+
+

हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, सीआईबीको टोली पनि पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ०:३०

४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले ‘केही व्यक्ति’लाई नियन्त्रणमा लिइएको स्वीकारे । उनले अनलाइनखबरसँग भने, ‘हामीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । घटना सम्बन्धी सूचना आउन सक्ने भएकाले पनि नियन्त्रणमा लिएका हौं ।’

स्रोतका अनुसार पक्राउ पर्नेमा जय बाबा इँटा उद्योगका कर्मचारी र सुरक्षागार्ड छन् । हुसेन त्यही उद्योगका सुपरभाइजर थिए । एसपी अधिकारी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं । अहिल्यै केही भन्न सकिन्न ।’

सीआईबीको टोली पनि सुनसरीमा

बारम्बार विवादमा मुछिरहेको प्रहरीले यो घटनामा भने प्रारम्भदेखि नै सावधानी अपनाएको छ । दिउँसै प्रहरी प्रधान कार्यालयबाट निर्देशन भएअनुरुप केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को एउटा टोली सुनसरी पुगिसकेको छ ।

स्रोतका अनुसार ब्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिराबहादुर पाण्डे र अर्का एक जना प्रहरी निरीक्षकको गरी दुई जनाको टोली सुनसरी पुगेको हो । उनीहरुले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् ।

भारतीय प्रति आतंकवाद सेलसँग मिल्दोजुल्दो शैलीमा खुर्शिदको हत्या भएपछि सशंकित स्थानीय प्रहरी बुधबार बिहानै अर्को हत्याको घटना सार्वजनिक भएपछि झस्किएको थियो । तर, खुर्शिद घटनाको मोडस अपरान्डी (अपराध शैली) हुसेन हत्यासँग मिल्दैन । अहिलेसम्म खुर्शिदको जस्तो हत्या गर्नु पर्ने उद्देश्य पनि नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

हुसेदको लेनदेन सम्बन्धी विवादबारे समेत प्रहरीले जानकारी पाएको छ, जसलाई प्रमाणले पुष्टि गर्ने प्रयासमा प्रहरी अधिकारीहरु जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?