Comments Add Comment

६ अर्बमा बन्दैछन् ६ वटा सम्पदा शहर, साँखु बन्ला त लावन्य देश ?

२३ मंसिर, काठमाडौं । पौराणिक लावन्य देश साँखुलाई डेढ लाख मान्छे बस्ने ‘सम्पदा शहर’ बनाउन कति खर्चिनु पर्ला ? भूकम्पले ध्वस्त भएको यो प्राचिन शहरको भग्नावशेषमा उभिएर एकदिन शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले नामी ‘आर्किटेक्ट’ ईश्वरलाल जोशीलाई सोधे ।

दुई वर्षदेखि स्वयंसेवी रुपमा साँखुलाई सम्पदा बस्ति बनाउन दौडिरहेका जोशीले वृहत नक्सा डिजाइनसहित मोटामोटी हिसाब मेयरलाई सुनाए- करिब १० अर्ब लाग्ला । १० वर्ष समय लगानी गरेर लावन्य देश बनायौं भने चाँडोमा ७ वर्ष र ढिलोमा ९ वर्षमा सबै लगानी उठाउने जिम्मा मेरो भयो ।

एक वर्षको कुल वजेट जम्मा ६२ करोड भएको यो सानो नगरपालिकाको मेयरका लागि १० अर्ब खर्चेर नगरपालिकाभित्रको एउटा प्राचिन शहरलाई नयाँ जीवन दिने योजना सुनेर सुस्ताउनु बाहेक केही उपाय छैन । साँखुको सम्पदा बस्ति विकासका लागि पुनर्निर्माण प्राधिकरण गुहारिरहेका मेयरले एकैखाले निजी घरमा त्यत्रो लगानी सोच्ने कुरा पनि भएन ।

थाइल्याण्डको एआइटी विश्वविद्यालयका गोल्ड मेडलिस्ट जोशीले भने यो सम्भव छ भनेर मेयरलाई आश्वस्त पार्न छाडेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पनि उनलाई भरोसा दिएका छन् ।

एक अर्बमा एक सम्पदा बस्ति

ईश्वर जोशीको माग छ- पैसा नगरपालिका वा सरकारले हाल्ने होइन लगानीकर्ता आउँछन्, त्यसका लागि निश्चित मापदण्ड, कार्यबिधी र नियम बनाइदिनुपर्छ । अनि प्राधिकरणले सम्पदा बस्तिको बाहिरी पूर्वाधार (जस्तै खानेपानी, ढल, परम्परागत सडक, मठ-मन्दिरहरु) बनाइदिने भएको छ ।

विज्ञको सुझाव र प्राधिकरणको साथ पाएपछि मेयर श्रेष्ठ शंखरापुरभित्र व्यस्थित शहरीकरणको योजना बनाउन जुटेका छन् । उनलाई भलिभाँती यो पनि थाह छ कि अहिल्यै नगरे जग्गा टुक्रा भएकोभयै हुन्छ । ‘त्यसकारण पनि नयाँ शंखरापुर शहरको मोडलमा काम थालेका छौं’ उनले भने ।

यो कुनै सपनाको संवाद होइन, र पनि ‘आर्किटेक्ट’ जोशीले परिकल्पना गरेको १० अर्बको लावन्यदेश तुरुन्तै नबन्न सक्छ । पहिलो त व्यक्तिका निजी घरमा लगानी गर्न न सरकार न निजी क्षेत्रनै अगाडि सर्छ । तर पुनर्निर्माण प्राधिकरणले साँखु सहित ६ वटा सम्पदा शहरमा एक-एक अर्बको दरले करीव ६ अर्ब लगानीमा सम्पदा बस्तिको ‘मोडल विकास’ गर्ने चाहिँ निश्चित भएको छ ।

काठमाडौं सहितका जिल्लाका ती सम्पदा बस्तिको मौलिक विकास प्राधिकरणले गर्नेछ । सांस्कृतिक पर्यटनको आधार बन्ने ती शहर विकासमा लगानी गर्ने प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले अनलाइनखबरलाई बताए । उनका अनुसार, काठमाडौं उपत्यकामा मात्र ५३ वटा त्यस्ता बस्ति विकास गर्ने योजना छ ।

काठमाडौंको साँखु, ललितपुरको खोकना, बुङमति, नुवाकोट दरवार क्षेत्र र आसपासको बस्ति, गोरखाको दरवारक्षेत्र र आसपासको बस्ति अनि दोलखा बजारको सम्पदा बस्ति निर्माणको गुरुयोजना प्राधिकरणले बनाइसकेको छ । ज्ञवालीले यसै वर्षबाट यी ६ सम्पदा बस्तिको विकास गरिने बताए । ‘अन्य ५० वटा सम्पदा शहरको गुरुयोजना बनाउन लागिएको छ’, उनले भने, ‘ति बस्तिका  मौलिक पहिचान कायम राख्दै पर्यटकीय आकर्षण थप्ने गरि पूर्वाधार निर्माण गरिने छ ।’

सम्पदा बस्ति बनाउने भन्नाले व्यक्तिका घर सरकार वा प्राधिकरणले बनाइदिने होइन । भूकम्पबाट भत्किएका, आंशिक भत्किएका वा नयाँ घर व्यक्ति आफैंले बनाउनेछन् । सम्पदा बस्तिका मौलिकता जोगाउन र घरहरुको डिजाइनमा प्राधिकरणले अनुदान बाहेक थप केही रकम दिनेछ । तर, सबै घर एकैखाले बनाउन अनिवार्य गरिने छ ।

अहिले बनिसकेका घरहरुलाई सम्पदा बस्तिको मापदण्ड अनुसार पुनर्निर्माण वा बाहिरी भाग परिवर्तन गरिनेछ । त्यसका लागि नगरपालिकाले थप एक लाख दिने निर्णय गरेको मेयर श्रेष्ठले बताए । अन्य नगरपालिकाले पनि सम्भवतः सम्पदा बस्ति निर्माणमा केही प्याकेज ल्याउनेछन् ।

प्राधिकरणले सम्पदा बस्तिभित्र इट वा ढुंगा छापिएको बाटाहरु बनाउनेछ । त्यस्तै, बस्तिभित्रका मठ-मन्दिर, पाटीपौवा, ढुंगेधारा, पोखरी, बहाल, चोक, प्रवेशद्धार लगायतका प्राचिन संरचनाहरुलाई संरक्षण गर्ने योजना प्राधिकरणका सिइओ ज्ञवालीले सुनाए ।

त्यसका लागि दातृ संस्थाहरुसँग छलफल गरिसकेको उनले बताए । उनका अनुसार, सम्पदा बस्तिहरुका निजी घर व्यक्तिले बनाउछन् । प्राधिकरणले मौलिकता संरक्षणमा लगानी गर्छ, जसबाट भोलि लाखौं पर्यटक आकषिर्त होउन् ।

साँखु बन्ला त ‘लावन्य देश’ ?

फेरि लागौं साँखुतर्फ । काठमाडौंबाट करीव १४ किलोमिटर पुर्वोत्तरमा अवस्थित साँखु ३ हजार वर्ष पुरानो बस्ती भएको प्रमाणहरु छन् । यस अवधिमा साँखुमा तीन किसिमका तर एकै शैलीका घरहरु बनेको पाइएको ‘आर्किटेक्ट’ जोशी बताउँछन् । उनका अनुसार, प्राचिन नेवार बस्ति साँखुमा ८ वटा प्रवेशद्वार छन् । शुभ-अशुभ कार्य गर्दा र जात्रा निकाल्दा अलग द्वार प्रयोग गरिन्छ । तीमध्ये कतिपय द्वार २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएका छन् ।

यी सब संस्कृति र निर्माण शैलीमा पुनजागरण ल्याउन अहिले मेयर श्रेष्ठ र शहरी योजना तथा आवास विकास विज्ञ जोशी दिनहु छलफलमा छन् । कहिले पुनर्निर्माण प्राधिकरणसँग छलफल गरिरहेका छन् त कहिले स्थानीय जनतासँग । स्थानीय बासिन्दा पनि उत्साहित छन्, तर सम्पदा शहरको मापदण्ड अनुसार घर बनाउँदा खर्च बढ्ने भएकाले हच्किएका छन् ।

त्यसको पनि उपाय सुझाउँदैछन् जोशी । उनले प्राचिन साँखुलाई सम्पदा बस्ति र त्यस बाहिर नयाँ संखरापुर शहरको एकीकृत विकास योजना पनि फिल्डमै पेश गरिरहेका छन् । उनले भग्नावशेषमाथि उभिएर साँखुवासीलाई सोधे-तपाईहरु यथास्थितिमा बस्ने कि भूकम्पको बिनाशलाई अवसर बनाउने ? आर्थिक रुपमा सम्पन्न हुने कि दिन कटनी मात्र गर्ने ? सम्झनुस्, रोम पनि एकै दिनमा बनेको होइन । ध्यान दिनुस्, साँखु शंकरापुरलाई सांस्कृति पर्यटनको केन्द्र बनाउन सकिन्छ ।

हेर्नुहोस् भिडियो

शालि नदी, बज्रयोगिनी, जहरसिंह पौवा लगायतका स्थानहरु समेटेर साँखुको नयाँ नक्सा बनाइरहेका जोशीले स्थानीय जनता र नगरपालिका मिलेर काम गर्ने हो भने डेढ लाख मान्छे बस्ने सम्पदा शहर बनाउन सकिने आधार पेश गरेका छन् ।

त्यसका लागि उनले प्राचिन साँखु बाहिर संखरापुर नगरपालिका- ६, ७, ८ र ९ को खाली जमिनमा एकीकृत बस्ति बनाएर नयाँ शंखरापुर जन्माउने नक्सा समेत पेश गरेका छन् । प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ समेत थपिएपछि सांस्कृतिक शहर गुल्जार बन्नेमा जोशी विश्वस्त छन् । ‘त्यसपछि साँखु आउने पर्यटक बास बस्न र्फकने छैनन्’, उनी भन्छन्, ‘सम्पदा शहरभित्रै होटल, मोटेल, होमस्टे खुल्नेछन् । संरक्षण क्षेत्रभित्रका बासिन्दा आफैं मापदण्ड अनुसारका घर बनाएर पसलहरु चलाउन अग्रसर हुनेछन् । मौलिक घर निर्माणको लगानी त्यो ब्यापारले उठाउनेछ ।’

(साँखु, बज्रयोगिनी र शाली नदीको समग्र विकास गर्ने गरी तयार पारिएको यो मिडियो अवधारणा संरक्षण आर्किटेक्ट अन्नी जोशी, शहरी योजनाविद मनिका महर्जन, काठमाडौं इन्जिनियरिङ  कलेज, आर्किटेक्ट विभागका २०७० ब्याचका विद्यार्थी र इन्नोभेटिभ डिजाइन कन्सर्न, खुमलटारले बनाएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment