+
+

डीभीदेखि डिभोर्ससम्मः कीर्ते कागज देखाएर दोस्रो बिहे !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७५ मंसिर १ गते १२:४६

म ३४ वर्षकी युवती हुँ । विवाह हुनुअघि म एउटा एनजीओमा रिसर्चको काम गर्थेँ । ०६८ सालको कुरा हो, फिल्डको काममा साथीको घर (बिराटनगर) पुगेकी थिएँ । साथीकी ममीले बिहे-सिहेका बारेमा सोध्नुभयो । उहाँकी माइजूले केटासँग कुरा चलाउनुभयो ।

बिहे गर्न केटा दुबईबाट आउनुभयो । उहाँहरुले केटी मन परिन् भन्नुभयो । मलाई पनि केटो मन पर्‍यो । केटाले पनि केटी मन पर्‍यो भनेपछि बुबाममीले पनि केही भन्ने कुरा भएन । यसरी ०६८ साल फागुन १९ गते इन्गेजमेण्ट गरेर २९ गते हाम्रो सामाजिक परम्परा अनुसार बिहे भयो ।

हामीले चैत १६ गते बिहे दर्ता गर्‍यौं । बैशाख ९ गते उहाँ दुबई जानुभयो ।

सबै राम्रै नै थियो । बिहेपछि मलाई जागिर छोड भन्नुभयो । हुन्छ भनेर म बिराटनगर नै बसेँ । त्योबेला बिराटनगर घरमा देउरानी, जेठानी र देबरसमेत हुनुहुन्थ्यो ।

पछि तिमीलाई अप्ठेरो भयो होला, काठमाडौंमै बसेर पार्लर सिक्दा हुन्छ भन्नुभयो । हुन्छ त भनेर म कोटेश्वरमा बुबाआमासँगै बस्न थालंे । मेरो जन्मघर जनकपुर भए पनि बुबाआमा यतै (कोटेश्वर) आउनुभयो । अहिले पनि उहाँहरु कोटेश्वरमै हुनुहुन्छ ।

दुबईमै छँदा उहाँलाई डीभी पर्‍यो । मैले हामी दुबैको भिसाका लागि काठमाडौंमा सबै कामहरु गरेँ । सँगै अमेरिका जाने भन्ने भएको थियो । उहाँ आउनुभयो र भन्नुभयो- तिमी तीन महिनापछि आउ, म अहिले जान्छु र उता बन्दोबस्त मिलाउँदै गर्छु । परिवारमा पनि त्यही सल्लाह भयो ।

हुन्छ भनियो र उहाँ भदौमा अमेरिका जानुभयो । अमेरिका जाने भनेपछि खुशी हुँदै सँगै मन्दिर गएर पूजा गर्‍यौं । हामी दुबै पक्षका परिवारले उहाँलाई विदाइ गर्‍यौँ । उहाँ हाँसीखुसी ०७० भदौ २२ गते अमेरिका जानुभयो ।

मेरो अपरशेन भयो, तर उहाँले सम्झनुभएन

उहाँको मनमा के कुरा चलिराथ्यो खै, अमेरिका गएपछि सम्पर्कमै नआउने गर्न थाल्नुभयो । म यहाँ बिरामी भएँ । मेरो पाठेघरमा ट्युमर रहेछ । त्यसको अपरेशन भयो । तर, उहाँले सम्झनुभएन । उहाँका परिवारका अन्य सदस्यहरु सासू, बहिनीहरु सबैजना आउनुभएको थियो । म ठीक भएँ तर, उहाँ सम्पर्कमै आउनुभएन ।

लोग्ने स्वास्नीको झगडा त हो, उतै गएर  भेटिहाल्छु भनेर उहाँ गएको पाँच महिनापछि माघ १० गते म पनि अमेरिका गएँ । ६ महिनामा त भिसाको म्याद पनि सकिन्थ्यो ।

म गएँ । तर, उहाँ मलाई रिसिभ गर्न आउनुभएन । म उहाँकैमा गएकी थिएँ । तर, मलाई लिन नआएपछि दाइ (ठूलाबुबाका छोरा) लाई सम्पर्क गरेँ र उहाँकोमा गएँ । पछि श्रीमानलाई सम्पर्क गर्दा ‘मलाई मतलब छैन जेसुकै गर्’ भन्नुभयो । म दाइकोमा मेरिल्याण्ड मै बस्न थाँले ।

कुार गर्न खोज्दा उहाँले झगडा मात्रै गर्ने, झर्किने गरिरहनुभयो । उहाँ पनि त्यही शहरमा बस्नुहुन्थ्यो ।

मैले केही समयपछि काम गर्न थालें । अहिले पनि अमेरिकामै पसलमा क्यासियरको काम गर्छु ।

विवाहमण्डपमै झडप !

श्रीमान गत साउनमा नेपाल आउनुभएथ्यो । यता आएर फेक डिभोर्स पेपर बनाएर दोस्रो बिहेको चाँजोपाँजो मिलाउनुभएछ । त्यो केटीसँग मेरो श्रीमानको गत भदौ २ गते बिहे भयो । बिहे धुम्बाराहीको एक बैङ्क्वेटमा भएको रहेछ ।

गोडा धुने बेलामा मेरा बुबाममी पुग्नुभएछ र मेरी छोरीको जिन्दगी बर्बाद हुन्छ भनेर अलाप-विलाप गर्नुभएछ । सामान्य झडप पनि भयो रे । तर, उनीहरुले ०७१ मै मसँग डिभोर्स भइसकेको भनेर पेपर देखाएपछि प्रहरीले त्यो घटना साम्य पारिदिएछ ।

त्यसपछि मैले नक्कली डिभोर्सका बारेमा थाहा पाएँ । र, मेले काम गर्ने ठाउँमा विदा मिलाएर भदौ १४ गते काठमाडौं आइपुगँे । १५ गते टेकु गएर मेरो डिर्भोस भएकै छैन भनेर प्रहरीमा निवेदन दिएँ ।

वडासचिवको गद्दारी 

बिराटनगरको वडा नम्बर ६ का सचिवले एकतर्फी डिर्भोस पेपर बनाइदिएको भन्ने सुनेँ ।  त्यो डिर्भोस पेपर पनि टेकुले अनुसन्धानका क्रममा मगाएको रहेछ । त्यो डिभोर्स पेपरमा मेरो नागरिकता नम्बर छैन । डिभोर्स पेपर तयार गर्दा मलाई कुनै जानकारी पनि दिइएको होइन ।

बिराटनगर ६ नम्बर वडा कार्यालयले भर्जिनियास्थित नेपाली दूतावासको निर्णयअनुसार ‘भर्जिनियाँ अदालत’बाट डिर्भोस निर्णय पत्रका आधारमा भनेर उल्लेख गरेको रहेछ ।

त्यसपछि म परराष्ट्र मन्त्रालय गएँ । परराष्ट्रले त्यो डिर्भोस पेपर फेक हो भन्ने प्रमाणित गरिदिएको छ ।

परराष्ट्रले नेपाली दुतावास भर्जिनियामा नभई वासिङ्टन डीसीमा रहेको र सम्बन्ध विच्छेदको निर्णय दुतावासमा नहुने ब्यहोराको पत्र दिएको छ ।

सम्बन्ध विच्छेदको पत्रमा काठमाडौं जिल्ला अदालतको निर्णय भन्ने उल्लेख छ, तर, त्यो माग गर्दा जिल्ला अदालतमा फेला नपरेको जवाफ दिइयो ।

बिराटनगर महानगरपालिका वडा कार्यालयको गद्दारीले गर्दा दुईवटी केटीको जिन्दगी वर्वाद भयो । त्यही कागजका आधारमा उनले दोस्रो विवाह गरेे । डिर्भोस नै भएको रहेछ भनेर विवाह गर्ने युवती फसिन् । शायद उनलाई पनि यो सबै कीर्ते कार्य थाहा थिएन होला । किनभने बिराटनगर वडा कार्यालयले बकाइदा कागज बनाइदिएको थियो । त्यसकारण सबैभन्दा ठूलो कारवाही त वडा कार्यालयलाई हुनुपर्ने हो । श्रीमतीको मञ्जुरीविनै, एकचोटि पनि श्रीमान-श्रीमतीलाई नराखी कसरी डिभोर्स पेपर बन्यो ?

मैले वडा सचिवविरुद्ध अख्तियारमा पनि निवेदन दिएकी छु । वडा सचिवले रकम लिएर एकतर्फी रुपमा डिभोर्स पेपर बनाइदिएको मलाई प्रत्यक्षदर्शी बताएका छन् ।

५ वर्षदेखि डिभोर्स मागिरहनुभएको थियो 

म अमेरिका गएपछि दाजुकोमा बस्न थालें । उतै बसेर काम पनि गर्न थालें । श्रीमानसँगै बस्न पाउँ भनेर कत्ति वर्षसम्म कति अनुनय गरें, त्यो मलाई मात्रै थाहा छ । म सम्पर्क गर्न खोज्थें, उहाँ सम्पर्कमै आउन चाहनुहुन्थेन । उहाँका फुपूका छोरालाई सम्पर्क गर्‍यो भने हामीलाई धेरै कचकच नगर् पुलिस केस गरिदिन्छौं भन्थे ।

बीचमा हाम्रो कुराकानी नै नभएको भने होइन । बल्ल-बल्ल सम्पर्कमा आउनुभयो भने,  जहिल्यै झगडा मात्रै गर्ने । उहाँ खाली मलाई डिर्भोस चाहियो भन्नुहुन्थ्यो म दिन्न भन्थेँ ।

उहाँ ‘मलाई तँसँग बस्नु छैन’ भन्नुहुन्थ्यो । मैले किन भनेर लामो कुरा गर्न खोज्यो भने फोन काटिदिननुहुन्थ्यो । योभन्दा अन्य कुरा हुनै पाएन ।

यसैवीच एकपटक उहाँका मामाले ‘अब तपाईको भविश्य बन्यो, मान्छे अमेरिका जान कत्ति गर्छन्, तपाईले भविश्य बनाउनुभयो, अब लोग्नेलाई छोडिदिनू’ भनेर मलाई भने ।

मेरा श्रीमानले किन यस्तो गर्नुभयो, मलाई थाहा भएन । भगवान जानुन् । त त अहिलेसम्म त उहाँ नै भनेर बसिरहेकी छु । किनभने, बुबाआमाले बिहे गरेर दिएको हो मलाई । अमेरिकामा बसे पनि हामी नेपाली हौं । हाम्रो संस्कार अमेरिकाको जस्तो छैन र हाम्रो समाजले पचाउँदैन ।

मलाई लोग्नेस्वास्नेको झगडा हो भन्ने लाग्थ्यो । र, एक दिन उहाँको दिल फर्किन्छ भनेर अहिलेसम्म नराम्रो केही सोचिनँ ।

अर्काको देशमा के हुन्छ, कसो हुन्छ, थाहा पनि हुँदैन । त्यसैले म कानुनीरुपमा पनि गइनँ । उहाँले के गर्नुभयो, कसरी हो उतैबाट डिभोर्स पेपर बनाएको रहे छ । तर, हाम्रो नराम्रो नहोस् भनेर उहाँलाई हर्ट हुने केही पनि गरिँन । तर, अहिले आफ्नो कुरा बताउँन बाध्य भएँ । बुबाआमा त अझै पनि तिम्रो राम्रो हुने गर, १२ वर्षपछि खोला फर्किन्छ नानी भनेर भनिरहनुभएको छ ।

अब के गर्ने ?

म यो बिहे त बदर गराउँछु । नयाँ मुलुकी संहिता अनुसार दोस्रो बिहे बदर हुन्छ, पहिलेको जस्तो कारवाही भोग्दैमा सदर हुँदैन भन्ने सुनेकी छु । उहाँले आज मलाई यस्तो गर्नुभयो, भोलि अरुलाई पनि यस्तै गर्न सक्नुहुन्छ । बिहे गर्दै छोड्दै गर्ने अनि आफ्नै मनले डिर्भोस गर्ने, त्यो पनि झूठो कागज बनाएर । फेरि भोलि मन लागे अर्कीसँग यस्तै गर्न त दिनुभएन नि ।

म उहाँसँग दोस्रो बिहे गर्ने केटीलाई पनि दोष दिन्न । किनभने, उनलाई पनि झुक्याएको होला । अमेरिका लैजाने आश देखाएको होला । उनको पनि सपना होला आफूभन्दा २० वर्ष जेठोसँग बिहे गरेर अमेरिका जाने ।

लिखित डिर्भोस पेपर नै बनाएर देखाएपछि त उनले मात्रै होइन, उनका परिवारले नै विश्वास गरेका रहेछन् । छोरीलाई अमेरिका पठाउने उनीहरुको पनि सपना थियो होला ।

तर, मेरा बुबाले विवाह मण्डपमै गएर यो बिहे रोकौं भन्दाभन्दै त्यो केटीको परिवारले पनि बिहे गराइदिए । अब जानीजानी अरुको परिवारमा हस्तक्षेप गर्न आउनेले पनि कानुन अनुसार कारवाही त भोग्नैपर्छ ।

मेरी आमा डिप्रेसनको बिरामी हुनुहुन्छ । सुगरको औषधि खाइरहनुपर्छ । बुबा पनि ७१ वर्षको हुनुभयो, उहाँ पनि बिरामी हुनुहुन्छ । हिजो पनि बुबालाई अस्पताल लगेर, डाक्टर देखाएरै आएकी हुँ ।

मेरा ममीबुबाहरु मसँगै निर्भर हुनुहुन्छ । म नै कमाउने हुँ । म आफू पनि पालिनुपर्‍यो । अमेरिकारमा घण्टाको हिसावले पैसा आउने हो, मासिक तलबमा आउँदैन । नेपालमा त कमाइ केही छैन, अमेरिकाबाट आएको पनि तीन महिना भइसक्यो । ७/८ लाख खर्च गरेर आएकी छु । अमेरिकामै भएको भए तीन हजारको दरले पनि ८/९ हजार त कमाउँथे । यहीँ बसिरहँदा त थप समस्या हुन्छ ।

अब, डिसेम्बर पहिलो साता अमेरिका जाने सोच बनाएकी छु, वारेसनामा दिएर । उहाँबाट पनि सम्पर्क गरिरहन्छु । आउनुपरे नेपाल तुरुन्तै आउछु । अब गएपछि त्यहीँ अमेरिकामै पनि प्रहरीमा फेक डिभोर्स पेपर बनाएको भनेर निवेदन दिने विचार गरेकी छु ।

मैले न्याय त पाउनुपर्‍यो नि । अमेरिकामा पनि नेपाली सोसाइटी छ । एनआरएनए छ । नेपाली दुतावासमा पनि कुरा गर्छु ।

मलाई चाहिएको न्याय हो । न्याय पाएँ भने अब म आफ्नो जीवन एक्लै बिताउन सक्छु । अर्को बिहे गर्ने पनि सोचेकी छैन र सोच्दिनँ पनि । आफैँ माग्नेले, आफैँ चिना देखाएर बिहे गर्नेले बीच बाटोमा आएर यसरी अलपत्र छोड्नुहुन्छ भन्ने लागेको थिएन ।

नेपालमा भएको विवाह दर्ता अमेरिकाबाट सम्बन्ध विच्छेद हुन्छ त ? हुँदा पनि एकतर्फी ? अनि नेपालको स्थानीय तहले एकतर्फीरुपमा श्रीमतीसँग नसोधी डिभोर्स पेपर बनाउन मिल्छ ?

उहाँले यस्तोसम्म त गर्नुभयो… !

प्रस्तुती: रघुनाथ बजगाईं

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?