Comments Add Comment

प्रदेश २ को नामाकरण र राजधानीका लागि सुझाव संकलन सुरु

२० मंसिर, वीरगञ्ज । प्रदेश २ को राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन गरिएको अयोगले काम सुरु गरेको छ ।

४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको संवाद तथा सुझाव आयोगले गठन भएको ४० दिनपछि काम सुरु गरेको हो ।

गत कात्तिक ११ बसेको मन्त्रिपरिषदको बैठकले नीति आयोगका उपाध्यक्ष समेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र राम प्रवेश बैठा सदस्य छन् ।

राजधानी र नामको विषयमा प्रदेश २ मा विवाद छ । जसका कारण प्रदेश सरकारले यसलाई टुंगो लगाउन सकेको छैन ।

वीरगञ्जले राजधानीका लागि दावी गर्दै गर्दा संघीय सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्ज असन्तुष्ट छ ।

वीरगञ्जमा राजधानीका लागि संघर्ष समिति नै गठन गरेर आन्दोलन समेत भएको थियो । नामांकनका विषयमा समेत मतभिन्ता देखिएको छ ।

सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल प्रदेशको नाम ‘मधेश’ जोडेर राख्ने पक्षमा छन् भने तथा विपक्षी दलहरु नेकपा, कांग्रेसलगायत दलले ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।

‘मिथिला’ नामाकरण गर्नुपर्ने भनी जनकपुरका केही अभियन्ताले अभियान समेत चलाएका थिए । मिथिला नाम राख्दा पर्सा, बारा, रौतहटलगायत भोजपुरी बाहुल्य क्षेत्रका बासिन्दाले असन्तुष्िट जनाउने निश्चित छ ।

त्यसैले सरकारले संवाद तथा सुझाव संकलन अयाोग नै गठन गरेर सुझाव लिने तयारी गरेको हो । प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी र नामाकरण गर्न सक्ने संवैधानिक प्रावधान छ ।

प्रदेश नं २ को सरकारले यसलाई टुंगो लगाउन सकेको छैन । प्रदेश नं २ मा १ सय ७ जना प्रदेश सभा सदस्य छन् ।

आयोगले प्रदेशको राजधानी र नामांकनका विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्ने आयोगका अध्यक्ष डा हरिबंश झा बताउँछन् ।

‘सुझाव संकलन गरेर अयोगले प्रदेश सरकारलाई बुझाउँछ । आयोगले संकलन गरेको सुझावकै आधारमा सरकारले राजधानीको नाम र प्रदेशको नाम टुंगो लगाउँछ,’ उनले भने, ‘पर्साबाट सुझाव संकलन सुरु गरेका छौं, ४५ दिनमा काम सक्नुपर्ने छ, आधा भन्दा बढी समय सकिसकेको छ । के सोध्ने, कसलाई सोध्ने भनेर पक्रियामा नै अलमल भयो ।’

अन्य प्रदेशमा प्रदेशको नामाकरण काठमाण्डुबाट तय हुने गरेको तर प्रदेश नं २ सरकारले मात्रै जनताको राय लिन लागेको बताउँदै उनले यो लोकतान्त्रिक पद्दती भएको दावी गरे ।

राजधानी वीरगञ्ज नभए आन्दोलन गर्ने चेतावनी

वीरगञ्जबाट प्रदेश नं २ को राजधानी वीरगञ्ज र नाम मध्य मधेश प्रदेश हुनुपर्नेमा जोड दिइएको छ ।

प्रदेश राजधानी र प्रदेशको नामाकरण सम्बन्धी सुझाव संकलन गर्न वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजधानीका लागि वीरगञ्जको विकल्प नभएको बताएका हुन् ।

उनीहरुले प्रदेशको नाम राख्दा ‘मधेस’ शब्द अनिवार्य आउनुपर्ने र वर्तमान अवस्थामा मध्य मधेश प्रदेश उपयुक्त हुने बताए ।

कार्यक्रममा वक्ताहरुले मधेस प्रदेश, मध्य मेधश प्रदेश र मध्यमाञ्चल मधेश प्रदेश नाम राख्न सुझाव दिए ।

कतिपयले वीरगञ्ज राजधानी नभए फेरि आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सुझाव संकलन कार्यक्रममा बोल्दै सांसद प्रदीप यादवले राजधानीका लागि सुझाव संकलन आवश्यन नै नरहेको बताए ।

उनले हरेक दृष्टिकोणले राजधानीका लागि वीरगञ्ज उपयुक्त भएको बताउँदै बाँकी मधेसका जिल्ला समेत समटने गरी मधेश प्रदेश नामाकरण हुनुपर्नेमा जोड दिए ।

उनले सबै निर्वाचन क्षेत्रमा पुगेर खुल्ला मञ्चबाट सुझाव संकलन गर्न सल्लाह दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उद्योगी अशोक टेमानीले संघिय सरकारले आन्दोलनको केन्द्र बनेका कारण वीरगञ्जसँग वैनश्यता साँध्न प्रदेशको अस्थायी राजधानी जनकपुर बनाएर विवाद सिर्जना गरेको आरोप लगाए । उनले वीरगञ्जलाई राजधानी र जनकपुरलाई साँस्कृतिक राजधानी घोषणा गरेर दुवैको गरिमालाई जोगाउन सुझाव दिए ।

‘वीरगञ्जलाई राजधानी बनाउने भनेर आन्दोलनको केन्द्र बनाईयो, उद्योगी, व्यापारी, किसान, मजदुर सबैले साथ दिए, अहिले राजधानीका लागि सुझाव संकलन गर्नु आवश्यक नै छैन । सुविधा दिएर छिन्दा असन्तुष्टी बढ्न सक्छ, त्यसैले वीरगञ्जलाई राजधानी र जनकपुरलाई साँस्कृतिक राजधानी घोषणा गरौं,’ उनले भने, ‘नामकरण जे गरेपनि मधेस आन्दोलनको उपलब्धी भएकाले नाममा ‘मधेस’ शब्द जोड्नु उपयुक्त हुन्छ ।’

प्रदेश सभासदहरु करिमा वेगम, भिमा यादव, जन्नत अन्सारी, रमेश पटेल, सिंहासन कलवार लगायतले प्रदेशको राजधानी वीरगञ्ज र नाम ‘मध्य मधेश प्रदेश’ हुनुपर्नेमा जोड दिए ।

उनीहरुले जनकपुर राजधानीका लागि कुनैपनि हालतमा उपयुक्त सहर नरहेको बताउँदै वीरगञ्ज पूर्वाधार सम्पन्न, मधेस आन्दोलनको केन्द्र भएकोले राजधानीका लागि उपयुक्त रहेको दावी गरे ।

प्रदेश सभासद करिमा वेगमले जनकपुरमा आफूहरुले जनकपुरबासीको व्यवहारका कारण आफूले निकै कष्ट भोगिरहेको बताइन् ।

अर्की प्रदेश सभासद भिमा यादवले खाने बस्ने व्यवस्थासमेत सही नभएको ठाउँ जनकपुर कुनैपनि हालतम राजधानी हुन नसक्ने बताइन् ।

प्रदेश सभा सदस्य रमेश पटेलले पूर्वाधारले सम्पन्न, आन्दोलनमा पुर्‍याएको योगदान र आर्थिक केन्द्र भएकोले वीरगञ्ज राजधानी उपयुक्त भएको बताए ।

कार्यक्रम बन्द कोठामा गरेको र सहभागीको संख्या कम भएको भन्दै वक्ताहरुले खुल्ला ठाउँमा जनताको माझमा गएर सुझाव लिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment