतिशत बालबालिका हुनुपर्ने भन्दा कम तौलका छन् भने ११ प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ ।

त्यस्तै ४८ प्रतिशत गर्भवती महिलामा शुक्ष्म पोषक तत्वको कमीका कारण रगको कमी छ । यस्ता आमाबाट जन्मिने बच्चाको जान्ने क्षतामा कमी आउनुका साथै स्वास्थ्य क्षेत्रमा बढी खर्च हुन्छ भने यसले गरिबी बढाउने विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment