Comments Add Comment

प्रदिपको लाइनअपः हेमराज, रामबाबु हुँदै छेतनसम्म

चलचित्र ‘रोज’ असफलतापछि नायक प्रदिप खड्का स्टारडमसँगै चलचित्रको टिममा विश्वास गर्न थालेका छन् । चलचित्रमा सहकर्मी कलाकार, निर्देशक र कथावस्तु पनि बलियो हुनुपर्छ भन्ने सोच उनमा पलाएको देखिन्छ । प्रदिप करिब २ बर्षमा ३ वटा चलचित्रको काममा व्यस्त हुनेछन् । यसका लागि, उनले निर्देशकको रोजाइमा पनि विशेष ध्यान दिएका छन् ।

नायक खड्का यतिबेला चलचित्र ‘लभ स्टेशन’मा काम गरिरहेका छन् । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । ‘वडा नम्बर ६’ हिट दिएपछि उज्ज्वलले केही बर्षको अन्तरालमा यो लभ स्टोरी चलचित्र बनाएका हुन् ।

प्रदिप यो चलचित्र रिलिजपछि अन्य ३ वटा चलचित्रमा काम गर्ने पक्का गरेर बसेका छन् । उनले वैशाखबाट निर्देशक हेमराज वीसीको निर्देेशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्दैछन् । यो चलचित्रमा उनको जोडीको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह रहनेछिन् । हेमराज लभ स्टोरी चलचित्र निर्माणमा गनिएका निर्देशक हुन् । यसैले पनि प्रदिप हेमराजसँग काम गर्न लालयित देखिएका छन् ।

‘कबड्डी’ जस्तो सामाजिक र मौलिक कथाको चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक रामबाबु गुरुङको चलचित्रमा पनि प्रदिपले काम गर्ने पक्का छ । प्रदिपले कागजी संझौता नगरेपनि उनी यसका लागि तयार छन् । प्रदिपले हेमराज वीसीको चलचित्रमा काम गरेपछि रामबाबुसँग काम गर्ने बताए । चलचित्रको नाम ‘बेली’ राख्ने चर्चा छ ।

प्रदिपलाई स्टार बनाएको चलचित्र ‘प्रेमगीत ३’ पनि निर्माण हुँदैछ । हेमराज र रामबाबुको चलचित्रमा काम गरेपछि यो चलचित्रमा काम गर्ने प्रदिपले बताएका छन् । यो चलचित्रलाई छेतन गुरुङले लेखन तथा निर्देशन गर्न लागेको वुझिएको छ ।

यसरी हेर्दा प्रदिपको पाइपलाइन चलचित्र बलियो देखिएका छन् । प्रदिपले विश्वास गरेका यी ३ निर्देशकले ब्रान्ड जोगाउन सके भने यसले प्रदिपलाई पनि फाइदा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment