Comments Add Comment

गोल्डस्टार : राज्य र बिद्रोहीको चेपुवाबाट निस्किएको उद्योग

८ पुस, काठमाडौं । चक्रपथको नारायण गोपाल चोकबाट करिब ३ मिनेट पूर्वतिर गुडेपछि चक्रपथ परिक्रमा गर्ने सार्वजनिक बस ठ्याक्क रोकिन्छ । ‘ल चप्पल कारखाना, झर्नुस्’ गाडीका सहचालक कराउँछन् ।

उता चाबहिलबाट पश्चिमतर्फ लागेको बसका सहचालक धोबीखोला पुल तर्नासाथ हतार लगाउँछन्, ‘ल चप्पल कारखाना झर्नेहरुले भाडा दिँदै गर्नुस् है !’

चक्रपथको ‘चप्पल कारखाना’ नसुनेका सायदै होलान् । बानेश्वर, कोटेश्वर, चाबहिल भनेजस्तो चोकको नाम नै चप्पल कारखाना होइन, तर त्यस आसपासमा जाने सबैले ठाउँको नाम नै चप्पल कारखाना भन्छन् ।

आखिर कसरी भन्न थालियो त त्यो चोकलाई चप्पल कारखाना ?

तपाईंले ‘हात्ती छाप चप्पल’ सुन्नुभएकै छ । ‘गोल्डस्टार जुत्ता’ त झन् सुन्नुभएको छ । नेपाली जुत्ता–चप्पलका यी ब्राण्डकै कारण चाबहिल र नारायणगोपाल चोकको बीचमा चप्पल काराखाना भन्ने चोकको नाम चलेको हो ।

नेपालबाट सबभन्दा धेरै विदेश निर्यात हुने जुत्ता–चप्पल पनि यही उद्योगको हो ।

‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ भन्ने सबै नेपालीले सुनेको विज्ञापन यही उद्योगको हो । र, अत्यधिक नेपालीले रुचाएको चप्पल पनि यही कम्पनीको हो ।

हात्तीछाप चप्पल र अर्को चर्चित जुत्ता गोल्डस्टारको कारखाना भएकै कारण यस चोकको नाम चप्पल कारखाना रहन गएको हो । हामी यहाँ यी दुई लोकप्रिय ब्राण्डको उत्पत्ती, संघर्ष र सफलताबारे चर्चा गर्दैछौं ।

‘हात्तीछाप’को यात्रा

२०–२५ वर्षअघि चप्पल–जुत्ता नलगाउने नेपालीको संख्या निकै थियो । लगाउनेका लागि भारत र थाइल्याण्डबाट चप्पल–जुत्ता आयात हुन्थे । गरीबहरुले भरिएको देशले भर्खरै प्रजातन्त्रको खुलापन पाएको थियो । नेपालीहरु स्वतन्त्रतापूर्वक गरीखान जुर्मुराएका थिए, तर स्रोत, साधन र अवसर थिएन । त्यस्तो समयमा पाल्पाका नुरप्रताप जंगबहादुर राणा (हाल स्वर्गीय) ले मकवानपुरको हेटौंडामा हात्तीछाप चप्पल जन्माएका थिए ।

चप्पल उद्योग शुरु त भयो, तर मेसिनमा समस्या आएर राम्रो उत्पादन हुनै सकेन । त्यसमाथि, बजार चिल्लाचाप्ला भारतीय र थाई उत्पादनको कब्जामा थियो । ६–७ महिनासम्म राम्रो फिनिसिङ भएको चप्पल उत्पादन नहुँदा उद्योग डुब्ने अवस्थामा पुग्यो ।

तर, राणाले हरेस खाएनन्, असफलता नै सफलताको पहिलो सिडी हो भन्ने भनाइलाई शीरोपर गरेर अनेक उपाय लगाईरहे । गुणस्तरीय उत्पादनसँगै बजार प्रवर्धनमा पर्याप्त मेहनेत गरेपछि सफलताको सूर्य उदायो । त्यही क्रममा आएको ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ भन्ने विज्ञापन मानिसहरुको मुख–मुखमा झुण्डियो अनि खुट्टा–खुट्टामा चप्पल ।

बजारमा हात्तीछाप चप्पलको माग यती बढ्यो कि रात–दिन गरेर उत्पादन क्षमता बढाउनुपर्ने अवस्था आयो । त्यसक्रममा राणाले गुणस्तरमा कुनै सम्झौता गरेनन्, डिजाइनमा पनि उत्तिकै ध्यान दिए ।

स्वर्गीय राणाको हात्तीछाप चप्पल खारखाना आज देशको सबभन्दा ठूलो फुटवेयर उद्योगमा दरिएको छ । गोल्डस्टार जुत्ता निर्यातको मात्रा बढेको बढ्यै छ ।

एकपछि अर्को सफलता

हात्तीछाप चप्पलमा सफलता भएपछि नुरप्रताप राणाले किरण सुज म्यानुफ्याक्चर्स नामको उद्योग स्थापना गरे । जुत्तामा अहिलेको लोकप्रिय ब्राण्ड गोल्डस्टार त्यसैको उत्पादन हो ।

आकर्षक, टिकाउ, लगाउन सहज र मुल्यमा किफायती गोल्डस्टार जुत्ताको प्रमुख विशेषता हो । यो ब्राण्ड नेपालमा मात्र नभई विदेशमा पनि जमेको यसको निर्यातको अवस्थाले देखाउँछ । यो मुकामसम्म आइपुग्न गोल्डस्टारले खेपेको सास्ती भने भनिसाध्य छैन ।

सुरुमा विभिन्न किसिमका जुत्ता उत्पादन गरेको किरण सुजले २०५० सालबाट गोल्डस्टारको उत्पादन थाल्यो । यसलाई टिकाउपनका कारणले खासगरेर निम्न आय भएका नेपालीहरुले धेरै रुचाए । हरियो रंगको गोल्डस्टार जुत्ता यति चल्यो कि यसले अन्य ब्राण्डका किफायती जुत्ताहरुलाई बजारबाट लगभग विस्थापित नै गरिदियो ।

कतिपय उद्योगले चिनबाट यस्तै जुत्ता ल्याएर गोल्डस्टारको लोगो हालेर बिक्री गरे । सरकारलाई करोडौ कर तिरेर उद्योग चलाईरहेका राणाका लागि त्यस्तो नक्कली कारोबार ठूलो चुनौती भएर आयो । अनि उनी सर्वोच्च अदालत गए, न्याय पनि पाए ।

त्यसबेला ५ न्यायाधीश संलग्न सर्वोच्चको पूर्ण इजलासले स्वदेशी उद्योगको पक्षमा ऐतिहासिक फैसला सुनाएको नुरप्रतापका छोरा अमिरप्रताप राणा बताउँछन् । अहिले उनैले यो उद्योग हाँकिरहेका छन् । उनी भन्छन्, ‘उद्योगले दुःख पाउने क्रम भने त्यसपछि पनि चलि नै रह्यो ।’

राज्य र सशस्त्र विद्रोहीको चेपुवा

नेपालीको माग धानेर विदेश निर्यात समेत गरिरहेको गोल्डस्टार जुत्ता उद्योग नेकपा (माओवादी)को जनयुद्ध चर्किएसँगै दोहोरो चेपुवामा पर्न थाल्यो । त्यसको प्रमुख कारण बन्यो–माओवादीहरुले गोल्डस्टार जुत्ता लगाउनु ।

सस्तो र टिकाउ पनि हुने भएकाले माओवादी लडाकुको रोजाइमा गोल्डस्टार जुत्ता पर्नु स्वाभाविकै थियो । तर, तत्कालीन शाही सरकारले त्यसलाई अस्वभाविक रुपमा लियो र, सरकारी सुरक्षा निकायहरुले गोल्डस्टार जुत्ता लगाउने माओवादी नै हो भनेजस्तो व्यवहार गर्न थाले । गाउँवस्तीमा गोल्डस्टार जुत्ता लगाएकै कारण सर्वसाधारण असुरक्षित हुन थाले । प्रमुख शहरहरुमै पनि गोल्डस्टार जुत्ता बिक्री वितरणमा बन्देज लाग्न थाल्यो ।

त्यसबेला नुरप्रताप राणाले छोरा अमिरप्रतापलाई उद्योग सुम्पिसकेका थिए । आफ्नो जुत्ता बिक्री वितरणमै रोक्ने काम भएपछि बुढामान्छे आफै ठाउँठाउँका सुरक्षा निकायका कार्यालयहरु धाएर हैरान भए । उनले २–४ हजार माओवादीले लगाए भन्दैमा करोड नेपालीलाई लगाउनै बन्देज नगरीदिन अनुरोध गर्दा कतिले सहयोग गरे, कतिले गरेनन् ।

राज्यपक्षबाट पाएको हैरानी थोरबहुत कायमै रहेको अवस्थामा माओवादीले तनाब दिन थाले । अमिरप्रताप सम्झन्छन्, ‘माओवादीका एक जनाले फोन गरेर यति चन्दा नदिए उद्योग नै उडाइदिने चेतावनी दिए ।’

माओवादीको त्यो धम्कीले ठूलो त्रास उत्पन्न गर्‍यो । किनभने, माओवादीहरुले आफ्नो धम्कीलाई धमाधम यथार्थ बनाइरहेको समय थियो, त्यो । अर्को दिन ज्यानको धम्की पनि आएपछि राणा परिवार ठूलै राशी चन्दा दिन तयार भयो । तर, चन्दा दिनु पनि अफाप नै भयो, चन्दा बुझ्ने माओवादी नै सरकारी सेनाको हातमा परेछन् । त्यसपछि तत्काल जंगीअड्डामा हाजिर हुन आदेश पाए अमिरप्रतापले ।

त्यसबेला सेनाले नियन्त्रणमा लिएको मानिसहरु लापत्ता भएको हल्ला चली बस्थे । माओवादीलाई सघाएको आरोपमा आफूलाई नियन्त्रणमा लिने डर भयो, अमिरलाई । नजाउँ सेनाको आदेश, जाउँ बेपत्ता पार्ने खतरा । उनी मुटु दह्रो पारेर जंगी अड्डामा पुगे । त्यहाँ पुगेपछि चाही उनको सबै डर हरायो । भन्छन्, ‘अन्य उद्योगी–व्यावसायीहरुलाई पनि उपस्थित गराइएको रहेछ ।’

सेनाका हाकिमले उद्योगी–व्यावसायीहरुको चन्दा रकमले बन्दुक, गोली–बारुद किनेर माओवादी शक्तिशाली हुने हुँदा उनीहरुलाई सहयोग नगर्न सम्झाए । आइन्दा चन्दा नदिने बाचा गरेर व्यावसायीहरु फर्किए ।

देशमा शान्ति आयो, तर गोल्डस्टारलाई आएन

विस्तृत शान्ति सम्झौता भएपछि विद्रोही माओवादीहरु जंगलबाट निस्केर खुला राजनीतिमा आए । गृहयुद्धबाट आक्रान्त नेपालमा खुसीयाली छायो । त्यसरी देशमा शान्ति

महशुस भइरहँदा गोल्डस्टार जुत्ता उत्पादन गर्ने उद्योगले भने झन सास्ती बेहोर्नुपर्‍यो ।

शान्ति प्रक्रियामा आउने वित्तिकै माओवादीहरुले काठमाडौंका उद्योग, कलकारखानामा आँखा लगाए । त्यसबेला उपत्यकामा धेरै श्रमिक भएको उद्योगमा थिए– पेप्सीकोला र गोल्डस्टार जुत्ता बनाउने किरण सुज म्यानुफ्याक्चर्स । २६ सय हाराहारी श्रमिक रहेको किरण सुजमा पसेको माओवादीले संगठन विस्तार गर्ने क्रममा कामदार वर्गको हकहितका लागि भन्दै विभिन्न माग राख्यो । ‘जसमा अनावश्यक र धान्नै नसकिने बुँदाहरु धेरै थिए’, अमिरप्रताप भन्छन् ।

माओवादीहरुले व्यवस्थापन पक्षका मुख्य कर्मचारीहरुलाई कालोमोसो दल्ने, हातपात गर्ने पनि गरे । उनीहरु त्यत्तिमै सीमित भएनन्, उद्योगमा ताल्चा नै लगाइदिए ।

खासमा, माओवादीहरु नूरप्रताप जबरा, अमिरप्रताप जबरा भन्ने नामै समस्या देख्थे । उनीहरु राणा भएपनि उद्यमले उँभो लागेका हुन् भन्ने बुझ्न चाहदैनथे । बाबुले बडा मेहनतले उद्योगलाई उठाएका थिए, विदेशमा पढेर फर्किए लगत्तै छोराले उद्योगमा काम शुरु गरेका थिए । अमिरप्रतापले पहिलो दिन चिठी बोकेर उद्योग विभागको कोठाकोठा चक्कर लगाएका थिए ।

‘तर, सामन्तले उद्योग खोलेर राणा शासन चलाउन खोजेको भन्थे, हुलहुज्जत गर्थेे’, उनी भन्छन्, ‘म माथि अफिसमा काम गरिरहेको हुन्थें, तल उनीहरु अब सामन्तीहरुको तालाचावी हामीले लिनुपर्छ भनेर भाषण गर्थे ।’

मागपत्र बुझाउँछौं भन्दै अफिसमा पसेको हुलमा एकजना मात्र आफ्नो उद्योगको श्रमिक देखेको अमिरप्रताप बताउँछन् । ‘उद्योगका श्रमिकहरु नभई कुरा गर्दिनँ भन्ने अडान राख्दा एकजनाले पेस्तोल निकालेर टेवल अगाडि राख्यो र ‘अब पनि कुरा नगर्ने ?’ भन्यो’ उनी सम्झन्छन्, ‘अनि पेस्तोल गोजीमा राख्नुस्, कुरा गर्छु भनेँ ।’

कुरा शुरु गर्दा श्रमिकलाई पानी पनि खान नदिई, फ्यान नचलाई काम लगाएर सास्ती दिएको लगायतका आरोप लगाए । सबै माग कानूनी व्यवस्था अनुसार पूरा हुन्छ भन्दा त्यो कानून त हामी फेर्दैछौं भनेर थर्काए । ‘त्यो नयाँ कानून अनुसारै गर्छु भनेपछि उनीहरु नाराबाजी गर्दै तल झरेर भाषण गर्न थाले’, उनी भन्छन्, ‘त्यही गएर उद्योग संचालकको नाताले बोल्छु भन्दा २ मिनेट समय दिए ।’

अमिरप्रतापले माइक्रोफोन समाएर आफ्नो उद्योग र श्रमिकसंगको सम्बन्धबारे ४५ मिनेट लामो भाषण गरे । उनको भावुक भाषणपछि श्रमिकहरु दुई समूहमा विभाजित भए । एउटा समूह अब काम गरौ भन्न थाल्यो, अर्कोले अमिरप्रतापको पुत्ला दहन गर्ने तयारीमा लाग्यो ।

अमिरप्रतापले प्रहरीसँग गुहार माग्दा नपाएपछि तत्कालिन अर्थसचिवलाई फोन गरे । अर्थसचिवले ‘निर्यात गर्ने कम्पनीलाई जसरी हुन्छ सुरक्षा दिनुस्’ भनेर आइजीपीलाई फोन गरेपछि बल्ल सुरक्षित महसुस भएको अमिरप्रताप बताउँछन् ।

पछि श्रमिकको एउटा समूह कारखाना खोलिदिनुस्, हामी काम गर्छौ भन्न आउँदा उनले चित्त दुखेर खोल्न मानेनन् । माओवादीका एकजना प्रमुख नेताले नै आग्रह गर्दा ‘तपाईंहरुले नै ताला लगाएको हो, आफैं आएर खोल्नुस्’ भनेपछि एक महिनामा उद्योग सुचारु भयो ।

त्यसपछि २०७२ वैशाखको महाभूकम्प र भारतीय नाकाबन्दीको असर उद्योगमा पर्‍यो । भुकम्पमा एकजना कामदारले ज्यान समेत गुमाए ।

दम्पत्तिको काँधमा ‘गोल्डस्टार’

व्यावसायिक जीवनमा कुमारी बैंकका अध्यक्षसमेत रहेका नुरप्रताप जबराको निधनपछि तीन वर्षदेखि कुमारीको सञ्चालकसँगै किरण सुज म्यानुफ्याक्चर्सका प्रवन्ध निर्देशक (एमडी) छन्, छोरा अमिरप्रताप । उनका मुख्य सहयोगी छिन्, पत्नी विदुषी राणा ।

कुमारी बैंकको मार्केटिङमा ६ वर्षे अनुभव संगालेकी विदुषीले किरण सुको मार्केटिङ र ब्राण्डिङ विभाग हेरिरहेकी छन् । उद्योगमा अहिले २५ सयभन्दा बढी कर्मचारी छन् । यसमा थप हजारौ अप्रत्यक्ष रुपमा जोडिएका छन् ।

उद्योगमा कूल कर्मचारी संख्याको ६० प्रतिशतभन्दा बढी महिला छन् । चप्पल कारखानाको नामले परिचित ठाउँमै उद्योगको मूख्य कारखाना छ । त्यसबाहेक वालाजु औद्योगिक क्षेत्रमा पनि उद्योगको कारखाना छ ।

उद्योगको वार्षिक उत्पादन एक करोड २५ लाख जोर छ । यसको ५० प्रतिशत हिस्सा विदेश (भारत) निर्यात भइरहेको छ । यो नै सबभन्दा धेरै निर्यात गर्ने नेपालको जुत्ता चप्पल उद्योग हो ।

अहिले देशभित्र गोल्डस्टारका २१ वटा शोरुम छन् । ती स्वरुममा बच्चादेखि वृद्धसम्मले आफ्नो रोजाइ जुत्ताचप्पल पाउने मार्केटिङ डाइरेक्टर विदुषी राणा बताउँछिन् ।

उनका अनुसार, उद्योगले पुरानो गोल्डस्टारसँगै युवा पुस्ताले रुचाउने नयाँ–नयाँ मोडलका गोल्डस्टार जुत्ता र चप्पलहरु उत्पादन गरिरहेको छ । जी–१० भन्ने पछिल्लो मोडेल अत्यधिक रुचाइएको जुत्ता हो । उद्योगले भीडा वाई गोल्डस्टार भन्ने नयाँ चप्पल भर्खरै ल्याएको छ ।

सरकारप्रति सानो गुनासो

मुलुक बजेटकै हाराहारीमा पुग्न लागेको व्यापारघाटाले आक्रान्त छ । व्यापारघाटा नियन्त्रणकै लागि निर्यातमूलक उद्योगलाई प्राथमिकतामा राखिएको सरकारका मन्त्रीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको बजेटमा निर्यातमूलक उद्योगलाई सहुलियत दिने केहि व्यवस्था पनि गरिएको छ । व्यापार घाटा घटाउन सबभन्दा ठूलो भूमिका खेल्ने जुत्ता–चप्पल उद्योगलाई भने सरकारले वेवास्ता गरेको छ । अमिरप्रताप–विदुषी राणा दम्पत्तीको उद्योगले कुल जुत्ताचप्पल निर्यातको ५० प्रतिशत हिस्सा धानेको विषयमा सरकार जानकार छ, तर दिन्छु भनेको कुरा पनि दिएको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाको आश्वासन केवल भाषणमा सीमित भएको अमिरप्रतापको गुनासो छ ।

निर्यात गर्नेले पाउने भनिएको ५ प्रतिशत अनुदान सुविधा आफूहरुले नपाएको उनले बताए । ‘अर्थ मन्त्रालय धाउँदा ‘फण्ड’ नै छैन भनिन्छ’, उनी भन्छन्, ‘काम गर्नेलाई दिन्छु भनेर नदिनु त उत्साह जगाउने कुरा भएन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment